ad ad

निर्वाचन विशेष


धनगढीका हमाल र जनकपुरका साह : चुनावी ‘इन्जिनियरिङ’ राम्रो गर्दा जो स्वतन्त्रबाट विजयी हुँदैछन्

धनगढीका हमाल र जनकपुरका साह : चुनावी ‘इन्जिनियरिङ’ राम्रो गर्दा जो स्वतन्त्रबाट विजयी हुँदैछन्

धनगढीका स्वतन्त्र उम्मेदवार गोपाल हमाल र जनकपुरका मनोज साह


जेवी पुन मगर
जेठ २, २०७९ सोमबार २२:१०, काठमाडौँ

राजनीतिशास्त्रीहरुका निम्ति यसपालिको स्थानीय निर्वाचनमा ‘स्वतन्त्र उम्मेदवार‘हरुले अध्ययनका निम्ति राम्रो सन्दर्भ सामग्री दिने भएका छन्। काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले संगठित दलहरुको संरचनामाथि ठाडै चुनौती दिनेगरी जे जसरी मत परिणाम ल्याइरहेका छन्, त्यो राजनीति र समाजशास्त्रीहरुका निम्ति गतिलो अध्ययनको विषय हुनुपर्दछ। देशको राजकाज संचालन हुने जमघट–थलो काठमाडौँ महानगरपालिका हाँक्छु भन्दै मैदानमा उत्रिएका शाहको ‘चुनावी इन्जिनियरिङ’ले गहिरो अध्ययनको माग गर्दछ। तर, अहिले म त्यसतर्फ जान चाहन्नँ। 

यस आलेखमा मूलतः दलभित्रको असन्तुष्टि विद्रोहमा परिणत भएको जस्तो देखिएको मधेश प्रदेशको राजधानी जनकपुरधाम उप–महानगरपालिका र सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको वस्तुस्थितिलाई केलाउने प्रयत्न गरिएको छ।

यी दुई उप–महानगरमा स्वतन्त्र भनिएका उम्मेदवारहरुले राम्रो मत ल्याइरहेका छन्। त्यो मत तिनले कसरी प्राप्त गरे? त्यसको ‘इन्जिनियरिङ’ कसले गरिरहेको छ? त्यसको पछाडिको खास राजनीति के हो? यिनै प्रश्नको जवाफ खोज्न ‘स्वतन्त्र उम्मेदवार‘हरुको शक्तिको श्रोत चियाउने प्रयत्न गरिएको छ। 

धनगढीः दलको छहारी त्याग्ने हमालको बठ्याइँ
यस शृंखलाको कडी जोड्न मानव विकास सूचकांकको पुछारतिरबाट घस्रिँदै अघिल्तिर बढ्न प्रयत्नशील सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी उपमहानगरपालिकालाई बनाइएको छ। त्यहाँ कांग्रेसी गढ भत्काउँदै मतपरिणाम आफ्नो पक्षमा पारिरहेका स्वतन्त्र उम्मेदवार गोपाल (गोपी) हमालले यो आलेख तयार पार्दासम्म ४,५३८ मत ल्याइसकेका छन् भने उनका प्रतिद्वन्द्वी नृपबहादुर वडले २,४२८ मतान्तरले हमाललाई पछ्याइरहेका छन्।

गएको स्थानीय निर्वाचनमा गोपीलाई २७९७ मतान्तरले पराजित गरी मेयरको कुर्सीमा उक्लिएका वड यसपालि पुरानै प्रतिद्वन्द्वी आफ्नो ताज खोस्न व्यवस्थित र आक्रामक चुनावी रणनीति सहित मैदानमा उत्रिएपछि ठूलो तनावमा देखिएको हाल धनगढीमा रहेका नेपालखबरकर्मी यज्ञराज जोशीको बुझाइ छ। प्रारम्भिक मतको रुझानले वडको चिन्ता स्वाभाविक पनि देखिन्छ।

आफूले निर्माण गरेको छविको बलमा गएको स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका हमालले दलको संगठित प्रयत्नका अगाडि हारेका कारण हुनसक्छ, रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीमा संगठित भए। हमालले पार्टीको सुदूरपश्चिम इन्चार्जसीप लिए पनि दलको ओतबाट नजितिने विश्लेषण गरे। त्यसैले उनले अन्तिम समयमा राजीनामा दिई यसपालि पनि स्वतन्त्र हैसियतमा मेयर पदमै उम्मेदवारी दिए। 

दलबाट राजीनामापछि उम्मेदवारी मनोनयन दर्ता गराउन पुगेका हमालसँग नेपालखबरले कुराकानी गरेको थियो। त्यतिबेला उनले पाँच महिना लामो मत सर्वेक्षण लगायतका विधि अपनाई जनमत बुझ्दा धेरैले ‘स्वतन्त्रबाट लडे मत दिइन्छ’ भन्ने जवाफ दिएपछि साझाबाट राजीनामा दिई चुनावी दौडमा उत्रिएको बताएका थिए। 

उनले अपनाएको जनमत बुझ्ने विधिले काम गरेको देखिन्छ। व्यावसायिक क्षेत्रबाट राम्रो समर्थन बटुलेका हमालले अहिलेसम्म सहरिया क्षेत्रमा गरिएको मतगणनामा अग्रता लिइरहेबाट उनलाई सहरिया मतदाताले दिएको बाचा पुरा गरेको देखिन्छ।

धनगढीमा दिनेश ग्रुप नामक व्यावसायिक घरानाको नेतृत्वकर्ता भएकोले मात्र नभई हमालले गरेका पेसागत र सामाजिक कार्यका कारण उनले बजार क्षेत्रमा राम्रो छवि बनाएको ठानिन्छ। आफ्नो नेतृत्वकाल (२०६३–२०६६) मा कैलाली उद्योग वाणिज्य संघलाई देशकै उत्कृष्ट शाखाको रुपमा चिनाई धेरैको ध्यान आफूतर्फ तान्न सफल हमालले ‘सुन्दर सुदुरपश्चिम अभियान’ को थालनी र अगुवाइ पनि आफैँले गरे। 

सुदूरपश्चिम महोत्सव सुरु गरी त्यस भेगलाई चर्चामा ल्याउने हमालले २१ वटा मुख्य प्राथमिकताहरुको सूचीकरण गरी त्यसलाई पुरा गर्न आफू मेयर पदमा आउन चाहेको बताइरहेका छन्। मेयरमा जिते पनि पालिकाको कुनै सुविधा नलिने बताएर उनले मतदाताको ध्यान तान्ने प्रयत्न गरेका थिए। दलले जिते पालिकालाई कार्यकर्ता भर्तीकेन्द्र बनाउने हुनाले भ्रष्टाचार मौलाउने तर आफू कुनै दलमा आबद्ध नभएकोले ‘राम्रा जति हाम्रा’ नीति अनुरुप काम गर्ने र धनगढीको विकासले गति लिने तर्क गरेका हमालको आश्वासनलाई धेरैले मनपराएको देखिन्छ। 

साथै, हारे पनि जिते पनि यो आफ्नो अन्तिम उम्मेदवारी रहेको बताएकोले पनि मतदाताले ‘एक चोटि मौका दिइहेरौँ न’ भनेर उनलाई मतदान गरेका हुनसक्छन्। अहिलेसम्म हमालको प्रभावक्षेत्र मानिएको सहरभित्रको मतगणना भइरहेकोले उनको बढी मत आएको पनि हुनसक्दछ। 

कांग्रेसभित्रको आन्तरिक विवादका कारण पनि हमालले मत पाएको विश्लेषण गरिन्छ। कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला मात्र नभई उनले यसअघि एक चोटि संसदीय निर्वाचन जितेको यस क्षेत्रमा गएको चुनावमा पत्नी आरजु राणालाई टिकट दिँदा स्थानीय नेतृत्व असन्तुष्ट मात्र भएन, तिनले उनलाई चुनावमै हराइदिए। 

आउँदो संसदीय निर्वाचनमा पुनः आरजुलाई उठाउनेगरी आधरभूमि बनाउन खोजिरहेका देउवाले प्रचण्ड लगायतका गठबन्धनका शीर्ष नेताहरुलाई धनगढीमा भेला गरी वैशाखको अन्तिम साता आमसभा गरे पनि त्यसले कुनै प्रभाव पारेको देखिएन।

धनगढीमा मेयरका आकांक्षी ७ जनालाई उपेक्षा गरी आफ्ना विश्वासपात्र नृपबहादुरलाई नै डोहोर्याएपछि वडा नम्बर ४ का अध्यक्ष दीपकबहादुर थापा क्षेत्रीसहित ५७ जना कांग्रेसका क्रियाशील सदस्यहरुले राजीनामा नै दिए। त्यसको सिधा प्रभाव चुनावमा पर्यो। ती आफ्नै उम्मेदवारको अभियानमा खुलेर लागेनन्। यो राजनीति बुझेका हमालले त्यसलाई आफ्नो बलियो अस्त्र बनाई कांग्रेसी गढमा हमला गरे। त्यसले मतपरिणाममा गजबको असर देखाइरहेको छ। नेपालखबरकर्मी यज्ञ भन्छन्, ‘यहाँको माहौल र मतपरिणामको रुझान हेर्दा यसपालि हमालले बाजी मार्ने देखिन्छ। यो नेतृत्वको मनोमानीप्रतिको असन्तुष्टि पनि हो।’

जनकपुरः देउवा र निधिको लडाइँ
जसरी सुदूरपश्चिम प्रदेशलाई पिछडिएको प्रदेशको रुपमा हेरिन्छ, त्यसरी नै मधेश प्रदेशलाई पनि विकासको नापजोखमा पुछारमा राखेर त्यहाँको अर्थ–सामाजिक–राजनीतिक विश्लेषण गरिन्छ। संयोग कस्तो मिलेको छ भने धनगढीमा झैँ मधेश प्रदेशको केन्द्र जनकपुरधाम उपमहानगरमा पनि ‘स्वतन्त्र उम्मेदवार‘ मनोजकुमार साह गठबन्धन दलका उम्मेदवारलाई पछाडि पार्दै दौडिरहेका देखिन्छन्। २,६३६ मत ल्याई पहिलो स्थानमा रहेका मनोजकुमारलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले १,०४९ मत मात्र ल्याएका छन्। अर्काे संयोग, पार्टी सभापति तथा प्रधानमन्त्री देउवा परोक्ष रुपमा यहाँ पनि जोडिन आइपुग्छन्। 

जनकपुरका उम्मेदवार साह विशुद्ध राजनीतिक जोडघटाउका कारण परिदृश्यमा उदाएका देखिन्छन्। यो द्वन्द्वको उद्भव कांग्रेसको चौधौँ महाधिवेशनबाट प्रारम्भ हुन्छ। यसपालिको महाधिवेशनबाट सभापति देउवाले कुर्सी छाडिदिने आसमा बसेका तत्कालीन उपसभापति विमलेन्द्र निधिलाई त्यसबेला धक्का लाग्यो, जतिबेला आफ्ना ‘राजनीतिक गुरु ‘ देउवाले पुनः सभापतिमा उम्मेदवारी दर्ता गराउने छनक देखाए। देउवा विरुद्ध निधिले पनि उम्मेदवारी दिए। त्यसपछि सुरु भएको ‘निधिलाई थकाउने गलाउने’ देउवाको तिकडमले कुनैबेला कुम जोडेर हिँडेका सहयात्रीबीच निकै तिक्तता जन्माउने काम गर्यो। 

देउवाले निधिलाई एक्ल्याई सभापतिको प्रतिस्पर्धाबाट बाहिर मात्र धकेलेनन्, निधिको शक्तिको श्रोत मधेश प्रदेशबाट नै उनलाई अलग बनाउने खेल खेल्न थाले। सहमहामन्त्री महेन्द्र यादवको काँधमा बन्दुक राखी निधिको जनाधारमाथि नै प्रहार गर्न थाले। संघमा दुर्बल बनाइएका निधिलाई प्रदेशमा पनि उठ्न दिइएन। प्रदेशसभा निर्वाचनमा निधिपक्षीय उम्मेदवार रामसरोज यादवलाई नराम्ररी पराजित गराइयो। उनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री तथा संसदीय दलका नेता पनि हुन्। 

देउवाको घेराबन्दीमा परेका निधिका अगाडि एउटा मात्र अवसर उपलब्ध थियो। अगाडि जिल्ला सभापति निर्वाचन आउँदै थियो। त्यहाँबाट पनि निधिको नेतृत्व खोस्न गृहमन्त्री बालकृष्ण खाण नै जनकपुर गई डेरा जमाएर बसे। चौतर्फी आक्रमणमा परेका निधिले केही सीप नलागी आफ्नो अस्तित्व जोगाउन अन्तिममा शेखर कोइरालासँग गुहार मागे।

त्यसले काम गर्यो। कोइरालाको समर्थनमा जिल्ला सभापति पदमा उठेका निधिपक्षीय उम्मेदवार योगेन्द्र पजियारले विजय हासिल गरे। यहाँ देउवा हारे। आफ्नो जनाधारबाट उठिबास लगाउन देउवाले खेलेको राजनीतिले क्रुद्ध निधि बदला लिने मौकाको ताकमा थिए। यसपालिको स्थानीय निर्वाचनमा ‘गठबन्धन राजनीति’ ले उनलाई राम्रो मौका दियो।

गएको निर्वाचनमा लगभग पुछारमा रहेको जसपालाई मेयर पद दिने निर्णय गरेपछि निधिले आर्थिक रुपले बलिया जग्गा कारोबारी र मेयर समेत रहेका साहलाई ‘स्वतन्त्र’ उठ्न तयार पारे। निधिको निर्देशनमा साहले राजीनामा दिए। गठबन्धनबाट बिच्किएका कांग्रेसका असन्तुष्ट स्थानीय नेतृत्व अधिकांश निधिलाई समर्थन दिन तम्तयार थिए। 

चुनावको मुखमा निधिले मधेशमा तारन्तार गरेको दौडधुपको पछाडि यही कारण थियो। स्थानीय संगठनको समर्थन निधिपक्षीय नेतृत्वबाट मात्र आएको थिएन, गठबन्धनविरोधी कोइराला पक्षीय नेतृत्वको समेत निधिलाई समर्थन प्राप्त थियो। त्यसैको आधारमा निधिले साहलाई मैदानमा उतारेका थिए। 

नेपाली कांग्रेसको आन्तरिक राजनीतिले साहको जन्म गराएकोले त्यहाँ भइरहेको प्रतिस्पर्धामा दृश्यमा साह देखिए पनि खास लडाइँ चाहिँ सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिबीच चलिरहेको छ। जसमा शेखर कोइरालाको परोक्ष समर्थन छ। त्यसैले जनकपुरमा बुनिएको चुनावी ‘इन्जिनियरिङ’ले राम्ररी काम गरिरहेको देखिन्छ। 

अहिले सहरिया क्षेत्रमा भइरहेको मतगणनामा निधिका उम्मेदवारले राम्रो परिणाम ल्याइरहेका छन्। जनकपुरस्थित नेपालखबरकर्मी शैलेन्द्र महतो भन्छन्, ‘गाउँमा पनि राम्रो जनाधार भएकोले यसपालि कांग्रेसको स्वतन्त्र उम्मेदवारले जित्ने निश्चितजस्तै छ।’  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .