ad ad

निर्वाचन विशेष


कास्कीमा दोहोरिन खोज्दा कतै हार, कतै जित

कास्कीमा दोहोरिन खोज्दा कतै हार, कतै जित

वाशुदेव मिश्र
जेठ ४, २०७९ बुधबार १७:५८, पाेखरा

नेपाली कांग्रेसका युवराज कुँवरले कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्षको रुपमा ५ वर्ष बिताइसकेका थिए। ‘खाना नफालौं’ भन्दै स्थानीय खाद्यान्नको प्रवर्द्धनमा लागेका यी अध्यक्षको कार्यकाल बाहिरबाट हेर्दा ‘सफल’ नै थियो।

माओवादी अध्यक्ष प्रचण्डको जन्मथलो लेबाडे भएको नाताले पालिकामा संघीय बजेट पनि आएकै थियो। कोदोको लोकल रक्सीलाई ब्राण्डिङ गर्ने अभियान चलाएका युवराज मिजासिला पनि थिए।

‘सफलता’ कै वलमा नेपाली कांग्रेसले २०७९ सालको चुनावमा पनि उनलाई नै उम्मेदवार बनाउने निर्णय गर्यो। तर, दोहोरिने उनको चाहना पूरा हुन सकेन।

उनले प्रमुख पद एमालेका विष्णुबहादुर केसीलाई सुम्पन बाध्य भए। ७६३ मतले उनी विष्णुभन्दा पछि परे। केसीले ६ हजार ७२२ मत ल्याउँदा कुँवरले ५ हजार ९५९ मत प्राप्त गरे। संयोग कस्तो भने, यसअघिको चुनावमा उनै विष्णुले युवराजसँगै पराजय भोगेका थिए। दोस्रो पटक एउटा सफल हुँदा अर्कोलाई पराजय हात लाग्यो। 

सो पालिकाको उपाध्यक्षमा एमालेकी चन्द्रकला अधिकारी ६ हजार ६०८ मत ल्याउँदै विजयी भइन्। कांग्रेसकी खेमकुमारीले ६ हजार १४ मत प्राप्त गरिन्। 

अन्नपूर्णका ११ वटा वडामध्ये १, ३, ६, ७, ९ र ११ वडामा नेकपा एमाले र २, ४, ५, ८ र १० मा नेपाली कांग्रेसले वडाध्यक्ष जित्यो। समग्रमा एमालेले अन्नपूर्णमा ‘कम ब्याक’ गर्यो। पहिला जितेको वडा नम्बर २ र १० गुमायो भने पहिला हारेको १,६ र ९ मा विजय प्राप्त गर्यो। 

कास्कीको मादी गाउँपालिकामा यसअघि एमालेबाट वेदबहादुर गुरुङ ‘श्याम’ अध्यक्ष चुनिए। उनलाई त्यो बेला नेपाली कांग्रेसका देवीजंग गुरुङले चुनौती दिएका थिए। तर उनले ३ हजार ६५३ मतमात्रै ल्याए।

वेदबहादुरको मत ४ हजार ६ सय ३७ थियो। ९८४ मतले पछि पराजय भोगेका उनै देवीजंगलाई यो पटक कांग्रेसले मादीको उम्मेदवार बनायो। ५ दलीय गठबन्धनसहित चुनावी मैदानमा होमिएका उनलाई माओवादी केन्द्रका लालबहादुर गुरुङले उपाध्यक्षको उम्मेदवार बनेर आड दिए।

यो चुनावमा एमालेले वेदबहादुरको सट्टा शिवबहादुर गुरुङ ‘महेन्द्र’लाई उम्मेदवार बनाएको थियो। देवीजंगले यो पटक ८३४ मतले शिवलाई पराजित गरे। देवीले ६ हजार ५८४ मत पाउँदा शिवले ५ हजार ७५० मत प्राप्त गरे। 

उता, एमालेबाट उम्मेदवार बनेकी कल्पना गुरुङ भने ५ हजार ५२८ मत ल्याएर विजयी बनिन्। गठबन्धनका उम्मेदवार तथा यसअघि वडा नम्बर ८ का विजेत लालबहादुर गुरुङले ५ हजार ६१६ मतमात्रै पाए। दोहोरिएका देवीजंग विजयी हुँदा ‘कक्षा’ उक्लन खोज्ने लालबहादुर पराजित बने।

मादीको वडा नम्बर यसअघि वडाध्यक्षमा हारेका १ का देवीजंग गुरुङ ‘सिक्लेसी’ र २ का भोजबहादुर गुरुङले यसपटक विजय प्राप्त गरे। दुवै कांग्रेसबाट उम्मेदवार बनेका थिए।   

कास्कीको रुपा गाउँपालिकामा यसअघि अध्यक्ष र उपाध्यक्षमा नवराज ओझा र लालसुवा गुरुङले जितेका थिए। नवराजले ४ हजार २१२ मत ल्याउँदा कांग्रेसका प्रकाशमोहन खनालको मत ३ हजार ३०५ थियो। लालसुवाले ३ हजार ९९५ मत पाएकी थिइन्। उनलाई नेपाली कांग्रेसकी गिमाया गुरुङले ३ हजार ४५६ मतले टक्कर दिएकी थिइन्। 

यो पटकको चुनावमा एमालेले पुरानै टिम दोहोर्याउने निर्णय गर्यो भने कांग्रेसले अन्तिम समयमा अघिल्लो पटक उपाध्यक्ष हारेकी गिमायालाई अध्यक्षको प्रत्यासी बनायो। परिणाम पुरानै रह्यो। 

ओझाले ५ हजार ७४९ मत प्राप्त गर्दा गिमायाले ४ हजार १३७ मत प्राप्त गरिन्। अघिल्लो पटक अघिल्लो पटक ९ सय ७ मतले जितेका ओझाले यो पटक मतान्तर बढाएर १ हजार ६१२ पुर्याए।

उपाध्यक्षमा ५२९ मतले हारेकी गिमायाको मतान्तर यो पटक बढ्यो। लालसुवाले मत बढाएर ५ हजार ३३२ बनाइन् र ४ हजार १५३ मत प्राप्त गर्ने कांग्रेसका नारायण श्रेष्ठलाई पराजित गरिन्। अघिल्लो पटक ५२९ मतले जितेकी उनी पनि १ हजार १५३ मतले माथि देखिइन्। 

कास्कीको माछापुच्छे गाउँपालिकामा यसअघि एमालेका कर्णबहादुर गुरुङ अध्यक्ष र कृष्णकुमारी दवाडी उपाध्यक्ष चुनिए। उनीहरुले ५ हजार ६०७ र ५ हजार ६७९ मत ल्याएका थिए।

यसपटक पार्टीले दुबैलाई टिकट दिएन। कांग्रेसले पनि यसअघिका खुसीमान र टेकनशोभा गुरुङलाई उम्मेदवार बनाएन। त्यहाँ नयाँ अनुहारबीच प्रतिस्पर्धा भयो।

कांग्रेसले व्यावसायिक पृष्ठभूमिका मीनबहादुर गुरुङलाई अध्यक्ष र त्यस्तै नयाँ अनुहार सीता अधिकारीलाई टिकट दियो। एमालेबाट पनि विक्रम गुरुङ र सीता तिवारी उम्मेदवार बने। यसअघि एमालेले जितेको सो क्षेत्रको परिणाम उल्टियो।

मीनबहादुरले ७ हजार ९९ र कांग्रेसकी सीताले ६ हजार ३७६ मत पाइन्। एमालेका विक्रमले ६ हजार ६१७ तथा सीताले ५ हजार ९५१ मत ल्याइन्। एमालेबाटै वडा नम्बर ८ को अध्यक्षमा दोहोरिन खोजेका कृष्ण दवाडी पनि पराजित बन्न पुगे।

पोखरा महानगरबाहके कास्कीका अन्य ४ पालिकाको मत परिणाम आइसकेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .