ad ad

निर्वाचन विशेष


दलहरुसँग ग्रामथानको चुनावी एजेन्डा खोज्दै थारु समुदाय

दलहरुसँग ग्रामथानको चुनावी एजेन्डा खोज्दै थारु समुदाय

थारु समुदायको पवित्रस्थल ग्रामथान। तस्बिर : नेपालखबर


सुमन पुरी
बैशाख २७, २०७९ मंगलबार १६:६, इटहरी

२०७४ साल वैशाखमा इटहरी-८ मा स्थानीय थारु महिला र प्रहरीबीच झडप भयो। थारु महिलाहरु घरेलु हतियार लिएर प्रहरीका विरुद्ध खनिए। 

उक्त झडपमा  ६ जनाभन्दा बढी थारु महिला घाइते भए। प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा चार चना पक्राउ परे। 

झडपपछि गाउँका महिलालाई पक्राउ गरेर इलाका प्रहरी कार्यलय इटहरीमा लगेपछि थारु समुदाय बस्न इटहरी-८ को  ट्याङ्ग्रा टोली अशान्त भयो। 

यसरी २ सयको हारहारीमा थारु समुदाय बस्ने टोल अशान्त हुनुको कारण थियो उनीहरुले आस्थासाथ पूजा गर्दै आएको ग्रामथान व्यक्तिको जग्गामा परेको भन्दै हटाइन खोज्नु। 

जग्गाको कारोबार गर्दै आएको एउटा समूहले ग्रामथान हटाउने प्रयास गरेको थियो। उनीहरुको प्रयास असफल भएपछि प्रहरी परिचालन भयो। 

प्रहरी आएर ग्रामथान भत्काउन खोजेपछि महिलाहरु घरेलु हतियारसहित प्रतिकारमा आएका थिए। 

आस्थाको केन्द्र
थारु समुदायको जन्मदेखि मृत्युसम्म नगई नहुने आस्थाको केन्द्र हो ग्रामथान। ग्रामथानमा वर्षमा २ पटक थारुहरुले अनिवार्य पूजा गर्छन्। 

नयाँ अन्नबाली भित्र्याउने बेलामा 'नेमानी' र बाली नाली लगाउने बेलामा 'अखाडी'। योबाहेक हरेक वर्ष वैशाख महिनामा ग्रामथानमा मेला पनि लगाउने गरिन्छ। 

यसको अतिरिक्त शुभ कार्य र पितृकार्यमा समेत थारु समुदाय ग्रामथानमा जाने गर्छन्। 

आस्थाका साथ वर्षौदेखि पुज्दै आएको ग्रामथान नै जग्गा प्लटिङका नाममा मासिने भएपछि प्रतिकारमा उत्रिए थारु महिला। यसको नेतृत्वकर्ता थिइन् स्थानीय वालविकास केन्द्रकी शिक्षिका सावित्री चौधरी। 

अहिले तिनै  सावित्री  ग्रामथान संरक्षण गर्ने एजेन्डा बोकेर आउने दललाई मत हाल्न थारु समुदायमा आव्हान गर्दै हिँडिरहेकी छन्। 

इटहरीमा मात्रै होइन, सुनसरी र मोरङका धेरै पालिकाहरुमा थारु मतका आधारमा निर्वाचनको नतिजा फेरबदल हुने गर्छ। निर्वाचनका बेला थारु समुदायले पार्टी हेर्दैन, उम्मेदवार हेर्छ भन्ने आरोप छ।

सुनसरीको इटहरी उपमहानगरपालिका, दुहबी र रामधुनी नगरपालिकामा थारु समुदायको मत बढी छ।

त्यस्तै सुनसरीकै गढी र बर्जु गाउँपालिकामा पनि थारु समुदायको मतले चुनावी परिणाम फेरबदल गर्ने गर्छ। 

मोरङको ग्रामथान, बूढीगंगा  गाउँपालिकमा र सुन्दरहरैँचा नगरपालिकामा पनि थारु समुदायको मतले निर्वाचन हेरफेर गरेको उदाहरण छ। 

यस पटक थारु उम्मेदवार उठाएर मात्रै थारु मत आउनेवाला छैन। ग्रामथान संरक्षण समिति सुनसरी अध्यक्ष तेजनारायण चौधरी भन्छन्, 'थारूका पनि एजेन्डाहरू यस पटक सुनिनु पर्छ।' 

'थारु उम्मेदवार उठाइयो भनेर हामी मख्ख पर्दै आयौँ', उनले भने, 'थारु समुदायकै मेयर-उपमेयर जितेका पालिकाहरुमा ग्रामथान अतिक्रमण भएका  छन्।'

उनले थारु उम्मेदवारले मात्रै नहुने बताउँदै एजेन्डाले आफूहरुको मत प्रभावित हुन सक्ने बताएका छन्। 

सुनसरी-मोरङमा मात्रै २२ सय को हाराहारीमा ग्रामथान र सांस्कृतिक भूमि छन्। तीमध्ये ५० प्रतिशत ग्रामथान तथा सांस्कृतिक भूमि लोप हुने अवस्थामा रहेको ग्रामथान संरक्षण समितिले जनाएको छ। 

भौतिक रुपमा देखिएका ११ सयको हाराहारीका ग्रामथान पनि अतिक्रमणको चपेटामा परेका छन्। 

थारु समुदाय बसोबास गर्ने वस्तीभन्दा बाहिर ग्रामथान हुने गरेको छ। ग्रामथानका नाममा जग्गा धनीपूर्जा नहुँदा शहरीकरण सँगै यसको जग्गा अतिक्रमण हुने गरेको छ। 

संवाद समूह सुनसरीले गरेको अध्ययन अनुसार खानेपानी, विद्यालय र सरकारी भवन बनाउन समेत ग्रामथानको जग्गा प्रयोग गरिँदै आएको छ। 

शहरीकरण भएका क्षेत्रमा जग्गा प्लटिङका नाममा ग्रामथान अतिक्रमण हुने गरेको अध्ययनले देखाएको छ। 

थारु समुदायको पहिचान नै मेटिएको ग्रामथान संरक्षणको मुद्दा र एजेन्डा अहिले दलहरूसँग राखिरहेको थारु अगुवाहरु बताउँछन्।  

'हामीले हेर्दा हेर्दै इटहरी चोकको ग्रामथान मासियो। धरान-विराटनगर सडकखण्डमै ग्रामथानसँगै खेल्ने प्रशस्त जग्गा थियो। तर अहिले सबै अतिक्रमण भएको छ। हामीलाई पूजा गर्न समस्या छ', थारु अगुवा सुशीला लेखी भन्छिन्, 'हामी यस पटक ग्रामथान संरक्षणको एजेन्डा दलहरूसँग खोजिरहेका छौँ।'

दलहरूको प्रतिवद्धता 
नेपाली कांग्रेस इटहरीले ग्रामथान संरक्षणको एजेन्डा घोषणा पत्रमै उल्लेख गरेको छ। एमालेले ग्रामथान संरक्षण र पर्यटनलाई जोडेको छ। 

माओवादी र साना दलहरुले पनि ग्रामथान संरक्षणको एजेन्डा घोषणा पत्रमै उल्लेख गरेर गएका छन्। 

अघिल्लो स्थानीय तहमा थारुहरुको अधिकारको कुरा उठेको थियो। यस पटक एजेन्डा नै खोजिरहेका छन्। 

नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारी भन्छन्, 'थारु समुदायले एजेन्डागत ढंगले आफ्ना माग राखिरहेका छन्।'

सुनसरीको इटहरीमा मात्रै होइन, रामधुनीमा पनि प्रमुख पदका प्रत्यासीहरुले ग्रामथान संरक्षणका लागि छुट्टै नीति बनाउने प्रतिवद्धता गरेका छन्। 

कांग्रेस प्रत्यासी सुदीप अधिकारी ग्रामथान संरक्षणबिना थारु समुदायको संस्कृति नजोगिने बताउँछन्। 'हामी निर्वाचन जितेर गए पनि नगए पनि संविधानले दिएको अधिकार प्रयोग गरेर संरक्षणको काम थाल्छौँ', उनले भने।

उनले ग्रामथान भूमिमात्रै नभएर संस्कृति पनि संरक्षण गरिनुपर्ने बताएका छन्। 'ग्रामथान भूमि मात्रै होइन। ग्रामथानसँग जोडिएका संस्कृति पनि संरक्षण आवश्यक छ', एमालेबाट रामधुनीको मेयर पदका प्रत्यासी शंकरलाल चौधरी भन्छन्, 'हामीले पहिलेबाटै नीति बनाएर संरक्षण गरौँ भनिरहेका छौँ।'
 
'हामी जेहबार र गहदार प्रथाबाट ग्रामथान सञ्चालन गरिरहेका छौँ। यो प्रथा नै हराएर ग्रामथान अतिक्रमणको चपेटामा परे', उनले भने, 'हामी निर्वाचनमा गएपछि संरक्षणका लागि ठोस नीति बनाउँछौँ।' 

के हो ग्रामथान? 
थारु समुदायले आफू, आफ्नो परिवार र समुदायको सुख, शान्ति र रक्षाको कामना गर्दै पूजा गर्ने स्थललाई ग्रामथान भनिन्छ। थारु वस्तीको केही पर खुल्ला खेत वा जग्गामा ग्रामथान बनाइएको हुन्छ। थानका रुपमा एउटा सानो घर बनाइएको हुन्छ। तर त्यहाँ कुनै मुर्ति हुँदैन। 

माटो थुपारेर ढिस्को जस्तो बनाइएको हुन्छ। पूजा गर्ने बेला मात्रै सफा गरी गोबरले लिपेर सजाइन्छ। केराको पात, फूल, घडा, बैगुन जस्ता वनस्पतिहरुले पूजा गरिन्छ। यस्ता थानहरु विशेष गरी घर वा वस्तीको दक्षिण-पश्चिममा बनाउने चलन रहेको तेजनारायण चौधरी बताउँछन्। 

ग्रामथान थारुहरुको ऐतिहासिक धरोहर मात्र नभएर जीवन पद्धतिको आधार पनि हो। थारु परिवारमा कसैको जन्म, विवाह वा मृत्यु भयो भने उनीहरु थानमै पूजा गर्छन। परिवार वा समाजमा दुःख आइपरे शक्ति माग्न थानमै पुग्छन्। 

खुसीयाली बाँड्न पनि थानमै पुग्छन्। बाली राम्रो होस् भनेर भाकल थानमै गर्छन्। राम्रो अन्न फले थानमै चढाउँछन्। 

ग्रामथानमा ५६ करोड देवी देवताको बास हुन्छ भन्ने धार्मिक विश्वास छ। यस्ता थानमा पूजा गर्न थारुहरुका एक व्यक्ति चुन्छन्। जसलाई गहदार भनिन्छ। गहदार मुखियाको रुपमा रहन्छन्। जसलाई सबैले आदर गर्छन्।

गहदारले एक समिति बनाएको हुन्छ, जसलाई जेहवार भनिन्छ। त्यसको काम थान सञ्चालन र संरक्षण गर्नु हो। 

ग्रामथानमा ५६ करोड देवी देवताको बास हुने थारुहरुको विश्वास छ। रामधुनी नगरपालिकाका स्थानीय गणेश चौधरीका अनुसार राजाजी र बिच्छु धामीको नाममा पूजा गरिन्छ।

थानमा जब्दीमाता, लाटी बौकी, खाखी बाबा, तुमरुम मुखिया, भोलानाथ सुब्बा, फुलिया धमयाइन, लक्ष्मी, सुकल र मुसन सरदार लगायतका देवी देवताको पूजा गरिन्छ।

पञ्चाहैन, उब्धी, कचना, डोरा, सिंगिया, जब्दी, डाकिन झुम्का, मधेशा, एकम्बा, जहदा, कशंमरान, डुम्रहा, ढोक, बक्लौरी, अन्रामन्ढ, नडहा, चनरमैन लगायत ग्रामथानमा ठूलो सिरुवा मेला लाग्छ।

यस्तै सिरुवा मेलामा विवाह गर्न उमेर पुगेका केटा केटीलाई देखाइन्छ। मेलामै मन परापर भए विवाह गर्ने निधो पनि गरिन्छ। नवविवाहिता जोडीले पहिलो वर्ष यस्ता मेलामा संयुक्त पूजा गर्ने प्रचलन पनि छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .