ad ad

कारोबार


एनसेलले अहिलेसम्म सरकारलाई तिर्‍यो २ खर्ब ६३ अर्ब

पछिल्लो ५ वर्षमा मात्रै १ खर्ब ४४ अर्ब कर दाखिला
एनसेलले अहिलेसम्म सरकारलाई तिर्‍यो २ खर्ब ६३ अर्ब

नेपालखबर
साउन १७, २०७९ मंगलबार १८:३२, काठमाडौँ

एनसेलले पाँच वर्षको अवधिमा सरकारलाई १ खर्ब ४४ अर्ब रुपैयाँ राजस्व तथा शुल्क तिरेको छ। 

सन् २००४ मा स्थापना भएयता एनसेलले आर्थिक वर्ष २०७७/०७८ सम्ममा भने कुल २ खर्ब ६३ अर्ब कर तथा शुल्कहरु सरकारलाई तिरेको हो। 

१ करोड ६८ लाख प्रयोगकर्ता पुर्‍याएको एनसेलले पछिल्लो ५ वर्षमा मात्रै १ खर्ब ४४ अर्ब कर तथा विभिन्न शुल्कबापत तिरेको छ।  

नेशनल कन्ट्रिब्युसन रिपोर्टमा एनसेलले गएको पाँच वर्षमा सरकारलाई विभिन्न कर तथा शुल्कहरुबापत १ खर्ब ४४ अर्ब १ करोड रुपैयाँ तिरेको उल्लेख गरेको छ।

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले हालै सार्वजनिक गरेको नेशनल कन्ट्रिब्युसन रिपोर्ट २०७७/०७८ का अनुसार सन् २०२१ (आर्थिक वर्ष २०७७/०७८) मात्र कम्पनीले कर तथा शुल्कबापत २१ अर्ब ७५ करोड राज्यकोषमा दाखिला गरेको हो।

प्रत्येक वर्ष टेलिकम कम्पनीहरुले सरकारलाई दूरसञ्चार सेवा शुल्क, मूल्यअभिवृद्धि कर, स्वामित्व कर, भन्सार शुल्क, अग्रिम कर, रोयल्टी, ग्रामीण दूरसञ्चार कोषमा योगदान, लाइसेन्स नवीकरण शुल्क र फ्रिक्वेन्सी शुल्कलगायतका शीर्षकहरुअन्तर्गत कर तथा शुल्कहरु दाखिला गर्दछन्।

एनसेल नेपालमा फोन तथा इन्टरनेट प्रयोगकर्ताबीच लोकप्रिय छ। नेपालको कुल जनसंख्यामध्ये एनसेलका १ करोड ६८ लाख ३१ हजार जीएसएम (सिम) प्रयोगकर्ता छन्।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ५ वर्षअघि एनसेलका १ करोड ५४ लाख सिम प्रयोगकर्ता रहेकोमा १४ लाख एनसेल फोन प्रयोगकर्ता बढेका छन्। नेपालमा ४ वटा टेलिफोन सेवा प्रदायकमध्ये एनसेलको मार्केट सेयर ३९.९९ प्रतिशत रहेको छ। 

एनसेलले आफ्नो सेवा विस्तार गर्न ५ वर्षमा ४६ अर्ब ३९ करोड लगानी गरेको छ। टेलिकम्युनिकेसनमा नयाँ प्रविधिमार्फत सेवा दिइरहेको एनसेलले मोबाइल ब्रोडब्यान्डमा राम्रो सफलता हासिल गरेको हो। कम्पनीले विभिन्न डेटा प्याकमार्फत नेपालका अधिकांश ठाउँमा इन्टरनेट सेवा पुर्‍याएको छ।  

प्राधिकरणको तथ्यांकअनुसार एनसेलका मोबाइल ब्रोडब्यान्ड (मोबाइलबाट इन्टरनेट प्रयोग गर्ने) ८६ लाख ८६ हजार छन्। जसमा ६६ लाख १८ हजार फोरजीका प्रयोगकर्ता छन् भने २० लाख ६८ हजारले थ्रिजी प्रयोग गरिरहेका छन्। ५ वर्षअघि ६७ लाख ८३ हजार इन्टरनेट (जीपीआरएस) प्रयोगकर्ता थिए। कम्पनीको ५ वर्षअघि ४३.६० प्रतिशत मार्केट सेयर रहेको थियो। 

कम्पनीका अनुसार दिगो विकास लक्ष्यप्राप्तिमा सरकारलाई सघाउँदै एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत विविध सामाजिक परियोजनाहरुमा १ अर्ब ६५ करोड रुपैयाँ लगानी गरिसकेको छ ।

राज्यको कुल राजस्वमा ४.४ प्रतिशत एनसेलको योगदान
एनसेलले पाँच वर्षको अवधिमा सबैभन्दा बढी सन् २०१९ (आर्थिक वर्ष २०७५/०७६) मा कर तिरेको छ। कोभिड–१९ महामारीको असर देखिनुअगाडि कम्पनीको धेरै योगदान रहेको थियो। उक्त वर्ष एनसेल एक्लैले ३४ अर्ब ५६ करोड राजस्व तथा शुल्क तिरेको छ। जुन सरकारको कुल राजस्व संकलनको ४.४ प्रतिशत हो।

नेपालमा धेरै कर तिर्ने कम्पनीमध्ये एनसेल प्रमुख कम्पनीमा पर्छ। गत आर्थिक वर्ष २०७८/०७९ मा एनसेल धेरै आयकर तिर्ने कम्पनीको सूचीमा तेस्रो स्थानमा छ।सेवा तथा सुविधाहरुको शुल्कमा आएको गिरावट र कोभिड–१९ महामारीको असर लगायतका कारणले गर्दा कम्पनीको आयका साथै उसले योगदान गर्ने करमा पनि सन् २०२० पछि कमी आएको कम्पनीले जनाएको छ।

एनसेलको मातृकम्पनी आजियाटा ग्रुपको एक प्रतिवेदनअनुसार एनसेलको सन् २०१९ मा कुल आय ५४ अर्ब २ करोड रुपैयाँ थियो। २०२० मा आय घटेर ४१ अर्ब ९ करोड रुपैयाँ रहेको थियो भने २०२१ मा कम्पनीको आय ४१ अर्ब ५ करोड रहेको सो प्रतिवेदनले देखाएको छ। 

महामारीको असरले गर्दा टेलिकम कम्पनीहरुको भ्वाइस सेवा र अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आयमा कमी आएको थियो। मोबाइल डेटा खपतमा वृद्धि भए पनि कम्पनीहरुको कुल आयमा भने यसको योगदान कम रहेको एनसेलले जनाएको छ। 

आर्थिक वर्ष २०७६/०७७ मा ३२ अर्ब ६० करोड राजस्व तथा शुल्क एनसेलले राज्यलाई बुझाएको छ। उक्त वर्ष एनसेलले दाखिला गरेको कर तथा शुल्क सरकारको कुल राजस्व संकलनमा ४.३ प्रतिशत योगदान छ। एनसेलका मुख्य स्रोतमा भ्वाइस, मोबाइल डेटा सेवा र अन्तर्राष्ट्रिय कल छन्। 

रिपोर्टअनुसार आर्थिक वर्ष २०७४/०७५ मा २८ अर्ब २३ करोड र आर्थिक वर्ष २०७३/०७४ मा २६ अर्ब ८६ करोड राजस्व तिरेको छ। 

नेशनल कन्ट्रिब्युसन रिपोर्टअनुसार आर्थिक वर्ष २०७७/०७८ मा एनसेलले आफ्नो व्यवसायबाट कुल गार्हस्थ्य उत्पादनमा १.४ प्रतिशत योगदान गरेको छ । यो योगदान आर्थिक वर्ष २०७३/०७४ मा ३ प्रतिशत थियो। प्रत्यक्ष र अप्रत्यक्ष गरी कम्पनीले कुल २४ हजार ९ सय ४१ जनालाई रोजगारी प्रदान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .