ad ad

कारोबार


रानी–इटहरी–धरान सडक विस्तार : इटहरी मुख्य चोकमा घर–टहरा भत्काउन सुरु

रानी–इटहरी–धरान सडक विस्तार : इटहरी मुख्य चोकमा घर–टहरा भत्काउन सुरु

ध्रुव भट्टराई
माघ १९, २०७९ बिहिबार १८:३०, विराटनगर

रानी–इटहरी–धरान जोड्ने ६ लेनको व्यापारिक सडक विस्तारअन्तर्गत इटहरी मुख्य चोकमा पर्ने घर-संरचना हटाउन सुरु गरिएको छ। स्थानीयको अवरोधका कारण लामो समयदेखि रोकिएको घर-टहरा हटाउने काम इटहरी उपमहानगरपालिकाले थालेको हो।   

सो क्षेत्रमा ६ लेन  सडक क्षेत्रभित्र पर्ने  ३४ वटा घर हटाउन बाँकी रहँदा अहिले ४ लेनको सडक कायम छ।

इटहरी ९ स्थित विराटनगरतर्फ ६ लेन सडक विस्तारका लागि सडक क्षेत्रभित्र पर्ने घर-टहरा डोजर लगाएर भत्काउन सुरु गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए। इटहरीका राजनीतिक दल, इलाका प्रहरी कार्यालय इटहरी, इटहरी वडा नम्बर ९ का अध्यक्ष जितेन्द्र थापा, ६ नम्बर वडाका अध्यक्ष दिवस पोख्रेललगायतको सक्रियतामा घर भत्काउन थालिएको हो। सडक परियोजनाअन्तर्गत सडकको बीच भागबाट ५५ फुट कायम हुनेगरी घर भत्काउन थालिएको हो।

सर्वोच्च र उच्च अदालत अदालतकै फैसलाका कारण इटहरी चोकदेखि दक्षिणतर्फ ६ लेन सडक विस्तार राेकिएको थियो। सडक निर्माणका क्रममा सर्वोच्च अदालत र उच्च अदालतमा परेका दुई छुट्टाछुट्टै मुद्दामा दुवै अदालतले सडक आसपासका जग्गाधनी र घरधनीका पक्षमा फैसला गरेका थिए।

सर्वोच्चले २०६० जेठ २१ गते स्थानीयले भोगचलन गरेको जग्गा कानुनबमोजिम भएको र जग्गा अधिग्रहण गर्न नमिल्ने फैसला सुनाएको थियो। यस्तै, उच्च अदालत, विराटनगरले २०७४ मङ्सिर २६ गते सडक किनारका घर–टहरा नभत्काउन र भत्काउनै परे मुआब्जा दिन आदेश दिएको थियो। 

इटहरी चोकदेखि दक्षिणतर्फ ३० मिटर क्षेत्रमा सडक निर्माण गर्ने भनिए पनि उच्च अदालत, विराटनगरले साविकको सडकले चर्चेको क्षेत्रबाहेक अन्य स्थानमा कार्य नगर्न/नराउन आदेश गरेको छ। 

हाल २० मिटर सडक रहेको र थप १० मिटर बढाउँदा ३७ वटा घर भत्काउनुपर्ने भए पनि अदालतको आदेशले गर्दा सडक विस्तार रोकिएको थियो।

सडक आयोजनाका सहायक इन्जिनियर दामोदर भट्टराई स्थानीय सरकारलाई समन्वय गर्न भनेपछि घर–टहरा हटाउने काम भएको बताउँछन्। लामो समयदेखि कानुनी अवरोध भएपछि काम गर्न नपाएको उनले बताए।

२०६९ सालबाट ठेक्का लागेर रानी विराटनगर–इटहरी–धरान सडक खण्ड व्यापारिक मार्ग विस्तार सुरु भएको थियो। कूल ४९ किलोमिटर सडक विस्तारमा अझै सुनसरीका दुहबी, धरान बजार क्षेत्रमा विवाद रहेकाले सडक ठेक्का लाग्न सकेको छैन। 

विशेषगरी दुहबी र धरानको तीनकुनेदेखि धरान बजार क्षेत्रमा सडक विस्तारका लागि घरहरू नहटाइएका कारण यी दुई खण्डमा सडक विस्तारको ठेक्का लाग्न नसकेको उत्तर–दक्षिण व्यापारिक मार्ग आयोजनाको कार्यालयले जनाएको छ।

दुहबी बजार क्षेत्रको ६०० मिटर क्षेत्रमा सडकका लागि आवश्यक ३० मिटर चौडाको मापदण्ड आवश्यक पर्ने भए पनि त्यस क्षेत्रमा १६.५ मिटर मात्र जग्गा उपलब्ध भएकाले ठेक्का प्रक्रिया रोकिएको छ। बजार क्षेत्रमा पर्ने करिब ६० वटा घर सडक विस्तार आयोजनाभित्र पर्ने भए पनि अहिलेसम्म हटाउन सकिएको छैन। 

आयोजनाले सडकभित्र पर्ने घरको क्षतिपूर्ति दिने सर्त राखे पनि स्थानीयले घरसहित जग्गाको मुआब्जाको विषयसमेत उठाएका कारण सडक विस्तार रोकिएको हो। इटहरी बजार ट्याग्रा खोलादेखि तरहरासम्मको सडक विस्तारका लागि ५० मिटर चौडा मापदण्ड तय गरी ठेक्का लागे पनि धेरै घर भत्काउनुपर्ने भएका कारण स्थानीयले अवरोध गरे। तर ढिलै भए पनि इटहरी क्षेत्रमा सडक विस्तारका लागि घर भत्काउन थालिएको छ। घर हटाएर सडक विस्तार गर्न जमिन प्राप्तिका लागि आयोजनाले गएको फागुन २० गते सार्वजनिक सूचना निकालेको थियो।

त्यसैगरी धरानको तीनकुनेदेखि धरान बजार क्षेत्रमा पनि सडक विस्तार हुन सकेको छैन। एक किलोमिटर बजार क्षेत्रमा सडक विस्तारका क्रममा धेरै घर पर्ने भएकाले स्थानीयले अवरोध गरिरहेका छन्। जसका कारण सडक विस्तारका लागि ठेक्का समेत लाग्न सकेको छैन। ठेक्का लागेका सडक र अवरोध नभएका स्थानमा अहिले सडक विस्तार भइरहेको छ। व्यापारिक मार्ग मध्यबिन्दुबाट दायाँ–बायाँ २५/२५ मिटर फराकिलो हुनुपर्नेमा रानी–इटहरी सडकखण्ड १५/१५ मिटर मात्र बनाइँदै छ। 

सुनसरीको आँपगाछीदेखि धरानसम्मको वन क्षेत्रभित्रको सडक विस्तारको काम पनि अघिल्लो आर्थिक वर्ष सुरु भएको छ। आँपगाछीदेखि धरानसम्मको ९ किलोमिटर क्षेत्रमा वन क्षेत्र परेकाले ठेक्का प्रक्रिया अगाडि बढ्न सकेको थिएन।

वन विभागले सडक विस्तारका लागि १ हजार ४ सय ३० वटा रूख कटानको अनुमति दिएपछि ८० करोडको लागतमा सडक विस्तारको ठेक्का लागेको आयोजनाले जनाएको छ।

आयोजना सहायक इन्जिनियर भट्टराईका अनुसार सो क्षेत्रको सडक विस्तारको ठेक्का लागेर वन क्षेत्रमा रूख कटानको काम पूरा भई सडक विस्तार भइरहेको छ।

यो क्षेत्रको सडक विस्तारका लागि आँपगाछीदेखि सेउती खोलासम्मको ठेक्का रौता कन्ट्रक्सन र सेउतीदेखि तीनकुनेसम्मको सडक विस्तारका लागि हिम्डुङ एन्ड ठोकर प्यासिफिकले ठेक्का पाएर विस्तारको काम अगाडि बढाएको छ। यी दुवै निर्माण कम्पनीले तीन वर्षभित्र सडक विस्तार  पूरा गर्नुपर्नेछ।

आयोजनाका सहायक इन्जिनियर दामोदर भट्टराईका अनुसार कूल लागत १० अर्बको आयोजनामा विराटनगरको रानीदेखि धरानको तीनकुनेसम्म पुलसहित १७ प्याकेजको कूल ४४ किलोमिटरमा ६ लेनको सडक विस्तार भइरहेको छ। विराटनगर क्षेत्रमा सडक विस्तारको काम पूरा भए पनि सुनसरीमा जारी छ। 

कञ्चनजंघा एस गीताञ्जली जेबी, ठुकुचु कान्छा राम हिम्डुङ, शर्मा कान्छाराम, आशिष एपेक्स रोशन, कालिका कान्छा राम जेबी, तुक्जी रमन जेबी निर्माण कम्पनीले विभिन्न खण्ड–खण्ड गरेर पहिलो चरण विराटनगरको रानीदेखि सुनसरीको इटहरीसम्म ६ लेनको सडक बनाउन नाला निर्माणदेखि सडक विस्तारसम्मका काम गरिरहेका छन्।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो राजमार्गको रानी–विराटनगर–इटहरी–धरान  सडक योजनाअन्तर्गतको ६ लेन सडकखण्ड निर्माणाधीन अवस्थामा छ। चीन र भारत जोड्ने प्रदेश १ को एक मात्र सडक आयोजनाले विराटनगरदेखि किमाथांका जोड्ने कोसी राजमार्ग यो आयोजनाअन्तर्गत विराटनगरदेखि धरानसम्मको सडक खण्ड २०८० सालसम्म सम्पन्न हुनु पर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .