ad ad

कारोबार


खराब कर्जा न्यून भएका बैंकको सेयरमा झुम्मिँदै छन् लगानीकर्ता

खराब कर्जा न्यून भएका बैंकको सेयरमा झुम्मिँदै छन् लगानीकर्ता

केशर बोगटी
बैशाख १५, २०८० शुक्रबार १७:२९, काठमाडौँ

बैंकहरूले आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेपछि वाणिज्य बैंकहरूका सेयरमा लगानीकर्ता झुम्मिन थालेका छन्।

विशेषगरी खराब कर्जा न्यून रहेका बैंकहरूको सेयरमा लगानीकर्ता झुम्मिनथालेका हुन्। 

चालू आवको तेस्रो त्रैमासिकमा बैंकहरूको औसत निष्क्रिय कर्जा ३ प्रतिशत माथि पुग्दा झण्डै आधा दर्जन बैंकको १ प्रतिशत हाराहारीमा देखिएको छ। 

निष्क्रिय कर्जा कम हुने बैंकको प्रतिफल समेत घट्ने सम्भावना न्यून हुँदा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ। 

पछिल्लो समय बजार निरन्तर घटिरहेको बेलामा लगानीकर्ताले प्रतिफल दिन सक्ने कम्पनी लगानी छनोट गर्न थालेका छन्। 

लगानीकर्ताले तेस्रो त्रैमासिकलाई आगामी लगानीको रुपमा विश्लेषण गर्ने गरेको पाइन्छ। 

तेस्रो त्रैमासिक रिपोर्टको विश्लेषण गरी लगानीकर्ताले प्रतिफल दिन सक्ने कम्पनीमा लगानी थप्ने र कमजोर कम्पनीको सेयर बिक्री गर्ने गर्दछन्। 

तसर्थ, लगानीकर्ता आगामी वर्ष राम्रो प्रतिफल दिन सकेका कम्पनीहरू छान्न थालेका हुन्। चालू आर्थिक वर्षमा बैंकहरूलाई खराब कर्जा सुधार गर्नुपर्ने मुख्य चुनौती रहेको छ। 

हाल एक दर्जन वाणिज्य बैंकको खराब कर्जा करिब ४ प्रतिशत छ। यी एक दर्जन बैंकलाई खराब कर्जा घटाउन मुख्य चुनौती रुपमा रहेको छ। 

खराब कर्जा बढ्दा कर्जा नोक्सानी (प्रोभिजन) छुट्याउनुपर्ने व्यवस्था छ। प्रोभिजन बढ्दा बैंकको लगानी क्षमतासँगै प्रतिफल समेत घट्ने गर्दछ। 

खराब कर्जा कम हुने बैंकहरू लगानीको हिसाब र प्रतिफलको आधारमा राम्रो मानिन्छ। जसकारण यतिबेला खराब कर्जा कम भएका बैंकहरूमा लगानीकर्ता झुम्मिन थालेका छन्। 

एभरेष्ट बैंक 
यो साता लगानीकर्ता एभरेष्ट बैंकको सेयरमा झुम्मिएका छन्। बैंकको खराब कर्जा ०.७० प्रतिशत छ। तेस्रो त्रैमासिकमा बैंकले २ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाउन सफल भयो। 

गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा उल्लेख्य मात्रामा बढ्नु र खराब कर्जा १ प्रतिशत कम हुँदा बैंकको सेयरमा लगानीकर्ता आकर्षण बढेको छ। 

यता खराब कर्जा कम हुँदा कर्जा नोक्सानी समेत सामान्य रहेको छ। बैंकको अधिकांश सूचकमा देखिएको प्रगतिका कारण बैंकले यो वर्षको नाफाबाट आगामी वर्ष राम्रो प्रतिफल दिन सक्ने देखिँदा लगानीकर्ता बैंकको सेयरमा भुम्मिएका छन्। 

साथै बैंकको प्राथमिक पुँजी कोष समेत १० प्रतिशत माथि नै देखिएको छ। बैंकको पुँजीकोष अनुपात लाभांश वितरणको लागि सुरक्षित देखिन्छ। तेस्रो त्रैमासिक रिपोर्टमा अधिकांश सूचक राम्रो देखिँदा एभरेष्ट बैंकको सेयरमूल्य समेत बढ्दै जान थालेको छ। २०८० वैशाख १५ गतेसम्म आइपुग्दा बैंकको सेयरमूल्य ५३९ रुपैयाँ पुगेको छ। 

स्ट्यान्डर्ड चार्टर्ड बैंक 
स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमा समेत लगानीकर्ता भुम्मिन थालेका छन्। 

बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक रिपोर्टमा अधिकांश सूचनामा देखिएका सुधारका कारण यतिबेला लगानीकर्ता बैंकको सेयर खरिदमा झम्मिएका छन्। 

तेस्रो त्रैमासिकमा बैंकले २ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाउन सफल भयो। यता खराब कर्जा समेत १ प्रतिशत कम नै छ। जसकारण लगानीकर्ता बैंकको सेयर झुम्मिएका हुन्। यता बैंकको प्राथकिम पुँजी कोष समेत १३.३८ प्रतिशत रहेको छ। पुँजी कोष हेर्दा बैंक लाभांश वितरणमा सुरक्षित देखिन्छ। गत चैतमा बैंकको सेयरमूल्य ५०० तल झरेको यतिबेला पुन बढेर ५३५ रुपैयाँ पुगेको छ। 

एनआईसी एशिया बैंक 
अघिल्ला दुई वर्ष निरन्तर लाभांश वितरण गर्न नपाएको एनआईसी एसिया बैंकको सेयरमूल्य सर्वाधिक छ। वाणिज्य बैंकहरूमध्ये एनआईसी एसिया बैंकको सेयरमूल्य सबैभन्दा धेरै हो। 

यस दिनसम्म बैंकको प्रतिकित्ता सेयरमूल्य ७२५ रुपैयाँ रहेको छ। तेस्रो त्रैमासिकमा बैंकले ४ अर्ब १ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ३ अर्ब ६० करोड नाफा गरेको थियो। बैंकले नाफा बढाउँदा खराब कर्जा समेत बढेको छैन। 

खराब कर्जा न्यून भई नाफा बढ्नु लगानीकर्ताका सेयरधनी र लगानीकर्ताको लागि राम्रो हो। अघिल्ला दुई वर्षमा बैंकको प्राथमिक पुँजी कोष (सीसीएआर) कायम गर्न नसक्दा लाभांश वितरण गर्न केन्द्रीय बैंकले रोक लगाएको थियो। 

बैंकको कुनै एक त्रैमासिकमा सीसीएआर ८.५ प्रतिशत कम हुँदा नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने गर्दछ। 

यो वर्ष पहिलो र दोस्रो त्रैमासिकमा बैंकको सीसीएआर सुधार हुँदै जादा आगामी वर्ष लाभांश वितरण गर्ने देखिँदा बैंकमा लगानीकर्ता भुम्मिएका छन। 

साथै बैंकको सेयर भोलुम समेत थोरै छ। जसकारण बैंकको राम्रो प्रतिफल राम्रो पाउने देखिँदा लगानीकर्ता बैंकको सेयरमा आकर्षण बढेको छ। 

नेपाल एसबीआई बैंक 
२०८० वैशाख १५ गतेसम्म आइपुग्दा नेपाल एसबीआई बैंकको सयरमूल्य ३३५ रुपैयाँ रहेको छ। बैंकको तेस्रो त्रैमासिक रिपोर्टको अधिकांश सूचकमा देखिएको प्रगतिका कारण बैंकको सेयरमा डिमान्ड बढ्दै गएको छ। बैंकले चैत मसान्तसम्ममा १ अर्ब ८० करोड नाफा गरेको छ।

बैंकको नाफादेखिको प्रगति र १ प्रतिशत तल खराब कर्जा राख्न सफल हुँदा बैंकको सेयरमा डिमान्ड बढ्न थालेको हो। 

लक्ष्मी बैंक 
चैत मसान्तसम्ममा यस बैंकले खराब कर्जा २ प्रतिशत तल राख्न सफल भएको छ। गत वर्षको तुलनामा नाफामा भने राम्रो प्रगति गरेको छ। तर, कर्जा नोक्सानी भने बढेको छ। 

अधिकांश बैंकहरूको तुलनामा खराब कर्जा २ प्रतिशत तल राख्न सफल भई नाफामा राम्रो प्रगति हुँदा बैंकको सेयरमा डिमान्ड बढ्नथालेको छ। 

नबिल बैंक 
चालू आवको तेस्रो त्रैमासिकमा सर्वाधिक नाफा गर्नेमा नबिल बैंक रहेको छ। तेस्रो त्रैमासिकम्ममा बैंकले ५ अर्ब बढी नाफा गरेको छ।

तर, सेयरबजारको दोस्रो बजारमा नबिल बैंकको सेयरमूल्य दोस्रो स्थानमा छ। हाल बैंकको प्रतिकित्ता सेयरमूल्य ६०० रुपैयाँ छ।

तेस्रो त्रैमासिकमा बैंकको खराब कर्जा भने बढेको छ। जसकारण बैंकको कर्जा नोक्सानी समेत बढेको हो। कर्जा नोक्सानी बढ्दा समेत बैंक नाफा पहिलो बनेको छ। 

वाणिज्य बैंकहरूमा सर्वाधिक लाभांश दिँदै आइरहेको नबिल बैंकले सर्वाधिक नाफा कमाउन सफल हुँदा लगानीकर्ता नबिल बैंकको सेयर खदिर गर्न थालेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .