कारोबार


राष्ट्र बैंक भन्छ– एनआईसी एसियाबारेका अफवाह नियोजित, वित्तीय क्षेत्रमाथिकै आक्रमण

तथ्यांकले भन्छ– सबै सूचक राम्रा, आगामी दिनमा समेत समस्यामा पर्दैन
राष्ट्र बैंक भन्छ– एनआईसी एसियाबारेका अफवाह नियोजित, वित्तीय क्षेत्रमाथिकै आक्रमण

नेपालखबर
फागुन ६, २०८० आइतबार १९:२, काठमाडौँ

पछिल्लो समय एक वाणिज्य बैंकबारे नकारात्मक विषयहरु प्रचारमा आए। सामाजिक सञ्जालदेखि सुरु भएको यो विषय अहिले सर्वसाधारणसम्म पुगेको छ।  

नेपालको ठूलो बैंकमध्येको एक वाणिज्य बैंक एनआईसी एसियालाई जोडेर विभिन्न नकारात्मक विषयहरु आएपछि बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले चासो व्यक्त गरेको छ।  

खासगरी बैंक नै डुब्न लागेको र यस बैंकमा जम्मा गरिएको पैसा झिकौँ भन्नेसम्मका नकारात्मक कुराको प्रचारबाजी भएपछि राष्ट्र बैंक समेत झस्किएको हो। 

यसलाई मध्यनजर गर्दै राष्ट्र बैंकले अहिले बजारमा भइरहेको यो हल्ला नियोजित रहेको ठहर गरेको छ। नेपालको प्रमुख बैंकमध्येको यो बैंकलाई लिएर आएका टीकाटिप्पणी नियोजित रुपमा सम्प्रेषण भइरहेको राष्ट्र बैंकले बताएको छ।

यसअघि कुनै बैंकको कुनै सूचक कमजोर हुँदा त्यही सूचक सुधार हुनुपर्यो भन्ने आशयका साथ केही जानकारीमूलक विषयहरु सम्प्रेषण हुने गरेको राष्ट्र बैंकको ध्यानमा छ। 

तर यो पटक एक वाणिज्य बैंक अब डुब्न नै लाग्यो भन्ने आशयका साथ  विषयवस्तुहरु सम्प्रेषण भएकाले राष्ट्र बैंकले यो नियोजित रुपमा आएको ठहर गरेको छ। एनआईसी एसिया बैंकलाई जोडेर आएका विषयले समग्र वित्तीय प्रणालीलाई नै असर गर्ने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्ट बताउँछन्। 

‘हुँदै नभएको विषयलाई लिएर अहिले सर्वसाधारणसम्म यो विषय पुगेको छ। यसले त सबै वित्तीय क्षेत्रलाई नै असर गर्छ’, उनले भने। 

सबै सूचकहरु सकारात्मक : राष्ट्र बैंक
पछिल्लो समय सामाजिक सञ्जाल हुँदै एनआईसी एसिया बैंक डुब्न नै लागेको हल्ला फिँजाइएको छ।

त्यस विषयमा नेपालखबरले राष्ट्र बैंकबाट नै बैंकको पछिल्लो तथ्याङ्क माग गरेको छ। जुन तथ्याङ्कअनुसार बैंकका सबै सूचकहरु सकारात्मक देखिएका छन्।

एनआईसी एसियालाई जोडेर आएका विषयहरुमा कसैले शाखाहरु बन्द गरिरहेको, कसैले घरजग्गामा धेरै लगानी भएकाले डुब्नलागेको त कसैले पुँजीकोषका विषयहरु उठान गरेका छन्। तर केन्द्रीय बैंकले नेपालखबरलाई दिएको तथ्यांकले भने ती सबै विषय निराधार रहेको देखाएको छ। 

राष्ट्र बैंकका अनुसार एनआईसी एसिया बैंकको रियल स्टेट क्षेत्रमा कुल कर्जाको जम्मा १० दशमलव १४ प्रतिशत लगानी देखिएको छ। राष्ट्र बैंकले प्रदान गरेको सीमाअनुसार बैंकहरूले २५ प्रतिशतसम्म घरजग्गामा कर्जा लगानी गर्न पाउँछन्। 

बैंकले कुल ३ खर्ब २ अर्ब ६५ करोड कर्जा प्रवाह गरेकामा रियल स्टेटमा ३० अर्ब ६८ करोड ९३ लाख रहेको राष्ट्र बैंकले जनाएको छ। 
२ करोडसम्मको व्यक्तिगत घर निर्माण कर्जाको हिस्सा २७ अर्ब ७५ करोड ३५ लाख रुपैयाँ छ। 

कुनै पनि बैंक डुब्ने वा नडुब्ने प्रमुख सूचक निष्क्रिय कर्जा (एनपीएल)लाई मान्न सकिन्छ। राष्ट्र बैंकका अनुसार एनआईसी एसियाको एनपीएल १ दशमलव १९ प्रतिशतमात्रै छ। यो भनेको बैंकको कुल कर्जाको जम्मा ३ अर्ब ६० करोड १६ लाख रुपैयाँ मात्रै निष्क्रिय कर्जा हो। 

चालू आवको दोस्रो त्रैमासिकसम्म वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात ३ दशमलव ८१ प्रतिशत छ। जुन औसत दरभन्दा निकै राम्रो हो। यसबाहेक पुँजी पर्याप्तता अनुपात अर्थात् क्यापिटल एडिक्वेसी रेसियो (सीएआर)ले पनि कुनै बैंकमा जोखिम छ वा छैन भन्ने जनाउँछ। जुन सूचक पनि सबल अवस्थामा देखिएको छ। 

एनआईसी एसियाको ११ दशमलव ७३ प्रतिशत सीएआर रहेको छ। यस बैंकको कोर क्यापिटल पनि ८ दशमलव ५ प्रतिशत भए पुग्नेमा ८ दशमलव ६४ प्रतिशत छ। जसले बैंकमा कुनै जोखिम नरहेको र डराउनुपर्ने स्थिति नरहेको स्पष्ट पार्छ। 

अहिले बैंकमा १४ अर्ब ९१ करोड ८० लाख रुपैयाँ सेयर पुँजी छ भने बैंकको ३४ अर्ब २३ करोड रुपैयाँको क्यापिटल फन्ड छ।  

पछिल्लो समय उत्कृष्ट नाफाको लयमा रहेको यस बैंकको तरलता अनुपात २७ दशमलव २८ प्रतिशत छ। बैंकको कर्जा निक्षेप अनुपात ७७ दशमलव १८ प्रतिशत छ। यसले बैंकसँग लगानी योग्य रकम (तरलता) अधिक रहेको देखाएको छ। 

बैंकका यी सूचक राम्रो देखिँदा यसले अहिले मात्रै नभई आगामी दिनमा समेत बैंक समस्यामा नपर्ने देखाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .