ad ad

निर्वाचन विशेष


जसले गठबन्धनको विरोध गर्दै कांग्रेस छाडे, स्वतन्त्र उठेर वडाअध्यक्ष जिते

जसले गठबन्धनको विरोध गर्दै कांग्रेस छाडे, स्वतन्त्र उठेर वडाअध्यक्ष जिते

यज्ञराज जोशी
जेठ १, २०७९ आइतबार १८:३५, धनगढी

स्थानीय तहको निर्वाचनअघि प्रेमसिंह बडैला नेपाली कांग्रेस गोदावरी नगर समितिका उपाध्यक्ष थिए। 

स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनबीच नगरमा गठबन्धन हुने भयो। तर, तर बडैला गठबन्धनको पक्षमा थिएनन्।

उनको आकलन थियो, एक्लै जित्न सकिन्छ। त्यहीकारण उनी गठबन्धनको विपक्षमा उभिए। 
 

सत्तारुढ दलबीच गोदावरीको मेयर-उपमेयरमा गठबन्धन हुने भयो। 

वडासम्मै गठबन्धन गर्न भागबण्डा चल्दै गर्दा वडानम्बर ११ कांग्रेसले छाडेर एकीकृत समाजवादीलाई दिनुपर्ने कुरा चल्यो।

तर सुरुदेखि नै गठबन्धनको विरोधमा उत्रिएका उनले आफूलाई विपक्षमा मात्रै उभ्याएनन्, कांग्रेसको क्रियाशील सदस्यबाटै राजीनामा दिए। 

कांग्रेस छाडेपछि उनी एक्लै चुनावी दौडमा निस्किए। स्वतन्त्रबाट चुनावी मैदानमा खडा भएका उनले खरायो चिन्ह लिएर वडाअध्यक्षका लागि अभियान थाले। 

वडामा प्रभावशाली बडैलाले स्वतन्त्र लड्ने घोषणा भएसँगै अन्य वडामा पनि गठबन्धनमा जान नहुने आवाज बुलन्द भयो। त्यसपछि मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै सबै वडामा कांग्रेसले उम्मेदवार उठायो।

गठबन्धन हुँदा एकीकृत समाजवादीलाई छाड्न लागिएको यो वडामा कांग्रेसबाट शिव विक खडा भए। तर बडैलाले विकभन्दा दोब्बर मत ल्याएर विजयी भएका छन्। 

अघिल्लो स्थानीय निर्वाचनमा वडाअध्यक्ष जितेका विकलाई ५०१ मतान्तरले पराजित गर्दै बडैलाले आफ्नो अडान प्रमाणित गरे। वडाको २ हजार १ सय ८४ मतमध्ये बडैलाले १ हजार ७९ मत लाए। विकले ५६९ मत पाए। 

नेकपा एमालेका सचिव लेखराज भट्टको क्षेत्रसमेत रहेको त्यहाँ नेकपा एमालेका उम्मेदवार भीम विकले ४ सय ४ मत पाउँदै तेस्रो स्थानमा रहे। 

स्वतन्त्रबाट वडाअध्यक्ष जितेलगत्तै उनका समर्थकले अत्तरिया बजारमा बाजागाजासहित जुलुस निकाले। जुलुसपछि प्रतिक्रिया दिदैँ उनले भने, 'पार्टीले आवश्यक ठानेमा कांग्रेसमा फर्किन तयार छु।'

उनले आफ्नो अडानअनुसार जनताले माया गरेर जिताएको पनि बताए। 'जनताको माया ममताले अमूल्य मत दिएर मलाई जिताउनुभएको छ', उनले भने, 'स्वतन्त्रबाट चुनाव लडे पनि पार्टीले अवसर दियो भने फर्किन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .