कारोबार


नासा नेपालको आयोजनामा अटोमोबाइलसम्बन्धी नीति संवाद सम्पन्न

नासा नेपालको आयोजनामा अटोमोबाइलसम्बन्धी नीति संवाद सम्पन्न

नेपालखबर
साउन १९, २०८२ सोमबार ११:५३, काठमाडौँ

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा देश विदेशका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागितामा पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी २०२५ सम्पन्न भएको छ।

सो कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले समेत गर्न नसकेको कार्य नासा नेपालले गरिरहेको र देश तथा विदेशका विभिन्न संस्थाहरुसँग जोड्ने तथा बेटर मोबिलिटीका लागि घच्घच्याउने कार्य गरिरहेकोमा खुसी व्यक्त गरे।

सडक सुरक्षा ऐन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिदै मन्त्री दाहालले आगामी दिनमा समेत सरकारले सडक सुरक्षाको विषयलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। 

सो कार्यक्रममा मुख्य वक्ताको रुपमा फिलिपिन्सको मनिलामा हेडक्वाटर रहेको एसिया प्यासिफिक रोड सेफ्टी अब्जर्भेटरीका चेयरपर्सन एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकाल, अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआईए) का भाइस प्रेसिडेन्ट, अटोमोबाइल एसोसिएसन अफ भियतनामका फाउन्डर प्रेसिडेन्ट तथा एआईपी फाउन्डेसनका संस्थापक ग्रेग क्राफ्ट तथा वक्ताहरुमा फेडरेसन अफ इन्डियन अटोमोबाइल एसोसिएसन तथा वेस्टर्न इन्डिया अटोमोबाइल एसोसिएसनकी महासचिव रणजित कौर विर्क तथा स्कुल अफ अटोमोटिभ, नामटेक इन्डियाका डाइरेक्टर डा. केसी वोरालगायत थिए। 

पहिलो दिनको ‘इन्फर्मेटिभ सेसन’ मा मन्त्रालयका सहसचिव सुशीलबाबु ढकाल, नाडा कार्यसमिति सदस्य कपिल शिवाकोटी र नासा फाउन्डेसन नेपालका कार्यकारी निर्देशक सुवाश भट्टराईले  जानकारीमूलक सामग्री प्रस्तुत गरे। 

ढकालले अब्जर्भेटरीको तर्फबाट एसिया प्यासिफिक क्षेत्रमा भएका कार्यक्रमहरुको वारेमा समेत जानकारी दिएका थिए। त्यसैगरी शिवाकोटीले ‘नेपालमा सवारी साधनको आयात, उत्पादन, रोजगारी र अर्थतन्त्रमा योगदान’ विषयमा प्रस्तुतिकरण गरेका थिए। भट्टराईले अटोमोबाइल, यातायात र सडक सम्बन्धी यूएन अभिसन्धि र नेपाल विषयक प्रस्तुतीकरण गरे। 

पोलिटिकल कमिटमेन्ट सेसनमा पूर्व मन्त्री, प्रतिनिधि सभा सदस्य तथा एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी नेपालका संयोजक योगेश भट्टराई, राष्ट्रिय सभा सदस्य गरिमा शाह, लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी र कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाही बिचमा प्यानल डिस्कसन भयो। सो अवसरमा राजनीतिक नेतृत्वले अटोमोबाइल र मोबिलिटीका लागि गरिरहेको र आगामी दिनमा आआफ्नो क्षेत्रबाट गर्नु पर्ने कार्यका वारेमा समेत प्रतिबद्धता व्यक्त गरे।

ब्रेनस्टोर्मिङ विथ इन्टरनेसनल स्पिकर्स सेसनमा ग्रेग क्राफ्ट, रणजित कौर विर्क र डा. केसी बोराले अन्तर्राष्ट्रिय स्तरमा भएका अटोमोटिभ इनोभेसन तथा सडक सुरक्षा र अन्य क्षेत्रमा भइरहेका कार्य वारेमा चर्चा गरे। ग्रेग क्राफ्टले टु ह्विलर सेफ्टी, हेल्मेट तथा एसियाली सडक सुरक्षाको विषयमा, कौरले दक्षिण एसियाको दिगो पर्यटनमा आईडीपी, सीडीपी तथा क्रस बोर्डर कनेक्टिभिटी लगायतका विषयमा र बोराले अटोमोबाइल क्षेत्रलाई सुरक्षित बनाउनका लागि भइरहेका कार्य वारेमा चर्चा गरे। यसै सन्दर्भमा नेपालमा भइरहेका कार्य र आगामी दिनमा गर्नु पर्ने थप कार्यका वारेमा समेत चर्चा भएको थियो। 

सेफर मोबिलिटी सेसनमा डा. भगवती सेढाईले ‘मोटरसाइक्लिस्ट सेफ्टी र युथ मोबिलिटी’ विषयमा प्रस्तुतिकरण गरिन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सिनियर कन्सल्टेन्ट रविन्द्र बास्कोटा र काठमाडौं पोडवेका सीटीओ परिवेश पराजुलीले सम्बन्धित विषयमा जानकारी प्रदान गरे। 

त्यसैगरी युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्यान्डका रिसर्च–फेलो एवम् सडक यातायातका अनुसन्धानकर्ता डा. पुष्पराज पन्तले ‘बेलायतको रोड क्लासिफिकेसन, पब्लिक ट्रान्सपोर्टेसन र भेइकल सर्टिफिकेसन’ विषयमा अनलाइनमार्फत प्रस्तुति गरे। 

इनोभेटिभ सेसनमा काठमाडौं युनिभर्सिटी, स्कुल अफ इन्जिनियरिङका असिस्टेन्ट प्रोफेसर सिरपा श्रेष्ठ र गोकर्ण पौडेल तथा त्रिभुवन विश्वविद्यालय, थापाथली क्याम्पसका असिस्टेन्ट प्रोफेसर लोचन केन्द्र देवकोटा, टेलिम्याटिक्स प्रालिका सीईओ आतिश गैरे र ड्रोन हब नेपालका म्यानेजिङ डाइरेक्टर प्रविण भट्टराईले आ–आफ्नो क्षेत्रमा भइरहेका एकेडेमिक कार्यहरु तथा इनोभेसनका वारेमा चर्चा गरे। 

सस्टेनेबल मोबिलिटी सेसनमा युनिभर्सिटी अफ मलाया, मलेसियाका पीएचडी स्कलर प्रेमलाल तामाङ, नेपाल साइकल सोसाइटीका महासचिव तथा सहरी योजनाविद् राकेश महर्जन र वातावरण अभियन्ता सञ्जय पोखरेलले विशेष गरी इलेक्ट्रिक भेइकल र साइक्लिङ तथा नेपालमा वाटरवेज र त्यसको सुरक्षा लगायतका विषयमा चर्चा गरे। 

कार्यक्रममा नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा. डा. पद्म बहादुर शाहीले ‘कम्प्यारेटिभ स्टडी अफ नेपाली जियोग्राफी एन्ड पपुलेसन, रोड एन्ड ट्रान्सपोर्ट’ विषय मा जानकारीमूलक सामग्री प्रस्तुत गरे भने टेक्निकल सेसन अन्तर्गत नेपालमा राइड सेयरिङको चुनौती र अवसरमा एकराज सुवेदीको प्रस्तुति रहेको थियो भने नासा नेपालका सचिव सन्तोष न्यौपानेको ‘आईडीपी एन्ड यूएन रिजोलुसन’ विषयमा प्रस्तुतीकरण रहेको थियो। 

कार्यक्रममा राखेपका कार्यकारी सदस्य सुवर्ण श्रेष्ठ, मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकी, नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपाने, नासा फाउन्डेसन नेपालका संयोजक कृष्ण सिंह बस्नेत लगायतले विविध विषयमा चर्चा गरे। 

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य यमुना रोका तामाङ, कर्णाली प्रदेश सभा सदस्य इन्द्र कुमारी शाही, वाईसीएल नेपालका महासचिव गणेश शाही, नासा नेपालका वरिष्ठ उपाध्यक्ष प्रा.डा. बुलन्द थापा, कोशी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष प्रकाश कपुरी, नेपाल भारत चेम्बर अफ कमर्सका महासचिव मार्सल राठोर, रोटरियन नुगल आनन्द वैद्य लगायतले बोलेका थिए। 

सोही अवसरमा ट्राफिक अभियन्ता शेखर चन्द्र राईलाई नेसनल रोड सेफ्टी अवार्ड तथा प्रशंसापत्र समेत प्रदान गरियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सो अवार्ड राईलाई हस्तान्तरण गरे। सडक सुरक्षाको क्षेत्रमा उल्लेखनिय योगदान गर्ने व्यक्ति वा संस्थाहरुलाई सो अवार्ड प्रदान गरिन्छ। 

त्यसैगरी नासा नेपालले नेपालमा सडक सुरक्षालाई अझै प्रभावकारी बनाउनका लागि मोटरिङ एकेडेमी र ईभिजन नेपालको समेत सुरुवात गरेको घोषणा गरेको छ। कार्यक्रममा उपस्थित मन्त्री दाहाल लगायत विशिष्ट व्यक्तिहरुले सो अभियानको शुभारम्भ गरे। 

अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए) का वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले नेपाली अटोमोबाइल क्षेत्रलाई थप विश्वसनिय, व्यावसायिक र विश्वव्यापी बनाउने तथा समाजको महत्वपुर्ण अर्थ–राजनीतिक एजेन्डा बनाउने र नेपालका शैक्षिक तथा पेशागत संस्थाहरुसँगको सहकार्यको सुरुवात यसै डाइलगबाट हुने विश्वास गरेको बताउँदै आगामी महिना फिलिपिन्सको मनिलामा हुने एसिया प्यासिफिक रोड सेफ्टी सम्मेलनमा सो डायलगका निष्कर्षलाई प्रस्तुत गर्ने जानकारी दिए। 

नासा नेपालका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा साउन १७ र १८ गते अर्थात अगस्ट २ र ३ तारिखमा सम्पन्न भएको डायलगको सञ्चालन तथा संयोजन नासा नेपालका मोबिलिटी म्यानेजर किरण धिताल, मार्सल एन्ड ट्रेनिङ कमिसनका सचिव आशीष रौनियार एवम् स्पोर्ट्स तथा इभेन्ट म्यानेजर अंकित भण्डारीले गरेका थिए। 

कार्यक्रममा सडक यातायात तथा अटोमोबाइल क्षेत्रमा संलग्न सरकारी, गैरसरकारी संघ संस्था तथा विज्ञहरु, स्थानीय पालिकाका प्रतिनिधिहरु, इन्जिनियरिङ क्षेत्रमा संलग्न शिक्षक, विद्यार्थी, अटोमोबाइल क्षेत्रका व्यवसायीहरु लगायतको सहभागिता रहेको थियो। अटोमोबाइल क्षेत्रमा उदाउँदो छिमेकी भारत र दक्षिण पुर्व एशियाली इकोनोमिक टाइगर भनिने भियतनामका सफल उदाहरण र उपलब्धि समेत सो कार्यक्रमका विषय बनेका थिए। 

नेपाली अटोमोबाइल क्षेत्रलाई थप विश्वसनीय, व्यावसायिक र विश्वव्यापी बनाउने र समाजको महत्वपुर्ण अर्थ–राजनीतिक एजेन्डा बनाउने तथा नेपालका शैक्षिक तथा पेशागत संस्थाहरुसँगको सहकार्यको सुरुवात यसै डाइलगबाट हुने विश्वास नासा नेपालले गरेको जनाएको छ।
नेपालको अटोमोबाइल क्षेत्रमा विगत १७ वर्ष देखि क्रियाशील नेपाल अटोेमोबाइल्स एसोसिएसन (नासा नेपाल) अटोमोबाइल, मोबिलिटी, मोटर स्पोट्र्स, पावर बोटिङ, ई–स्पोट्र्स तथा ड्रोन र सडक सुरक्षा लगायतका क्षेत्रमा संलग्न छ।

अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए), अन्तर्राष्ट्रिय मोटरसाइक्लिङ फेडरेसन (एफआईएम), अन्तर्राष्ट्रिय मोटरबोट फेडरेसन (युआईएम), एलायन्स इन्टरनेसनल डे टुरिजम (एआईटी) र ग्लोबल एलायन्स अफ एनजीओ फर रोड सेफ्टी जस्ता अन्तर्राष्ट्रिय निकायहरु र राष्ट्रिय खेलकुद परिषद तथा नेपाल चेम्बर अफ कमर्समा समेत नासा नेपाल आवद्ध रहेको छ।

रोड सेफ्टी अडिट, स्टार रेटिङ स्कुल, मोटरसाइक्लिङ सेफ्टी क्याम्पेन, रोड सेफ्टी नेसनल तथा मिडिया अवार्ड, रोड सेफ्टी फिल्म फेस्टिभल, सार्वजनिक यातायात सुधार अभियान लगायतका क्षेत्रमा स्थापित नासा नेपालले सडक र यातायात सम्बन्धी थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय तालिम, सभा, सम्मेलन आयोजना गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad