भनेजति उखु पाउन छाडेपछि महोत्तरी र सर्लाहीका चिनी उद्योगले किसानलाई तुरुन्तै भुक्तानी दिएर उखु तान्ने होडबाजी गरिरहेका छन्।
क्षमताअनुसार उखु क्रसिङ गर्न नपाएपछि महोत्तरी रामनगरको एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले चार दिनमै किसानलाई उखुको भुक्तानी दिन थालेको छ।
विगतका वर्षमा चिनी उद्योगहरूले किसानलाई समयमै भुक्तानी नदिँदा आन्दोलन गर्नुपरेको थियो।
देशकै सबैभन्दा ठूलो एभरेस्ट चिनी उद्योगको क्रसिङ क्षमता एक सिजनमा ६० लाख क्विन्टल छ। यस वर्ष एभरेस्टले अहिलेसम्म २५ लाख क्विन्टल मात्रै उखु क्रसिङ गरेको छ।
भनेजति उखु नपाउँदा फागुन दोस्रो सातादेखि नै एभरेस्ट नो क्यान (उखु नपुगेर सञ्चालन रोक्नुपर्ने अवस्था) बेहोरिरहेको छ।
भनेजति उखु नपाएपछि एभरेस्ट सिजन नसकिँदै बन्द हुने अवस्थामा पुगेको छ। उद्योग प्रशासनले यही फागुन २६ गते उद्योग बन्द गर्ने दोस्रो सूचना निकालिसकेको छ।
‘हामीले फागुन २० गते उद्योग बन्द गर्ने पहिलो सूचना निकालेका थियौँ। अहिले २६ गतेका लागि दोस्रो सूचना निकालेका छौँ’, एभरेस्ट चिनी उद्योगका प्रबन्धक कृष्णचन्द्र दासले नेपालखबरसँग भने, ‘ढिलोमा यही फागुन मसान्तसम्म उद्योग बन्द भइसक्छ। यस वर्ष पनि हामीले भनेजति उखु क्रसिङ गर्न पाएनौँ। महोत्तरीका किसानले उखु खेती घटाउँदा यो अवस्था सिर्जना भयो।’
एभरेस्ट चिनी उद्योग गत पुस ५ गतेदेखि सञ्चालन भएको थियो। भनेजति उखु क्रसिङ गर्न पाउँदा एभरेस्ट वैशाख पहिलो सातासम्म सञ्चालन हुन्थ्यो।
२०७०–०७१ को क्रसिङ सिजनमा वैशाख पहिलो सातासम्म चलेर एभरेस्टले त्यतिबेला ५८ लाख क्विन्टल उखु पेलेको थियो। त्यसयताका वर्षमा भने एभरेस्टले क्षमताअनुसार उखु पेल्नै पाएको छैन। गत वर्ष एभरेस्टले मुस्किलले २० लाख क्विन्टल मात्रै उखु क्रसिङ गरेको थियो।
यस वर्ष एभरेस्टले महोत्तरीबाहिरका जिल्लाबाट तानतुन गरेर २५ लाख क्विन्टल उखु क्रसिङ गर्न सकेको हो। बाहिरबाट उखु तान्नुपर्दा उद्योगले किसानको भुक्तानी तुरुन्तै दिने रणनीति अपनाएको छ।
‘हामीले अहिलेसम्म क्रसिङ गरेको २५ लाख क्विन्टलमध्ये महोत्तरी जिल्लाको उखु त १४ लाख क्विन्टल मात्रै हो’, दासले भने, ‘त्यसबाहेक सबै (११ लाख क्विन्टल) उखु जिल्ला बाहिरबाट ल्याएका हौँ।’
त्यसरी टाढाटाढाबाट उखु ढुवानी गर्नुपर्दा भाडा महँगो पर्ने उनले बताए। महोत्तरीको उखुले नपुगेपछि एभरेस्टले ७०/८० किमि टाढाबाटसमेत उखु ढुवानी गरिरहेको छ।
यस सिजनमा सर्लाहीबाट मात्रै ८ लाख क्विन्टल उखु ढुवानी गरिएको दासले जानकारी दिए। बाँकी ३ लाख क्विन्टल उखु, उद्योगले रौतहट, बारा, धनुषा, सिरहालगायत जिल्लाका किसानबाट खरिद गरेको हो।
‘यस वर्ष हामीले किसानलाई क्रसिङ भएको चार दिनमै उखुको भुक्तानी दिइरहेका छौँ’, दासले भने, ‘विगतका वर्षमा कम्तीमा पनि दुई सातामा मात्रै भुक्तानी हुन्थ्यो।’
अहिलेसम्म एभरेस्टले बाराबाट एक लाख क्विन्टल उखु ल्याएको छ। बाराको वैद्यनाथ चिनी उद्योगले समयमै भुक्तानी नगर्दा वरपरका किसानले पनि महोत्तरीको एभरेस्ट चिनी उद्योगलाई उखु दिइरहेका छन्।
यस वर्ष सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल (७० रुपैयाँ सरकारी अनुदानसहित) ६ सय १० रुपैयाँ निर्धारण गरेको छ। गत वर्ष किसानले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ पाएका थिए।
उद्योगहरूले तुरुन्तै भुक्तानी दिँदा किसानलाई ठूलो राहत भएको उखु उत्पादक महासंघ (महोत्तरी) का अध्यक्ष नरेशसिंह कुशवाहाले बताए।
‘एभरेस्टले प्रतिक्विन्टल ५ सय २० रुपैयाँका दरले झण्डै २४ लाख क्विन्टल उखुको भुक्तानी गरिसकेको छ’, कुशवाहाले नेपालखबरसँग भने, ‘बाँकी भुक्तानी उद्योग बन्द हुनासाथ दिने सहमति छ।’
लागतअनुसार उखुको मूल्य वृद्धि नहुँदा र सरकारले तोकेकै मूल्य पनि समयमै नपाउँदा सर्लाही, महोत्तरी, रौतहट, बारालगायत मधेश प्रदेशका सबैजसो जिल्लाका किसानले उखु खेती छाड्दै गएका छन्। उखु खेती मासेका किसानले धान, मकै, गँहु, तोरी र विभिन्न जातका तरकारी लगाउन थालेका छन्।
‘किसानले उखु खेती घटाउन थालेपछि उद्योगहरूलाई उखुको अभाव हुन थाल्यो। त्यसैले उद्योगीले किसानलाई तुरुन्तै भुक्तानी दिएर आफ्नो उद्योगमा उखु तान्ने होडबाजी गर्न थालेका छन्’, अध्यक्ष कुशवाहाले भने, ‘यसले उखु खेती गरिरहेका किसानलाई भने फाइदै भएको छ। अब किसानले लामो समयसम्म उधारोमा उखु बेच्नुपर्ने अवस्था रहेन।’
अढाई महिनामै ६० करोड भुक्तानी
गत पुस ६ गतेदेखि सञ्चालन भएको सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योगले आज (सोमबार) सम्म झण्डै २६ लाख क्विन्टल उखु क्रसिङ गरिसकेको छ।
गत वर्ष २४ लाख क्विन्टल मात्रै उखु क्रसिङ गरेको इन्दु शंकरले यस वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ। त्यसका लागि इन्दु शंकरले पनि समयमै उखुको भुक्तानी गरेर उखु तान्ने तरिका अपनाएको छ। सर्लाहीमा धेरै उखु खेती हुने भएकाले एभरेस्टलाई जस्तो इन्दु शंकरलाई भने बाहिरी जिल्लाबाट धेरै उखु ढुवानी गर्नुपर्ने बाध्यता छैन।
‘हाम्रो उद्योगले यो अढाई महिनाको अवधिमा किसानलाई ६० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ’, इन्दु शंकर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले भने, ‘उद्योगहरूबीच यतिबेला उखु तान्ने प्रतिस्पर्धा छ। यस्तो अवस्थामा उखुको भुक्तानी रोक्ने अवस्था हुँदैन।’
सर्लाहीमा अझै पनि प्रशस्त उखु खेती भइरहेकाले आफ्नो उद्योगले एभरेस्टले जस्तो अस्वस्थ प्रतिस्पर्धा गरेर बाहिरी जिल्लाबाट उखु ल्याउनुपर्ने अवस्था नरहेको दाबी उनले गरे।
इन्दु शंकरको पकेट क्षेत्रका धेरै किसानले अझै उखु काट्नै सुरु गरेका छैनन्।
‘हाम्रो उद्योग अझै दुई साता चल्छ होला’, इन्दु शंकरका प्रशासन प्रमुख ठाकुर नेपालले भने, ‘गत वर्ष हामीले २४ लाख क्विन्टल उखु क्रसिङ गरेका थियौँ। यस वर्ष हाम्रो लक्ष्य ३० लाख क्विन्टल हो। अब करिब दुई साता उद्योग चल्छ होला। त्यो बेलासम्म हामी झण्डै ३० लाख क्विन्टल उखु क्रसिङ गर्छौं।’
सर्लाहीको धनकौलमा रहेको चिनी उद्योग केही दिन चलेर बन्द भइसकेको छ। सर्लाहीकै गोडैतामा रहेको महालक्ष्मी चिनी उद्यागले पनि यस वर्ष भनेजति उखु क्रसिङ गर्न पाएन।
किसानलाई समयमै भुक्तानी नदिएर बदनाम सर्लाही, रौतहट र बाराका केही चिनी उद्योग सधैँका लागि बन्दसमेत भइसकेका छन्।
सर्लाहीको इन्दु शंकर र महोत्तरीको एभरेस्ट चिनी उद्योगले भने विगतदेखि नै किसानको भुक्तानी रोकेका छैनन्। भुक्तानीमा यी दुई उद्योग अन्यको तुलनामा इमानदार छन्।
सर्लाही र महोत्तरीमा दर्जनौँको संख्यामा सख्खर (मिठ्ठा) बनाउने क्रसर उद्योग पनि छन्। त्यस्ता उद्योगले भने अहिले पनि सस्तैमा उखु खरिद गरेर किसानलाई ठगिरहेका छन्।
जिल्लाका दक्षिणी क्षेत्रका सोझासिधा किसानले त्यस्ता क्रसर उद्योगलाई प्रतिक्विन्टल ३ सय ५० देखि ४ सयसम्ममै उखु बिक्री गरिरहेका छन्। हाताहाती भुक्तानी दिने नाममा त्यस्ता उद्योगले किसानलाई मर्का पारिरहेका हुन्।
त्यस्ता क्रसर उद्योगमा जाने उखु तान्न पनि सर्लाही र महोत्तरीका ठूला चिनी उद्योगले यस वर्षदेखि किसानलाई तुरुन्तै भुक्तानी दिने तरिका अपनाएका हुन्।
उखु तान्ने हाडबाजीका कारण उद्योगहरूले किसानलाई समयमै भुक्तानी दिन थाले पनि सरकारले दिने अनुदान भने कहिले आउँछ, निश्चित छैन।
सर्लाही र महोत्तरीका किसानले गत वर्षको अनुदान दसैँपछि मात्रै पाएका थिए। केही वर्षदेखि सरकारले किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान दिइरहेको छ। यसले किसानलाई ठूलो राहत मिलेको छ।
Shares
प्रतिक्रिया