कारोबार


नेपालको अब आफ्नै एटीएम कार्ड

विदेशी कम्पनीविनै नेपालको वित्तीय प्रणाली सञ्चालन हुनसक्ने
नेपालको अब आफ्नै एटीएम कार्ड

नेपालखबर
चैत १९, २०८१ मंगलबार १८:५८, काठमाडौँ

विदेशी कार्ड प्रयोग गरिरहेका नेपालीले अब आफ्नै एटीएम कार्ड बोक्न पाउने भएका छन्।

नेपाल क्लियरिङ हाउसले नेशनल कार्ड स्विच सिस्टम सञ्चालनमा ल्याएसँगै नेपाल पेको एटीएमबाटै कारोबार गर्न सकिने भएको हो। 

नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकहरुको संयुक्त लगानीमा स्थापना भएको नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले वित्तीय कारोबारको आफ्नै सिस्टम बनाइरहेको छ। कम्पनीले आफ्नो सफ्टवेयर प्रणाली तयार गरे पनि पूर्ण कार्यान्वयनमा केही समय लाग्ने जनाएको छ। 

एनसीएचएलले २०७८ मंसिर २ गते पहिलो चरणमा नेशनल पेमेन्ट स्विच सञ्चालन ल्याएको थियो। जसबाट क्रसबोर्डर कारोबार, कार्डको आधारमा भुक्तानी, क्यूआरको आधारमा भुक्तानी, रिटेल भुक्तानी गर्दै आएको छ। हाल  बैंक, वालेट, रियल टाइम फन्ड ट्रान्सफर, पीएसओ सेटलमेन्ट गर्दै आएको छ।

सोमबार नेशनल कार्ड स्विच सिस्टम सञ्चालनमा ल्याएको छ। आन्तरिक कार्ड प्रचलनमा ल्याएको छ। यसले विदेशी कम्पनीविनै नेपालको वित्तीय प्रणाली सञ्चालन हुन सक्नेछ। आन्तरिक कार्डको इन्टरअपरेबालिटी कारोबार, कार्ड डेटा लोकलाइजेसन र केन्द्रीकृत अनुगमन, अतिरिक्त भुक्तानी शुल्क घटाउन सहयोग पुग्ने जनाएको छ। 

‘आफ्नै कार्ड भइसकेपछि सबै कारोबार एनसीएचएलकै नियन्त्रणमा हुन्छ। सर्वसाधारणको वित्तीय जानकारी विदेशी कम्पनीलाई सेयर गर्नुपर्दैन’, एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले भने, ‘डेटा सुरक्षा हामीमै हुन्छ।’

व्यावसायिक क्षेत्रमा फ्रड एन्ड रिस्क व्यवस्थापन प्रणाली कार्यान्वयन हुनेछ।  बीएफआई पीएसओ पीएसपीले आफ्नो सिस्टम नेपाल पेसँग आबद्धता गरी कारोबार गर्न सक्छन्। नेपाल पे कार्ड डेबिट, क्रेडिट, भर्चुअल कार्डको रुपमा प्रयोग गर्न सकिनेछ। 

नेपाल पे कार्ड नेपालको आफ्नै पे कार्ड हुनेछ। सुरुवाती चरणमा सिटिजन बैंक, गुडविल फाइनान्स लिमिटेड, हिमालय बैंक लिमिटेड, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, एनएमबी बैंक, प्रभु बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सिद्धार्थ बैंकले नेपाल पे कार्ड जारी गर्नेछन्। यसमा ९ वटा बैंक जोडिसकेका छन् भने बाँकी छिट्टै जोडिँदै जानेछन्। 

योसँगै विदेशी कम्पनीका भिसा कार्ड, मास्टर कार्ड, युनियन पेको सट्टा नेपाल पे कार्ड प्रचलनमा ल्याउन सकिनेछ। नेपालको आफ्नै कार्ड आइसकेपछि विदेशी कम्पनीको स्ट्यान्डर्डअनुसार तिर्नुपर्ने बढी रकम जोगिनेछ। 

कार्डबाट हुने क्लियरिङ र सेटलमेन्टका सबै कारोबार एनसीएचएलले विकास गरेको प्रणालीबाटै हुनेछ। 

‘अहिले अरु कम्पनीको नामबाट बैंकहरुले एटीएम कार्ड जारी गरिरहेका छन्’, उनले भने, ‘बैंकहरुले नेपाल पेको नामबाटै खातावाला ग्राहकलाई कार्ड वितरण गर्न सक्छन्। यसले बैंकहरुले विदेशी कम्पनीमा गर्ने खर्च कटौती हुन्छ।’

नेपाल राष्ट्र बैंकले दिएको म्यान्डेटअनुसार पेमेन्ट स्विचको पूर्वाधार तयार गरिएको उनले बताए। अब बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रदायक संस्थाहरुको सिस्टममा अझै काम गर्न बाँकी छ। नेपाल क्लियरिङ हाउससँग आबद्ध बैंकहरुको प्रणाली प्रमाणित भएसँगै सर्वसाधारणले कार्ड प्रयोग गर्न पाउँछन्। 

ग्राहकहरुले अहिले मार्ट, मल, रेस्टुरेन्ट, होटलमा गएर पस मेसिनबाट रकम तिर्दा सेवा शुल्क तिर्नुपर्दैन तर मार्ट, मल, होटलले छुट्टै रकम तिर्दै आएका छन्। अन्तर्राष्ट्रिय कार्ड (भिसा, मास्टरकार्ड, युनियन पे) प्रयोग गर्दा बैंकहरुले सम्बन्धित विदेशी कम्पनीलाई रकम तिर्दै आएका छन्। 

‘राष्ट्र बैंकले एउटा बैंकको एटीएमले अर्को बैंकबाट रकम निकाल्दा १५ रुपैयाँ लिने व्यवस्था गरेको छ’, उनी भन्छन्, ‘तर बैंकहरुले अन्तर्राष्ट्रिय ट्रान्ज्याक्सन नेटवर्कलाई बुझाइरहेका छन्। अब हाम्रै सिस्टम विकास भइसकेको अवस्थामा बैंकहरुको खर्च कटौती हुन्छ।’

ग्राहकलाई १५ रुपैयाँ मात्रै तिरे पनि वास्तविक लागत २० देखि २२ रुपैयाँसम्म परेको हुन्छ। जुन अहिले बैंकहरुले नै तिरिरहेका छन्। 

भविष्यमा यस कार्डलाई अन्तर्राष्ट्रियस्तरमा प्रयोग गर्न मिल्ने गरी बनाइने प्रधानको भनाइ छ। 

गभर्नरले पाए पहिलो कार्ड
यसैबीच, हिमालयन बैंकले गभर्नर महाप्रसाद अधिकारीलाई पहिलो नेपाल पे कार्ड वितरण गरेको छ। 

कार्ड पाएसँगै उनले अब यसको कार्यान्वयनमा सफलता प्राप्त गर्दै जाने बताए। भारतमा पनि भारत पे कार्ड प्रयोगमा आएपछि ६० प्रतिशत जनसंख्याले प्रयोग गरेको उदाहरण उनले दिए।

नेशनल स्विच हुनासाथ राष्ट्रको रकम बाहिर नजाने भएकाले पनि यो कार्डले फाइदा हुने उनको भनाइ छ। 

‘नेपालभित्रै भुक्तानी हुँदा नेशनल कार्ड स्विचबाट हुँदा लागत कम हुन्छ। विदेशमा कुनै पनि डेटा पुग्दैन। अहिले नेपालभित्र मात्रै चल्छ’, गभर्नर अधिकारीले भने, ‘विदेशको कुनै नेटवर्क (भिसा वा मास्टर कार्ड)सँग सम्झौता गरेसँगै नेपाल पेकै कार्डबाट विदेशमा रकम निकाल्न सकिन्छ।’ 

नेपाल पेको कार्ड बजारमा सहज उपलब्ध भएसँगै नवप्रवर्तनसम्बन्धी व्यवसाय आउन सक्छन्। उदाहरणका लागि हाल सार्वजनिक यातायात डिजिटाइज हुनसकेको छैन।

यसको मुख्य कारण एउटा कम्पनीको कार्ड अर्कोमा स्वाप गर्दा नै बढी खर्च लागिरहेको हुन्छ। नेपाल स्विच सिस्टममार्फत एउटै कार्ड बिक्री गरी यातायातका क्षेत्रमा कार्ड प्रचलनमा ल्याउन सहज हुन्छ। 

यता यो पूर्णरुपमा कार्यान्वयनमा आउँदा विविध क्षेत्रमा नवप्रवर्तनका काम गर्न मिल्ने सीईओ प्रधान बताउँछन्। 

‘हाम्रो सिस्टम पूर्णरुपमा  यातायातलगायत थुप्रै क्षेत्रमा इनोभेसनका काम गर्न सहयोग पुग्छ’, उनले भने, ‘बैंकहरुले समन्वय गरेपछि अहिलेको अवस्थाभन्दा सहज हुनेछ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad