ad ad

कारोबार


श्रममन्त्री श्रेष्ठ र मलेसियाका गृहमन्त्री जैनुदिनबीच भेटवार्ता

नेपाली सुरक्षागार्डको तलब ३ हजार  रिंगेट बनाउन प्रस्ताव
श्रममन्त्री श्रेष्ठ र मलेसियाका गृहमन्त्री जैनुदिनबीच भेटवार्ता

नेपालखबर
बैशाख १७, २०७९ शनिबार १२:२६, काठमाडौँ

 मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शनिबार त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय  उच्चस्तरीय भेटवार्ता गरेका छन्। ​

पुत्रजयास्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल– मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको छ।

मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्ड सहित अन्य श्रमिकको सेवा सुविधा र अधिकारको विषयमा गृहमन्त्री जैनुदिनसँग छलफल भएको बताए। 

श्रेष्ठले नेपाली सुरक्षागार्डको मासिक तलब ३ हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव गरेका छन्। नेपाली कामदार मेहनती र इमान्दार हुने चर्चा गर्दै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीको राम्रो प्रभाव रहेको बताएका थिए। 

नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसरहरू प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने वीमा सुविधाको व्यवस्थाबारे पनि छलफल भएको थियो । नेपालमा सुरक्षा गार्ड सम्वन्धि तालिमको व्यवस्था गरी सीपयुक्त बनाउनेबारे समेत उनीहरुबीच छलफल भयो ।

नेपालबाट सुरक्षागार्डमा जानेहरू पूर्वसेना वा पूर्वप्रहरीका साथै आधारभूत तालिम लिएका युवा छन् । पूर्वगोर्खा ब्रिटिश सैनिकको प्रभावका कारण मलेसियामा गोर्खा गार्ड्सका रूपमा नेपालीप्रति उच्च सद्भाव रहेकोले समयानुकूल तालिम दिएर व्यावसायिक विकास गर्नेतर्फ ध्यान दिनुपर्ने भेटवार्तामा सहभागी मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।

छलफलमा भएका विषयलाई औपचारिकता दिन छिट्टै द्विपक्षीय समझदारी हुनेछ । भेटवार्तामा कार्यवाहक राजदूत मोतिबहादुर श्रीस पनि सहभागी थिए ।

यसअघि मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी सेरी एम सराभननसँग गरेका थिए । साे क्रममा द्विपक्षीय बैठकमा श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको थियो । साथै नेपाल र मलेसियाबीच संयुक्त कार्यदलको तेस्रो बैठक छिटै  काठमाडौंमा गर्ने सहमति पनि भएको छ ।

मन्त्री श्रेष्ठको नेतृत्वमा भएको उच्चस्तरीय टोलीले मलेसियास्थित सामाजिक सुरक्षा संस्था (सोस्को) समेत भ्रमण गरेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .