ad ad

कारोबार


स्नातक गरेकी ममताले जागिर होइन, व्यावसायिक च्याउखेती रोजिन्

स्नातक गरेकी ममताले जागिर होइन, व्यावसायिक च्याउखेती रोजिन्

नेपालखबर
चैत २०, २०८० मंगलबार ८:३७, कैलाली

पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ की उद्यमी एन्जिल चौधरीले गलत साबित गरेका छन्। व्यावसायिक च्याउखेतीमा लागेका चौधरीले गाउँमा नमूना किसानको परिचयसमेत बनाएका छन्। 

विसं २०७६ मा सुरु गरेको च्याउखेतीले उनलाई सफल किसान बनाएको छ । उनले व्यवसायलाई बढाउँदै लगेका छन्। 

‘मैले सिजनअनुसार छ किसिमका च्याउको खेती गर्दै आएको छु, बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन । उत्पादन भएको च्याउ बिक्रीका लागि बजार पुग्नै पर्दैन । घरबाटै सबै बिक्री हुन्छ,’ उनले भने। 

चौधरीले हिउँदमा कन्यलगायत प्रजातिको च्याउ उत्पादन गर्दै आएका छन्। गर्मीमा ब्लुक्याप, पिङ्की च्याउ उत्पादन गर्दै आएकी उनले बर्खामा दुधेच्याउ उत्पादन गर्छिन्। 

लगानीका हिसाबले तेब्बरभन्दा बढी आम्दानी लिन सकिने च्याउ खेतीबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उनले बताए। 

‘लगानीको तुलनामा आम्दानी अधिक छ । त्यसैले व्यवसाय विस्तार गरेको छु। परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु,’ उनले भने।

उनले च्याउखेतीमात्रै नभई बेमौसमी तरकारीखेती र तरकारीको बेर्ना पनि उत्पादन गर्दै आएकी छन्। अहिले उनको तरकारी बारीमा बेमौसमी तरकारी उत्पादन भइरहेको छ। 

‘च्याउखेतीबाट बचेको समय बेमौसमी तरकारीमा लगाउने गरेको छु। तरकारीका बेर्नाबाट पनि प्रशस्त आम्दानी हुन्छ, तरकारी र तरकारीको बेर्नाबाट वार्षिक रु चारदेखि पाँच लाख आम्दानी हुन्छ,’ उनले भनिन्। 

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट बीउमा अनुदान पाएकी उनलाई गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ।

जानकी गाउँपालिका–४ कञ्चनपुरका श्रीराम कठरिया २०७२ सालदेखि च्याउखेतीमा छन् । उनले च्याउखेतीमा करिब रु ५० लाख लगानी गरिसकेका छन्।

व्यवसायबाट अहिलेसम्म भएको आम्दानी उनले व्यवसाय वृद्धिमा नै  लगाएका छन्। ‘मैले नौ वर्ष गरेको आम्दानी यही व्यवसायमा भएको लगानी हो । करिब रु ५० लाख लगानी भइसकेको छ, आजसम्म भएको आम्दानी लगानीमा सकियो । अबको आम्दानी बचत हुन्छ,’ उनले भने।

च्याउखेतीका लागि उनले एसी प्लान्ट जोडेका छन्। जहाँ एकैपटक एक हजारभन्दा बढी च्याउ राख्न मिल्छ । च्याउखेतीसँगै केरा, तरकारी र मकैखेती गर्दै आएका कठरिया अहिले सबै छाडेर च्याउ उत्पादनमा व्यस्त भएका छन्। उनले गाउँका अन्य युवालाई पनि व्यावसायिक खेतीका निम्ति प्रेरित गर्दै आएका छन्।

जानकी गाउँपालिकाकै ममता चौधरीले स्नातक तहको अध्ययनसँगै च्याउखेती सुरु गरेकी छन्। पढ्दै खेतीमा लागेकी उनलाई एन्जिल चौधरीले सिकाउछिन्। साथीहरूबाट सिकेको ज्ञानसँगसँगै स्नातक तहको अध्ययन पनि उनले सकेकी छन्। 

परिवारको दबाबले एक वर्ष कानुन पढ्न धनगढीमा बिताएकी ममतालाई व्यवसायबाट हुने गरेको मनग्य आम्दानीले धनगढीबाट घर फिर्ता गर्यो। ‘अब स्नातकोत्तर गर्छु । व्यवसायलाई पनि निरन्तरता दिनेछु,’

बाह्र महिना च्याउ उत्पादनमा लागेकी उनले ठूलो धनराशि लगानी गरेकी छैनन्। यो वर्ष रु एक लाख लगानी गरेको च्याउ खेतीबाट उनले रु छ लाख आम्दानी गरेकी छन्।

‘च्याउखेतीमा खासै लगानी छैन । त्यही प्लास्टिक र पराल हो चाहिने, पराल आफैँसँग हुन्छ प्लास्टिक किन्नुपर्छ। लगानीभन्दा आम्दानी तेब्बर छ,’ उनले भनिन्। उनको पाँचजना परिवार छ। पाँचै जना च्याउखेतीमै व्यस्त छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .