आगामी फागुन २१ गते हुने प्रतिनिधिण्सभा सदस्य निर्वाचन प्रयोजनका लागि हेलिकप्टरको माग नआएको उडान कम्पनीहरुले बताएका छन्।
माघ ६ गते प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने मिति तोकिएको छ। यसका लागि चुनाव लड्ने नेताहरुबाट हेलिकप्टरको माग उच्च हुने अपेक्षा भए पनि उडान क्षेत्र सम्बद्ध व्यवसायीहरुले उम्मेदवारहरुबाट हेलिकप्टरको माग नआएको बताएका हुन्।
अघिल्ला निर्वाचनहरुमा हेलिकप्टर चढेर उम्मेदवारहरु मनोनयन स्थल पुग्ने गरेका थिए। तर यसपालि त्यस्तो नहुने देखिएको एक हेलिकप्टर व्यवसायीले बताए। उनका अनुसार मुलुकको अधिकांश क्षेत्रमा सडकको पहुँच पुगिसकेकाले निर्वाचन प्रयोजनका लागि हेलिकप्टर माग गर्नेको संख्या घटेको हो।
एयर डाइनेस्टीका वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले चुनावी प्रयोजनका लागि विगतको तुलनामा हेलिकोप्टरको माग न्यून रहेको बताए।
‘पछिल्लो समय मुलुकका अधिकांश क्षेत्रमा सडक पहुँच पुगिसकेको छ’, वरिष्ठ प्रबन्धक पण्डितले भने, ‘विगतको तुलनामा माग धेरै कम छ।’
उनका अनुसार विगतमा मनाङ, मुस्ताङ, संखुवासभालगायत गन्तव्यमा चुनावी प्रयोजनका लागि अत्यधिक माग आउने गरेको थियो। तर योपटक यी क्षेत्रका उम्मेदवारबाट पनि यस्तो माग नआएको उनको भनाइ छ।
श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धर चुनावका लागि हेलिकप्टरको माग नभएको बताउँछन्। हालसम्म चुनावी प्रयोजनका लागि एउटा पनि हेलिकप्टर बुक नभएको उनको भनाइ छ।
‘अहिले चुनाव माहोल सुरु भइसकेको छैन। मनोनयन दर्ता भएपछि माग आउन सक्ला’, मानन्धरले भने, ‘हालसम्म एउटा पनि बुक आएको छैन।’
अघिल्लो निर्वाचनमा पनि खासै हेलिकप्टरको माग नभएको मानन्धरको भनाइ छ।
बेस क्याम्प हेलिकप्टरका सेफ्टी म्यानेजर राजु न्यौपानेले निर्वाचन प्रयोजनका लागि हेलिकप्टर बुझ्ने उद्देश्यले एक फोन कल समेत प्राप्त नभएको बताउँछन्।
‘विगतको चुनावमा केही मात्रामा हेलिकप्टर प्रयोग हुन्थ्यो। फाट्टफुट्ट मात्र उम्मेदवारहरुबाट हेलिकप्टर प्रयोग भएको थियो। यो पटक कल समेत आएको छैन।’
मुलुकका सबै क्षेत्रमा सडक पुगेको र गाडीबाटै हुने भएकाले निर्वाचन प्रयोजनका लागि हेलिकप्टर प्रयोग गर्न उम्मेदवारले इच्छा नदेखएको हुन सक्ने उनको भनाइ छ।
माघ ६ गते उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति हो। समय अभावका कारण निर्वाचन क्षेत्रमा पुग्न नसक्नेले हेलिकप्टर चार्टर्ड गर्नसक्ने सम्भावना अझै बाँकी छ।
नेपालमा १२ वटा हेलिकप्टर कम्पनी सञ्चालनमा छन्। ती कम्पनीसँग ३० भन्दा बढी हेलिकप्टर उपलब्ध छन्।
हेलिकप्टर विशेष गरी उद्धार, साइड सिङ, स्लिङ (निर्माण सामग्री ढुवानी) लगायत प्रयोजनमा प्रयोग हुने गर्छ। यस्ता कार्यमा हेलिकप्टरको निश्चित समय बराबर निश्चित आम्दानी हुन्छ।
तर निर्वाचन प्रयोजनमा हेलिकप्टर प्रयोगमा लगाउँदा नेताहरुको कार्यक्रम नसकिएसम्म स्ट्यान्ड बाई राख्नुपर्ने हुन्छ। यस्तोमा राजनीतिक कार्यक्रममा हेलिकप्टर प्रयोगमा लगाउनुभन्दा पनि व्यवसायीलाई नियमित कार्यमा खर्च कम हुन्छ।
हेलिकप्टरको धेरै खर्च रोटर (पंखा) खोल्दा र बन्द गर्दा हुन्छ। रोटर अन र अफ गर्दा इन्धन धेरै खर्च हुन्छ।
निर्वाचन आयोगले प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवारलाई भूगोल र जनसंख्याको मापदण्ड बनाएर २६ देखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकिदिएको छ। अघिल्लो पटक पनि निर्वाचन खर्च सीमा सोही हाराहारीमा थियो।
एउटा उम्मेदवारले न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी निवार्चन आयोगले सीमा निर्धारण गरेको छ।
Shares

प्रतिक्रिया