रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले वैशाख ३ गतेबाट बन्दमुखी म्युचुअल फन्ड रिलायबल समृद्धि योजना निष्काशमा ल्यायो।
अंकित मूल्य १० रुपैयाँको दरले १० करोड इकाइ जारी गर्दै क्यापिटलले लगानीकर्तालाई आवेदनका लागि ४ दिनको समय दियो। तर तोकिएको समयमा माग गरेजति पनि आवेदन परेन।
त्यसपछि क्यापिटलले अरु १० दिन थपेर वैशाख १७ गतेसम्म आवेदन खुला गर्नुपर्यो।।
प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यमा निष्काशन हुँदै आएका अधिकांश म्युचुअल फन्डको अवस्था अहिले रिलायबलको जस्तै छ।
प्राथमिक बजारमा मात्र नभई धितोपत्रको दोस्रो बजारमा पनि म्युचुअल फन्डहरूप्रति लगानीकर्ताको आकर्षण बढ्नसकेको छैन। बरु खस्किन थालेको छ।
लगानीकर्ताको बेवास्ता
अन्तर्राष्ट्रिय बजारमा म्युचुअल फन्डलाई लगानीको सुरक्षित क्षेत्र मानिन्छ। तर नेपाली लगानीकर्तालाई भने यसले तान्नसकेको छैन। यसले म्युचुअल फन्ड जारी गर्ने कम्पनीहरूलाई लगानी संकलन गर्नै समस्या पर्न थालेको छ।
पछिल्लो समय प्राथमिक बजार र दोस्रो बजार दुवैमा यसप्रति लगानीकर्ताको उपस्थिति कम हुँदै गएको हो। यसले नेपालमा म्युचुअल फन्डको प्रभावकारितामै प्रश्न उठ्न थालेको छ।
सामान्यतया धितोपत्रको दोस्रो बजारमा कारोबार गरेर जोखिम मोल्न नचाहने तर लगानी गर्न चाहने लगानीकर्ताहरू म्युचुअल फन्डमा आउँछन्। यसको अवधारणा नै सुरक्षित लगानी हो।
साना तथा संस्थागत लगानीकर्ताहरूबाट पैसा जम्मा गरी बजारप्रति दक्ष विश्लेषकहरूले स्टक, बन्ड र अन्य धितोपत्रहरूमा लगानी गर्ने गर्छन्। यसका लागि बजार प्रबन्धकहरूले म्युचुअल फन्डका योजनाहरूमार्फत लगानीकर्ताबाट ठूलो संख्यामा रकम उठाउँछन्।
सो रकम धितोपत्रमा लगानी गर्ने र त्यसबाट आएको नाफा लगानीकर्तामा बाँडिने भएकाले लगानीकर्ता निष्क्रिय रहेर पनि प्रतिफल पाइरहने अवस्था हुन्छ।
यसले गर्दा वित्तीय बजारमा म्युचुअल फन्डलाई सुरक्षित लगानीको क्षेत्र मान्ने गरिन्छ भने दीर्घकालीन लगानीकर्ताहरूको आकर्षण पनि यसमा बढी नै रहने गर्छ।
अन्तर्राष्ट्रिय बजारमा यसैकारण पनि म्युचुअल फन्डप्रतिको आकर्षण अन्यको तुलनामा धेरै हुने गर्छ।
नेपालमा उल्टो प्रवृत्ति
नेपालमा भने यसको ठीक उल्टो प्रवृत्ति देखिँदै आएको छ। सुरक्षित मानिएको बजारमै लगानीकर्ताको आकर्षण न्यून देखिएको हो।
बन्द र खुलामुखी दुई प्रकारका योजनाहरू बजारमा आए पनि यसले लगानीकर्तालाई अपेक्षित रुपमा तान्न सकिरहेको छैन।
चैत मसान्तसम्म धितोपत्रको दोस्रो बजारमा (नेपाल स्टक एक्स्चेन्जमा) ३६ वटा बन्दमुखी योजनाअन्तर्गतका ३ अर्ब ५० करोड इकाइ सूचीकृत छन्। खुलामुखी योजना भने नेप्सेमा सूचीकृत हुँदैनन्।
प्राथमिक बजारमा यस्ता योजना निष्काशनमा ल्याउने कम्पनीहरू पुँजी जुटाउन समस्या खेपिरहेका बेला दोस्रो बजारमा म्युचुअल फन्डहरूको आकर्षण पनि कमजोर देखिन्छ।
चैत मसान्तसम्म नेप्सेमा ३६ म्युचअल फन्डहरू सूचीकृत छन्। तिनको साढे ३ अर्बको इकाइ कारोबार भइरहेको छ। जसमध्ये लगानीकर्ताले चैत मसान्तसम्म कुल १७ करोड इकाइ मात्रै खरिदबिक्री गरेका छन्। जुन कुल कारोबारमा रहेका इकाइ को ४.८५ प्रतिशत मात्रै हो।
प्राथमिक बजारमा कारोबार धेरै हुने र यस्ता योजना परिपक्व नहुने बेलासम्म लगानीकर्ता कारोबारमा नआउने हुँदा पनि दोस्रो बजारको कारोबार अन्य सेयरहरूको तुलनामा कम नै हुन्छ।
तर दोस्रो बजारसँगै प्राथमिक बजारमै पनि लगानीकर्ताको उपस्थिति पातलिन थालेपछि नेपालमा म्युचुअल फन्डहरूप्रतिको आकर्षण घट्दो देखिएको हो।
दोस्रो बजारमा अंकित मूल्यभन्दा तल अधिकांश म्युचुअल फन्ड छन्। लगानीकर्ताले अंकित मूल्य १० रुपैयाँमा खरिद गरे पनि हाल दोस्रो बजारमा अधिकांश कम्पनीको मूल्य सोभन्दा कम छ।
चैत मसान्तसम्म ३६ वटा सूचीकृत म्युचुअल फन्डमध्ये ३ वटाको मात्रै १० रुपैयाँ माथि छ भने बाँकी ३३ वटाको मूल्य १० रुपैयाँभन्दा तल पुगेको छ।
दोस्रो बजारमा मूल्य नबढ्दा नयाँ लगानीकर्ता अन्य सेयरमा जसरी आकर्षित हुनसकेका छैनन्। यसमा दीर्घकालीन लगानीकर्ता हुने हुँदा इकाइ होल्ड गर्ने प्रवृत्ति लगानीकर्तामा रहन्छ। तर इकाइ होल्ड गर्दा पनि लागनीकर्तालाई लाभांश पर्याप्त नआउँदा यसप्रतिको आकर्षण घट्न बल पुगेको छ।
नेप्सेमा सूचीकृत फन्डहरूमध्ये गत आवको नाफाबाट ३६ मध्ये २७ वटाले मात्रै लाभांश दिएका थिए। लाभांश दिनेहरूले पनि न्यूनतम ५ प्रतिशतदेखि अधिकतम १५ प्रतिशत नगद लाभांश वितरण गरेका छन्। यसमा अधिकतम एनएमबी बैंक–५० ले १५ प्रतिशत दिएको छ। यसको दोस्रो बजारमा १०.५८ रुपैयाँ मूल्य छ।
‘संस्थाहरू खर्च जोहो गर्न मात्रै केन्द्रित देखिए’
लाभांशमा वृद्धि नहुँदा पनि दीर्घकालीन तथा अल्पकालीन दुवै लगानीकर्ता म्युचुअल फन्डप्रति आकर्षित हुन नसकेको बताउँछन् विश्व बैंकका लागि इक्विटी कन्सल्ट्यान्ट पारसमणि ढकाल।
अन्तर्राष्ट्रिय बजारअनुरुप नेपालमा म्युचुअल फन्डप्रतिको आकर्षण घट्नुमा यो पनि प्रमुख कारण रहेको उनको भनाइ छ।
‘फन्ड व्यवस्थापन गर्ने संस्थाहरू खर्च जोहो गर्न मात्रै केन्द्रित देखिए’, उनले भने, ‘खर्च धानेपछि थप जोखिम लिएर विविधीकरण गर्न तिर लागेनन्। यसले प्रतिफल खुम्च्याएको छ।’
उनका अनुसार थोरै कमाउने बरु थोरै गुमाउने मध्यमार्गी बाटोमा फन्ड व्यवस्थापन कम्पनीहरू लागेका छन्। त्यसको असर समग्र म्युचुअल फन्डहरूको प्रतिफलमा देखिएको छ।
त्यसो त म्युचुअल फन्डहरूमा आकर्षण घट्नुको अन्य कारण रहेको समेत ढकाल बताउँछन्।
लाभांश घट्नु, प्रतिफल कमजोर हुनु र योजना सञ्चालन तथा व्यवस्थापन गर्ने कम्पनीहरू नाफामुखी हुन नसक्नु, लगानी विविधीकरण गर्न नसक्नु, जोखिम वहन गर्न नसक्नु तथा दक्ष जनशक्तिको कमी हुनु पनि प्रमुख कारण रहेको उनको भनाइ छ।
किनेको मूल्यमा पुग्नै सकस
म्युचुअल फन्डहरूमा लगानी गरेका लगानीकर्ताले दोस्रो बजारमा आफूले किनेको मूल्यमै बेच्न पनि लामो समय कुर्नुपर्ने देखिन्छ।
धितोपत्रको दोस्रो बजारमा सूचीकृत ३६ म्युचुअल फन्डमध्ये ३३ वटाको मूल्य निष्काशन गर्दाको मूल्यभन्दा कम भएको छ। अर्थात् यी कम्पनीहरूले लगानीकर्तामा इकाइ निष्काशन गर्दा अंकित मूल्य १० रुपैयाँ थियो। तर अहिले ३३ वटाको बजार मूल्य १० रुपैयाँभन्दा तल नै छ। बाँकी ३ वटाको मात्रै १० रुपैयाँ छ।
चैत महिनाभरि सूचीकृत कम्पनीहरूमध्ये अधिकतम मूल्य ११.२८ रुपैयाँ छ। यो भनेको लगानीकर्ताले किनेको मूल्यको अधिकतम १.२८ रुपैयाँ मात्रै बढी हो। यो पनि एक वा दुई कम्पनीहरूको मात्रै छ। नत्र अधिकांश कम्पनीको मूल्य निष्काशनताकाको मूल्यभन्दा कम नै देखिन्छ।
के हुुनुपर्थ्यो?
ढकाल नेपालमा म्युचुअल फन्ड जारी गर्ने संस्थाहरूले लगानी विविधीकरण गर्न डराउन नहुने बताउँछन्।
सुरक्षित हुने चक्करमा लगानीकर्तालाई पर्याप्त प्रतिफल दिन नसक्नु अहिलेका फन्ड व्यवस्थापन कम्पनीहरूको प्रमुख समस्या रहेको उनको बुझाइ छ।
‘नेपालमा प्रेडिक्सन गर्न सक्ने व्यक्तिको कमी छ, भएकाहरू पनि खर्च जोहोमा केन्द्रित छन्, यसले पनि लगानी विविधीकरण हुन सकेको छैन’, उनले भने।
सेयरबजारका अध्येता डा. भरत थापा पनि ढकालको कुरामा सहमत छन्।
नेपालका म्युचुअल फन्डहरू व्यवस्थापन गर्ने संस्थाहरूले आफ्नो कार्यशैली सुधार्नुपर्ने उनको तर्क छ।
थापाले भने, ‘म्युचुअल फन्डहरू आफ्नै खर्च धान्नमा मात्रै रमाए। यसले प्रतिफललाई मात्रै घटाएन, दोस्रो बजारमा लगानीकर्ताको आकर्षणलाई पनि संकुचित बनायो।’
दक्ष विश्लेषकहरू ल्याएर भए पनि लगानी विविधीकरणमा जोड दिनुपर्ने सुझाव दिन्छन् थापा। त्यसो नभएसम्म म्युचुअल फन्डप्रति लगानीकर्ताको आकर्षण नबढ्ने उनको भनाइ छ।
म्युचुअल फन्डहरूको अवस्था पछिल्लो दुई वर्षयता खस्किए पनि दीर्घकालीन रूपमा भने लगानीकर्ताका लागि सुरक्षित क्षेत्र रहनेमा ढकाल ढुक्क छन्।
‘यसमा वार्षिक प्रतिफलभन्दा पनि परिपक्व हुँदासम्म लगानीकर्ताले कति प्रतिफल पाए भनेर हेर्नुपर्छ’, उनले भने, ‘पछिल्लो दुई वर्षयता प्रतिफल खस्किए पनि त्यसअघिका फन्ड राम्रै थिए। यदि लगानी विविधीकरणमा नडराउने हो भने म्युचुअल फन्डहरूको आकर्षण बढाउन सकिन्छ।’
Shares

प्रतिक्रिया