नेपालमा चिनियाँ ईभी निर्माता बीवाईडीको अधिकृत बिक्रेता साइमेक्स इंक प्रालिले भन्सार विन्दुमा रहेका ईभीहरुको विवरण सार्वजनिक गर्दै अनधिकृत रुपमा भन्सार विन्दुमा लाभ नलिएको स्पष्ट पारेको छ।
आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका ईभीबारे सार्वजनिक वृत्तमा भएका चासोप्रति कम्पनीले ध्यानाकर्षण भएको जनाएको हो।
‘नेपालमा बीवाईडीका सवारीसाधनको आधिकारिक वितरकका रुपमा साइमेक्स इंक यस विषयमा विभिन्न तथ्यहरु स्पष्ट पार्दै कानुनको पालना, पारदर्शिता तथा नैतिक व्यावसायिक अभ्यासप्रतिको आफ्नो अटल प्रतिबद्धता पुनः व्यक्त गर्न चाहन्छ’, कम्पनीले भनेको छ।
कम्पनीका अनुसार मुस्ताङको कोरला भन्सारबाट ६४९ वटा ईभी (अट्टो १ र २) मे २२ देखि २७ सम्म चीनबाट निर्यात भन्सार घोषणा र पास, नेपालमा आयात र आयात घोषणाको प्रक्रियाअनुसार आयात भएको हो।
यससम्बन्धी विवरण :

त्यसैगरी रसुवा भन्सारमा चीनबाट निर्यात भन्सार घोषणा र पास, नेपालमा आयात र पासको प्रक्रिया पूरा गरी कुल ४ सय ७२ वटा ईभी आयात भएको साइमेक्स इंकले उल्लेख गरेको छ। रसुवाबाट अट्टो १, सिलायन, अट्टो २ र ३ गाडीहरु आयात भएका छन्।
यससम्बन्धी विवरण :

यसबाहेक थप २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेको र हालसम्म भन्सार जाँचपास प्रक्रिया सम्पन्न नभएको उल्लेख गरिएको छ।
‘सबै आयात कानुनी प्रक्रियाअनुसार’
कम्पनीले सञ्चारमाध्यमहरुमा उल्लिखित सवारीसाधनहरु नेपाल सरकारको प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा प्रक्रियाअनुसार पूर्ण रुपमा आयात तथा जाँचपास गरिएको बताएको छ।
‘साइमेक्स इंकले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकताप्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ लिएको छैन, न त त्यस्तो कुनै व्यवस्थाका लागि अनुरोध गरेको वा प्राप्त गरेको छ’, कम्पनीले भनेको छ, ‘ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण ती बुकिङ पूरा गर्न तथा नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न यी सवारीसाधन आयात गरिएका हुन्।’
यी सबै कार्यहरु बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना तथा यातायात र ढुवानी व्यवस्थापनसम्बन्धी चुनौतीहरुलाई ध्यानमा राखेर सम्पन्न गरिएको साइमेक्स इंकको दाबी छ।
कम्पनीका अनुसार सबै आयात तथा भन्सार प्रक्रिया नेपालको प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार नै सम्पन्न भएको हो। कम्पनीले सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोप पूर्णतः निराधार, असत्य तथा कम्पनीको प्रतिष्ठामा आघात पुग्ने खालको भएको उल्लेख गरेको छ।
‘हाम्रा आयातसम्बन्धी सबै गतिविधि नियमित व्यावसायिक आवश्यकता, मौज्दात व्यवस्थापन, ढुवानी तालिका तथा प्रचलित कानुनका आधारमा योजना बनाई सञ्चालन गरिन्छन्’, कम्पनीले भनेको छ, ‘साइमेक्स इंक कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्छ र सत्यतथ्य स्थापित गर्न आवश्यक सबै कागजातहरु आयातसम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशको कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी दस्तावेजहरु सम्बन्धित निकायलाई उपलब्ध गराउन पूर्ण तयार रहेको जानकारी गराउँछ।’
कम्पनीले अप्रमाणित र निराधार सूचना सम्प्रेषण नगर्न पनि अनुरोध गरेको छ। कम्पनीले नेपालको अटोमोटिभ तथा क्लिन इनर्जी रुपान्तरणको यात्रामा विश्वासिलो साझेदारका रुपमा योगदान दिँदै आएको उल्लेख गर्दै नेपाली उपभोक्ताको सेवामा निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।
Shares

प्रतिक्रिया