कारोबार


दुबईमा भिल्ला निर्माण गर्ने नेपाली को हुन्?

दुबईमा भिल्ला निर्माण गर्ने नेपाली को हुन्?

पाल्म जुमेरा विलासी भिल्ला (सांकेतिक तस्बिर : rafflesthepalmdubai)।


दीपक भट्ट
चैत २८, २०७८ सोमबार २०:१५, काठमाडौँ

नेपालबाट विदेशमा पैसा लगेर लगानी गर्न नपाउने कानुनी प्रावधान छ। 

तर अवैधानिक बाटोको प्रयोग गरेर विदेशमा पैसा गइरहेको भन्दै सरकारले अध्ययन गरिरहेको पाइएको छ। 

यसरी अवैध बाटोबाट विदेशमा गएको पैसा ‘ठूलो हुनसक्ने’ आकलनसाथ अध्ययन भइरहेको हो। 

अर्थमन्त्री जनार्दन शर्माले विदेशमा पैसा जान नपाउने व्यवस्थामा नयाँ बाटोको प्रयोग भइरहेको बताए। हाल सरकारले त्यसको अनुसन्धान सुरु गरेको सोमबार अर्थ मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले जानकारी दिए। 

नेपालको पैसा बाहिर लगेर महलहरु निर्माण भइरहेको मन्त्री शर्माको संकेत थियो। 

‘नेपालीहरुका दुबईमा धेरै भिल्लाहरु छन् रे मैले सुनेको! त्यो नेपालबाटै गएको पैसाले किनेको त होला नि! त्यसबारे केही जानकारी छ’, उनले भने, ‘अहिले नै त्यो कुरा भन्यो भने छिट्टो रिजल्ट खोजिन्छ। तर पछि–पछि रिजल्ट आएपछि थाहा हुने नै छ।’ 

दुबईमा भिल्ला बनाउने नेपाली को हुन्? 
मन्त्री शर्माका अनुसार नेपालमै व्यवसाय गरिरहेका व्यवसायीहरुले दुबईमा भिल्ला बनाएको सरकारको अनुमान छ। उनीहरुले नेपालबाट पैसा विदेश लगेर ती आवासहरु निर्माण गरिरहेको देखिएको उनको भनाइ छ। 

सरकारले केही मारबाडी व्यवसायीहरुले विदेशमा नै पार्टी गर्ने, बिहे उत्सव मनाउने गरिरहेको र त्यसको अनुसन्धान समेत जारी रहेको उनले बताए।  आवास निर्माण गरेर आफ्नो आवासमा नै पार्टीहरुको आयोजना भइरहेको हुनसक्ने उनले बताए। 

गत केही महिनायता यसको अनुसन्धान भइरहेको मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका एक अधिकारी बताउँछन्। उक्त विषयमा आज अर्थमन्त्रीले सार्वजनिक कार्यक्रममा नै बोलेपछि थप पुष्टि भएको हो। 

चालू आर्थिक वर्षमै केही व्यवसायीहरुको बिहे र पार्टी समेत दुबईमा भएको थियो। त्यस समयदेखि नै सरकारले विदेशमा पैसा लगेर घरजग्गा समेत जोडेको हुनसक्ने विषयमा अध्ययन गरिरहेको पाइएको हो। तर त्यसको पुष्टि भने हुन सकेको छैन।  

विश्वका धेरै देशका व्यवसायीहरुले आवासको लागि दुबई रोजिरहेको समयमा नेपाली व्यवसायी समेत आकर्षण हुनथालेको देखिएको छ। त्यसको फलस्वरुप दुबईमा धेरै पैसा गइरहेको आशंका सरकारको छ। 

नेपालमा विदेशी मुद्रा सञ्चिति घटिरहनु, नेपालको वैदेशिक व्यापारघाटा बढिरहुनु र तरलता अभाव हुनुजस्ता समस्याहरु आउनुमा यसरी पैसा विदेश गइरहनुलाई सरकारले कारण मानेको छ। 

२०७८ असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब ३ करोड रहेको विदेशी विनिमय सञ्चिति १६ दशमलव २ प्रतिशतले कम भई २०७८ फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब कायम भएको छ। 

उक्त सञ्चिति करिब ६ दशमलव ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहने अर्थ मन्त्रालयले जनाएको छ। 

त्यस्तै चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा विप्रेषण अर्थात् रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ दशमलव ९ प्रतिशतले कमी आई ६ खर्ब ३१ अर्ब १९ करोड कायम भएको छ। 

यस्तो आप्रवाह फागुन महिनामा मात्र ९१ अर्ब प्राप्त भएको छ। यसले विप्रेषण आप्रवाह बढ्दै जाने संकेत गरेको मन्त्रालयको भनाइ छ। 

वैदेशिक व्यापारको कुरा गर्दा वस्तु आयातमा भएको उच्च वृद्धिका कारण व्यापारघाटा बढ्न गई अर्थतन्त्रमा दबाब सिर्जना भएको छ। चालू आर्थिक वर्षको चैत २५ सम्म वस्तु आयात र निर्यात क्रमशः १४ खर्ब ५० अर्ब ७१ करोड र ५९ अर्ब ७६ करोड पुगेको छ। 

आयात र निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः ३३ दशमलव ९ प्रतिशत र ७२ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ। फलस्वरुप व्यापारघाटा बढेर १२ खर्ब ९० अर्ब ९६ करोड पुगेको छ। 

यसलाई नियन्त्रण गर्न सरकारले विलासी वस्तुको आयातमा नियन्त्रण गरिरहेको अर्थसचिव मधु मरासिनी बताउँछन्। 

उनले भने, ‘वस्तु आयात धेरै बढिरहेको छ। हामीले विलासी वस्तुको मात्रै आयातमा केही नियन्त्रण गर्न खोजेका छौँ। त्यो छोटो समयमको लागि मात्रै हुन्छ।’

यसैबीच सोही वस्तु नियन्त्रण गर्न खोज्दा गभर्नर महाप्रसाद अधिकारीलाई हटाइएको अर्थमन्त्री शर्माले संकेत गरे। 

उनले भने, ‘गभर्नर किन हटाइएको भन्ने विषय त छानबिन कमिटीले दिएको रिपोर्टले बताउँछ तर वस्तु आयात नियन्त्रण गर्ने अर्थात् आयातको लागि लागि एलसी खोल्नमा नियन्त्रण गर्ने कुरा राष्ट्र बैंकले गर्नुपर्ने हो, त्यो समयमै भएन।’

पछिल्लो समयमा नेपाल आउने पर्यटकको संख्यामा वृद्धि हुँदै जानु, अर्थतन्त्र चलायमान हुनुले अर्थतन्त्र संकटको स्थितिभन्दा पनि राम्रो बाटोमा गइरहेको अर्थमन्त्रीको दाबी छ। 

सन् २०२२ को मार्चसम्म पहिलो ३ महिनामा नेपाल आउने पर्यटकको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८ दशमलव ६५ प्रतिशतले वृद्धि भई ७८ हजार ४ सय ४७ पुगेको मन्त्रालयले जनाएको छ। सन् २०२२ को मार्च महिनामा मात्र ४२ हजार ६ पर्यटक नेपाल भित्रिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .