निर्वाचन विशेष


जनकपुरमा भद्रगोल गठबन्धन, चुनावी सभामा जसपा र कांग्रेस कार्यकर्ता मात्रै!

गृहजिल्लाकै कार्यक्रम विमलेन्द्रले बहिष्कार गरे
जनकपुरमा भद्रगोल गठबन्धन, चुनावी सभामा जसपा र कांग्रेस कार्यकर्ता मात्रै!

जनकपुरमा आयोजित चुनावी सभामा सहभागीहरु। तस्बिर : नेपालखबर


शैलेन्द्र महतो
बैशाख २४, २०७९ शनिबार १९:२६, जनकपुरधाम

जनकपुरमा पाँच दलीय सत्ता गठबन्धनको भद्रगोल अवस्था शनिबारको चुनावी सभाले देखाएको छ। 

पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभामा सबै दलका नेताहरु मञ्चमा देखिए पनि दर्शक दीर्घमा भने दुई दलका मात्रै स्थानीय कार्यकर्ता देखिए। 

सभामा शीर्ष नेताहरु कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेता उपस्थित थिए । तर कार्यकर्ता जसपा र कांग्रेसका मात्रै देखिए।

जसमा पनि कांग्रेस कार्यकर्ताहरु न्यून मात्रै सहभागी भए। सभास्थल र शक्ति प्रदर्शनमा जसपाको छाता छाप झण्डा धेरै देखिएको थियो। 

न्यून मात्रामा कांग्रेसको गाछी छाप (रुख) को झण्डा थियो। गठबन्धनका अन्य दलको झण्डा त्यहाँ कतै देखिएनन्। 

गठबन्धनभित्रकै माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताको उपस्थिति नगन्य थियो।

पछिल्लो समय गठबन्धनबाट शीर्ष नेताहरु खुसी देखिए पनि जनकपुरधाममा जसपाबाहेक कार्यकर्ताहरु सन्तुष्ट छैनन्।

जसपाले शनिबार पूरै शक्ति लगाएर धनुषाका ग्रामीण भेगबाट कार्यकर्ता उतारेको थियो। तर त्यहाँ करिब ४ हजार मात्रै उपस्थिति देखिएको छ। 

विमलेन्द्रको बहिष्कार
सभालाई कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले बहिष्कार नै गरेका छन्। उनी मधेश प्रदेशमा कांग्रेसभित्र बलियो पकड राख्छन्। 

निधिको बहिष्कारले पनि गठबन्धनभित्रको भद्रगोल अवस्थालाई पुष्टि गरेको छ।

भारतीय साधन
जसपाले शक्ति प्रदर्शन गर्न भारतीय नम्बरका चार चक्के गाडी र मोटरसाइकल प्रयोग गरेको देखिएको छ। बजारमा कार्यकर्ताको तुलनामा धेरै  गाडी, मोटरसाइकल र अटो रिक्सा देखिन्थे।

मेयर, उपमेयरमा गठबन्धन भएपनि यहाँका वडास्तरमा दलहरु छुट्टाछुट्टै मैदानमा छन्। जसपाबाट मेयरमा लालकिशोर साह र कांग्रेसबाट उपमेयरमा किशोरी साह उम्मेदवार छन्। 

वडाहरूमा आ-आफ्नै हिसाबले गठबन्धन दलहरुले उम्मेदवारी दिएकाले झनै भद्रगोल देखिएको छ।

जसपा नेपालको भागमा मेयर परेको थियो। निवर्तमान मेयर लालकिशोर साहलाई फेरि उम्मेदवार बनाएपछि जसपाबाहेक गठबन्धनका दल असन्तुष्ट छन्। 

लालकिशोरको विगतको काम कारबाहीबाट जनकपुरबासीमा व्यापक असन्तुष्टि छ। कांग्रेसका नगर सभापति मनोज कुमार साह पार्टीबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवार बनेपछि गठबन्धनमा अन्तर्घातको त्रास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .