बुद्ध एयरले ७२ सिटको दुईवटा जहाज भित्र्याउने भएको छ।
बुद्धले ल्याउने पहिलो जहाज फ्रान्सबाट शनिबार काठमाडौँ आइपुग्ने बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए।
बुद्धले एटीआर ७२–६०० जहाज ल्याउन लागेको हो। अहिले बुद्धले चलाइरहेका जहाज एटीआर ७२–५०० हुन्।
नयाँ जहाज थपिएपछि उडान र मर्मतको तालिका व्यवस्थापन सहज हुने कर्णले बताए।
उक्त जहाज उडानका लागि नेपाली पाइलट तालिममा रहेकाले अहिले विदेशी पाइलटले नै जहाज काठमाडौँ ल्याउने छन्।
यसअघि बुद्ध एयरका दुईवटा जहाज उडान साइकल पूरा गरेर रिटायर्ड भएका थिए।

बुद्धले ल्याउने अर्को जहाज भने तीन सातापछि काठमाडौँ आइपुग्ने कर्णले बताए।
जहाज घटेका कारण बुद्ध एयरलाई उडान तालिका व्यवस्थापन गर्न असहज भइरहेको थियो।
बुद्धले अहिले ल्याउन लागेको जहाज अहिले उडाइरहेको जहाजभन्दा थप प्रविधियुक्त हो।
एटीआर ७२–६०० जहाजको ककपिट पूर्णरूपमा डिजिटाइज हुन्छ। इन्टेरियर पनि आकर्षक र फराकिलो हुन्छ। यो जहाजको ओभरहेड वीङ पनि केही ठूलो हुन्छ।
यो जहाजलाई ग्रीन–एयरक्राफ्ट भनेर चिनिन्छ। यो जहाजले तुलनात्मक रूपमा कम इन्धन खपत गर्ने र कार्बन फुटप्रिन्ट घटाउन पनि सहयोग गर्ने कम्पनीको दाबी छ।
Shares

प्रतिक्रिया