कारोबार


‘नीतिनियम नहुँदा साना तथा मझौला व्यवसाय संकटमा परे’

‘नीतिनियम नहुँदा साना तथा मझौला व्यवसाय संकटमा परे’

नेपालखबर
माघ १५, २०७९ आइतबार १३:५९, काठमाडौँ

साना तथा मझौला व्यवसायीहरूले नीति नियमको अभावले गर्दा यो व्यवसाय अगाडि बढाउन समस्या भएको बताएका छन्।

नेपाल साना तथा मझौला व्यवसायी महासङ्घ काभ्रे जिल्ला संघको समिति गठन तथा घोषणा कर्यक्रममा बोल्दै व्यवसायीहरूले त्यस्तो कुरा बताएका हुन्।  

सो अवसरमा प्रमुख अतिथि काभ्रेका प्रदेश सांसद कञ्चन चन्द्र बादे श्रेष्ठले नीतिनियम प्रस्ट नहुनु, संघीय, प्रदेश तथा स्थानीय तहमा राम्रोसँग संयोजन तथा तीनै तहका सरकारको भूमिका प्रस्ट नभएको कारणले यो क्षेत्रले दु:ख पाएको धारणा व्यक्त गरे।

अर्थतन्त्रमा यो क्षेत्रको धेरै महत्त्व हुँदाहुँदै पनि विभिन्न समस्याले गर्दा ओझेलमा परेको स्वीकार गरे। त्यसैले, सानो सानो पुँजी लगानी गरेर माथि उठ्न खोजेका यस्ता व्यवसायीहरुलाई नेपाल सरकारले राम्रोसँग सहजीकरण गरेर अगाडि बढ्नुपर्ने बताए। 

सांसद बादेले काभ्रे जिल्लामा साना तथा मझौला व्यवसाय को ठूलो सम्भावना रहेको साथै यस क्षेत्रले अर्थतन्त्र मजबुत बनाउन धेरै भूमिका खेल्ने बताए। उनले यस क्षेत्रको उन्नतिको लागि सम्बन्धित निकायमा संयोजन गर्न तत्पर रहेको विश्वास दिलाए। 

उनले केन्द्रीय र जिल्ला नेतृत्वले प्रभावकारी रूपमा काम गरी रोजगारी वृद्धि, व्यवसाय प्रवर्द्धन, प्रविधिको विकास, दर्ता लगायतका अन्य आवश्यक पर्ने सहयोग उपलब्ध गराई स्थानीय सरकारबाट सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। 

सो अवसरमा साना तथा मझौला व्यवसायी महासङ्घका केन्द्रीय महासचिव डा.  गोपाल प्रसाद तिवारीले एसएमईबारे कार्यपत्र प्रस्तुत गर्दै यस क्षेत्रले आर्थिक वृद्धिमा ठूलो टेवा पुर्याउने भए पनि नेपालको यस क्षेत्रले अरू देशमा जस्तो अगाडि बढ्न नसकेको कुरा प्रष्ट पारे।

लघु, घरेलु, साना तथा मझौला व्यवसायहरूले आधुनिक तरिकाले व्यवसाय सञ्चालन गर्न नसकेको उनको भनाइ छ। यसमा धेरै समस्या भएको कुरा स्पष्ट पार्दै डा तिवारीले उद्योगीले गुणस्तर उत्पादन गर्न नसकेको, बजार पनि राम्रो नपाएको, वित्तीय स्रोत परिचालन पनि गर्न नसकेको, सरकारले सहयोग पनि गर्न नसकेकोले यो क्षेत्रले जतिसुकै अर्थतन्त्र मा योगदान छ भने पनि समस्याले ग्रस्त भएको बताए।

उनले अहिलेसम्म एसएमई नीति नभएको, संस्था दर्ता गर्दा पनि विभिन्न झन्झट खेप्नुपर्ने, सरकारी कार्यालयबाट सहयोग नपाउने, बजारको समस्या, किसानलाई मल/खाद, गुणस्तरीय बीउ/बिजन, साथै अन्य वस्तुहरुको अभावले यो क्षेत्र धेरै नाजुक स्थितिमा रहेको बताए।

त्यतिमात्र होइन, ९० प्रतिशतभन्दा बढी यस क्षेत्रले  राष्ट्रिय अर्थतन्त्रमा योगदान भने पनि धेरै उद्योग दर्ता हुन नसक्नु, व्यवसाय गरे पनि आफ्नो उत्पादनले राम्रो मूल्य नपाउनु, सरकारी कार्यालयहरूबाट व्यवसायीहरूलाई सहयोग नमिल्नु साथै अन्य धेरै समस्याले गर्दा यो क्षेत्रले अगाडि बढ्न गाह्रो भएको उनको भनाइ छ। 

त्यसैगरी सो कार्यक्रमको अध्यक्षता गर्दै साना तथा मझौला व्यवसायी महासङ्घका सह-अध्यक्ष धर्मनन्द श्रेष्ठले यस क्षेत्रलाई दिगो रुपमा संचालन गर्न सरकारले सहयोग नगरेको आरोप लगाए। उनले बैंक तथा वित्तीय संस्थाबाट यस क्षेत्रलाई सहज रुपमा ऋण उपलब्ध गराउनुपर्ने कुरामा जोड दिँदै साना तथा मझौला व्यवसायीहरुले भोगेका समस्याहरुलाई समाधान गर्न सरकारसँग माग गरे।

उद्यमी महिलाहरुले आफ्नो व्यवसाय सञ्चालन गर्न बैंक तथा वित्तीय संस्था बाट सहजै ऋण नपाएकोले यसतर्फ पहल गरिदिनुपर्ने बताए। 

साना तथा मझौला व्यवसायी संघ काभ्रे जिल्लामा अनिता बस्नेतको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको छ। उक्त कार्यक्रममा विभिन्न व्यवसायमा लागेका कुल ३५  जनाको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .