कारोबार


समयमै विज्ञापन बोर्ड गठन गरेर क्लिनफिड लागू गर्न संसदीय समितिको निर्देशन

समयमै विज्ञापन बोर्ड गठन गरेर क्लिनफिड लागू गर्न संसदीय समितिको निर्देशन

नेपालखबर
असोज ५, २०७७ सोमबार ८:५२,

समयमै विज्ञापन बोर्ड गठन गरेर विज्ञापनरहित टेलिभिजन च्यानल (क्लिनफिड) लागू गर्न संसदको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ।

समितिको सोमबार बसेको बैठकले विज्ञापन (यिमन गर्ने) ऐनले आगामी कात्तिक ८ गतेदेखि क्लिनफिड लागू गर्ने भनेकाले सो समयावधि अगावै विज्ञापन बोर्ड गठन गर्न निर्देशन दिएको हो।

क्लिनफिड लागू गर्न दिएको निर्देशनबारे समितिकी सभापति कल्याणी खड्काले भनिन्, ‘तोकिएको समयमै क्लिनफिड लागू गर्न सरकारको के कस्तो तयारी छ भन्ने जानकारी गराउन समितिले निर्देशन दिएको छ।’

समितिले कात्तिक ७ गतेभित्रै उक्त बोर्ड गठन गर्दै क्लिनफिड लागू गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई भनेको छ।

‘विज्ञापन (नियमन गर्ने) ऐनको पूर्ण कार्यान्वयनका लागि २०७७ कात्तिक ७ गतेभित्र विज्ञापन बोर्ड गठन गरी ऐनको दफा ६ बमोजिम डाउनलिंक अनुमति लिएर नेपालमा प्रसारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापन रहित बनाउन समिति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिर्नेशन गर्दछ’, समितिको निर्देशनमा भनिएको छ।

साथै, समितिले क्लिनफिड लागू गर्दा नेपालको टेलिभिजन च्यानल हेर्ने दर्शकलाई पर्ने असरको बारेमा पनि जानकारी गराउन निर्देशन दिएको छ।

‘ऐनको प्रभावकारी कार्यान्वयनका लागि विज्ञापनरहित हुन नसक्ने विदेशी टेलिभिजन प्रसारण रोक्न मन्त्रालयले के कस्तो कार्ययोजना बनाएको छ?’, समितिले प्रश्न गर्दै जानकारी गराउन निर्देशन दिएको छ।

त्यस्तै, यो ऐनको कार्यान्वयनबाट नेपालमा कतिवटा विदेशी च्यानलहरु रोकिने अवस्था रहन्छ र यसले पार्ने सकारात्मक÷नकारात्मक प्रभावका बारेमा मन्त्रालयको धारण १५ दिनभित्र समितिमा पठाउन समितिले मन्त्रालयलाई निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .