कारोबार


बागमती प्रदेश सरकारका बहुवर्षीय योजनाको काम धमाधम

बागमती प्रदेश सरकारका बहुवर्षीय योजनाको काम धमाधम

रासस
फागुन ८, २०८२ शुक्रबार १५:३७, काठमाडौँ

बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा भवन कार्यालय हेटौँडाद्वारा मकवानपुर र चितवनमा सञ्चालित आधा दर्जन योजनाको काम सम्पन्न भएको छ ।

निर्धारित समयमा योजनाहरु सम्पन्न गर्न कार्यालयले नियमित अनुगमन र निगरानी बढाएपछि बहुवर्षीय योजनाको काम सम्पन्न भएको हो । 

कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर भुपेन्द्रकुमार यादवले हेटौँडा अस्पतालको भवन निर्माणकार्य सम्पन्न भई हस्तान्तरणका क्रममा रहेको जानकारी दिए। गत २०८१ असार मसान्तसम्म समयावधि भए पनि अस्पतालले जग्गाको व्यवस्थापनमा ढिलाइ हुँदा केही बढी समय लागेको उनले बताए। 

उक्त कार्यालयको बहुवर्षीय योजनाअन्तर्गत चितवनमा निर्माणाधीन भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भवन निर्माणको काम आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भइसकेको छ।

यस्तै, प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा भवन निर्माण कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । हाल उक्त भवनमा जेनजी आन्दोलनपश्चात् बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अस्थायी रूपमा सञ्चालनमा छ । 

चितवनको भरतपुर महानगरपालिका–२२ स्थित कमलपोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम पनि सम्पन्न भएको प्रमुख यादवले जानकारी दिए। उनका अनुसार हेटौँडाको रातमाटे पावरहाउस चौक कमाने–भोर्ले सडकमा ढलानको काम सम्पन्न भएको छ । 

यस्तै, बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक आर्थिक वर्षमा ठेक्का लागेको हेटौँडा उपमहानगरपालिकास्थित अड्डा मार्गमा फुटपाथ निर्माण, हेटौँडा उपमहानगरपालिका–१० मा स्ट्रिट फुड पार्क, चितवनस्थित कृषि विकास कार्यालयको भवन, चितवनको खैरेनीस्थित सबडिभिजन वन कार्यालय भवन र चितवनस्थित गोले पार्कको काम तीव्र रूपमा भइरहेको कार्यालय प्रमुख  यादवले बताए। 

चितवनको राप्ती–१२ मा निर्माणाधीन नौलापुर एकीकृत बस्ती पूर्वाधार निर्माण, चितवनको भरतपुर–२ स्थित मितेरी टोलदेखि नमस्ते पार्कसम्म ढलानको काम ५५ प्रतिशत सम्पन्न भएको र बाँकी काम तीव्र रुपमा भइरहेको उनले जानकारी दिए। यसैगरी मकवानपुरको थाहा नगरपालिका–९ स्थित ऐतिहासिक धनदेव गोले पार्क भौतिक पूर्वाधार निर्माण, चितवनको बङ्कुलर रत्ननगर अस्पताल मातृशिशु भवन निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ। 

चितवनको माडी–८ मा निर्माणाधीन मध्यवर्ती ‘होमस्टे’ सांस्कृतिक सामुदायिक भवन निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको र चालु आवमा बजेट नहुँदा काम रोकिएको प्रमुख यादवको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad