ad ad

कारोबार


टनेल बोरिङ मेसिनले खन्न थाल्यो सुनकोशी मरिन आयोजनाको सुरुङ

टनेल बोरिङ मेसिनले खन्न थाल्यो सुनकोशी मरिन आयोजनाको सुरुङ

वसन्त अर्याल
असोज २८, २०७९ शुक्रबार १५:५, काठमाडौँ

टनेल बोरिङ मेसिनले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग खन्ने काम सुरु भएको छ। 

टीबीएम मेसिन राख्ने प्लेटफर्म निर्माण भई शुक्रबारबाट धमाधम निर्माण काम सुरु भएको हो। 

२ वर्षभित्र सुरुङ निर्माण सक्ने योजनाका साथ सुरुङ खन्न थालिएको आयोजनाले जनाएको छ। 

राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिनका आयोजना प्रमुख मित्र बरालले टीबीएम मेसिन राख्ने प्लेटफर्म निर्माण गरी काम सुरु भएको जानकारी दिए।  

टीबीएम मेसिनको लागि आवश्यक पर्ने उपकरण चीनबाट आयात भई सुरुङ मार्गअनुसारको टीबीएम मेसिनको डिजाइन भएको थियो।  

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयोजनाको समग्र प्रगतिको अवस्था र सुरुङ खन्नको लागि टीबीएमको सुरुङ खन्ने कार्यको अनुगमन तथा निरीक्षण समेत गरिन्। 

मन्त्री पम्फा भुसालले आयोजना निर्धारित समयमा नै बन्नेमा आफू विश्वस्त रहेको बताउँदै प्राविधिक रुपमा पनि एकदमै ठूलो ‘रिभोल्युसन’ भएको बताइन्।

उनले आयोजनाअन्तर्गत उत्पादन हुने बिजुलीबाट वार्षिक एक अर्ब ५५ करोड आम्दानी हुने बताइन्। 

‘झण्डै २८ अर्ब रुपैयाँ वार्षिक देशलाई आम्दानी हुन्छ। आर्थिक विकासका दृष्टिले हेर्ने हो भने माइलस्टोनको योजना हो’, मन्त्री भुसालले भनिन्, ‘भौतिक पूर्वाधारको हिसाबले मात्र होइन, आर्थिक उत्पादनको हिसाबले पनि ठूलो आयोजना हो।’

आयोजनाले आवश्यकताअनुसार बजेट नछुट्याए पनि गौरवको आयोजना भएकाले खर्च गर्न सके रकमान्तर गर्न सकिने बरालले बताए। 

‘राष्ट्रिय गौरवको आयोजना हो। कामअघि बढेको अवस्थामा बजेट समस्या हुँदैन’, उनले भने, ‘चालू आर्थिक वर्षको लागि २ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।’

अघिल्लो आर्थिक वर्ष २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। 

आयोजना सुरु आर्थिक वर्ष २०७३÷०७४ मा भए पनि गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० मा शिलान्यास गरेका थिए। 

आयोजनाको प्रारम्भिक लागत ४६ अर्ब १९ करोड रुपैयाँ अनुमान गरिएको छ।  

आयोजनाको हालसम्म ९ प्रतिशत प्रगति भइसकेको छ। आयोजनाले पूर्वतयारीको काम भएकाले भौतिक प्रगति कम देखिए पनि सुरुङ मार्ग निर्माण सुरु भएसँगै प्रगति ह्वात्तै बढ्ने दाबी गरेको छ। 

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्गको जिम्मा पाएको चाइना ओभरसिजले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना लक्ष्यभन्दा एक वर्षअगाडि नै पूरा गरेको थियो। 

निर्माण कम्पनीले नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिनको माध्यमबाट सुरुङ बनाएको थियो। 

‘५१ महिनामा आयोजना सक्ने सम्झौता छ’, आयोजना प्रमुख मित्र बराल भन्छन्, ‘१३.३ किलोमटर सुरुङ मार्ग २ वर्षभित्र काम सकिने अनुमान छ।’

चिनियाँ कम्पनीलाई चाइना ओभरसिजलाई सुरुङमार्ग निर्माणको लागि ११ अर्ब २९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। 

सुरुङमार्गसँगै विद्युत् उत्पादनको लागि समेत काम भइरहेको छ। आयोजनाले सुरुङमार्ग निर्माण हुने बेलासम्म हेडवक्र्स बन्ने बरालको भनाइ छ।  

‘अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरी हेडवर्क्सको काम अघि बढाएका छौँ’, बरालले भने, ‘११ कम्पनी टेन्डरमा सहभागी भएकोमा प्रि–क्वालिफायरबाट ९ कम्पनी छनोट भएका छन्।’

आयोजनाले ९ वटा कम्पनीसँग आर्थिक प्रस्ताव मागिसकेको छ। उनीहरुको आर्थिक प्रस्ताव हेरेसँगै हेडवर्क्स निर्माणको लागि कम्पनी छनोट हुने बरालले बताए। 


 
सुनकोशीको पानि सुरुङमार्गबाट ६७ क्युमेक (क्युबिक मिटर प्रतिसेकेन्ड) पानी मरिन खोलामा खसालिनेछ। त्यहाँबाट ३१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। 

विद्युत् उत्पादनपछि मरिन डाइभर्सनको पानी तराईमा सिँचाइको लागि प्रयोग हुनेछ। सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले प्रदेश २ का बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा जिल्लाहरुका थप क्षेत्रसमेत कुल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभर सिँचाइ उपलब्ध गराउनेछ। सिँचाइको काम ३ चरणमा सम्पन्न हुनेछ।

‘तराईमा सिँचाइको काम बागमती सिँचाइ आयोजनाले हेरिरहेको छ। सिँचाइकोलागि डिपिआर तयारी भैरहेको जानकारी पाएका छौँ’, उनले भने। 

हाल बागमती आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिँचाइ हुँदै आएको छ। सुनकोशी–मरिन डाइभर्सनपछि थप ८० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ।

मन्त्री भुसालले तराईको एक लाख २२ हजार हेक्टर जमिनमा १२ महिना सिँचाइ सुविधा पुगी वार्षिक २६ अर्ब रुपियाँ बराबरको कृषि उत्पादन बढ्ने दाबी गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .