कारोबार


पोखराबाट उडान गर्न फ्लाई दुबई इच्छुक

पोखराबाट उडान गर्न फ्लाई दुबई इच्छुक

नेपालखबर
जेठ २०, २०८३ बुधबार ११:४, काठमाडौँ

विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाई दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग मंगलबार भेटवार्ता गरेका छन्।

यस क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने, दुबई र पोखराबिच पर्यटन प्रवर्द्धनका सम्भावना खोजी गर्ने, हवाई उडानका क्रममा परिपालना गर्नुपर्ने सुरक्षा मापदण्डलगायत दुईपक्षीय हितका विषयमा कुराकानी भएको छ। 

भेटका क्रममा उड्डयन क्षेत्रमा २० वर्षभन्दा बढी लामो अनुभव भएका लुकाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान भर्न इच्छुक रहेको बताएको महानगरपालिकाका प्रमुख आचार्यले जानकारी दिए।

उड्डयन सुरक्षा, जोखिम व्यवस्थापन र ‘एयरलाइन अपरेसन’को क्षेत्रमा विशेषज्ञता हासिल गरेका लुकाजले फ्लाई दुबईले उडानबाट पोखरासँग जोडिन पाए समग्र पोखरा र यस क्षेत्रको पर्यटनका लागि सुखद हुने बताए।

विमानस्थलहरूको अन्तर्राष्ट्रिय र स्थानीय उड्डयन सुरक्षा मापदण्डको अनुपालन सुनिश्चित गर्न सुरक्षा रणनीतिको निरीक्षणमा दक्खल राख्ने लुकाजले पोखराको सुन्दरताले आफू निकै प्रभावित भएकोसमेत बताए।

सो क्रममा नगर प्रमुख आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालनका लागि निरन्तर पहल गरिरहेको उल्लेख गर्दै दुई देशबिच पर्यटन आदानप्रदानमा सिधा उडानको भूमिका महत्त्वपूर्ण रहने भएकाले सोका लागि कम्पनीका तर्फबाट विशेष पहल गर्न अनुरोध गरे। 

नेपाल सरकारसँग आफूले पटकपटक संवाद गरेको र विशेष समयमा अन्तर्राष्ट्रिय चार्टर उडान सञ्चालन भइरहेकाले विमानस्थल अन्तर्राष्ट्रिय उडान भर्न सक्षम रहेको उनले उल्लेख गरे। 

“पोखराबाट अन्तर्राष्ट्रिय उडान सम्भव छ भन्ने कुरा विभिन्न समयमा भएका चार्टर उडानबाट प्रमाणित भइसकेको छ। पोखरा पर्यटनको राजधानी सहर भएकाले अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नका लागि समेत अन्तरराष्ट्रिय उडान आवश्यक छ। त्यसतर्फ हामीले जोड दिएका छौँ। आजको भेटले पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास बढाएको छ,” प्रमुख आचार्यले भने।

भेटवार्तामा नगर प्रमुख आचार्यसहित महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईलगायत सहभागी थिए। 

मित्रराष्ट्र चीनको सहयोगमा रु २२ अर्ब बढी लगानीमा निर्माण भएर विसं २०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन। विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad