ad ad

निर्वाचन विशेष


बिना मगरलाई हराउँदै संघीय संसद् उक्लिए तारा लामा, २६ वर्षपछि फर्काए एमालेको साख

बिना मगरलाई हराउँदै संघीय संसद् उक्लिए तारा लामा, २६ वर्षपछि फर्काए एमालेको साख

गोकुल जोशी
मंसिर ९, २०७९ शुक्रबार ८:३५, कञ्चनपुर

कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार तारा लामा तामाङ प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन्। 

नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरलाई ५ हजार ५४६ मतले हराउँदै लामा प्रतिनिधिसभा सदस्य बनेका हुन्। 

निर्वाचन अधिकृतको कार्यालयले तामाङ २४ हजार ८९२ मतसहित निर्वाचित भएको जनाएको छ। मगरले १९ हजार ३४६ मत पाएकी छन्।  

कञ्चनपुर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दिल्लीबहादुर शाही ३ हजार ५३० मत पाएर तेस्रो भएका छन्। तामाङको जितसँगै सुदूरपश्चिममा एमालेले प्रतिनिधि सभातर्फ दोस्रो जित हात पारेको छ। 

२०५१ पछि एमालेलाई जित
नेकपा एमालेले विसं २०४८ यताका ६ वटा निर्वाचनमध्ये यो क्षेत्रमा प्रतिनिधि सभाको एउटा निर्वाचन मात्रै जितेको थियो। 

०५१ यता कञ्चनपुर क्षेत्र नम्बर १ मा जितविहीन एमालेलाई तामाङले २६ वर्षपछि जित दिलाएका छन्।

सत्तारुढ गठबन्धन विरुद्ध तामाङले शानदार जित हासिल गरेका हुन्।

०५१ सालको मध्यावधि चुनावमा एमालेका रामकुमार ज्ञवाली ११ हजार ४२५ मतसहित विजयी भएका थिए। त्यसअघि ०४८ को चुनावमा कञ्चनपुर १ मा कांग्रेसका वासुदेव भट्ट विजयी भएका थिए।

कञ्चनपुर १ मा ०५६ को चुनावमा कांग्रेसका एनपी साउद, ०६४ मा माओवादीका पुरन राना थारु, ०७० मा कांग्रेसका दिवानसिंह विष्ट र ०७४ मा माओवादीकी बिना मगर विजयी भएका थिए।

२०७४ मा वाम गठबन्धनबाट आफ्नो भागमा परेका प्रदेशसभाका दुवै क्षेत्रमा एमाले विजयी भएको थियो। प्रदेशसभा (१) बाट अहिलेका प्रतिनिधि सभामा जितेका तारा लामा तामाङ र प्रदेशसभा २ बाट पूर्वराज्यमन्त्री कुलवीर चौधरीले बाजी मारेका थिए। 

संघीय संसद उक्लिए तामाङ 
०७४ मा प्रदेशमा जितेका तामाङ यसपटकको चुनावबाट संघीय संसद् उक्लिएका छन्।

तामाङ ०७० सालको चुनावमा कञ्चनपुर क्षेत्र नम्बर २ मा कांग्रेसका एनपी साउदसँग हारेका थिए। त्यसबेला साउदले १३ हजार ४१५ मत ल्याउँदा तामाङले ९ हजार ६७६ मत पाएका थिए।

०७४ मा भने तामाङ प्रदेशसभामा गए। क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा १ मा वाम गठबन्धनका साझा उम्मेदवार तामाङ प्रदेश सांसद चुनिँदै सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीसम्म भए।

एमाले विभाजनमा उनी नेकपा एकीकृत समाजवादीतिर लागे। निर्वाचनको पूर्वसन्ध्यामा फेरि एमालेमै फर्किएका थिए, तामाङ। त्यसपछि क्षेत्र नम्बर १ मा एमालेले उनैलाई उम्मेदवार बनाएको थियो।

गाविस अध्यक्ष, प्रदेशमन्त्री हुँदै संघीय सांसद
तामाङको जन्म २०३० भदौ ३० गते धादिङमा भएको थियो। हाल उनी कञ्चनपुरको पुनर्वास नगरपालिका–३ का बासिन्दा हुन्। आमा, श्रीमती र दुई छोराछोरी गरेर उनको पाँच जनाको परिवार छ।

स्नातक तहसम्म अध्ययन गरेका तामाङ विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय भएका थिए। वि.सं.२०४३ मा ५ कक्षामा पढदादेखि नै राजनीतिमा लागेर विभिन्न आन्दोलनमा उनी सहभागी भएका थिए। 

०४७ मा अनेरास्ववियुको जिल्ला सदस्य भएर उनले संगठित राजनीति सुरु गरेका थिए। ०६६ मा एमाले कञ्चनपुरको जिल्ला सचिव भएका थिए, तामाङ। त्यसपछि उनी  २०६९ मा एमाले कञ्चनपुरको अध्यक्ष भए। 

२०५४ सालमा उनी तत्कालीन कालिका गाविसको अध्यक्ष पदमा निर्वाचित भएका थिए। २४ वर्षको कलिलो उमेर अध्यक्ष जितेपछि तामाङ चर्चामा आएका थिए। उनी प्रदेश सांसद, मन्त्री हुँदै यसपटक संघीय संसद् उक्लिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .