ad ad

निर्वाचन विशेष


केन्द्रको निर्देशन विपरित दुहवीमा एमाले–जसपा गठबन्धन

केन्द्रको निर्देशन विपरित दुहवीमा एमाले–जसपा गठबन्धन

सुमन पुरी
बैशाख १६, २०७९ शुक्रबार २१:५९, विराटनगर

शीर्षस्थ नेताहरूको निर्णय विपरीत सुनसरीको दुहवी नगरपालिकामा एमाले र जनता समाजवादीको बिचमा चुनावी गठबन्धन भएको छ। 

एमालेसँग चुनावी गठबन्धन गरे कारबाही गर्ने केन्द्रको चेतावनीका बावजुद जसपाको स्थानीय नेतृत्वले एमालेसँगको चुनावी तालमेल नतोड्ने निर्णय गरेको छ। 

सुनसरीको दुहवीमा भएको गठबन्धन अनुसार एमालेले प्रमुख पदमा उम्मेदवारी दिएको छ भने जसपाको तर्फबाट उपप्रमुखमा उम्मेदवारी छ। 

दुहवीमा एमालेको तर्फबाट विनय पोखरेले मेयर प्रमुख पदका प्रत्यासी छन्। उपप्रमुखमा भने जनता समाजवादी पार्टीका सरोज सिंह चुनावी मैदानमा छन्। 

उनीहरुले स्थानीय आवश्यकता अनुसार गठबन्धन गरेको बताएका छन्। उपप्रमुख पदका प्रत्यासी सरोज सिंहले स्थानीय आवश्यकता भएकाले एमालेसँग भद्र सहमित भएको बताए।

‘उहाँहरुले उपप्रमुखमा उम्मेदवारी दिनु भएन, हामीले मेयरमा दिएनौँ’ उनले भने।

देशैभर कांग्रेससँग गठबन्धन भएपनि दुहवीमा कांग्रेसले नै गठबन्धन तोडेको जसपाको आरोप छ। 

जसपा दुहवीका नेता रञ्जित गोश्वामीले जसपाले उपप्रमुखको दावी गरेको तर सो पदमा कांग्रेसले नै उम्मेदवारी दिएकाले आफूहरुले पनि उम्मेदवारी दिएको उनले बताए। 

‘आफ्नो उम्मेदवार उठाँउदा पार्टीले किन कारबाही गर्नु?’ उनले प्रश्न गरे। 

एमालेबाट प्रमुखका प्रत्यासी रहेका विनय पोख्रेलले तालमेल गरेर चुनावमा गएको बताए। उनले तालमेल गरेर संयुक्त रुपमा घरदैलो थालिएको जानकारी दिए। 

जसपाका केन्द्रीय नेताहरुले कुनै पनि हालतमा एमालेसँग गठबन्धन नगर्न निर्देशन दिएका थिए। तर स्थानीय पार्टीले भने एमालेसँगको तालमेल नतोड्ने जवाफ दिएको छ। 

वडा तहमा भने दुवै पार्टीको छुट्टाछुट्टै उम्मेदवारी परेको छ। 

देशैभरी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका बिचमा चुनावी गठबन्धन छ।

आज मात्रै शीर्षस्थ नेताहरुको बैठकले एमालेसँग तालमेल या गठबन्धन गरेर गए कारबाही गर्ने निर्णय गरेको थियो। 

दुहवीमा नेपाली कांग्रेसले प्रमुखमा वेद गच्छदार र उपप्रमुखमा मेनुका खतिवडालाई उम्मेदवार बनाएको छ। 

कांग्रेस दुहवीको सत्तासीन पार्टी पनि हो। दुहवीमा तत्कालिन फोरम लोकतान्त्रिकबाट वेद गच्छदारले प्रमुख र सुनिता साह दाहालले उपप्रमुख जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .