कारोबार


अर्थमन्त्रीलाई परिसंघले दियो बजेट सुझाव, १० वर्षका लागि स्थिर आर्थिक नीति ल्याउन माग

अर्थमन्त्रीलाई परिसंघले दियो बजेट सुझाव, १० वर्षका लागि स्थिर आर्थिक नीति ल्याउन माग

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १३:३२, काठमाडौँ

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष सुझाव पेस गरेको छ।

परिसंघले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिइ आत्मविश्वासका साथ लगानी वृद्धि गर्ने नीति अवलम्बन गरी यस्ता आर्थिक नीति आगामी १० वर्षसम्म स्थिर हुने सुनिश्चितता गर्न आग्रह गरेको हो। 

परिसंघकोतर्फबाट सुझाव प्रस्तुत गर्दै परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले “समृद्धिका लागि जे पनि”को भावनासहित लगानीको वातावरण निर्माण गर्न आवश्यक रहेको बताए। उनले आगामी दश वर्षका लागि लगानी वर्ष घोषणा गरी लगानी प्रवर्द्धन गर्ने नीति लिन आग्रह गरे। उनले स्वदेशी उद्योगहरूको विकास तथा प्रवर्द्धन गर्न सरकार तथा निजी क्षेत्रको सहकार्यलाई थप जोड दिनुपर्ने बताए।

उनले आयातलाई सामान्य नियमन तथा आन्तरिक उत्पादनमा सामान्य सहुलियत उपलब्ध गराउँदा स्वदेशमा लगानी बढ्ने, उत्पादन वृद्धि हुने एवं आत्मनिर्भरतातर्फ जान सक्ने वस्तुहरुको पहिचान गरी यस्ता उद्योगहरुलाई प्रोत्साहन गर्न आयात निरुत्साहन गरिनुपर्ने बताए।

परिसंघले आत्मनिर्भर भएका र हुन सक्ने वस्तुहरुको सूची समेत अर्थ मन्त्रालयलाई उपलब्ध गराएको छ।

परिसंघले तयारी वस्तुमा लागेको भन्सार दरभन्दा सो वस्तु उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थमा लाग्ने भन्सार दर कम्तीमा एक तह कम हुने कानुनी व्यवस्था (औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा २५ को उपदफा घ)लाई संशोधन गरी कम्तीमा २ तहको हुने व्यवस्था गर्न सुझाएको छ  

 आगामी वर्ष नेपालमा विद्यमान अनेक थरिका करहरू (रंगीचंगी) लाई एकीकृत गर्दै सीमित प्रकारका करहरू (आयकर, भन्सार, अन्तःशुल्क तथा मूल्यअभिवृद्धि कर) मात्र रहने व्यवस्था गर्न, मूल्यअभिवृद्धि करलाई बहुदरको (०, ५, १३ तथा १८) बनाई यस करमा आबद्ध हुनुपर्ने न्यूनतम कारोबारको सीमालाई कम गरी सबैलाई यसै करमा आबद्ध गर्न परिसंघले सुझाव दिएको छ। 

यसबाट नेपाली उत्पादनको मूल्य कम हुन गई भारतीय वस्तु तथा बजार मुल्यसंग प्रतिस्पर्धी हुने र अनधिकृत आयात समेत नियन्त्रण गर्न सहयोग पुग्ने परिसंघको विश्वास छ। यसैगरी परिसंघले कर असुल गर्ने व्यवस्थालाई समेत एकिकृत गर्दै एकै स्थानबाट सबै कर संकलन गर्ने र राज्यले विभिन्न तह वा निकायमा बाँडफाँड वा वितरण गर्ने प्रणालीको विकास गर्न आग्रह गरेको छ।

चोरी पैठारीले स्वदेशी उद्योगहरूलाई निकै मर्का पारिरहेको र यसबाट सरकारले समेत राजस्व गुमाइरहेकोले भन्सार नाकाबाट हुने अनियमिततालाई भन्सार विभागबाट नियन्त्रण गरिनुपर्ने साथै भन्सार नाका बाहिरबाट भईरहेको अनधिकृत आयात तथा भन्सार राजस्व विचलनलाई नियन्त्रण गर्न स्पष्ट कार्यादेश र जिम्मेवारी सहित अन्तरसरकारी समन्वयनलाई प्रभावकारी बनाउन, भन्सारको सन्दर्भ पुस्तिकाको अभ्यास खारेज गर्न, आयातित वस्तुमा लगाउनु पर्ने लेवल भन्सार विन्दु अगावै लगाउनुपर्ने व्यवस्था कायम गर्न परिसंघले सुझाव दिएको छ। 

यस्तै आगामी वर्षबाट नेपालमा गुणस्तरीय वस्तुमात्र आयात गर्न पाउने व्यवस्था कायम गरी आगामी आर्थिक वर्ष भित्र आयात हुने प्रमुख वस्तुहरूका कम्तीमा १०० वटा गुणस्तर मापदण्ड बनाई आयातमा अनिवार्य लागू गरिनुपर्ने परिसंघको सुझाव छ। 

चालू आर्थिक वर्षमा सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ जारी भएको र सो निर्देशिकामा स्वदेशी वस्तु पहिचानका लागि वेब पोर्टल बनाउने, सोही पोर्टलबाट वस्तु खरिद गर्न सकिने लगायतका विषयहरू समावेश भएको हुँदा यी व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनको सुनिश्चिता गर्नुका साथै स्वदेशी वस्तुहरूको सार्वजनिक निकायमा खपत बढाउन सार्वजनिक खरिदसंग सम्बन्धित कानुनहरूमा तत्काल सुधार गरिनुपर्ने परिसंघले जोड दिएको छ। 

प्राकृतिक सम्पदाको दीगो उपयोग हुने गरी हाल कायम रहेका कठोर नीति नियमहरूको पुनरवलोकन गर्न अत्यावश्यक छ। उद्योगहरूका लागि वन क्षेत्रको उपयोग, काष्ठ तथा गैर काष्ठ वस्तुहरूको उपयोग, जडिबुटी, ढुँङ्गा, गिट्टी, पानी, चुनढुङ्गा, खानी तथा खनिजजन्य सम्पदाहरूको दीगो उपभोग हुने गरी प्रचलित कठोर कानुनहरूको सरलिकरण गर्न परिसंघले आग्रह गरेको छ। परिसंघले कानुनहरुमा गरिएका सुधारका लागि धन्यवाद दिदै थप कानुनहरुको सुधारलाई उच्च प्राथमिकतामा राख्न अनुरोध गरेको छ।

परिसंघले अग्रिम जमानत सम्बन्धि, उधारो उठाउने सम्बन्धि कानुनी व्यवस्था गर्न, आय करको दफा ५७ तथा ९५ कको दोहोरोपना हटाउन अनुरोध गरेको छ।  

मुलुकलाई अत्यन्त आवश्यक रहेको ठुलो मात्राको लगानी (विदेशी वा स्वदेशी) आकर्षण गर्न उत्पादन मुलक उद्योगहरूको नाफामा लाग्ने आय करको दर क्रमश घटाउँदै १० प्रतिशत मात्रै कायम गर्न, निर्यात मुलक उद्योगहरूलाई निर्यात आयमा दिदै आएको कर छुटको सुविधा पुनः कायम गर्न, निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय स्टार्टअप इन्क्यूवेसन सेन्टर स्थापना तथा संचालन गर्ने नीतिगत व्यवस्था गर्न सुझाव दिएको छ।

सार्वजनिक निजी साझेदारीका नविन तथा प्रचलनमा आईसकेका एचएएम, भीजीएफ, एमआरजी, भीसीएमजस्ता लगानीका मोडलहरूको प्रयोग गरी विमानस्थल, हाईवे जस्ता ठुला पूर्वाधार आयोजना निजी क्षेत्रबाट निर्माण गर्न प्रोत्साहन गर्न परिसंघले आग्रह गरेको छ। आगामी बजेटले नयाँ उद्योग तथा औद्योगिक क्षेत्र, डिजिटल अर्थतन्त्र तथा सूचना प्रविधि, वित्तीय नवीनता, उर्जा, पर्यटन, सहरी तथा औद्योगिक पूर्वाधार, सडक, हवाई, रेल, जल सञ्जाल, कृषि तथा जडीबुटी, शिक्षा तथा स्वास्थ्य, प्राकृतिक श्रोतको उपयुक्त तथा दीगो उपयोग गर्ने नीति लिन सुझाएको छ।

परिसंघले आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि प्रस्तुत गरेका सुझावहरुको सम्बोधन एवं कार्यान्वयनबाट अर्थतन्त्र तथा लगानीमा उल्लेख्य सुधार भई मुलुकको समृद्धिको यात्रामा महत्वपुर्ण टेवा पुग्ने विश्वास लिएको छ। 

परिसंघ सुझाव ग्रहण गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मनोबल, लगानी, उत्पादकत्व बढाउने वातावरण बनाउने सरकारको चाहना रहेको बताए। सरकारले कानुनहरुमा सुधार गरी पहिलो किस्तामा सुधारको काम गरेको भन्दै उनले निजी क्षेत्रले उत्साहित भएर लगानी नगर्दासम्म सुधारलाई जारी राख्ने बताए। लगानीयोग्य रकम उच्च हुँदा र एकल बिन्दुमा ब्याजदर आउँदा पनि लगानी किन भएको छैन भन्ने उनले प्रश्न गरे। लगानी बढाउन सरकारले जे जस्तो नीति लिनुपर्छ, त्यस्तो नीति लिन सरकार प्रतिबद्ध रहेको उनले बताए।  

सो अवसरमा परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले नीतिगत सुधारको खाका बजेटमार्फत ल्याउन आग्रह गरे। यस्तै निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले सार्वजनिक निजी साँझेदारीमा औद्योगिक क्षेत्र संचालन गर्न दिन सुझाव दिए। 

सो अवसरमा राजस्व सचिव एवं राजस्व परामर्श समिति संयोजक दिनेशकुमार घिमिरे, परिसंघ गभर्निङ काउन्सिल सदस्य शिवरतन सारडा, वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, उपाध्यक्षहरु निर्माण चौधरी, राजबहादुर शाह, रोहित गुप्ता, अमित मोर, भीम घिमिरेलगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad