निर्वाचन विशेष


भरतपुरका वडामा खटिए कांग्रेसका केन्द्रीय सदस्य, बागीको एजेन्ट बस्नेलाई सिधै निष्काशन

भरतपुरका वडामा खटिए कांग्रेसका केन्द्रीय सदस्य, बागीको एजेन्ट बस्नेलाई सिधै निष्काशन

भरतपुर महानगरपालिका वडा नम्बर ९ मा कांग्रेससहित गठबन्धनको घर दैलो कार्यक्रम


सागर न्यौपाने
बैशाख २५, २०७९ आइतबार २०:४०, चितवन

शनिबार बेलुका भरतपुरमा झण्डै आधा घण्टा मेघ गर्जनसहित मुसलधारे वर्षा भयो। हावाहुरी र चट्याङ परेपछि भरतपुर महानगरका केही क्षेत्रमा विद्युत आपूर्ति पनि रोकियो।

रातको समय, त्यसमाथि विद्युत नै बन्द भएपछि बजार क्षेत्र अन्धकार थियो। हिँडडुल गर्न हम्मे परिरहेको त्यो समयमा पनि सडकमा केही व्यक्तिहरुको दौडादौड देखिन्थ्यो।

बिजुली चम्किएर मुसलधारे वर्षा जारी रहेकै बेला दौडधूप किन त ? नेपालखबरले केही व्यक्तिहरुलाई पछ्यायो।

प्रतिकूल मौसममा पनि खटिएका ती नेताहरु नेपाली कांग्रेसका थिए। पाँच दलीय गठबन्धनका उम्मेदवार जिताउनैपर्ने दबाबमा छन् उनीहरु।

सम्भवतः चितवन कांग्रेसले यस्तो संकटको अवस्था पहिलो पटक सामना गर्दैछ।

नेपालखबरसँग सम्पर्कमा आएका कांग्रेसका केही जिल्ला नेताले बताएअनुसार भरतपुर महानगरपालिकामा गठबन्धनलाई जिताउन सबै संयन्त्र सक्रिय बनाइएको छ।

महानगरमा पाँच वर्ष प्रमुख रहेकी रेनु दाहालले प्रशस्तै काम गरेको गठबन्धनका नेताहरुको दाबी छ।

कामकै आधारमा उनले केही मत व्यक्तिगत रुपमै बढाए पनि कांग्रेसभित्र फेरि रेनुलाई प्रमुखमा सहयोग गर्ने पार्टी केन्द्रको निर्णय विरुद्ध चितवनका केही पुराना नेता कार्यकर्ताले विद्रोह गरेको अवस्था छ।

त्यही विद्रोहको असर रेनु दाहालमाथि नपरोस् भन्दै चुनावमा जित निकाल्न कांग्रेसले आफ्ना मातहतका निकाय सक्रिय राखेको छ।

अहिले चुनावी प्रचार, जिल्लाका नेता कार्यकर्ताको भूमिका अनुगमन गर्न कांग्रेसले केन्द्रबाटै केन्द्रीय नेताहरुलाई खटाएको छ।

उपप्रमुखसहित २० वटा वडा पाएको कांग्रेसले आफूले मात्र जितेर सुख पाउँदैन, प्रमुख पदमा गठबन्धनकी साझा उम्मेदवार बनाइएकी माओवादी केन्द्रकी दाहालसहित गठबन्धनका अन्य दलका उम्मेदवारलाई पनि जिताएर पठाउनुपर्ने बाध्यता छ। 

त्यही जिम्मेवारी दिएर कांग्रेसले केन्द्रीय नेताहरुलाई चितवनमा उतारेको छ।

ती नेताहरुले भरतपुरमा पार्टीभित्रैका नेताहरुको भूमिका अनुगमन गर्न थालिसकेको एक नेताले जानकारी दिए।

कांग्रेसको एउटा तप्का रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई मत मागेर घरदैलो अभियानमा हिँडिरहेको छ।

आफू बलियो रहेको जिल्लामै पार्टीका नेताहरु विभाजित भएपछि त्यसको असर गठबन्धनका उम्मेदवारमा पर्ने कुराले कांग्रेस चितवन अत्तालिएको छ।

त्यही भएर केन्द्रीय नेताहरुले गठबन्धनभन्दा बाहेकका उम्मेदवारलाई सहयोग गरे-नगरेको अनुगमन गर्न, पार्टी नीति विपरीत गठबन्धनबाहेकका उम्मेदवारलाई सहयोग गरेको पाइए तत्काल कारवाही गर्नेगरी सिफारिस गर्ने अधिकार लिएर चितवन झरेका ती नेताले बताए।

कुन–कुन नेतालाई भरतपुरका वडामा खटाइएको छ भन्न उनले अस्वीकार गरे। नेताहरुलाई दुईवटा, तीनवटा र कसैलाई चारवटा वडाको हेर्ने जिम्मेवारी दिइएको ती नेताले दाबी गरे।

पार्टीले निष्काशन गरे पनि पुराना कांग्रेस नेता पौडेलले कांग्रेसकै केही जिल्ला नेताहरुलाई साथ लिएर चुनावी घरदैलो अभियान गरिरहेका छन्।

आफैं चुनाव जित्न नसके पनि पौडेलको उम्मेदवारीले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई फाइदा पुग्ने कांग्रेसकै नेताहरुको स्वीकारोक्ति छ।

कांग्रेस चितवनका उपसभापति तथा पाँचदलीय लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार प्रसार समितिका संयोजक राजीव न्यौपानेले भरतपुर महानगरमा गठबन्धनका सबै उम्मेदवारले जित्ने गरी केन्द्रीय नेता खटिएको बताए।

‘भरतपुर महानगरको चुनावी नतिजा गठबन्धन भन्दा बाहिर जाँदैन, सबै उम्मेदवारले सानदार ढंगले जित्छन्,’ न्यौपानेले नेपालखबरसँग भने, ‘कांग्रेसले विशेष सतर्कता अपनाएको छ। पार्टी नीति बाहिर जान नदिन र नेता तथा कार्यकर्तालाई अनुशासनमा राख्न विशेष अधिकार दिएर केन्द्रीय नेतालाई सबै वडामा खटाएको छ। अहिले केन्द्रीय नेताहरुले सुक्ष्म रुपमा रिपोर्ट संकलन गरिरहनुभएको छ।’

चुनावी प्रचार र घरदैलो अभियानमा आवश्यकता अनुसार जाने, त्यहाँको मतदाताको मनोविज्ञान बुझ्ने र आफ्नै नेता कार्यकर्ताको भूमिकासमेत केन्द्रीय नेताहरुले अध्ययन गर्ने उनले बताए।

भरतपुरमा गठबन्धनका उम्मेदवारमध्ये रेनु दाहाललाई हराउन आफ्नै पार्टीका नेताहरु प्रयोग हुने खतरा रहेको कांग्रेसको विश्लेषणपछि केन्द्रीय नेता परिचालित भएको उनले बताए।

नेपालखबरसँग कुरा गर्दै चितवन कांग्रेसका सभापति राजेश्वर खनालले पनि पार्टीका नेताहरुको असन्तुष्टि मथ्थर पार्ने प्रयास जारी रहेको बताए। ‘असन्तुष्ट पक्षलाई विश्वासमा लिने प्रयास जारी छ,’ उनले भने।

बैशाख २७ गते कांग्रेस महामन्त्री गगन थापा चितवनमा आउने पनि उनले बताए। ‘हाम्रो महामन्त्री पनि चितवन आउँदै हुनुहुन्छ,’ खनालले भने, ‘सकभर पार्टीका असन्तुष्ट पक्षलाई विश्वासमा लिएर एक भई चुनावमा होमिन्छौं र गठबन्धनका सबै उम्मेदवार जिताएर एउटा सन्देश दिन चाहन्छौँ।’

माओवादी केन्द्रलाई दोस्रो पटक पनि भरतपुर महानगरपालिका प्रमुख दिने केन्द्रीय निर्णयप्रति कांग्रेस चितवनमा असन्तुष्टि चुलिएको थियो। तर, बैशाख २२ गते गठबन्धनले भरतपुरमा चुनावी सभा गरेपछि जिल्लाकै प्रभावशाली नेताहरु जीतनारायण श्रेष्ठ, टेकप्रसाद गुरुङ खुलेर रेनुको टीमलाई मत माग्न खटिएका छन्।

उनीहरुले नै वडामा तहमा समेत एक भएर गठबन्धनको टिमबाट दायाँ–बायाँ नगर्न सचेत गराएका छन्।

केन्द्रबाट खटाइएका केन्द्रीय नेताहरुले गाउँ क्षेत्रमा भन्दा बजार क्षेत्रका गतिविधिमाथि बढी निगरानी गर्दैछन्।

‘गाउँतिर समस्या छैन, पार्टीको नीति नाघेर हिँड्दैनन्, तर, बजार क्षेत्रमा पार्टी नीति उल्लंघन गर्ने खतरा छ। त्यही भएर शतप्रतिशत मत गठबन्धनकै उम्मेदवारलाई खसाल्ने वातावरण बनाउन अबका केही रात केन्द्रीय नेतासहित हामी खटिन्छौं,’ उपाध्यक्ष न्यौपानेले थपे।

एजेन्ट बसे पनि सिधै निष्काशन

कांग्रेसले पार्टी निर्णय नमान्ने, बागी उम्मेदवारको एजेन्ट बस्नेहरुलाई पनि कारवाही गर्ने आक्रामक नीति लिएको छ।

कांग्रेसका नेताहरुले कार्यकर्ताको क्रियाकलाप सामाजिक सञ्जाल, भिडियो, कार्यक्रम रिपोर्टबाट लिनेछन्।

‘पार्टीकै निर्णय नमान्ने त्यस्ता फोहोर किन राख्ने भन्नेतिर पार्टी गयो,’ एक नेताले नेपालखबररसँग भने, ‘सकेसम्म साथीहरुलाई कन्भिन्स गर्ने, माथिको निर्णयबारे प्रष्ट पार्नुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .