ad ad

निर्वाचन विशेष


विराटनगरमा साँच्चै गर्दैछ एमालेले ‘चमत्कार’?

विराटनगरमा साँच्चै गर्दैछ एमालेले ‘चमत्कार’?

फाइल फोटो


सुमन पुरी
बैशाख २४, २०७९ शनिबार २१:४२, विराटनगर

आगामी साता हुने स्थानीय चुनावमा देशभरका ६ महानगरपालिकामध्ये नेपाल कम्युनिष्ट पार्टी एमालेले कतिवटा जित्ला? तीन दिनअघि एमाले महासचिव शंकर पोखरेललाई पत्रकारले सोधेको प्रश्नमा उनको जवाफ थियो– ‘यसपालि चमत्कार हुन्छ।’

एमालेले कुन महानगरपालिकामा चमत्कार गर्ला त? यो प्रश्नको जवाफ दिन महासचिव पोखरेलले मानेनन्। उनको भनाइको सार यत्ति थियो, ‘महानगरको नाम भन्दिनँ, यत्ति मात्रै भन्छु, यसपालि चमत्कार हुँदैछ।’

एमालेले चमत्कार गर्ने महानगरपालिका कुन होला त? यसबारे जिज्ञासा उत्पन्न हुनु स्वभाविकै हो। 

यसअघि ०७४ को चुनावमा एमालेले देशभरिका ६ वटा महानगरपालिकामध्ये दुईवटा जितेको थियो। काठमाडौं र पोखरा एमालेले जितेको थियो। ललितपुर र विराटनगर महानगरपालिका कांग्रेसले जितेको थियो। माओवादी र जसपाले भरतपुर र वीरगञ्ज जितेका थिए। 

हामीले एमालेका एक नेतालाई अनौपचारिक रुपमा सोध्यौँ, प्राविधिक रुपमा बताउन नमिले पनि तपाईंहरुको आन्तरिक आकलन के छ?  महासचिवले भनेजस्तो कहाँ हुँदैछ चमत्कार?

हरेक महानगरपालिकाको नाम लिएर सोध्न थालेपछि ती नेताले केही कुरा खोले।

‘काठमाडौं र पोखरा एमालेले पहिल्यै जितेको हो, त्यसमा फेरि जित्नु चमत्कार होइन’, उनले भने, ‘ललितपुर पनि पहिले प्राविधिक रुपमा मात्रै हारिएकाले त्यहाँको जित पनि स्वभाविकै हुनेछ। वीरगञ्जमा सिटिङ मेयर (विजय सरावगी) नै एमाले प्रवेश गरेर चुनावी मैदानमा हुनुहुन्छ, त्यहाँको जित पनि कुनै चमत्कार होइन। भरतपुरमा मतपत्र नच्यातिएको भए एमालेले पहिल्यै जितेको हो, यसपालि स्वाभाविक रुपमा जित्छ।’

बाँकी रह्यो, विराटनगर। नेपाली कांग्रेसको गढ मानिने विराटनगर एमालेले जित्ला? यो प्रश्नमा एमालेका ती नेताले भने, ‘चमत्कार त्यहीँ होला जस्तो छ यसपालि। हामीले नै नपत्याएका युवा उम्मेदवार सागर थापाले पो चमत्कार गर्लान् जस्तो भइसक्यो।’

यति खुलिसकेपछि ती एमाले नेताले विराटनगरको थप कुरो सुनाए, ‘सचिवालय बैठकले पाँचवटा महानगरपालिकाको उम्मेदवार तय गरिसक्दा पनि विराटनगरको तय भएको थिएन। वरिष्ठलाई उठाउने कि सागरलाई भन्नेबारे टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइयो। अध्यक्षले त्यहाँको स्थिति बुझ्नुभयो र अन्ततः सागरलाई नै टिकट दिनुभयो।’  

विराटनगर महानगरपालिकाको मेयर पदमा गठबन्धनबाट कांग्रेस नेता नागेश कोइराला, एमालेबाट सागर थापा र स्वतन्त्र उम्मेदवार उमेश यादव बलिया प्रतिस्पर्धी मानिन्छन्।

महानगरमा १ लाख ३३ हजार १४२ मतदाता छन्। तीमध्ये १९ हजार मतदाता पहिलोपटक मत हाल्न जाँदैछन्। 

मतदातासँग एमाले उम्मेदवार सागर थापा

विगतको गणित एमालेको प्रतिकुल 
०७४ को चुनावका आधारमा विराटनगरको शक्ति सन्तुलन हेर्दा एमाले उम्मेदवारले जित निकाल्नु निकै नै चुनौतीपूर्ण देखिन्छ। 

गत चुनावमा विराटनगर महानगरपालिकामा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर जितेका थिए।

पराजुलीका प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले १७ हजार ३२१ मत पाएका थिए। एमालेको भन्दा कांग्रेसको मतान्तर करिब ६ हजार थियो। 

स्मरणीय के छ भने एमालेले पाएको १७ हजार मतमा तत्कालीन मधेसी जनाधिकार फोरम लोकतान्त्रिकको पनि जोडिएको थियो। एमालेसँग गठबन्धन गरेर लोकतान्त्रिक फोरमले उपमेयरमा सुची चौधरीलाई उठाएको थियो। सूचीले ल्याएको मत १० हजार ५५३ थियो। यसको अर्थ, एमालेको १७ हजार मतमा लोकतान्त्रिक फोरमको पनि राम्रै योगदान थियो। 

उपमेयरमा कांग्रेसकी विजेता इन्दिरा कार्कीले २० हजार १४६ मत ल्याउँदा माओवादीकी उपमेयर नमिता न्यौपानेले ११ हजार ५२४ मत पाएकी थिइन्। 

विजय गच्छदारको फोरमसँग सहकार्य गर्दासमेत एमालेले कांग्रेसको भन्दा ६ हजार कम मत पाएको थियो। अहिले लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा समाहित भइसकेको छ।

एमाले यसपटक एक्लै चुनावी मैदानमा छ। पार्टीसमेत फुटेर महेश रेग्मीहरुको टिम एकीकृत समाजवादीमा गएको अवस्था छ।

विगतमा ४–५ हजार मत पाएको राप्रपाले यसपटक पनि बेग्लै उम्मेदवारी दिएका कारण राप्रपाको मत पनि एमालेमा जाने सम्भावना छैन।

यो स्थितिमा एमालेका उम्मेदवार सागरको पक्षमा जनमत केही थपिएकै देखिए पनि कतिसम्म बढ्ला भन्ने निश्चित छैन।

पाँच वर्षअघि एक्लै ६ हजार मतले अगाडि रहेको, यसबीचमा लोकतान्त्रिक फोरमसँग पार्टी एकता भएको अनि अहिले जसपा र माओवादीसँग गठबन्धनसमेत बनाएको कांग्रेस विगतको भन्दा सजिलो पोजिसनमा देखिन्छ। 

विराटनगरमा यस्तो बलियो र सहज पोजिसनमा रहेको कांग्रेसलाई एमालेले हरायो भने यसलाई एमाले महासचिव शंकर पोखरेलले भनेजस्तै ‘चमत्कार’ नै मान्दा फरक नपर्ला। 

विगतमा विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग तालमेल गर्दासमेत एक्लो कांग्रेसलाई हराउन नसकेर ६ हजार मतले पछि परेको एमालेले यसपालि गठबन्धन बनाएको कांग्रेसलाई विराटनगरमा कसरी हराउला?  

वैशाख ३० गते पछि नै यसको खुलासा हुनेछ। शंकर पोखरेलले भनेको सही हो, विराटनगरमा एमालेले जित्यो भने त्यो चमत्कार नै हुनेछ।

हेर्नुहोस् ०७४ को नतिजा

एमालेको तर्क 
यसपटक जसपाबाट मेयरमा उमेश यादव र माओवादीबाट उपमेयरमा नमिता न्यौपाने बागी उठेकाले आफूहरुलाई फाइदा पुग्ने विश्लेषण एमाले नेताहरुले गरेका छन्।

तथापि ०७४ मा पनि यस्तै अवस्था थियो। त्यसबेला जसपा र माओवादीले गठबन्धन गरेर उमेश र नमितालाई मेयर–उपमेयरमा उठाएका थिए। उनीहरुले क्रमशः १४ हजार र ११ हजार भोट पाएका थिए। 

यसपालि यादव र न्यौपाने बागी उठे पनि कांग्रेसलाई फाइदा के छ भने विगतमा ऊ एक्लै लडेको थियो, अहिले कमसेकम गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक एकीकरण भएको अवस्था छ।

विगतमा जसपा र माओवादीको भोट कांग्रेसलाई आएको थिएन। अहिले कांग्रेसले जसपासँग उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उपमेयर दिएर तालमेल गरेको अवस्था छ। 

उमेशले जसपाको राम्रै भोट काटे पनि गठबन्धनका कारण केही न केही भोट कांग्रेस उम्मेदवार नागेशको पक्षमा  पनि खस्दै खस्दैन भन्न सकिन्न। जुन, भोट कांग्रेसका लागि नाफा हो।

त्यस्तै माओवादीको हकमा पनि उसले उपमेयरमा मात्रै बागी उठाएको छ, मेयरमा बागी उठाएको छैन। पार्टीले विगतमा जस्तो जसपासँग आधिकारिक रुपमा तालमेल नगरेको हुनाले माओवादीको भोट कांग्रेसमा जाँदा ह्वीप लाग्ने स्थिति छैन, यो पनि कांग्रेसका लागि लाभको विषय हो।

एमाले नेताहरुले माओवादीको भोट कांग्रेसलाई नजाने र एमालेलाई  नै आउने दाबी गरेका छन्। तर, माओवादीको सबै भोट एमालेमै जान्छ भन्ने छैन। कांग्रेसले पनि पाउन सक्छ। माओवादीको आधिकारिक लाइन गठबन्धनलाई जिताउने नै हो।

तथापि एमाले नेताहरुको तर्क के छ भने विगतमा एमालेले पस्न समेत नसकेका वडा नम्बर १४, १५, १६, १७, १८ र १९ मा यसपालि पार्टी संगठन सुदृढ भएको छ। 

वडा नम्बर १८ साविकको बुधनगर गाउँपालिका हो भने वडा नम्बर १९ बैजनाथपुर क्षेत्र हो। यो दक्षिणी भेगबाट यसपालि एमालेले राम्रो भोट आर्जन गर्ने एमाले कार्यकर्ताहरूको दाबी छ। 

०७४ को चुनावमा विराटनगर वडा नम्बर १४ मा फोरमले १२ सय मतका साथ वडाध्यक्ष जितेको थियो। एमाले ६ सय मतका साथ दोस्रो स्थानमा थियो। 

वडा नम्बर १५ मा पनि संघीय फोरम( हालको जसपा) ले नै १२ मतका साथ जितेको थियो, जहाँ एमाले ६ सय मतका साथ माओवादी भन्दा पछाडि चौथो स्थानमा थियो। 

त्यस्तै वडा नम्बर १६ मा कांग्रेसले एक हजार मतका साथ वडाध्यक्ष जित्दा एमाले साढे चार सय मतका साथ तेस्रो स्थानमा थियो।

वडा नम्बर १७ मा फोरमले ११ मतका साथ वडाध्यक्ष जित्दा एमाले ३७६ मतका साथ चौथो स्थानमा थियो। यो वडामा पनि एमाले भन्दा फोरम र माओवादीको भोट बढी आएको थियो। 

त्यस्तै वडा नम्बर १८ मा फोरमले ६ सय मतले जित्दा माओवादी ५ सय मतका साथ दोस्रो भएको थियो। यस वडामा एमालेका उम्मेदवारले ६५ मतका साथ नवौं स्थान हासिल गरेका थिए। 

बैजनाथपुरलाई समेटेर बनेको वडा नम्बर १९ मा स्वतन्त्र उम्मेदवार ६४२ मतका साथ विजयी हुँदा एमालेले ६२१ मतका साथ दोस्रो स्थान हासिल गरेको थियो। 

वडा नम्बर १४ देखि १९ सम्मको यो तथ्यांक हेर्दा यहाँ एमाले एउटा वडामा बाहेक अन्यमा निकै नै कमजोर देखिन्छ। तर, यसपालि यी वडामा एमालेले आफूलाई प्रतिस्पर्धी बनाएको कार्यकर्ताको दाबी छ।

एमाले कार्यकर्ता भन्छन्– ढुक्क छौँ
नेकपा एमालेले विराटनगरमा  घरदैलो कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ। महानगरका १९ वटै वडाका सबै टोलमा नाचगान गर्दै मत मागेका एमाले नेता तथा कार्यकर्ता चुनाव जित्नेमा ढुक्क छन्। एमालेका सागर थापाले यसपालि चुनाव जित्ने एमाले कार्यकर्ताहरूको दाबी छ। 

विराटनगरका मतदाताले परिवर्तन खोजेको र परिवर्तन एमालेले जितेमात्र सम्भव हुने भएकाले मतदाताको विश्वास आफूहरुसँग हुने एमाले नेता विनोद ढकालले बताए। उनले भने, ‘हामीले यसपटक विराटनगरमा राम्रो बनाएका छौँ। 

अघिल्लो पटक महानगरका प्रत्यासी बनेका ढकाल यस पटक निर्वाचन परिचालन कमिटी संयोजक छन्।

कांग्रेस विस्तारै तातिँदै
कांग्रेस भने ढिलो गरी घरदैलो अभियानमा लागेको छ। गठबन्धनबाट मेयर र उपमेयर पद पाएका पार्टीहरू जसपा र कांग्रेसले घरदैलो कार्यक्रम गरिरहेका छन्। घरदैलो कार्यक्रममा मतदाताको उत्साह उस्तै छ। 

विराटनगरमा कांग्रेसले चुनावी सभा पनि गरिसकेको छ। ती चुनावी सभामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका छन्।

गठबन्धन भनिए पनि विराटनगरमा उनीहरुको संयुक्त चुनावी सभा हुन सकेन। कांग्रेसको चुनावी सभा सकिएलगत्तै एमालेले शनिबार चुनावी सभा गरेको छ। चुनावी सभामा पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन्। 

एमाले र गठबन्धनका प्रत्यासीले मात्रै होइन, स्वतन्त्र उम्मेदवार उमेश यादवको पनि घरदैलो कार्यक्रम चलिरहेको छ। उनको घरदैलोमा समेत सयौँको सहभागिता देखिन्छ। 

विराटनगरका निजी कलेजमा अध्यापन गर्ने भवानीले भने जस्तै मान्छे चिनेर मत हाल्ने विराटनगरमा ज्यादै कम मतदाता छन्। उनीहरुको मत कता जान्छ, चुनावको नतिजा त्यतै पल्टन्छ। 

नेकपा एमाले निर्वाचन परिचालन कमिटीका संयोजक विनोद ढकाल भन्छन्, ‘महानगरमा जनमत बनाएर मात्रै हुँदैन, भत्काउन नदिन पनि उत्तिकै चुनौतीको विषय छ।​

मतदातासँग कांग्रेस उम्मेदवार नागेश कोइराला

के भन्छन् मतदाता?
‘ऊबेला दक्षिणा झार्न घरबेटी फकाउँथे, अहिले मत झार्न फकाउँदैछन्’ खोटाङबाट विराटनगर सरेका भवानी दाहाललाई दलहरूको घरदैलो कार्यक्रम देउसी भैलो जस्तै लागेको  छ। 

ठूल्ठूला स्पिकरमा गीत। सिटी सफारीका ताँती। झण्डा र ब्यानर। उमेदवारसँगै नाच्दै हिँड्ने कार्यकर्ता। दलैपिच्छेका चुनावी गीत। विराटनगरका विभिन्न निजी क्याम्पसमा पढाउँदै आएका दाहाललाई अहिले रमाइलो महसुस भइरहेको छ। 

विराटनगर महानगरपालिका १९ नम्बर वडाका मतदाता दाहालले भने, ‘अहिले तिहारका बेला खोटाङ पुगे जस्तो लागिरहेको छ। गाउँमा तिहारका बेला यसरी नै नाचगान लिएर आउँथे। अहिले देउसी भैलो जसरी  नेता कार्यकर्ताहरु भोट माग्न घर घर आइरहेका छन्।’ 

नेता–कार्यकर्ता नाचेका मात्रै छैनन्। मतदाताबीच दश औँला जोडेर हिँडिरहेका छन्। चुनावका बेला औँला र गला जोडेर हिँड्ने नेताहरु चुनाव जितेपछि पनि यस्तै भइदिए हुन्थ्यो भन्दै दाहाल थप्छन्, ‘जसले जिते पनि जितोस्, कम्तिमा चुनाव जितेर गएपछि जनप्रतिनिधिलाई हामीले यसरी औँला जोडेर बिन्ती बिसाउँदा सुनिदिउन्। 

दाहाल विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीसमेत हुन्। २० वर्षदेखि विराटनगर बस्दै आएका उनलाई महानगरको प्रमुख पदमा प्रत्यासी सबै नेताहरुको आनीबानी थाहा छ। सवल र दुर्बल पक्ष पनि जानकारी छ। 

‘म त स्वविवेकले मत प्रयोग गर्छु। यसरी स्वविवेक प्रयोग गर्ने मतदाता महानगरमा कति छन् र?’, विभिन्न कारणले मतदाता प्रभावित हुने भएकाले अहिले नै परिणामको विश्लेषण हुन नसक्ने उनले बताए। 

विराटनगरमा सडकमा व्यापार गर्ने  आताउल्ला मियाँलाई आफ्नो पेट मात्र नभरी जनतालाई पनि हेर्ने मेयर आओस् भन्ने लागेको छ। उनी भन्छन्, ‘हामीलाई खानका लागि सरकारले राहत देओस्। महँगी बढेको छ, यस विषयमा मेयरले बोलिदेओस्।’

विराटनगरमा मजदुरी गर्ने गोपाल प्रसाद रायलाई चुनावमा भोट माग्न आउनेप्रति विश्वास छैन। उनी भन्छन्, ‘आजसम्म चुनावका बेला भोट माग्न आएकाहरूले भनेका कुरा पूरा गरेनन्।’ 

अब सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेस नेता नागेश कोइरालाको कुरा सुनौँ :

विराटनगरमा नेपाली कांग्रेसको चुनावी प्रचार कसरी भइरहेको छ? 
पार्टीको महाधिवेशन भर्खरै सकिएको छ। तल्लो तहसम्म संगठनहरु निर्माण भएका छन्। हामीले विराटनगर भरि भएका संगठन प्रयोग गरेर  चुनावी अभियानलाई तीव्रता दिएका छौँ। 

संगठनमार्फत टोल–टोलमा, घर–घरमा पुग्ने प्रयास गरिरहेका छौँ। महाधिवेशनका बेला भएका टोल समिति चुस्त दुरुस्त भएका कारण संगठनलाई प्रयोग गरेर निर्वाचनमा जान सहज भएको छ। 

सहज तरिकाले विराटनगरका सवै वडामा पुगेका छौँ। हामी संयुक्तरुपमा पनि घरदैलो गरिरहेका छौँ। विराटनगरवासीमा पुग्न हामीलाई समस्या छैन।

मतदातामाझ नागेश कोइराला

तपाईंको मुख्य एजेण्डा के हो? 
मसँग धेरै ठूला एजेण्डा छैनन्। मेरा मूल एजेण्डा नै भ्रष्टाचाररहित महानगर बनाउने हो। जबसम्म भ्रष्टाचार हुन्छ, तबसम्म महानगरबासीले महानगरमा सरकार भएको अनुभूति गर्ने छैनन्। म महानगरमा गएपछि पहिलो काम नै भ्रष्टाचार मुक्त बनाउने हो। यसका लागि मसँग योजना बनिसकेको छ।

विराटनगरमा बसेको र महानगरसँग नजिक भएर काम गरेकाले मलाई भ्रष्टाचार कहाँ र कसरी भइरहेको छ भन्ने थाहा छ। बजेट चुहिने दुलो थुनेर भ्रष्टाचाररहित महानगर बनाउने हो। यसका लागि म काम गर्ने छु। 

मेरो अर्को एजेण्डा भनेको महानगरको राजस्व अभिवृद्धि गर्नु हो। राजस्व वृद्धिका लागि करको दर हैन, दायरा बढाउनुपर्छ भनेर हामी लाग्नेछौँ। केही करहरू अत्यधिकरुपमा बढाइएको छ। यसलाई हामी समायोजन गर्नेछौँ। 

नागरिकलाई आफूले तिरेको करको सही सदुपयोग भयो भनेर अनुभूति गराई कर र राजस्व तिर्न नागरिकलाई हौसला प्रदान गर्ने छौ। करको भार धेरै भएको गुनासो पनि छ। यसलाई समायोजन गर्दै अगाडि बढ्नेछौँ। 

मेरो अर्को प्राथमिकताको एजेण्डा भनेको स्वास्थ्यको एजेण्डा हो। हामी विराटनगरका सबै वडामा अस्पताल बनाउन नसकौँला। 

तर, महानगरपालिकाको आफ्नै मेट्रो सिटी अस्पतालको निर्माण गर्नेछौँ, जहाँ निजी अस्पताल र निजी क्लिनिकले दिने उपचार सस्तोमा दिन सक्ने बनाउँछौ। यो हाम्रो उद्देश्य हो। 

शिक्षामा महानगरमा अहिले तीनवटा सामुदायिक विद्यालयले एकदमै राम्रो गरेका छन्। महानगरका अन्य ६३ वटा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने हाम्रो योजना छ। 

अहिले सबैभन्दा लथालिङ्ग परेका सामुदायिक विद्यालयलाई छानेर सबैभन्दा राम्रो शिक्षा दिने अवस्थामा पुर्‍याउने छौँ। वर्षको १५ देखि २० वटाको दरले विद्यालयको गुणस्तर बढाउँदै जाने हाम्रो योजना हो। 

महानगरमा अहिले पनि खानेपानीको अवस्था राम्रो छैन। केही वर्ष अघिमात्रै विराटनगरमा खानेपानीका कारण टाइफाइड र झाडा पखाला फैलिएको थियो। महानगरवासी अहिले पनि ट्युबवेलको पानी खानु पर्ने बाध्यतामा छन्। हामी सबैको पहुँचमा खानेपानी पुर्याउन चाहन्छौँ। 

गठबन्धनकै बीचमा पनि तालमेल भएन भन्ने छ नि? सँगै भोट माग्न पनि हिँड्न नसकेको अवस्था छ....  
गठबन्धनमा यहाँ केही समस्या छैन। एकले अर्कालाई भोट मागेर हिँडेका छौँ। गठबन्धन विराटनगरमा मात्रै भएको होइन। देशैभर गठबन्धन भएको छ। विराटनगरमा भएको गठबन्धनमा समस्या आए देशैभरि समस्या आउँछ। यो विषयमा गठबन्धन दलका साथीहरु सचेत हुनुहुन्छ। कांग्रेस पनि सचेत छ। हाम्राबीचमा कुनै समस्या छैन। विराटनगर महानगरमा गठबन्धन राम्रो छ। कसिलो छ।  

अब एमालेका उम्मेदवार सागर थापाको कुरा सुनौँ– 

एमालेबाट तपाईँको जितको आधार के हो? 
हाम्रो जितको अधार के हो भन्नका लागि दुई–तीनवटा कुरालाई हेर्नुपर्छ। एक त हामी यसपटक संगठनिक रुपमा बलियो भएका छौँ। हाम्रा कमिटीहरु तल्लो तहसम्म पुगेका छन्। मधेसमा हामी बलियो शक्तिका रुपमा स्थापित भएका छौँ। हामी संगठित कार्यकर्ता मार्फत महानगरमा चुनावी अभियानमा छौँ। यो हाम्रो जितको पहिलो आधार हो। 

अर्को, महानगरको सत्तामा बसेकाहरुले महानगर बनाउन सकेनन्। देखिने र सुनिने गरी काम भएन। ०५४ को निर्वाचनमा हाम्रो पार्टीले नगरको नेतृत्व सम्हाल्दा  एकीकृत र दीगो विकासको जग बसाल्ने कामको थालनी गरेको थियो। 

नगरको ढल निकासको गुरुयोजना र चरणवद्ध निर्माण कार्य, सडक तथा भवन निर्माण मापदण्ड निर्धारण, नगर यातायत सञ्चालन गर्न बस टर्मिनलका लागि जग्गा खरिद, रिङ रोडको रेखाङ्कन हाम्रो पार्टीको नेतृत्वको महानगर सरकारले गरेको थियो। 

यस्तै विराटनगरलाई विशेष आर्थिक क्षेत्र निर्माण जस्ता नगरबासीहरूको वृहत्तर हित हुने कार्यहरू प्रारम्भ गरेको थियो। ती योजना तथा कार्यक्रमलाई निरन्तरता दिइएको भए यो नगर निकै व्यवस्थित र विकसित भइसक्ने थियो। 

गएको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगर महानगरपालिका पुगेको कारण उक्त कार्यले निरन्तरता पाउन सकेन। 

कांग्रेसको नेतृत्वमा रहेको निवर्तमान महानगरका जनप्रतिनिधिले कुनै ठोस र प्रभावकारी योजना तथा कार्यहरु नगरी पाँच वर्षको अवधि बिताएका छन्। त्यसैले मतदाताले हामीलाई मत हाल्छन्। 

मतदातासँग आशीर्वाद लिँदै सागर थापा

तपाईंको चुनावी एजेण्डा के हो? 
विराटनगर महानगरपालिकामा सञ्चालन हुने महत्वपूर्ण विकास अभियानहरू सर्वदलीय सहमति जुटाएर दीगो विकासको अवधारणा अनुरुप तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाएर सम्पन्न गर्नु मेरो काम हुनेछ। बृहत विराटनगरको गुरुयोजना बनाई व्यवस्थित, विकसित र वातावरणमैत्री स्मार्ट सिटी बनाउनु मेरो एजेण्डाको रुपमा रहेको छ। 

विराटनगर प्रदेश १ को राजधानी शहर हो। तर, राजधानी सहर विराटनगरमा प्रदेश सरकार र प्रदेश सभाका स्थायी भौतिक संरचना निर्माण गर्न आवश्यक पहल भएको छैन। हामी यसका लागि  सहजीकरण गर्नेछौं। 

महानगरको सर्वाङ्गीण विकासका लागि एक स्वायत्त महानगर योजना आयोग बनाई त्यस अन्तरगत नगरवासीको पहुँच हुने गरी योजना बैंक सञ्चालन गर्ने एजेण्डा हामीले अघि सारेका छौं।

भौतिक निर्माणसँगै विराटनगरको शिक्षाको गुणस्तर सुधार गर्ने एजेण्डा हाम्रो पार्टीले अघि सारेको छ। सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विषयगत सकाइ उपलब्धि हासिल गर्नका लागि आगामी पाँच वर्षभित्र भौतिक पूर्वाधारयुक्त बनाउने, कम्पाउन्ड वाल, खेलमैदान, यातायात) सुविधासम्पन्न, बाल तथा अपाङ्ग मैत्री बनाउने र  निजी क्षेत्रमा सञ्चालित विद्यालयलाई पूर्वाधारयुक्त, शैक्षिक गुणस्तर युक्त र बालमैत्री बनाउन आवश्यक पहल गर्ने हाम्रो योजना छ। 

स्वास्थ्य क्षेत्रमा सबै वडामा महानगर स्वास्थ्य केन्द्र स्थापना गरी नगरबासीका लागि निःशुल्क स्वास्थ्य परीक्षण सेवा तथा आधारभूत औषधी उपलव्ध गराउने योजना छ। रानी स्वास्थ्य चौकीलाई २५ शैयाको अस्पतालमा स्तरोन्नति गर्ने एजेण्डा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .