ad ad

निर्वाचन विशेष


विराटनगर ब्रिफिङ : वडामा एमालेको वर्चस्व, मेयरमा सागर थापालाई ‘अन्तरघात’

विराटनगर ब्रिफिङ : वडामा एमालेको वर्चस्व, मेयरमा सागर थापालाई ‘अन्तरघात’

फाइल तस्बिर


सुमन पुरी
जेठ ५, २०७९ बिहिबार १५:४५, विराटनगर

विराटनगर महानगरपालिकामा नेकपा एमालेले अन्तिमसम्म उम्मेदवार टुंगो लगाउन सकेको थिएन। त्यसको कारण थियो हेभीवेट खोजी। 

महानगरको मेयर बन्ने प्रतिस्पर्धामा एमालेबाट पूर्व मन्त्री लालबाबु पण्डितदेखि प्रदेश १ का मन्त्रीसम्म लाइनमा थिए। 

तर सबै आकांक्षीलाई पछि पार्दै युवा नेता सागर थापाले टिकट पाए। उनी उम्मेदवार भइरहँदा चुनावी नारा नै थियो भुइँ मान्छेलाई यस पटक हेर्नु होला। 

उनी आफैँ पनि भुइँ मान्छे भन्न रुचाउँथे। लामो समय विराटनगरको राजनीति गरेका तल्लो तहका कमिटीदेखि काम गर्दै आएका हुनाले उनको सम्बन्ध टोल टोलमै थियो। 

तल्लो तहको सम्बन्ध र मजबुत संगठन निर्माणका कारण एमालेले यस पटक महानगरमा बाजी मार्ने बताएको थियो। 

त्यसमाथि गठबन्धनबाट विद्रोह गरेर स्वतन्त्र उठेका उमेश यादवले मेयरमा उम्मेदवारी दिएपछि एमाले थप मख्ख थियो। मधेसमा कमजोर रहेको एमालेलाई उमेशले गठबन्धनको मत काट्ने लागेको थियो। 

कांग्रेसभित्र त झन् तीव्र प्रतिस्पर्धा थियो नै। कांग्रेसका प्रभावशाली नेताहरु अमृत अर्याल, डिला संग्रौला, निवर्तमान मेयर भीम पराजुलीलाई पन्छाउदै नागेश कोइरालाले टिकट पाए। 

नागेशले टिकट पाउँदा बेखुस कांग्रेसीहरुले पनि सम्बन्धका आधारमा सागरलाई मत हाल्ने विश्लेषण गरिएको थियो। 

यति मात्रै होइन, गठबन्धनका नाममा जसपालाई उपमेयर दिइएपछि असन्तुष्टहरुले पनि एमालेमा मत हाल्ने अपेक्षा गरिएको थियो। 

तर, महानगरको करिब आधा मत गनिसक्दा यी सबै अनुमान फेल खाएका छन्। यो समाचार लेखिरहँदा एमालेका उम्मेदवार सागरभन्दा गठबन्धनका उम्मेदवार नागेश ४८३५ मतले अगाडि छन्। 

नागेशले १९ हजार १७३ मत पाउँदा सागरले भने १४ हजार ३३८ मत पाएका छन्। यही मतपरिणामको दर हेर्ने हो भने नागेशलाई भेट्न अब सम्भव छैन।

तर एमाले नेताहरु अझै मतगणना आधा बाँकी रहेकाले मत आउने बताएका छन्। एमाले नेता विनोद ढकालले वडाअध्यक्षलाई आएको मत सागरलाई नआएको विषय अनौठो भएको बताएका छन्। 

‘यस्तो हुने हनुमान थिएन। सहमतिमै भूगोलको मागअनुसार उम्मेदवारी दिइएको हो’, उनले भने, ‘वडा जित्ने तर मेयरलाई मत कम आउनेबारे पार्टी छलफलमै छ।’

वडामा एमाले वर्चश्व
२०७४ को स्थानीय तह निर्वाचनमा एमाले जम्मा ३ वडामा खुम्चिएको थियो। २,५ र ११ नम्वर वडाको अध्यक्ष जितेको एमालेले यस पटक १० वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा ४ वटा वडा जितिसकेको छ।

महानगरको मेयरमा अग्रता लिइरहेको सत्ता गठबन्धन नेपाली कांग्रेस अहिलेसम्म ३ वटा वडामा विजयी भएको छ।

अरु एक एक वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उठेका विजयी भएका छन्। 

अन्तिम मत सार्वजनिक हुँदा एमालेले वडा नम्बर १,२,१४ र १९ नम्वर वडामा विजय हासिल गरेका छन्। कांग्रेसले वडा नम्बर ७, १५ र १६ नम्वर वडामा विजय हासिल गरेको छ। 

वडा नम्वर १३ मा राप्रपा विजयी हुँदा जसपाले वडा नम्बर १७ मा विजय हासिल गरेको छ। महानगरको १८ नम्बरमा भने स्वतन्त्र उम्मेदवार जितेन्द्र कुमार साहले बाजी मारे।

एमालेले जितेका वडा नम्वर १ मा काजी बस्नेतले १९०० मत पाएका छन्। भने निकटतम प्रतिस्पर्धी कांग्रेसका राजन न्यौपानेले १५९१ मत पाएका छन्। 

अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले वडाअध्यक्ष जितेको थियो। वडा नम्वर १ पोखरीयालाई कांग्रेसको गढको रुपमा चिनिन्छ। 

वडा नम्बर २ मा कुमार पोखरेल विजयी भएका छन्। उनले १३१२ मत पाए। अघिल्लो पटक पनि कुमार एमालेका तर्फबाट विजयी भएका निवर्तमान वडाअध्यक्ष हुन्। 

उनका प्रतिस्पर्धी राप्रपाका पवनकुमार सारडाले १२६९ मत ल्याए। उनी विराटनगरमा चिनिएका उद्योगी समेत हुन्। त्यस वडामा कांग्रेसका ज्ञानेश्वर नेपालले ५८७ मत मात्रै ल्याए।  

एमालेले वडा नम्बर १४ मा पनि विजय हासिल गरेको छ। त्यस वडामा एमालेका सूर्यलाल यादव विजयी भए। उनले ६२८ मत ल्याए। प्रतिस्पर्धी कांग्रेसका बलदेव यादवले ५६९ मत ल्याए। 

महानगरको उत्तर पूर्वी क्षेत्र नम्बर १९ बाट पनि एमालेले जित निकालेको छ। त्यस वडामा एमालेका श्याम घिमिरे विजयी हुँदा उनले ९८७ मत ल्याए। 

त्यहाँ अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसका बागी उम्मेदवार विजयी भएका थिए। साविक झापा बैजनाथपुर पर्ने त्यस वडामा कांग्रेसका उदय राजवंशीले ६०५ मत पाए। 

वडा नम्बर ७ मा भने कांग्रेसका मधुबाबु तिवारीले विजय हासिल गरे। उनले १३२१ मत ल्याउँदा एमालेका दामोदर तिवारीले ४६६ मत प्राप्त गरे। 

कांग्रेसका उम्मेदवार उद्धव भुजेल वडा नम्बर १६ मा विजयी बने। उनले ७५२ र एमालेका कुमार महर्जनले ६८२ मत प्राप्त गरे। 

वडा नम्बर १५ मा कांग्रेसका प्रकाश साह विजयी भएका छन्। उनले त्यस वडामा १८९७ मत प्राप्त गर्दा एमालेका उम्मेदवारले भने ४७० मात्रै मत ल्याए। 

त्यस वडामा जसपाका रुस्ताम अलि १४९१ मतका साथ दोस्रो भए। एमालेका धर्मानन्द सञ्जेल त्यस वडामा मतका आधारमा चौथो भएका छन्।

यसैगरि वडा नम्बर १३ मा भने राप्रपाका सूर्यलाल यादवले ६२८ मतका साथ विजय हासिल गरे भने उनले ६२८ मत पाए। 

कांग्रेसका आमोद कुमार झाले ६८२ र एमालेका उम्मेदवार किशोरकुमार पोखरेलले ५५८ मत पाएका छन्। 

अन्तिम मतपरिणाम सार्वजनिक हुँदा जसपाका समिम कमर मियाँ वडा नम्बर १७ मा विजयी भए। उनले १४५० र कांग्रेसका अस्लम आलमले ९४४ मत प्राप्त गरे। 

एमालेका मोहम्बल हजिद आलमले ४१२ मत मात्रै पाएका छन्। वडा नम्बर १९ मा स्वतन्त्र उम्मेदवार जितेन्द्र कुमार साहाले ७१३ मत पाउँदा जसपाका दिनेश कुमार यादव ६२४ मतसहित दोस्रो भए। उक्त वडामा कांग्रेस तेस्रो र एमाले चौथो भएको छ। 

महानगरमा गणना भइरहेकामध्ये ४ वटा वडामा एमालेका वडाअध्यक्षका उम्मेदवार अगाडि छन्। कांग्रेसका वडाअध्यक्षका २ जना उम्मेदवार अग्रता लिएका छन्। 

एमालेले ३,४,८ र ११ वडामा लिड गरिरहेको छ। वडा नम्बर ५ र ६ मा कांग्रेसका उम्मेदवार अगाडि छन्। 

वडा नम्वर १२ मा जनता समाजवादीका उम्मेदवारले अग्रता लिएको अवस्था छ। वडा नम्बर ८ र  १०  को मतगणना शुरु भएको छैन। 

गणना भएको वडा अनुसार यसरी नै अग्रता कायम हुने हो भने एमालेले १९ मध्ये ८ वटा वडामा विजय हासिल गर्ने छ। कांग्रेस ५ वटा वडामा खुम्चिने अवस्थामा पुगेको छ। 

वडामा राम्रो मतसहित अगाडि देखिएको एमाले मेयरमा भने गठबन्धनका उम्मेदवार नागेश कोइराला भन्दा धेरै मतले पछाडि परिसकेको छ। 

वडा जित्दा पनि कम मत 
अघिल्लो स्थानीय तहको निर्वाचन भन्दा विराटनगरमा एमालेको अवस्था सुध्रिएको भन्दै एमालेले सागर थापाले चुनाव जित्ने दावी गरेको थियो। 

निर्वाचनअघि विराटनगर महानगरमा एमाले निर्वाचन परिचालन कमिटीका संयोजक विनोद ढकालले यस पटक १० वटा वडासहित मेयर–उपमेयर नै जित्ने दाबी गरेका थिए। उनको दाबी वडामा केही हदसम्म मिले पनि सागर भने दौडमा पछाडि पर्दै गएका छन्। 

वडागत रुपमा मेयरले पाएको मत परिणामको आँकडा केलाउने हो भने उनले वडाअध्यक्षको जति मत कुनै पनि वडाबाट पाउन सकेका छैनन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले दिएको तथ्यांक अनुसार सागरले वडा नम्बर १ मा १६७४ मत पाएका छन्। 

जबकी एमालेले जितेको त्यही वडाबाट नागेशले १८९० मत पाएका छन्। वडा नम्बर २ मा पनि उनले नागेशभन्दा कम मत पाए। 

अघिल्लो पटक पनि एमालेले जितेको त्यस वडामा सागरलाई १०३५ मत आएको छ भने नागेशलाई १३३९ मत प्राप्त भएको छ। 

एमालेले नै जितेको वडा नम्बर १९ मा पनि नागेशले एक मत भए पनि मत पाएका छन्। त्यस वडाबाट एक नागेशले ९८९ र सागरले ९८८ मत पाए। 

यस्तै एमालेले जितेको १४ बाट पनि कांग्रेसका मेयरका प्रत्यासीभन्दा बढी मत ल्याएका छन्। त्यस वडाबाट एमालेलाई ४९९ र कांग्रेसलाई २५५ मत आएको छ। 

कांग्रेसले वडाअध्यक्ष जितेको वडाहरू ७, १६ र १५ बाट मेयरलाई क्रमशः ५२२, ८०८ र ९२३ मत प्राप्त भएको छ। त्यस वडामा एमालेका मेयरका प्रत्यासीलाई भने २५५, ५२३ र ३४१ मत मात्रै प्राप्त भएको छ। 

जसपाले जितेको वडा नम्बर १७ मा भने गठबन्धन तर्फबाट कांग्रेसका उम्मेदवार नागेश कोइरालालाई ११७७ मत गएको छ भने सागरले त्यस वडाबाट ६८१ मत मात्रै पाएको देखिन्छ। 

राप्रपाले जितेको वडा नम्बर १३ मा सागरले ४८१ मत पाउँदा नागेशले ७१३ मत पाएका छन्। 

यस्तै, स्वतन्त्र उम्मेदवार जितेन्द्रले जितेको वडा नम्बर १८ बाट भने गठबन्धनलाई ७४८ र एमालेका मेयरलाई ४१८ मात्रै मत गएको छ। 

कहाँ कहाँ को अगाडि? 
गणना भइरहेका र एमालेले अग्रता लिएका वडाहरूमा पनि प्रमुख पदमा एमालेका उम्मेदवारको मत कम छ। 

एमालेका वडा अध्यक्षका उम्मेदवार अहिले वडा नम्बर ३,४,८ र ११ नम्वर वडामा अन्य भन्दा अगाडि छन्। 

वडा नम्बर ३ मा एमालेका वासु बस्नेत १७७८ मतसहित अगाडि छन्। उनको प्रतिस्पर्धामा कांग्रेसका कमल कुमार पुडासैनीले १३८९ मत ल्याएका छन्। 

त्यस वडामा भने सागरलाई १६८९ र कांग्रेसका नागेशलाई १६८८ मत प्राप्त भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार वडा नम्बर ४ मा एमालेका जितन थापा १७७८ मतका साथ अगाडि छन्। 

उनका प्रतिस्पर्धाी कांग्रेसका सञ्जयकुमार मण्डलले ९९० ल्याएका छन्। वडा नम्बर ४ मा भने सागरलाई बढी मत आएको छ।  यो उनको वडा पनि हो। 

उनले ९६६ मत ल्याउँदा नागेशले ७३४ मत पाएका छन्। त्यस वडामा एमालेका वडा अध्यक्षका  उम्मेदवार जितेन थापाले १२२१ मत ल्याएका छन्। 

वडा नम्बर ८ मा भने एमालेका राम पोखरेलको अग्रता छ। रामले ७५९ मत ल्याउँदा सागरले ३३१ मत पाएका छन्।

यस्तै वडा नम्बर ८ का कांग्रेसका प्रतिस्पर्धी सन्तनु रेग्मीले ३९७ मत पाएका छन्। त्यस वडामा नागेशलाई ४४८ मत आएको छ। 

वडा नम्बर ११ मा एमालेका तिर्थेन्द्र न्यौपाने अगाडि छन्। उनले २२३ मत ल्याउँदा कांग्रेसका रामसुन्दर राजवंशीले १९६ मत मात्रै पाएका छन्। त्यस वडाबाट मेयरको मत प्राप्त भएको छैन। 

कांग्रेसले अग्रता लिएको वडा नम्बर ५ मा भने नागेशले १०१२ मत ल्याएका छन्। सागरको वडामा ८२२ मत आएको छ। वडा ५ मा कांग्रेसका उम्मेदवार सन्तोष न्यौपानेले १३२६ मत पाएका छन्।

एमालेका मिनकुमार आचार्यले भने ६७४ मत पाएका छन्। मिनकुमार निवर्तमान वडाअध्यक्ष समेत हुन्। उनी एमालेबाट ७४ मा विजयी भएका थिए। 

कांग्रेसले वडा नम्बर ६ मा पनि अग्रता लिएको छ। त्यस वडामा हरिशचन्द्र सहनी ११८५ मतका साथ अगाडि छन्। 

उनको प्रतिस्पर्धामा एमालेका अनिश आलम छन्। आलमले भने ६५५ मत ल्याएका छन्। त्यस वडाको केही बेरअघिको तथ्यांक अनुसार नागेशलाई ११६८ र सागरलाई ५२६ मत आएको छ। 

वडा नम्बर १२ मा जसपाका हिरालाल कामत अगाडि छन्। उनले ६४९ मत ल्याउँदा कांग्रेसका हरि भट्टराईले ५५३ मत पाएका छन्। 

एमालेका भोला बराल ५१६ मतका साथ तेस्रो अवस्थामा छन्। त्यस वडाबाट नागेशलाई ८१६ र सागरलाई ५२१ मत आएको छ। 

अब के हुन्छ? 
विराटनगरको आदर्श माविमा अहिले महानगरको मतगणना चलिरहेको छ। मतगणनस्थलमै भेटिन्छन् मेयरका प्रतिस्पर्धी। उनीहरु चुनावी मैदानमा र प्रतिस्पर्धी भए पनि सँगै बस्छन्। 

पत्रकारहरू माझमा आउँछन् र रमाइलो ठट्टा गरिरहन्छन्। मत परिणामको अन्तर धेरै पुगिसकेपछि मतगणनास्थलमा भेटिएका उमेश यादवलाई हामीले सोध्यौँ, अब के हुन्छ?, उनले  भने, ‘अब सागरले जितोस् भन्ने मेरो चाहाना छ। यसो भनिरहँदा उनले हार स्वीकारेको बुझ्न गाह्रो छैन। 

उनले महानगरमा १५ हजार भन्दा बढी मत कटाउने अनुमान गरिएको थियो। तर अहिलेसम्म उनको कोर भोट भएको क्षेत्र गनिसक्दा ६१८७ मत आएको छ। 

उनको मत भएको क्षेत्र १२ नम्वर वडा हो। यसरी हेर्दा उनले ८ हजार हाराहारी मत ल्याउने देखिन्छ। 

उमेशले १२, १३, १४, १५, १६, १७ र १८ नम्बर वडामा सबैभन्दा बढी मत ल्याएर यसको फाइदा सागरलाई हुने आँकलन गरिएको थियो। तर यसो भएन।

मतगणनास्थलमै भेटिएका सागरलाई पनि हामीले एउटै जिज्ञासा राख्यौँ, ‘अब के हुन्छ?, उनले आश मरिनसकेको प्रतिक्रिया दिए। ‘सम्भावना अझै छ। आधा मात्रै मत गनेको अवस्थामा उनले सम्भावना बाँकी छ।’

उनको आशा वडा नम्बर ४, ५, ११ र ८ को थियो। उनले आशा गरेअनुसार यी वडामा पनि उनको नागेशको भन्दा धेरै मत नआउने प्रारम्भिक मतगणनाको परिणामले देखाइसकेको छ। 

नागेश र सागरको बराबरी जस्तै मत खसेको देखिन्छ। ११ नम्बरको मेयरलाई खसेको मतपरिणामको अवस्था थाहा नभए पनि उनले नागेशसँगको अन्तर घटाएर अगाडि बढ्न सक्ने अवस्था देखिन्न। 

मतगणनास्थलमै भेटिएका नागेशले आफूले जित्ने बताए। उनले आफूलाई अपेक्षाअनुसार नै मत आएकाले जीतनजिक रहेको प्रतिक्रिया दिए। 

उनको दाबी मिल्ने अवस्थामा पुगेको छ। बाँकी वडामा पनि कुनैमा सागरकै हाराहारी र कुनैमा उनी अगाडि छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .