हेटौँडामा तीन दिन चलेको ड्रागन फ्रुट महोत्सवमा २५ लाखभन्दा बढीको कारोबार भएको छ।
शनिबार महोत्सवको समापन गर्दै आयोजकले २५ लाख रुपैँयाको कारोबार भएको जानकारी दिएका हुन्। स्थानीय स्तरमा उत्पादित ड्रागन फ्रुटको प्रवर्द्धन, बजार व्यवस्थापन तथा यसको स्वास्थ्य लाभबारे उपभोक्तालाई जानकारी गराउने उद्देश्यका साथ बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेटौँडा उपमहानगरपालिका र प्रादेशिक कृषि थोक बजारले संयुक्त रुपमा महोत्सव आयोजना गरेका थिए।
महोत्सव सुरु भएको दिनमा १८ लाखभन्दा बढीको कारोबार भएको थियो। दोस्रो दिन चार लाख र अन्तिम दिन तीन लाख रुपैयाँको कारोबार भएको जनाइएको छ।
ड्रागन फ्रुट किन्न उपभोक्ताको भीड लागे पनि मकवानपुरमा उत्पादन भएको फलले नपुगेका कारण धेरैजसो फर्कनु परेको थियो। तीन दिनमा १० मेक्ट्रिक टन ड्रागन फ्रुट बिक्री भएको प्रादेशिक कृषि थोक बजारका निर्देशक टीकाप्रसाद काफ्लेले जानकारी दिए।

निर्देशक काफ्लेका अनुसार, महोत्सवमा हेटौँडा, मकवानपुरगढीलगायतका स्थानबाट किसानले बगैँचाबाट संकलन गरेका ताजा ड्रागन फ्रुटको प्रदर्शनी र बिक्री गरिएको हो। महोत्सव अवधिभर एक जना किसानले दुई लाख १० हजारसम्मको कारोबार गरेको आयोजकले जनाएको छ।
महोत्सवमा पाँच हजारभन्दा बढीले महोत्सवको अवलोकन गरेका थिए। मकवानपुरमा ५० भन्दा बढी कृषकले व्यावसायीक रुपमा ड्रागन फ्रुटको खेती गर्दै आएका छन्। बजार भाउभन्दा सुपथ मूल्यमा ताजा फल किन्न पाउँदा उपभोक्ता पनि खुशी देखिएका थिए।
महोत्सवका अवसरमा ड्रागन फ्रुटको नयाँ खेती गर्न इच्छुक किसानका लागि माटोको तयारी, बिरुवा रोपन, स्याहार सम्भार तथा रोग व्यवस्थापनसम्बन्धी निःशुल्क प्राविधिक परामर्श सेवासमेत प्रदान गरिएको थियो। हेटौँडा र आसपासको हावापानी ड्रागन फ्रुटका लागि उपयुक्त देखिएको भन्दै सहभागी किसानले महोत्सवले उत्पादक र उपभोक्ताबिच प्रत्यक्ष सम्पर्क स्थापित गराएको बताएका छन्।
महोत्सवले स्थानीय कृषि उत्पादनको बजारीकरणसँगै कृषि पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ। महोत्सवको समापन सत्रमा विभिन्न विद्यामा किसानलाई पुरस्कृत पनि गरिएको छ।

महोत्सवको समापन गर्दै हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले ड्रागन फ्रुट खेतीले हेटौँडालाई देशभर नयाँ पहिचान दिलाउन सफल भएको बताइन्। केही वर्षअघिसम्म विदेशी फलका रूपमा मात्र चिनिने ड्रागन फ्रुट अहिले हेटौँडाको पहिचान र किसानको आम्दानीको महत्त्वपूर्ण आधार बन्दै गएको मेयर लामाले बताइन्।
स्थानीय उत्पादनको प्रवर्द्धन, किसानलाई प्रोत्साहन र बजारीकरणलाई सहज बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइन्। मेयर लामाले किसानले उत्पादन गरेको कृषि उपजलाई बिचौलियामुक्त रूपमा सिधै उपभोक्तासम्म पुर्याउने वातावरण सिर्जना गर्न उपमहानगर प्रतिबद्ध रहेको बताउँदै स्थानीय उत्पादनको प्रवर्द्धनबाट नै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने धारणा व्यक्त गरिन्।
Shares

प्रतिक्रिया