कारोबार


मोबाइलबाटै ऋण : तपाईं कुन बैंकबाट लिने?

मोबाइलबाटै ऋण : तपाईं कुन बैंकबाट लिने?

नेपालखबर
पुस २८, २०८० शनिबार २१:१, काठमाडौँ

पछिल्लो समय बैंकिङ क्षेत्र डिजिटल मैत्री बन्दै गएको छ। प्रविधिको प्रयोगसँगै बैंकहरुले धेरै हदसम्म ग्राहकलाई बैंकमा धाइरहनु नपर्ने सुविधा प्रदान गरिरहेका छन्। 

ग्राहकहरुले मोबाइलबाटै बैंकमा रहेको आफ्नो खातामा पैसा जम्मा हुने र पठाउने अवस्था आइसकेको छ। भुक्तानीदेखि रिचार्जसम्म, सरकारी सेवा प्रयोगको शुल्क बुझाउनेदेखि टिभी र इन्टरनेटको शुल्क तिर्नेसम्मका काम मोबाइल बैंकिङले नै समाधान हुनथालेको छ। 

बैंकहरु अहिले ग्राहकको दैनिक जीवनलाई समेत प्रविधिमार्फत अझ सहज बनाउनेतिर लागिरहेका छन्। त्यसैको उदाहरण हो– बैंकहरुले दिनथालेको फोन लोन। 

सुरुमा थोरै बैंकले दिनथालेको यो सुविधा अब धेरै बैंकबाट पनि पाउन सुरु भएको छ। तत्कालको समस्या टार्ने हेतुले ल्याएको ‘फोनलोन’ अहिले धेरैको लागि सहजै पैसा पाइने उपयुक्त माध्यम बनेको छ। 

केही कागजात पनि बुझाउन जानु नपर्ने र मोबाइलबाटै ‘अप्लाई’ गरेकै भरमा बैंकले खातामा पैसा जम्मा गरिदिने हुँदा ग्राहक पनि यसबाट निकै लाभान्वित भएका छन्। 

सहज फोन कर्जाले धेरैको तत्कालको समस्या टारिदिएको छ। 

कसरी लिने फोन लोन? 
हालसम्म चार वाणिज्य बैंकले फोन लोन सुविधा सञ्चालनमा ल्याएका छन्। एभरेष्ट बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक र एनएमबि बैंकले फोन लोन सेवा सञ्चालनमा ल्याएका छन्। 

यो सेवा सञ्चालनमा ल्याएका बैंकहरुको मोबाइल एपबाट कर्जा लिन सकिन्छ। कर्जा लिन योग्य ग्राहकले मोबाइल बैंकिङ्ग एपमा लगइन गरी त्यहाँ उल्लिखित फोन लोनमा दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउन सक्छन्। बैंकले इमेलमा भेरिफिकेसन म्यासेज पठाउँछ।

म्यासेजमा लिंक क्लिक गरी ‘सक्सेसफुल’ भए कर्जा लिन योग्य भइन्छ। फोन लोन ग्राहकले चाहे जति भने पाउँदैनन्। 

फोन लोनको लागि ग्राहकले आफ्नै मोबाइल एपबाट ‘अप्लाई’ गर्न सक्छन्। कुनै व्यक्तिले कति लोन दिने तय गर्ने होइन। ग्राहकको कारोबारको आधारमा सिस्टमले नै लोन कति दिने निर्धारण हुने यी बैंकका अधिकारी बताउँछन्। 

तलबी खातावालले एभरेष्ट बैंकबाट २ लाखसम्म फोन लोन पाउने
एभरेष्ट बैंकले यो साता मात्रै फोन लोन सेवा सञ्चालनमा ल्याएको छ। तलबी खाता भएका ग्राहकलाई मध्यनजर गर्दै फोन लोन सेवा सञ्चालनमा ल्याएको एभरेष्ट बैंकका सूचना अधिकारी केशवराज पौडेल बताउँछन्। 

‘एभरेष्ट बैंकको फोन लोन तलबी खातावालले पाउँछन्’, उनले भने, ‘बैंकमा एकाउन्ट होल्डर अर्थात् तलबी खातामा यो सुविधा प्रवाह गरिरहेका छौँ।’

साधारण बचतकर्तालाई भने फोन लोनको व्यवस्था नरहेको पौडेलले बताए।

उनका अनुसार यो सातादेखि यो सुविधा सञ्चालनमा छ। हाल तलबी खातावालहरुले मात्र यो सुविधा पाउनेछन्। विस्तारै तलबीबाहेकका ग्राहकलाई समेत यस्तो सुविधा दिने तयारी भइरहेको छ। 

हाल बैंकमा तलबी खाता भएका ग्राहकको आम्दानी (इनकम) हेरेर अधिकतम दुई लाखसम्म फोनबाटै कर्जा पाउन सक्ने उनको भनाइ छ। 

नबिल बैंकको दुईखाले ‘फोन लोन’ सेवा
नबिल बैंकले ‘फोन लोन’मार्फत न्यूनतम १० हजारदेखि अधिकतम २ लाखसम्म कर्जा दिने गरेको बैंकका डेपुटी सीईओ विनयकुमार रेग्मी बताउँछन्।  

‘नबिल बैंकले दुई किसिमको ‘फोन लोन’ सेवा सुरु गरेको छ’, रेग्मीले भने, ‘एउटा नबिल बैंकको खातावालले पाउँछन्, अर्काे नबिल बैंकको क्यूआर लिएका ग्राहक (व्यवसायी)ले यस्तो कर्जा पाउँछन्।’ 

उनका अनुसार पछिल्लो ६ महिनामा खातावाल (ग्राहक)ले गरेको कारोबारको आधारमा ‘फोन लोन’ सुविधा प्राप्त गर्न सक्छन्।

‘बचतखाताहरुको हकमा पेएबल अर्थात् तलबी खाता नै हुनुपर्छ भन्ने छैन’, उनले भने, ‘नबिल बैंकमा खाता भई कारोबार गरिरहेका ग्राहक फोन लोनको लागि योग्य हुन्छन्।’ 

ग्राहकको कारोबारको आधारमा ‘फोन लोन’ सीमा सिस्टमले निर्धारण गर्ने रेग्मीको भनाइ छ। 

‘फोन लोनको लागि ग्राहकले आफ्नै मोबाइल एपबाट अप्लाई गर्न सक्छन्’, उनले भने, ‘कुनै व्यक्तिले कति लोन दिने तय गर्ने होइन। ग्राहकको कारोबारको आधारमा सिस्टमले नै लोन कति दिने निर्धारण गर्छ।’

तर, केही सीमा पुगेका ग्राहक मात्र कर्जाको लागि योग्य हुने रेग्मी बताउँछन्। 

नबिल बैंकका ग्राहकले मोबाइल एपबाट कर्जा लिन सक्छन्। कर्जा लिन योग्य ग्राहकले मोबाइल बैंकिङ्ग एपमा लगइन गरी त्यहाँ उल्लिखित नबिल फोन लोनमा दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउन सक्छन्।

बैंकले इमेलमा भेरिफिकेसन म्यासेज पठाउँछ। म्यासेजमा लिंक क्लिक गरी ‘सक्सेसफुल’ भए कर्जा लिन योग्य भइन्छ। 

एनआईसीले फोनबाटै दिन्छ २ लाखसम्म कर्जा
त्यस्तै एनआईसी एसिया बैंकले पनि खातावाल (ग्राहक)को लागि फोन लोन सेवा सुरु गरेको छ। 

बैंकका ग्राहकहरूले मोबाइल एपमार्फत विना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रूपमा बैंकका शाखामा उपस्थित नभई अधिकतम २ लाखसम्मको फोन लोन सेवा लिनसक्छन्।  

बैंकका खातावाला (ग्राहक)ले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यस बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं यस बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा ग्राहकहरूले कर्जा सेवा उपभोग गर्न सक्छन्। 

कर्जा लिन योग्य ग्राहकले मोबाइल बैंकिङ्ग एपमा लगइन गरी त्यहाँ उल्लिखित एनआईसी एसिया फोनलोनमा दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउन सक्छन्।

एनएमबी बैंकले कसलाई दिन्छ फोन लोन? 
एनएमबी बैंकले पनि आफ्ना ग्राहकलाई २ लाखसम्म फोन लोन दिने गरेको छ। 

आफ्नै इन्टरनल सिस्टम क्रिएट गरेर फोन लोन दिने गरेको एनएमबी बैंकका सूचना अधिकारी विष्णु पौडेलले बताए। 

‘अन्य बैंकले गरेको फोन लोन र एनएमबी बैंकले दिने फोन लोन फरक छ’, उनले भने, ‘एफ एन्ड सफ्टले मोबाइल एपबाट फोनबाट कर्जा लिन पाइने मोडल हो। हाम्रो अलि फरक छ। हाम्रो आफ्नै इन्टरनल सिस्टम क्रिएट गरेर फोन लोन दिने गरेका छौँ।’

उनका अनुसार पछिल्लो समय एनएमबि बैंकको फोन लोन लिने निरन्तर बढ्न थालेको छन। 

‘एनएमबी बैंकको फोन लोन दुई वर्षको लागि लिन मिल्छ’, उनले भने, ‘बैंकको खातावाला ग्राहकले फोन लोनको प्रक्रिया सुरु गरेपछि इलिजिबल ग्राहकको मोबाइलमा म्यासेज जान्छ। त्यसमा एउटा लिंक हुन्छ त्यसमा क्लिक गर्नेबित्तिकै कतिको क्राइट एरिया सेटिङ भएको हुन्छ सोहीअनुसार म्यासेज जान्छ।’

उनका अनुसार ब्याजदर पनि फिक्स लिने कि एडजस्टेबल लिने ग्राहकले आफैँ चयन गर्न सक्छन्। टम एण्ड कन्डिसन ‘ओके’ गरेको विथ इन वान मिनेट (१ मिनेटभित्र)मा खातामा पैसा आइसक्छ। 

‘एनएमबी बैंकको फोन लोन तलबी खातावालले पाउँछन्’, उनले भने, ‘बैंकमा एकाउन्ट होल्डर अर्थात् तलबी खातामा यो सुविधा प्रवाह गरिरहेका छौँ। हामीसँग लोन भएको ग्राहकलाई पनि यो सुविधा प्रवाह गरिरहेका छौँ।’

साधारण बचतकर्तालाई भने फोन लोनको व्यवस्था नरहेको पौडेलले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .