निर्वाचन विशेष


धनुषामा ठूला चार दलका जिल्ला अध्यक्षहरु पराजित

धनुषामा ठूला चार दलका जिल्ला अध्यक्षहरु पराजित

शैलेन्द्र महतो
जेठ ८, २०७९ आइतबार १३:३१, जनकपुरधाम

धनुषामा १८ पालिकामध्ये जनकपुरधाम उपमहानगरपालिकाबाहेक सबै पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। 

धनुषामा १० पालिका जित्दै कांग्रेस सबैभन्दा शक्तिशाली दल बनेको छ। 

त्यस्तै नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले ३/३ पालिका जितेका छन्।

 एउटामा नेकपा माओवादी केन्द्रले जितेको छ। जनकपुरधाम उपमहानगरमा जारी मतगणनाअनुसार कांग्रेसबाट विद्रोह गरेका स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले जित्ने निश्चित छ। 

तर धनुषामा लोकतान्त्रिक समाजवादी पार्टीले कुनै पनि पालिका जित्न सकेन। 

माथि उल्लेखित चारवटै दल धनुषाको विभिन्न पालिकामा चुनाव जिते पनि तीनका जिल्ला अध्यक्षहरू भने पराजित भएका छन् । 

सबैभन्दा बढी १० वटा पालिका जित्ने कांग्रेसका सभापति योगेन्द्र पंजियार, ३ वटा पालिका जित्ने एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव, जनता समाजवादीका जिल्ला अध्यक्ष पशुपति यादव र माओवादी केन्द्रका जिल्ला अध्यक्ष देवेन्द्र यादव दीपक पराजित भएका हुन्।
 
कांग्रेस सभापति योगेन्द्र पंजियार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको निवर्तमान मेयर समेत हुन्। 

उनी फेरि चुनाव लडेका थिए। उनलाई एमालेका उम्मेदवार सुखदेव यादवले ६१३ मत अन्तरले पराजित गरे। 

सुखदेवले ७ हजार ९१३ मत ल्याएर निर्वाचित भए भने निकटतम प्रतिस्पर्धी पंजियार ७ हजार ३ सय मात्र प्राप्त गर्न सके। 

एमाले धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव सबैला नगरपालिकामा मेयर पदमा चुनाव लडेका थिए। 

त्यहाँ माओवादी केन्द्रबाट कारीराम यादव ४ हजार २१२ मत ल्याएर निर्वाचित भए। कारीराम माओवादी नेता मातृका प्रसाद यादवका कान्छा भाइ हुन्। 

तेश्रो नम्बरमा एमाले सभापति राज किशोरले ३५८१ मत ल्याएर पराजित भए। उनको मेयर पदमा यो हार दोश्रो पटक हो। 

२०७४ को निर्वाचनमा पनि राजकिशोर सबैला नगरपालिकामै एमालेबाट मेयर पदमा चुनाव लडेका थिए। कांग्रेसले जितेको थियो भने तेश्रो स्थान ल्याएर उनी पराजित भएका थिए। 

धनुषामै तीनवटा पालिका जितेको जसपाका जिल्ला सभापति पशुपति यादव पनि पराजय बेहोरेका छन्। 

पशुपति धनुषाको कमला नगरपालिकामा मेयर पदमा चुनाव लडेका थिए। उनलाई १०२८ मतले पराजित गर्दै कांग्रेसका विश्वेश्वर यादव विजयी भएका छन्। 

विशेश्वरले ३८८७ मत ल्याएर विजय भयो भने उनका निकटतम प्रतिद्वन्द्वी पशुपति यादव २९५९ मत प्राप्त गरेर पराजित भए। 

यस्तै धनुषामा एक पालिका जितेर साख जोगाएका माओवादी केन्द्रका धनुषा जिल्ला अध्यक्ष दीपक यादवलाई पनि दोश्रो पटक पराजय बेहोर्नु परेको छ। 

उनी धनुषाधाम नगरपालिकामा मेयर पदमा दोस्रो पटक चुनाव लडेका थिए। 

त्यहाँ कांग्रेसबाट पुनः मेयरमा बालेश्वर मण्डल दोहोर्‍याएका छन्। 

बालेश्वर ४७१८ मत ल्याएर विजयी हुँदा तेश्रो नम्बरमा दीपकले ३ हजार २५९ मतमा सीमित भए। 

२०७४ को निर्वाचनमा पनि उनी त्यही नगरपालिकामा माओवादी केन्द्रबाटै चुनाव लड्दा पराजित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .