ad ad

कारोबार


‘मार्केट मेकर’ बन्न नसकेको नागरिक स्टक डिलर

‘मार्केट मेकर’ बन्न नसकेको नागरिक स्टक डिलर

सम्झना घिमिरे
बैशाख १२, २०८० मंगलबार ११:३८, काठमाडौँ

लगानीकर्ताको संरक्षण गर्दै धितोपत्रको दोस्रो बजारमा आउने उतारचढाव सन्तुलित बनाउन खुलेको नागरिक स्टक डिलर प्रभावहीन भएको छ।

सञ्चालनमा आएको २ वर्ष सकिँदासम्म बजारमा हस्तक्षेपकारी लगानी गर्न नसक्दा डिलर प्रभावकारी बन्न नसकेको हो। 

अर्बौँको कारोबार हुने दोस्रो बजारमा डिलरले ठूलोमात्रामा सेयर लगानी गरेर उतारचढावलाई व्यवस्थित गराउने अपेक्षाविपरीत स–साना लगानीमा रमाउन पुगेको छ। 

पछिल्लो ६ महिनायता डिलरले आफ्नै विन्डोबाट जम्मा ४० करोड रुपैयाँबराबरको मात्रै सेयर कारोबार गरेको छ। अर्बौँको कारोबारले बजारलाई सन्तुलित बनाउने अपेक्षा गरिए पनि गएको ६ महिनायता डिलरले करोडमा मात्रै कारोबार गरिरहेको हो।

सन् २०२२ को नोभेम्बर २३ देखि सन् २०२३ को अप्रिल २३ सम्म डिलरले २१ करोड ७ लाख रुपैयाँ लगानी गर्दा २० करोड १० लाख रुपैयाँको बिक्री गरेको थियो। दैनिक कारोबार अधिकतम २२ अर्ब र बजार पुँजीकरण ४० खर्ब माथि पुगेको धितोपत्र बजारमा डिलरले हस्तक्षेपकारी भूमिका खेल्ने अपेक्षा गरिएको थियो। 

तर बजार घटेर औसतमा दैनिक एक अर्बको कारोबार हुँदा पनि डिलरले लगानीकर्ताले महशुस गर्ने गरी काम गर्नसकेको छैन। जसले गर्दा बजार संरक्षकको उपमा पाएको नागरिक स्टक डिलर संरक्षणमा फितलो देखिएको छ। 

धितोपत्रको दोस्रो बजारमा देखिने स–साना उतारचढावलाई नियन्त्रित गर्दै सन्तुलित बजारको अपेक्षासहित नेपाल स्टक एक्स्चेन्जले २०७६ माघमा डिलरलाई खरिदबिक्रीको अनुमति दिएको हो। डिलरले दोस्रो बजारमा कारोबार सुरु गर्दाताका बजार व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको थियो। 

अझ सञ्चालकबाट साना लगानीकर्ता सुरक्षित हुने वातावरणको सिर्जना गर्ने अभिव्यक्ति आएपछि पुलकित बनेका लगानीकर्ताले २ वर्ष बितिसक्दासम्म डिलर भएको अनुभव समेत गर्न सकेका छैनन्। 

महेश्वरलाल श्रेष्ठ

पुँजी जुटाउनै सकस
५ अर्ब पुँजीसहित सञ्चालनमा आएको डिलरले ३ अर्ब तत्काल लगानी गर्ने जनाए पनि हालसम्म सो रकम लगानीमा खर्चिन सकेको छैन। अपेक्षित लगानी गर्न नसक्दा धितोपत्र बजारमा डिलरको उपस्थिति न्यूनमात्र छ। 

लगानीकर्ता दुर्गा तिवारी व्यक्तिगत लगानीकर्ताले नै सो बराबरको कारोबार गर्ने हुँदा पनि डिलरको कारोबारले बजारमा प्रभाव नदेखिएको बताउँछिन्। 

उनी भन्छिन्, ‘ठूलो लगानी गर्ने भनेर स्थापित भएको डिलरले हामीभन्दा कम कारोबार गरिरहेको छ।’ 

यता डिलरका कार्यकारी प्रमुख महेश्वरलाल श्रेष्ठ आफूहरुले मात्रै बजारको उतारचढाव नियन्त्रण गर्न सम्भव नरहेको बताउँछन्। २७ खर्ब (अहिले) बजार पुँजीकरण रहेको धितोपत्र बजारमा ५ अर्बको चुक्ता पुँजी भएको कम्पनीले उतारचढावलाई नै व्यवस्थापन गर्न नसक्ने उनको भनाइ छ। 

कम्पनीले सेयरधनीबाट ३ अर्ब रुपैयाँ पुँजी जुटाएको थियो। त्यही पुँजी लगानी गरेर नाफा आर्जन गर्ने उद्देश्यसहित स्थापना भए पनि पुँजी परिचालनमै समस्या देखिँदा धितोपत्र बजारमा डिलरको उपस्थिति देखिन छोडेको हो। 

कार्यकारी प्रमुख श्रेष्ठ पुँजी बढाउन सकेमात्रै धितोपत्र बजारमा उपस्थिति देखाउन सकिने धारणा राख्छन्। 

‘हामी एउटाले मात्रै सेयरबजारको उतारचढावलाई व्यवस्थित गर्न गाह्रो छ, हामीजस्तै संस्थागत लगानीकर्ता अझै थपिनुपर्छ’, उनले भने। 

श्रेष्ठ संस्थागत लगानी गर्ने कम्पनीहरु धितोपत्रबजारमा नआएसम्म स्टक डिलरले मात्रै उताचढाव सन्तुलनमा ल्याउन नसक्ने बताउँछन्। 

२२ अर्ब दैनिक कारोबारमा पुगेको धितोपत्रको कारोबार रकम अहिले मुस्किलले १ अर्ब नकट्ने अवस्थामा छ। निरन्तर १२ महिनासम्मको घटाइले पिल्सिएका लगानीकर्ता कारोबारमा उत्साहित नबन्दा सेयर खरिदबिक्री ह्वात्तै घटेको हो। 

यसमा परेर लगानीकर्ताले १ वर्षमा १३ खर्ब रुपैयाँबराबरको सम्पत्ति गुमाइसकेका छन्। 

बजार पुँजीकरणमा आएको उतारचढाव

निरन्तर घटिरहेको बजारमा लगानीकर्ता त्रसित बन्दा बजारमा सेयर बिक्री चाप बढ्ने गर्छ। यस्तो अवस्थामा स्टक डिलरजस्ता कम्पनीले बजारबाट सेयर किनेर बिक्री चापलाई न्यूनीकरण गर्नुपर्ने हुन्छ। आत्तिएका लगानीकर्ताका कारण बजारमा सेयरमूल्य नघटोस् भन्ने उद्देश्य डिलरको हुन्छ। 

लगानीकर्ता हौसिएर क्रयशक्ति बढाइरहँदा कम्पनीको सेयरमा जोखिम हुने गरी मूल्य नबढोस् भन्नकै लागि माग व्यवस्थापन गर्न बजारमा सेयर प्रवाह बढाउनुपर्छ। स्टक डिलरको मान्यता नै यहीअनुसार भएकाले पनि स्टक डिलर कम्पनीलाई बजार ‘मेकर’ मानिँदै आएको छ। 

डिलर सञ्चालनका लागि अनुमति दिँदै गर्दा नेप्सेले पनि यही अपेक्षा लिएको थियो। तर सञ्चालनका लागि पर्याप्त पुँजी जुटाउन नसक्दा डिलरको प्रभाव बजारमा देखिनसकेको छैन। 

आईपीओ निष्काशनमै समस्या
सञ्चालनमा आएको दुई वर्षमा डिलरले पुँजी थप गर्नसकेको छैन। डिलरले सर्वसाधारणबाट पनि कुल पुँजीको ३० प्रतिशत रकम जुटाउने योजना बनाएको थियो। 

सर्वसाधारणलाई ३० प्रतिशत सेयर (आईपीओ) बिक्री गरेर थप १ अर्ब ५० करोडको लगानी जुटाउने योजना भए पनि आईपीओ निष्काशनको काम डिलरले अझै अघि बढाउनसकेको छैन। 

कार्यकारी प्रमुख श्रेष्ठ आईपीओ निष्काशनको तयारी नसकिँदा पुँजी जुटाउनै सकस भएको स्वीकार्छन्। 

‘हामीले साधारण सेयर निष्काशनका लागि काम गरिरहेका छौँ तर तत्कालै निष्काशन हुने सम्भावना छैन’, उनले भने। 

नागारिक डिलरमा हाल माउ कम्पनी नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल टेलिकमको ९ प्रतिशत, पुनर्बीमा कम्पनीको १० प्रतिशत संस्थापक सेयर स्वामित्व छ। 

प्रतिस्पर्धीको खाँचो 
४८ महिना धितोपत्र बजारमा प्रभावकारी छाप छोड्न नसकेको स्टक डिलरले अझै केही समय पर्याप्त लगानी गर्नसक्ने अवस्था छैन। छोटा प्रकृतिका लगानी मात्रै गर्दै आएको यसले पुँजी अभावकै कारण लगानी बढाउन नसकेको हो। 

यस्तो अवस्थामा थप स्टक डिलरहरु बजारमा आउनुपर्ने चर्चा चल्नथालेको छ। सीईओ श्रेष्ठ पनि एक मात्रै डिलरले बजार व्यवस्थापन नहुने तर्क राख्छन्। 

‘हामीले मात्रै बजारलाई सन्तुलित बनाउन सम्भव छैन, हामीजस्तै संस्थागत लगानीकर्तालाई बढाउन धितोपत्र बोर्डले कदम चाल्नुपर्छ’, उनले भने।  

स्टक डिलरले स–साना उतारचढावलाई पनि व्यवस्थित गर्न गाह्रो भएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप संस्थागत लगानी भित्र्याउन गृहकार्य गर्नुपर्ने श्रेष्ठको धारणा छ। 

लगानीकर्ता छोटेलाल रौनियार पनि बजारमा स्टक डिलरले लगानी बढाउन नसक्दा सोचेजस्तो प्रतिफल दिन नसकेको बताउँछन्। 

उनी भन्छन्, ‘घट्दो बजारमा सेयर उठाएर र बढ्दो बजारमा आफूसँग भएको सेयर प्रवाह गरेर धितोपत्र दोस्रो बजारलाई उतारचढावमा व्यवस्थित गर्नुपर्ने हो तर लगानी नै गरेको छैन।’ 

न्यून लगानीकै कारण आफूहरुले स्टक डिलर भएको महशुससम्म गर्न नपाएको उनले बताए। 

लगानीकर्ता दुर्गा तिवारी पनि बजार विस्तार हुँदै गर्दा स्टक डिलरको हस्तक्षेपकारी भूमिका आवश्यक देख्छिन्।  

‘स्टक डिलरले २ वर्षसम्म बजारमा ठूलो लगानी गरेन। बजार थप विस्तार हुँदै छ, नयाँ कम्पनी आउँदै छन्। यसलाई व्यवस्थापन गर्ने हैसियतसहित स्टक डिलर आउनुपर्ने हो’, उनी भन्छिन्।  

तिवारीका अनुसार नियामक निकायले संस्थागत लगानीकर्तालाई बढावा दिन पनि एकभन्दा बढी स्टक डिलरहरु सञ्चालनमा ल्याउन पहल गर्नुपर्छ।  

लगानीकर्ता दुर्गा तिवारी

६ महिनासम्म डिलरको रोजाइमा विकास बैंक, लघुवित्त बिक्रीमा 
सन् २०२२ नोभेम्बर २३ देखि २०२३ अप्रिलसम्म आइपुग्दा डिलरले २१ करोड १० लाख रुपैयाँको सेयर खरिद गरेको छ। आफ्नै विन्डोबाट गरेको यो खरिदमा सबैभन्दा धेरै लगानी  एसियन लाइफ इन्स्योरेन्समा छ। यो कम्पनीमा डिलरले ३ करोड ४२ लाख रुपैयाँबराबरको सेयर खरिद गर्दा २ करोड ४४ लाख रुपैयाँको सेयर बिक्री गरिसकेको छ। 

दोस्रोमा डिलरले साइन रेसुंगा विकास बैंकमा लगानी गरेको छ। यो बैंकमा ३ करोड ३३ लाख रुपैयाँ लगानी गर्दा डिलरले महालक्ष्मी विकास बैंकमा २ करोड ८३ लाख रुपैयाँ लगानी गरेको हो। 

६ महिनाको अवधिमा लगानीका लाागि डिलरले १० वटा कम्पनी छान्दा ५ वटा कम्पनी विकास बैंक छन्। त्योबाहेक जलविद्युततर्फ सानिमा माई हाइड्रो, बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्स, वाणिज्य बैंकतर्फ स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिभिल बैंक (हाल हिमालयन) छन्। 

यी कम्पनीमा डिलरले कुल २१ करोड १० लाख रुपैयाँ लगानी गरेको हो। नेप्सेले ३९ वटा कम्पनीको सेयर खरिदबिक्री गर्ने अनुमति दिएपछि गएको ६ महिनामा डिलरले १० वटा कम्पनीमा मात्रै लगानी गरेको छ।

६ महिनामा नागरिक स्टक डिलरले किनेको सेयर

६ महिनायता बजारमा बिक्री चाप बढिरहेकै बेला डिलरले १० वटा कम्पनीको सेयर बिक्री गरेको छ। डिलरले सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर बिक्री गर्यो। कुल ३ करोड ३५ लाख रुपैयाँबराबरको सेयर डिलरले गएको ६ महिनामा बेचेको हो। 

तीबाहेक यो अवधिमा एसियन लाइफ इन्स्योरेन्स, सानिमा माई हाइड्रोपावर, लुम्बिनी विकास बैंक, ज्योति विकास बैंकमा सर्ट टर्म ट्रेड (छोटो समयमा गरिने व्यापार) गरेको छ। तत्कालको उतारचढावअनुसार नाफा निकाल्न यी कम्पनीहरुमा डिलरले लगानी गरेको थियो। त्यस्तै, अपि पावर कम्पनी, एनआईसी एसिया बैंक, लाइफ इन्स्योरेन्स, तारागाउँ होटल र सिनर्जी हाइड्रोपावरको सेयर बिक्री गरेको छ।

यो अवधिमा डिलरले लघुवित्तमा भने लगानी गरेको छैन। गएको २ महिनादेखि देशभर लघुवित्तहरु समस्यामा परेसँगै लगानीकर्ताको सम्पत्तिमा ह्रास आइरहेको छ। यो अवस्थाको आकलन अगाडि नै गरेर डिलरले भने लघुवित्तमा लगानी गरेको देखिँदैन। डिलरले ४ वटा लघुवित्तमा लगानी गर्न पाउने भए पनि ६ महिना लगानी नभएर जीवन विकास लघुवित्तको सेयर बिक्रीलाई प्राथमिकतामा राखेको थियो।  

प्रमुख श्रेष्ठ आफूहरुले दीर्घकालीन नाफाका आधारमा कम्पनी छनौट गर्ने बताउँछन्। यद्यपि लगानीकर्ताले डिलरको खरिदबिक्रीलाई आधार मानेर लगानी गर्न ठीक नहुने उनको तर्क छ। 

उनले भने, ‘हामीले परिस्थिति र कम्पनीको अवस्था हेरेर सोहीअनुसार लगानीको योजना बनाउँछौँ, हाम्रो योजनाले लगानीकर्ताको लगानीको बाटो कोर्ने होइन।’

कस्तो कम्पनीमा गर्दै छ लगानी? 
दुई वर्ष बितिसक्दा डिलरले पर्याप्त लगानी बढाउन नसक्नुमा लगानीको सीमालाई पनि लिइन्छ। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले ३९ वटा कम्पनीमा मात्रै डिलरले आफ्नै विन्डोबाट लगानी गर्नसक्ने व्यवस्था गरेको छ। जसले गर्दा डिलरले स्वयं खरिदबिक्री गर्ने कम्पनीहरु नै थोरै छ।

त्यसमा पनि कम्पनीले ३० वटाभन्दा बढीमा लगानी गर्नसकेको छैन। गएको ६ महिनामा पनि डिलरले १५ वटा कम्पनीमा मात्रै कारोबार गरेको थियो। 

यो अवधिमा कम्पनीले एसियन लाइफ इन्स्योरेन्स, साइन रेसुंगा विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक, सानिमा माई हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, सिभिल बैंक, ज्योति विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र एक्सेल डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, एनआईसी एसिया, लाइफ इन्स्योरेन्स, तारागाउँ रिजेन्सी र सिनर्जी डेभलपमेन्टमा मात्रै कारोबार गरेको हो। 

लगानीकर्ता दुर्गा तिवारी डिलरलाई कारोबारमा ३९ वटा कम्पनीको मात्रै अनुमति दिइँदा पनि काम प्रभावकारी नभएको मान्छिन्।

हाल डिलरले २६ वटा (हाल मर्जरका कारण २१ वटा) वाणिज्य बैंक, ७ वटा विकास बैंक, ४ वटा लघुवित्त, एउटा होटल र अन्यतर्फ एउटा मात्रै कम्पनीमा लगानी गर्न पाउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .