नेपाल राष्ट्र बैंकले यो आर्थिक वर्षमा १२.५ प्रतिशत कर्जा प्रवाह हुने प्रक्षेपण गरेको छ। तर चालू आर्थिक वर्ष सकिन २ महिना बाँकी रहँदा त्यो लक्ष्य पूरा नहुने निश्चित देखिएको छ।
फागुन मसान्तसम्म बैंकहरूबाट हुने कर्जा प्रवाह ६ प्रतिशतले बढेको छ। जुन प्रक्षेपण गरिएभन्दा आधा कम हो। मासिक विवरणअनुसार चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल २ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
यो पछिल्लो ८ महिनामा प्रवाहित कर्जा हो। राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन हुनुपर्ने ऋण प्रवाहअनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण नगएको निष्कर्ष निकालिसकेको छ। यही कारण अर्थतन्त्र थप चलायमान बन्न नसकेको केन्द्रीय बैंकको निष्कर्ष छ।
त्यसो त राष्ट्र बैंक कर्जाको अवस्थालाई लिएर सन्तुष्ट देखिएको छैन। ७०औँ वार्षिकोत्सवमा कामु गभर्नर डा. नीलम ढुंगानाले कर्जा प्रवाह बढाउन नसकेको बताउँदै बैंकिङ क्षेत्र चुनौतीबाट बाहिर आउन नसकेको बताएकी थिइन्।
अर्थतन्त्रका बाह्य सूचकहरू क्रमशः सुुधारोन्मुख अवस्थामा हुँदा पनि कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न नसक्नुमा बैंकहरूले ऋणीको आत्मविश्वास फर्काउन नसक्नु प्रमुख कारण मानिएको छ।
एक अध्ययनले बैंकहरूबाट कर्जा प्रवाह अपेक्षा गरेअनुसार नहुनुमा बैंकलाई लिएर ऋणीहरूको आत्मविश्वास बलियो हुन नसकेको उल्लेख गरेको छ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनले अस्थिर ब्याजदरले ऋणीको आत्मविश्वास कमजोर बनेको उल्लेख गर्दै कर्जा प्रवाह बढाउन उत्पादनमूलक क्षेत्रमा स्थिर ब्याज अवलम्बन गर्नुपर्ने सुझाव दिएको छ।
‘विगतमा ब्याजदर उचालिँदा तर्सिएका ऋणीहरू थप ऋण लिएर जोखिम मोल्न पनि नचाहेको अवस्था छ। त्यसैले कर्जाको माग बढाउन प्राथमिकताका क्षेत्र र उत्पादनमूलक क्षेत्रहरूमा सीमित अवधिका लागि स्थिर ब्याजदर लागू गर्नुपर्ने देखिन्छ’, प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदनले कोभिड संक्रमणबाट मुलुक बाहिरिँदै गर्दाको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले ऋणीबाट लिएको उच्च ब्याजदरले अझै तर्साएको उल्लेख गर्दै स्थिर ब्याजदर अंगीकार गर्न सुझाएको हो।
२०७९ सालमा ऋणीहरूले अधिकतम १८ प्रतिशतसम्मको ब्याजको सामना गर्नुपर्दा त्यसले बैंकप्रति ऋणीको आत्मविश्वास कमजोर बन्न पुगेको छ।
२०७९ वैशाखमा ऋणीहरूले अहिलेसम्मकै उच्च ब्याजदरको सामना गर्नुपरेको थियो। त्यतिबेला वाणिज्य बैंकहरूले आधारदर १० प्रतिशत र त्यसमा ८ प्रतिशतसम्म प्रिमियम शुल्क थपेर ऋणीबाट १८ प्रतिशतसम्मको ब्याज असुल गरेका थिए। सो समयमा वाणिज्य बैंकहरूको औसत ब्याजदर नै १३ प्रतिशत माथि थियो।
प्रतिवेदनले सोही बेला बैंकहरूले लिएको उच्च ब्याजको मारमा परेका ऋणीहरू थप ऋण लिने अवस्थामा पुग्नै नसकेको निष्कर्ष निकालेको हो।
‘पछिल्लो समय तरलतामा सुधार भई कर्जाको ब्याजदर एकल अंकमा आए पनि कुनै पनि बेला पुनः ब्याजदर बढ्न सक्ने डरले पनि व्यवसायीले कर्जाको माग गर्न सकेका छैनन्’, प्रतिवेदनमा भनिएको छ।
सस्तो ब्याजमा पनि छैन उत्साह
ब्याजदर बढ्दा ऋण प्रवाह घट्ने र ब्याजदर घट्दा ऋण प्रवाह बढ्ने हुन्छ। तर उच्च ब्याजको भुंग्रोमा परेर ब्याजमा सशंकित बनेका ग्राहक ९ वर्षयताकै सस्तो ब्याजमा पनि ऋण लिन अन्कनाउन थालेका हुन्।
उच्च ब्याज झेलेका उपभोक्ताका लागि सस्तो ब्याज अनुभव गर्ने मौका बैंकहरूले दिइरहेका छन्। पछिल्लो ६ महिनायता बैंकको ब्याजदर एकल अंकमा छ। वैशाख मसान्तसम्मका लागि वाणिज्य बैंकहरूको आधार दर ५ प्रतिशतमा आइपुगेको छ।
तर उच्च ब्याजदरको सामना गरेका ऋणीहरू एकल अंकको दरमा पनि ऋण लिन चाहेका छैनन्। गत वर्षको तुलनामा चालू आवको ८ महिनामा कर्जा वृद्धिदरमा सामान्य सुधार देखिए पनि ऋणीहरू एकल अंकको ब्याजको फाइदा उठाउन इच्छुक नदेखिएको बैंकहरूकै गुनासो छ।
तथ्यांकले पनि सस्तो ब्याजमा ऋण प्रवाह बढ्ने देखाएको थियो। तर आव सकिँदै गर्दा पनि सस्तो ब्याजको फाइदा उठाउन ऋणीमा अग्रसरता नदेखिँदा ऋण प्रवाहको वृद्धिदर राष्ट्र बैंकको प्रक्षेपणभन्दा ४८ प्रतिशतले कम देखिएको हो।
ब्याजदर घट्दा पनि ऋण प्रवाह बढ्न नसक्नुलाई अध्ययनले उच्च ब्याजदरपछि उपभोक्तामा देखिएको त्रास मानेको छ।
अध्ययन समिति सदस्य तथा योजना आयोगका सदस्य डा. प्रकाश श्रेष्ठ कोभिडपछिको चर्को ब्याजदरका कारण अझै पनि ऋणी डराउँदा कर्जा प्रवाह बढ्न नसकेको स्वीकार्छन्।
‘व्यावसायिक क्षेत्रका ऋणीहरू डेब्ट ट्र्यापमा परेका छन्’, उनले भने, ‘कोभिडपछि उच्च ब्याजको सामना गरेका ऋणीहरूले ब्याज तिर्न थप ऋण लिएका थिए। यसले ऋणमाथि ऋणको अवस्था सिर्जना गर्यो।’
उच्च ब्याजको चपेटामा परेका ऋणीहरू ब्याजदर सस्तिएर एकल अंकमा आइसक्दा पनि उठ्न नसक्दा त्यसको असर कर्जा प्रवाहमा देखिएको हो।
राष्ट्र बैंकका प्रधान सहायक निर्देशक ऋषिबाबु चापागाईंले राष्ट्र बैंकको ७०औँ वार्षिक विशेषांकमा ऋणलाई लिएर व्यवसायीहरूको आत्मविश्वास बढ्न नसकेको जिकिर गरेका छन्।
उनले लेखेका छन्, ‘अहिले बजारमा कर्जाको माग एकदम कम छ। व्यवसायीहरूमा आत्मविश्वास बढ्न सकिरहेको छैन। लगानीको वातावरण बन्न सकिरहेको छैन। ब्याजदर आधारदरमा आधारित छ। यसका कारण व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूबाट ढुक्क भएर कर्जा लिई व्यवसाय गर्ने अनुकूल अवस्था नदेखिरहेको अवस्था छ।’
ऋणीसँगै बैंक पनि कमजोर
ऋण प्रवाहको क्षमता हेर्दा अहिले बैंक बलियो देखिएका छन् अर्थात बैंकहरूमा पर्याप्त तरलता छ। कर्जा निक्षेप अनुपात ७९.३२ प्रतिशतमा छ। यसको अर्थ अझै निक्षेपको ११ प्रतिशतसम्म बैंकहरूसँग लगानी क्षमता छ। तर पनि बैंकहरू कर्जा दिन भने अग्रसर देखिएका छैनन्।
चालू आवको फागुनसम्म आइपुग्दा उच्च खराब कर्जा भोगिरहेका बैंकहरू पुँजीकोषको दबाबमा छन्। यसले बैंकहरूको ढुुकुटीमा पर्याप्त ऋण देखिए पनि कर्जा प्रवाह भने गर्नसक्ने अवस्थामा छैनन्।
चालू आवको दोस्रो त्रैमासिकसम्म ४ वाणिज्य बैंकहरू पुँजीकोष दबाबमा छन्। बैंकहरूको प्राथमिक पुँजीकोष (सीसीएआर) ८.५ प्रतिशत हुनुपर्ने व्यवस्था छ। जसमा कुमारी बैंक न्यूनतम सीमाभन्दा तल (७.२३ प्रतिशत) छ भने प्रभु, एनआईसी एसिया र हिमालयन बैंक सीमामा छन्।
पुँजीकोष दबाबमा रहेका बैंकहरू कर्जा लगानी बढाउन नसक्नुका साथै पुँजी थप गर्नुपर्ने अवस्थामा छन्। अहिले अधिकांश बैंकहरू पुँजीकोष दबाबमा देखिँदा थप कर्जा विस्तार गर्न सकेका छैनन् भने पुँजीकोष दबाबमा नरहेका बैंकहरू पनि निष्क्रिय कर्जालाई घटाउन कर्जा असुलीमा केन्द्रित देखिएका छन्। यसले ऋण प्रवाह जति हुनसक्थ्यो त्यति हुन नसकेको हो।
चैत मसान्तसम्म बैंकहरूको खराब कर्जा अधिकतम करिब ७.६८ प्रतिशतसम्म पुगिसकेको छ भने अधिकांश बैंकहरूको खराब कर्जा ५ प्रतिशत माथि छ। यसले बैंकहरूको निष्क्रिय कर्जासँगै गैरबैंकिङ सम्पत्ति पनि बढाएको छ।
उच्च खराब कर्जालाई व्यवस्थापन गर्नतिर लाग्दा बैंकहरू कर्जा प्रवाहमा कमजोर देखिएका छन् भने ऋणीको क्षमता पनि कमजोर बन्दा सस्तो ब्याजको अवसर गुम्दै गएको छ।
Shares

प्रतिक्रिया