ad ad

निर्वाचन विशेष


अध्यक्षमा उठेका दलित पीएचडी स्कलरसँग चौतारोमा भिडियो संवाद : भन्छन्– मेरो उम्मेदवारीले निर्बलको मनोबल बढाउँछ

अध्यक्षमा उठेका दलित पीएचडी स्कलरसँग चौतारोमा भिडियो संवाद : भन्छन्– मेरो उम्मेदवारीले निर्बलको मनोबल बढाउँछ

सञ्जयकुमार पासीसँग तिलौराकोट दरबार परिसरको चौतारोमा भिडिओ संवाद गर्दै नेपालखबरका निर्वाचन सम्पादक जेवी पुन मगर (तस्बिरः विशाल कार्की)


जेवी पुन मगर
बैशाख १५, २०७९ बिहिबार ११:५६, बुटवल

मानव विकास सूचकांकले समाज व्यवस्थाको सबैभन्दा पिँधमा देखाएको मधेशी दलित धक फुकाएर राजनीतिमा आउने अवस्था अझै बनिसकेको छैन। आफ्नो सक्षमता दाबी गर्दै ‘म नेतृत्व लिन्छु’ भन्न उनीहरुलाई वर्ग र सामाजिक बन्धनको दोहोरो पर्खालले छेक्छ। त्यसैले यस्तो आँट गर्नेहरु भेटिनै मुस्किल छ।  

तर, यस्तो अवस्थामा पनि कपिलपस्तुको मायादेवी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन् ३८ वर्षीय सञ्जयकुमार पासीले। विद्यावारिधि गरिरहेका पासीले नेपालखबरसँग आफू छाती खोलेर मैदानमा उत्रिएको बताए।

अत्यन्त गरिब र समाजले अछुत मान्ने परिवारमा जन्मिएका पासी लुम्बिनी क्षेत्रमा उम्मेदवारी दिएका गाउँपालिका अध्यक्षहरुमध्ये आफूलाई सबैभन्दा बढी शिक्षित दाबी गर्छन्। उनले मत माग्न बनाएका प्रचारसामग्रीमा पनि आफ्नो शैक्षिक डिग्रीलाई निकै प्रमुखताका साथ उल्लेख गर्न भ्याएका छन्।

ग्रामिण विकासमा स्नातकोत्तर पासी काठमाडौँस्थित नेपाल ल क्याम्पसमा कानुन विषय अध्ययन गरिरहेका मात्र छैनन्, सँगसँगै त्रिभुवन विश्वविद्यालयबाट पीएचडी पनि गरिरहेका छन्।

मधेसमा ‘ठालु’ हरुको जगजगीका कारण मौलाएको विभेद र गरिबी कम हुनुको साटो झन् बढिरहेको ठान्ने पासीले त्यस्तो जञ्जालबाट सर्वसाधारणलाई निकाल्न आफू राजनीतिमा उत्रिएको बताए।

बुद्धले २९ वर्ष बिताएको राजा शुद्धोधनको दरबार तिलौराकोटको परिसरभित्र उनी आफ्नो उम्मेदवारीले जनमानसमा पार्ने प्रभावबारे बताइरहेका थिए। 

‘एउटा गरिब अछुतको छोरा पनि शिक्षाको बलमा तथाकथित उपल्ला जाति र वर्गका अगाडि उभिने साहस राख्न सक्छ भन्ने देखाउनुछ,’ उनले भने, ‘यसले निर्बलको मनोबल बढाउनेछ।’

बहुजन शक्ति पार्टीबाट गाउँपालिका अध्यक्ष पदका प्रत्यासी पासीले सुरुमा आफ्नो क्षमता देखाउने मौका उपलब्ध गराइदिन भन्दै ठूला दलका घरदैलो चहारे। त्यहाँपनि उनलाई तिरस्कार गरियो। गैरसरकारी संस्थामार्फत देशभर सामाजिक कार्यमा हिँडेका पासीलाई नेतृत्व नदिइनुका पछाडि अशिक्षितहरुको झुण्डले पाइरहेको विशेषाधिकारमाथि हस्तक्षेप हुने डर रहेको उनको बुझाइ छ। 

राजनीति जित्नका लागि मात्र नभई आफ्नो अस्तित्व प्रमाणित गर्न पनि गरिने हुनाले यसपालिको निर्वाचन हारे पनि जितसरह ठान्ने उनको भनाइ छ।

‘मलाई राम्ररी थाहा छ निर्वाचनमा पैसाको खोला बग्छ। मतदाता रक्सीमा बिक्छन्। तर म इमान र स्वाभिमानको राजनीति गर्नेछु। तिनको गरिबीको कारण बताउन घरघर पुग्नेछु। अहिले नजिते के भो र अर्काे चुनावका लागि आधार तयार पार्नेछु,’ उनले भने।

वाक् कलामा माहिर र राजनीति बुझेका जस्ता लाग्ने पासीले काठमाडौँ छाडेर आफ्नो गाउँठाउँमा आई के गर्ने योजना बनाएका छन् त?

हेर्नुहोस्, सञ्जयकुमार पासीसँग तिलौराकोट दरबार परिसरमा रहेको रुखमुनि बसेर गरिएको यो भिडिओ वार्ता :​

भिडिओ: विशाल कार्की​
 

डेटलाइन बुटवल– थप स्टोरीः 
१. पाल्पाको उत्खनन त्रासदी भिडिओ: पालिका अध्यक्ष नै भन्छन्– खनिज नबेचे कसरी आउँछ समृद्धि?

२. गृहमन्त्री खाँणः निर्वाचनको मुखैमा काठमाडौं–भैरहवा ओहोरदोहोरको अन्तर्य

३. गौतमबुद्ध विमानस्थलः जजिराको पहिलो उडानसँगै खुल्दैछ व्यवसायीको ‘लाइफलाइन’ (भिडिओ)

४. प्रचण्ड–देउवा हिमचिममा ‘ब्रेक’ लगाउन गठबन्धनमा गडबडको संकेत

५. बुटवलमा यसकारण एमालेका शिवराज सुवेदीले पाएनन् टिकट, बाबुराम भट्टराईले हात पारे

६. भिडिओ रिपोर्ट: बुटवल उपमहानगरका सुकुम्बासी, जसको हातमा छ चुनावी जितहारको चाबी​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .