कारोबार


समाचार हटाउने जिल्ला अदालतको आदेशमा अटो पत्रकार संघको ध्यानाकर्षण

समाचार हटाउने जिल्ला अदालतको आदेशमा अटो पत्रकार संघको ध्यानाकर्षण

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १२:५७, काठमाडौँ

अटो पत्रकार संघ नेपाल (जाम)ले नेपालखबर डटकम र बिजमान्डु डटकममा प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतले दिएको आदेशप्रति ध्यानाकर्षण गरेको छ। 

एक विज्ञप्ति जारी गर्दै जाम अध्यक्ष सागर गजुरेलले समाचार लेखिएको विषयलाई लिएर न्यायालय र सुरक्षा निकायबाट आमसञ्चारमाध्यम र पत्रकारमाथि अनावश्यक धरपकड भएको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन्। 

‘पछिल्लो पटक नेपालखबर डटकम र बिजमान्डु डटकममा प्रकाशित समाचार हटाउन जिल्ला अदालत काठमाडौंबाट  भएको आदेश र सोही अदलतबाट वरिष्ठ पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न जारी भएको पक्राउ पुर्जी प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन रहेको अटो पत्रकार संघ नेपालको ठहर छ’, विज्ञप्तिमा भनिएको छ। 

यो गतिविधि प्रेस स्वतन्त्रता, लोकतन्त्र र संविधानमाथिको प्रहार भएको भन्दै जामले घोर भर्त्सना समेत गरेको छ। 

समाचारबारे चित्त नबुझे वा अन्याय भएको महशुस भए प्रेस काउन्सिलमा उजुरी गर्न सकिने व्यवस्था रहे पनि जबर्जस्ती अदालतमा मुद्दा लैजाने र अदालतले संवैधानिक व्यवस्था र कानुनी अधिकार बिर्सेर समाचार हटाउन र नलेख्न आदेश दिनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको जामले उल्लेख गरेको छ। 

‘यस खालको असंवैधानिक गतिविधि, प्रेस स्वतन्त्रतामाथिको प्रहार र पत्रकारमाथिको अनावश्यक धरपकड तत्काल रोक्न र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको अधिकार कार्यान्वयन गर्न हामी सबै सरोकारवाला पक्षलाई आग्रह गर्छौँ’, विज्ञप्तिमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad