ad ad

निर्वाचन विशेष


दोस्रोपटक प्रमुख बन्न खोज्दै कृष्ण, अर्को हार स्वीकार्न तयार छैनन् धनराज

दोस्रोपटक प्रमुख बन्न खोज्दै कृष्ण, अर्को हार स्वीकार्न तयार छैनन् धनराज

फाइल तस्बिर


वाशुदेव मिश्र
बैशाख १५, २०७९ बिहिबार १८:२१, पाेखरा

गठबन्धनबाट पोखराको प्रमुखका प्रत्यासी बनेका धनराज आचार्यले जीवनमा एउटामात्रै चुनाव हारेका छन्। पोखरा उद्योग वाणिज्य संघको सदस्य पद गुमाउँदा उनलाई चाहिँ फलिफाप भयो।

विद्यार्थी राजनीतिबाटै सुरु गरेको पुस्तक व्यवसायलाई बढाउने मौका मिल्यो। एमबीए र एमएड गरेका उनले प्रकाश गृह खोल्ने निर्णय गरे। पुस्तक व्यवसायबाट राम्रै आर्जन भयो।

त्यहाँको लगानी उनले अन्यत्र लगाए। व्यवसायमा रहँदा पनि उनले एमालेको राजनीति भने छाडेनन्। ​व्यापारीमाझ जरा नगाडेको एमालेमा व्यापारी भित्र्याउने अभियानमा निरन्तर लागिरहे।

२०६० सालमा एमाले कास्की उद्योग व्यवसाय विभाग प्रमुख बनेका उनी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको फ्रयाक्सन सचिव,नेपाल राष्ट्रिय वाणिज्य संघ केन्द्रीय कमिटी अध्यक्ष बने।

नेपाल उद्योग तथा व्यवसायी महासंघ स्थायी कमिटी सदस्य, एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य र नेकपा उद्योग तथा व्यवसाय विभाग सदस्य भएर उनले देशव्यापी सञ्जाल निर्माण गरे। यतिमात्र कहाँ हो र? समाजसेवामा चिनिएको लायन्स इन्टरन्यासनल ३२५ बी १ नेपालको डिष्ट्रिक्ट गभर्नर बने। 

१३ वर्षको उमेरदेखि नै राजनीतिमा होमिएका तथा देशकै धेरै विद्यार्थी भएको पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियु सभापति धनराज यसपटकको स्थानीय चुनावमा पोखराको प्रमुखको प्रत्यासी बनेका छन्।

पुरानो घर अर्थात् एमाले छाडेर नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष बनेका उनी कांग्रेससहितको गठबन्धनको तर्फबाट चुनावी मैदानमा उभिएका हुन्। तर, यो चुनाव उनको लागि सजिलो छैन। उनले आफ्नै राजनीतिक अग्रज एमालेका कृष्ण थापासँग प्रतिष्पर्धा गर्नुपर्ने भएको छ। 

कृष्ण थापा चानचुने नेता होइनन्। २०३५/३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका यी थापासँग पोखराको प्रमुख बनेको अनुभव मात्रै छैन, प्रत्यक्षतर्फ प्रदेश सभा सांसद जितेको अनुभव पनि छ।

व्यक्तित्वको रुपले दुवै नेता ‘वाचाल’ छन् तर कृष्ण थापासँग एमालेको सुदृढ संगठन, जुझारु कार्यकर्ताको दह्रो समर्थन छ।

त्यसको अगाडि गएको भदौमा एमालेबाट छुट्टिएको समाजवादीको संगठन सानो छ। अघिल्लो चुनावमा एमालेका नेता मानबहादुर जिसीले ल्याएको ६० हजार ११८ मतलाई आधार मान्ने हो भने उनी साँच्चिकै बलिया छन्। 

चिकित्साशास्त्र विज्ञान संस्थान, सुर्खेतबाट सीएमए (कम्युनिटी मेडिकल असिस्टेन्ट)पढाइ पूरा गरेका तथा २०४१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसका स्ववियु सभापति थापा एमाले एक्लो शक्तिको भरमा चुनावमा होमिएका छन्।

हालकी पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले पुनः उपप्रमुखमै उम्मेदवार बनेर सघाउँदा उनी झन् बलियो बनेका छन्।

‘प्रमुख साब’को परिचय बनाएका उनलाई जनता माझ चिनाउन पर्दैन। पोखराको मुख्य बजार क्षेत्रका कांग्रेसीहरुसँगको हिमचिम पनि उनको सवल पक्ष हो।

यसैगरी पछिल्लो समय संगठित देखिएको क्षेत्री समाजभित्रको सक्रियता, जनजाति परिवारसँगको वैवाहिक सम्बन्धले पनि उनलाई फाइदा पुग्ने अनुमान गरिएको छ। यत्तिकै बलियो एमाले, फराकिलो सम्बन्धका कारण उनी प्रमुख जित्नेमा ढुक्क छन्। 

तर, मुखले जे भने पनि लामो समय आफ्नै संगठनमा बसेर काम गरेका धनराजको चुनौती उनको लागि सामान्य भने हुने छैन। धनराजले पटक–पटक ‘१३ वर्षसम्म पूर्णकालीन कार्यकर्ता भएर बनाएको एमालेभित्र आफ्ना पनि शुभेच्छुक छन्’ भनिरहँदा उनी झस्कनु स्वभाविक हो। लामो समय एमाले अध्यक्ष रहँदा उनले आलोचक पनि कमाएका छन्।

थापाकै कारण अवसरबाट बञ्चित भएको भन्नेहरूको समूहले असहयोग गर्नसक्ने वा हिजोको साथी सम्झेर एमालेकै मत धनराजतिर जाने सम्भावना नकार्ने अवस्था छैन। भन्न त उनले पनि भनेका छन्, ‘हिजोको कामको आधारमा मलाई भोट दिन्छन्, फुटेर गएकालाई माया मान्ने कार्यकर्ता हामीसँग छैनन्।’

तर, एमालेको ठूलो भोट बैंक क्षेत्रका धनराजलाई कम आँक्न नहुने एमालेका नेताहरुले नै बताइरहेका छन्। थापा वडा नम्बर १६ का बासिन्दा हुन्।

गएको चुनावको आँकडा हेर्ने हो भने, उनको वडामा एमालेका वडाध्यक्ष उम्मेदवार जीवन आचार्यले ३ हजार १३३ मत पाएका थिए भने कांग्रेसका पदमसिंह गुरुङले २ हजार ८६८।

उता, धनराजको वडा नम्बर ३३ एमालेका शिवप्रसाद आचार्यले २ हजार ३७३ र कांग्रेसका भोजराज आचार्यले १ हजार ९९१ मत ल्याएका थिए।

अघिल्लो चुनावलाई आधार मान्ने हो भने, त्यो बेलाका दुवै एमाले नेता वडामै सुरक्षित छैनन्। फरक यत्ति हो, कृष्ण थापालाई एमालेको सबै मत आउँछ भने टुक्रिएको समाजवादीका नेता धनराजलाई आफ्नै वडाबाट सबै मत आउने सम्भावना कम छ।

तर, धनराजलाई फाइदा पुग्ने अर्को पक्ष के छ भने, उनी एमालेका स्वर्गीय युवा नेता रवीन्द्र अधिकारीका समकक्षी तथा रवीन्द्र स्मृति प्रतिष्ठानका सचिव हुन्।

रवीन्द्रको निधनपछिको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट उनकी पत्नी विद्या भट्टराईलाई जिताउने अभियानको नेतृत्व धनराजले नै गरेका थिए। धनराजको घरसँगै जोडिएका र उनको हिमचिम रहेका वडा नम्बर २१,१७,१८ बाट उनले भोट तान्न सक्छन्।

तीमध्ये अघिल्लो चुनावमा वडा नम्बर १७ मा एमाले उम्मेदवार कांग्रेसका पुण्डरी बरालले १ हजार ७८३ मत पाउँदा एमालेका तीर्थ अधिकारी ३ हजार ४६ मत पाएका थिए भने वडा नम्बर २१ मा कांग्रेसका केवल गिरि ८१३ मत पाउँदा एमालेका खगराज आचार्यको पोल्टामा २ हजार ५४४ मत परेको थियो।

२१ र १७ नम्बर वडालाई कांग्रेसीहरु ‘उत्तर कोरिया’को उपमा दिन्छन्। ‘उत्तर कोरिया’ क्षेत्रको बासिन्दा भएको लाभ धनराजले उठाए भने त्यसले कृष्ण थापालाई असर गर्न सक्छ।

अर्कोतर्फ गठबन्धनको उम्मेदवार भएकाले अघिल्लो चुनावमा कांग्रेसी प्रमुखलाई आएको रामजी कुँवर ४६ हजार ४१६ जनता समाजवादीलाई गएको ३ हजार १७० मत पनि गठबन्धन बलियो भए धनराजलाई जाने सम्भावना रहन्छ।

भलै, जनता समाजवादीका तत्कालीन उम्मेदवार हुम गुरुङसहितको पंक्ति अहिले एमालेमा प्रवेश गरिसकेको किन नहोस्!

अझ,अघिल्लो चुनावमा माओवादीले प्रमुखमा उम्मेदवार उठाएको थिएन। प्रमुखमा कांग्रेसलाई समर्थन गरेको माओवादीले उपप्रमुखमा भने आफ्नै उम्मेदवार उठाएको थियो।

गएको चुनावमा माओवादीको तर्फबाट उपप्रमुख उठेकी गोमा ढकालले पाएको ८ हजार ८७६ मत खाँटी माओवादी मत मान्ने हो भने यो पटक त्यो मत धनराजलाई जानेछ।

तर, माओवादी फुटको असरलाई भने नजरअन्दाज गर्ने ठाउँ छैन। २०७८ सालको जनगणनाले पोखरामा ३९ हजार ६३८ थपिएर कूल मतदाता संख्या २ लाख ७ हजार ७०६ पुगेको छ। थपिएका मतदाता युवा हुन्। बोल्नमा माहिर धनराजले त्यो मत आफ्नो पक्षमा पार्न सक्छन्।

तर, उनी खतरा बाहिर छैनन्। कांग्रेससँग गठबन्धन गरे पनि सबै कांग्रेसी मत उनलाई जाने सम्भावना कम छ। ‘पाथीबाट मानोमा खन्याउँदा पोखिन्छ’ भन्दै कांग्रेसी स्वयंले सबै मत धनराजलाई नजाने संकेत गरिसकेका छन्।

धनराजलाई प्रमुख बनाइएकोमा असन्तुष्ट बनेका कांग्रेसीहरु कृष्ण कार्की, नन्द तिवारी र ऋषि सापकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनीहरुको उम्मेदवारी फिर्ता भएन भने रिसाएकाहरुको मत त्यता जानसक्छ।

त्यसै पनि, सहरिया क्षेत्रका कांग्रेसीहरु कृष्ण थापासँग नजिक छन्। कांग्रेसको सबै मत आएन भने ५ हजार ७ सय संगठित सदस्य रहेका धनराजलाई अप्ठेरो पर्नसक्छ।

एमालेको चुस्त संगठनबाट भोट चोर्न सजिलो छैन। एकातिर गठबन्धनबाट सबै भोट नआउनु र अर्कोतर्फ एमालेले थैली कस्दै जाँदा उनी दोस्रो पटक नहार्लान् भन्न सकिँदैन।

दोस्रो पटक प्रमुख बन्न खोजेका कृष्ण थापा र दोस्रो हार स्वीकार्न तयार नभएका धनराजबीचको मुख्य प्रतिस्पर्धालाई पोखरेलीले चाख मानेर हेरेका छन्।

यद्यपि, चुनावी माहौल अझै उत्कर्षमा पुगेको भने छैन। चुनावी नारा र घोषणापत्र त भन्ने कुरा न हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .