ad ad

कारोबार


प्रचण्डका घरबेटीले पाएको भक्तपुर–नगरकोट सडकको ठेक्का तोडिँदै

प्रचण्डका घरबेटीले पाएको भक्तपुर–नगरकोट सडकको ठेक्का तोडिँदै

नेपालखबर
चैत १३, २०७९ सोमबार १२:११, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग मातहत रहेको सडक सुधार तथा विकास परियोजना निर्देशनालयले भक्तपुर–नगरकोट–सिपाघाट सडकखण्डको ठेक्का तोड्ने तयारी गरेको छ। 

निर्देशनालयले एक सार्वजनिक सूचना जारी गर्दै ठेक्का पाएको अराभली इन्फ्रापावर लिमिटेड–शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि जेभी ताल्चिखेल, सुनाकोठीविरुद्ध ठेक्का नतोड्नुपर्ने कुनै कारण भए १४ दिनभित्र कार्यालयमै उपस्थित भएर जानकारी गराउन भनेको हो। 

कार्यालयले पटक–पटक लिखित र मौखिक निर्देशन दिए पनि ठोस प्रगति नदेखिएको भन्दै अब ठेक्का तोड्नुको विकल्प नदेखिएको जनाएको छ। उक्त सडक निर्माण गत पुस ३० भित्र पूरा भइसक्नुपर्ने थियो। 

कार्यालयले काम सम्पन्न नभएपछि सार्वजनिक खरिद ऐन र जेभीसँग भएको सम्झौताका प्रावधान तोकेर ठेक्का तोड्नलागेको हो। अब १४ दिनभित्र कार्यालयमा उपस्थित नभए ठेक्का तोड्ने प्रक्रिया अघि बढ्ने र आवश्यक कदम चालिने सूचनामा भनिएको छ। 

यो सडक ठेक्का लागेको वर्षौँसम्म काम सम्पन्न हुनसकेको छैन भने पटक पटक म्याद थपको काम भने सरकारले गरिदिएको छ। 

यो सडकका ठेकेदार प्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारदा प्रसाद अधिकारी हुन्। वर्षौँ बित्दा पनि सडकको काम नभएपछि यहाँका स्थानीयबासी ठेकेदार अधिकारी र सरकारसँग आक्रोशित छन्।  

गत फागुन १८ गते उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र भारतीय राजदूत नविन श्रीवास्तवले स्थलगत अनुगमन गरेका थिए। सो क्रममा उनीहरुलाई स्थानीयबासीले घेरेका थिए। 

स्थानीयबासीले प्रचण्डको घरभेटी भएकै कारण काम नगरे पनि म्याद थप्ने गरेको भन्दै आक्रोश व्यक्त गडरेका थिए। मन्त्री श्रेष्ठले १ महिनाको समय माग गर्दै काम सम्पन्न नभए आवश्यक कदम चाल्ने आश्वासन दिएका थिए। 

सोहीअनुसार १४ दिने स्पष्टीकरण माग गरिएको हो। सडकको काम गर्ने भनेकै ९ वर्ष बित्दा ४–५ वर्षअघि गरेको कालोपत्रे समेत भत्किएको छ। ठेकेदारले कालोपत्रे भनेको बाटो अहिले धूलाम्य छ। बीच–बीचमा खाल्टाखुल्टी छन्। 

यो सडकको ठेक्का सन् २०१४ मै लागेको हो। त्यसयता भारतीय एक्जिम बैंकसँग सफ्ट लोनको सम्झौता भई निर्माण भइरहेको छ। २७ करोडमा ठेक्का सम्झौता भए पनि भेरिएयसन गरेर ३१ करोड पु¥याइएको छ। सडकको डिजाइन परिवर्तन भई अन्तिम भेरिएसन गर्दा २८ करोडमा झरेको कन्स्ट्रक्सनले जनाएको छ। 

यसअघि कम्पनीले १ महिनामा कालोपत्रे गर्न नसके ठेक्काबाट हात झिक्ने जनाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .