नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकामा नेपाली कांग्रेस र कांग्रेस (बीपी)बीच प्रतिस्पर्धा भइरहेको छ।
नेपाली कांग्रेसले अमरगढी नगरपालिकाको मेयर उपमेयर दुवैमा अग्रता हासिल गरेको छ। मेयरमा कांग्रेस र कांग्रेस (बीपी)का उम्मेदवारबीच २ सय २२ मतको अन्तर छ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो मतपरिणाम अनुसार ८ वटा वडाको मतगणना सम्पन्न हुँदा मेयरमा कांग्रेसका डिल्लीराज जोशीले २ हजार ८ सय ११ मत सहित अग्रता बनाएका छन्।
उनलाई कांग्रेस (बीपी) का मेयरका उम्मेदवार हरिप्रसाद भट्टले पछ्याइरहेका छन्। भट्टले २ हजार ५ सय ८७ मत प्राप्त गरेका छन्।
यस्तै उपमेयरमा पनि कांग्रेसकै पार्वतीदेवी झुकाल २ हजार ६ सय ४९ मत सहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस (बीपी) र नेकपा एमालेको गठबन्धनबाट एमालेका यज्ञराज अवस्थीले २ हजार ५ सय ७३ मत प्राप्त गरेका छन्।
उपमेयरमा ७६ मतको मात्रै अन्तर रहेको डडेल्धुराका सहायक निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए।
क्रियाशील सदस्यता वितरणदेखि असन्तुष्ट रहेका कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्लले स्थानीय तह चुनावमा कांग्रेसमा ‘विद्रोह’ गर्दै कांग्रेस (बीपी) लाई सक्रिय पारेका छन्। कांग्रेस (बीपी) को चुनाव चिन्ह ‘करुवा’ लिएर उनी चुनावमा होमिएका थिए।
पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका मल्लले देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय तह चुनावमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गरेको छ।
Shares

प्रतिक्रिया