२१ वर्षीया तान्वी खण्डेलवाल आफूले काम गर्ने कम्प्युटरको स्क्रिनमा रंगीन चेतावनी देखेपछि छक्क परिन्।
जहाँ भनिएको थियो– तपाईंको काम गर्ने समय सकियो। कार्यालयीय प्रणाली अबको १० मिनेटमा बन्द हुन्छ। कृपया घर जानुहोस्!
खण्डेलवालले केही दिनअघि मात्रै कम्पनीको मानवस्रोत विभागमा जागिर सुरु गरेकी थिइन्। पछि मात्र उनले उक्त सन्देश उनकै नयाँ रोजगारदाताले कम्प्युटरमा इन्स्टल गरेको थाहा पाइन्।
सफ्टग्रिड कम्प्युटर्समा रहेका ४० कर्मचारीमध्ये उनी पनि एक हुन्। यो एउटा भारतीय प्रविधि स्टार्टअप कम्पनी हो। जुन मध्यप्रदेश राज्यको इन्डोर सिटीमा छ।
अहिले त उनी दिनहुँजसो कम गर्ने समय सकिनु १० मिनेटअघि नै आफ्नो कम्प्युटरमा यो सन्देश प्राप्त गर्छिन्। त्यसपछि बेलुकी ठीक ७ः०० बजे उनीहरुको कम्प्युटर आफैँ बन्द हुन्छ।
सफ्टग्रिडकी सहसंस्थापिका तथा प्रमुख कार्यकारी श्वेता शुक्लाका अनुसार कर्मचारीलाई आफ्नो व्यस्त जीवनलाई सन्तुलित बनाउने उद्देश्यकै एउटा अंगको रुपमा यो ‘नोटिफिकेसन’ रहेको छ।
‘कोरोना महामारीले हाम्रो कार्यदिनहरुलाई असन्तुलित बनाइदियो। त्यसपछि हामी धेरै घण्टासम्म काम गर्न थाल्यौँ। मैले त आफ्नो बच्चालाई समयमै भेट्न समेत मुस्किल परिरहेको थियो’, उनी भन्छिन्।
कार्यालयका अन्य कर्मचारीहरुले पनि उनले जस्तै समस्या भोगिरहेका थिए।
त्यही कारण उनीहरुले आपसमा त्यस्तो सफ्टवेयर बनाउने विचार गरे जसले सुरुमा काम गर्ने कम्प्युटर स्क्रिनमा चेतावनी देओस् र १० मिनेटपछि कम्प्युटर आफैँ बन्द होस्!
पछि त्यो सफ्टवेयर तयार भयो। छ महिनाअघि सबैले काम गर्ने कम्प्युटरमा इन्स्टल गरिएको थियो।
‘हामीले एक हप्ताभित्रै इन्स्टल गरेर सक्यौँ किनकि सबैलाई हामी आश्चर्यमा पार्न चाहन्थ्यौँ’, शुक्ला भन्छिन्, ‘जब सुरुमा स्क्रिनमा देखियो, धेरै कर्मचारीले पत्याएनन्। कसैले उनीहरुको कम्प्युटर ह्याक गरेको ठाने।’
इमेल वा मेमो पठाएर भन्नुभन्दा यसो गर्दा धेरै मज्जा हुने ठानेर स्क्रिनमा नोटिफिकेसनको व्यवस्था गरेको उनको भनाइ छ।
अन्य कर्मचारीहरुले पनि यसलाई निकै सहज र आवश्यक ठानेका छन्।
खण्डेलवाल अन्य ठाउँमा काम गरेभन्दा यो नितान्त फरक लागेको बताउँछिन्। किनभने अन्त समय सकिएर पनि केही घण्टा अझै काम गर्न लगाइन्थ्यो।
उनैले लिंक्डइनमा यसबारे पोस्ट गरेकी थिइन्। यदि यो सबैतिर हुने हो भने ‘सोमबारे प्रेरणा’ (मन्डे मोटिभेसन) वा ‘मस्तीको शुक्रबार’ (फन फ्राइडे) को आवश्यकतै नहुने उनको बुझाइ छ।
खण्डेलवालको उक्त पोस्ट भाइरल भएको थियो। पोस्टमा ४ लाखभन्दा बढी लाइक र ७ हजारभन्दा धेरै कमेन्टहरु आएका थिए।
धेरै प्रयोगकर्ताले यो प्रकारको सुरुवातको प्रशंसा गरेका थिए भने केहीले व्यावहारिक नभएको तर्क पनि गरेका थिए।
‘उनीहरुले सहजै रिस्टार्ट गरेर लग इन गर्न सक्छन्’, शुक्ला भन्छिन्। यो कर्मचारीलाई सम्झाउनका लागि मात्र भएको उनको भनाइ छ।
‘हाम्रा केही ग्राहक यसबाट खुसी छैनन् तर हामी यसलाई निरन्तरता दिन्छौँ’, उनी भन्छिन्। बीबीसीबाट भावानुवाद
प्रतिक्रिया