ad ad

निर्वाचन विशेष


माधव नेपालको ‘पत्तासाफ’ भएकै हो?

‘स्थानीय निर्वाचनको परिणामले भत्काउला गठबन्धन?’
माधव नेपालको ‘पत्तासाफ’ भएकै हो?

रुपक चौलागाईं
जेठ ४, २०७९ बुधबार १३:४२, काठमाडौँ

स्थानीय निर्वाचनअघिका प्रायः भाषणमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्ना पूर्वसहयात्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खरो आलोचना गरिरहेका हुन्थे। १५ वर्ष एमालेको नेतृत्व गरेका नेपाल एमाले छाड्नुअघि नै ओलीको कटु आलोचक बनिसकेका थिए। 

मतगणनाको रुझान चलिरहँदा मंगलबार बिहान मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न पुगेका नेपालको ध्यान ओलीतिर थिएन।

मतगणनाको प्रारम्भिक परिणामले निरुत्साहित भएका नेपालले गठबन्धनबाटै घाटा भएको टिप्पणी गरे। उनले गठबन्धनका दलहरुका कारण गठबन्धनको गम्भीर समीक्षा गर्नेपनि बताए।

नेपालले ३ वटै तहका निर्वाचनमा गठबन्धन कायम राख्नपर्ने जिकिर गरिरहेका हुन्छन्। सत्तारुढ गठबन्धनभित्र महानगर र उपमहानगरको भागवण्डा नमिलेर ‘संकट’ सिर्जना हुँदापनि सबैभन्दा बढी गठबन्धनका पक्षमा नेपालले नै लबिङ गरेका थिए।

यद्यपि मंगलबार बिहानै उनले दिएका केही अभिव्यक्तिले गठबन्धनकारी दलसँगको सम्बन्धमा केही संशय उत्पन्न गराइदिएको छ।

सुरुमा, नेपालले गरेका भाषणका केही अंश हेरौँ -
–अहिलेसम्मको निर्वाचनको परिणाम हाम्रा लागि राम्रो छैन। हामी गठबन्धनको गम्भीर समीक्षा गर्छौं। हाम्रो सहकार्य र गठबन्धनको पनि समीक्षा हुनेछ।

–संख्याको हिसाबमा सयजना वडाअध्यक्ष जित्ने अवस्थामा छौं।–अहिलेसम्मको अवस्था हेर्दा १५÷२९ पालिका प्रमुख जित्न सकेका छैनौं। यसबारेमा समीक्षा हुनुपर्छ। हाम्रा साथीहरूबीच गुनासा पनि होलान्। असन्तुष्टि पनि होलान्, हामी यसबारे समीक्षा गर्छौँ।

– हाम्रा विरोधीहरुले सहकार्य गर्न चाहेनन, गठबन्धनका घटकहरुले पनि चाहेनन्। उहाँहरुको आफ्नो गुनासा होलान्, गुनासाका बारेमा पनि हामी छलफल गर्नेछौं। तर, जेसुकै गरेपनि पार्टीलाई बलियो जगमा उभ्याउनपर्नेछ।

नेपालले भाषणामा प्रस्तुत गरेका यी अंशले प्रष्ट बोलेको छ, गठबन्धनका दलप्रति नेकपा एकीकृत समाजवादी सन्तुष्ट छैन।

‘पत्ता’साफ भएकै हो? 
चुनावी भाषणका क्रममा मात्र होइन, पार्टी जन्मिएको केही समयपछि नै एमाले आगामी निर्वाचनबाट पत्तासाफ हुने बताएका थिए। उता ओलीले माधव नेपालको पार्टी चुनावबाट पत्तासाफ हुने दाबी गरेका थिए ।

२४ कात्तिकमा डडेल्धुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा माधव नेपालले भनेका थिए, ‘आगामी निर्वाचनबाट पाँच पार्टीको गठबन्धन बनेको छ। आउने चुनावमा पाँचै पार्टी मिलेर जाने छौं। केपी गुटको पत्तासाफ हुने छ।’

उनले एमालेलाई टर्च बालेर खोज्नपर्ने अवस्थामा पुगेको पनि बताएका थिए। चुनावी सभामा भाषण गर्नेक्रममा पनि नेपालले सूर्य चिन्हको पत्तासाफ हुने दोहोर्‍याएका थिए।

सोही प्रसंग झिक्दै गत ८ वैशाखमा एमाले अध्यक्ष ओलीले जवाफ फर्काएका थिए, ‘सूर्यको पात हुँदैन। कहाँबाट पत्तासाफ हुन्छ? जसको पात छन्, त्यसका पात सूर्यले नै झारिदिन्छ।’

नेपालले भनेजस्तै निर्वाचनमा पाँच दलीय गठबन्धन मिलेर त गयो। तर, एमाले पत्तासाफ भने भएको छैन। बरु नेपालकै दलले पाएको मतपरिणामका कारण एकीकृत समाजवादी भने निराश भएको नेपालकै भाषणले प्रष्ट बोलिदिएको छ।

अधिकांश पालिकामा सत्ता गठबन्धन र काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ल्याएको मतले अत्तालिएको छ एमाले। ज्वरो आएर बालकोटमा आराम गरिरहेका ओलीको ध्यान महानगर र उपमहानगरमा नै छ। तर, उत्साहित नतिजा भने ल्याएको छैन।

बरु, सत्ता गठबन्धनकै ‘आड’ लागेरै भए पनि एउटा महानगर र एउटा उपमहानगरपालिकामा एकीकृत समाजवादीले अग्रता लिएको छ। तर, आफूलाई देशकै ठूलो दल भन्ने गरेको नेकपा एमालेले भने कुनैपनि महानगरमा अग्रता लिन सकेको छैन्। महानगरपालिकामा ‘चमत्कार’ गर्छौं भनेका एमाले महासचिव शंकर पोखरेललाई एउटै महानगरमा अग्रता लिन नसकेको परिणामले भने गिज्याइरहेको छ।

समाजवादीको समीक्षा कस्तो? के हुन्छ गठबन्धन?
अध्यक्ष नेपालले सत्तारुढ दलहरुबाट पाएको ‘धोका’का विषयमा पार्टीभित्र आन्तरिक छलफल अघि बढाइसकेका छन। महानगर र उपमहानगरभन्दा तल्ला तहहरुमा एकीकृत समाजवादीले नजित्दा पनि फरक नपर्ने गरी कांग्रेस र माओवादीका नेताहरुको मनोविज्ञान देखिएको ब्रिफिङ नेपालले ‘कोर टिम’ भित्र गरेका छन्। 

सत्तारुढ दलहरुले लिएको यो मनोविज्ञानबारे निर्मम समीक्षा हुने एकीकृत समाजवादीका नेताहरु बताउँछन्। 

गठबन्धनलाई मन, बचन र कर्मले इमानदार भएर सहयोग गरेको भएपनि आफूहरुको सदासयातालाई कमजोरीका रुपमा लिएको पार्टीका उपमहासचिव गंगालाल तुलाधारले बताए।

‘उम्मेदवारी गर्ने बेलामा नै राम्रो स्थिति थिएन्,’ तुलाधारले नेपालखबरसँग भने, ‘हामीले गठबन्धनलाई उत्साहका साथ बोकेको कारणले गर्दा मन, बचन र कर्मले इमानदार भयौं। तर, गठबन्धनकै केही सहयात्री दलहरुले हाम्रो सदासयातालाई कमजोरीको रुपमा लिनुभयो।’

अहिले नै सम्पूर्ण समीक्षा गरिसक्ने बेला नभएको भन्दै आफूहरुले समीक्षाको विषय भने बनाउने उनले बताए। यद्यपी गठबन्धन नै टिक्ने वा नटिक्नेगरी अहिलेनै बोल्ने बेला नभएको तुलाधार बताउँछन्। ‘हामी यसलाई समीक्षाको विषय बनाउँछौं। त्यो भनेको निर्मम खालको समीक्षा हुन्छ, कुन खालको हुन्छ भनेर त मैले अहिले नै भन्न सक्दिँन।’

पोखरा महानगर र हेटौंडा उपमहानगरपालिकामा देखिएको मतले केही उत्साह भएको भन्दै त्यसलाई भने सकारात्मक तरिकाले लिनपर्ने उनले बताए। ‘हरेक कुरालाई सकारात्मक तरिकाबाट पनि लिनपर्ने हुन्छ,’ उनले भने, ‘सकारात्मक आँखाबाट हेर्ने हो भने पोखरा महानगर र हेटौंडा उपमहानगरपालिकामा हामीले लिएको अग्रतालाई सकारात्मक रुपमा लिन सकिन्छ।’

कांग्रेस र माओवादी ‘आत्मकेन्द्रित’ भएको बुझाइ
एकीकृत समाजवादीका अर्का एकजना नेता भने कांग्रेस र माओवादीले भोट नहालेको रिपोर्ट नै आफूहरुले प्राप्त गरेको दाबी गर्छन्।

‘सबै ठाउँमा धोका भएको छैन, केही ठाउँमा नेपाली कांग्रेसले हाम्रो साथिहरुलाई भोट हाल्नुभएको छैन। हामीसँग त्यसको रिपोर्ट र दृष्टान्त पनि छ,’ नाम उल्लेख नगर्ने शर्तमा पार्टी सचिवालयस्तरका नेताले भने, ‘कतिपय ठाउँमा माओवादीले हामीलाई भोट हाल्नुभएको छैन। तर हामीले माओवादी र कांग्रेसलाई समदुरीमै राखेर गठबन्धनको सहयात्री दल भन्ने हिसाबले नै सम्मानपूर्वक हाम्रा मतहरु खसालेका छौं।’

एमालेको मतलाई आफूहरुले एकीकृत नगरिदिएको भए माओवादी र कांग्रेसको यो मतपरिणाम अहिले नआउने ती नेता तर्क गर्छन्।

‘मत खसालिरहँदा नेकपा एमालेतिर जाने मतलाई गए जाओस् भनेर हामीले भनिदिएको भए के हुन्थ्यो?’ ती नेता भन्छन्, ‘त्यसो भएको भए कांग्रेस र माओवादीको अहिलेको जस्तो मत आउँदैनथ्यो। इमानदारीताको कुरा यस्तो कुरामा ठूलो हुन्छ र त्यो नैतिक प्रश्नसँग जोडिन्छ।’

एमालेलाई कुनै पनि हालतमा ‘धुलिसात’ गर्नुपर्ने नैतिक बाध्यतामा आफूहरु रहेपनि माओवादी र कांग्रेस भने सेल्फसेन्टर्ड(आत्मकेन्द्रित) भएको उनले आरोप लगाए।

‘हामीलाई गठबन्धनभित्रै भोट हाल्नपर्ने नैतिक बाध्यता के थियो भने, एमालेले धेरैभन्दा धेरै ठाउँमा हारोस् र एमालेलाई धुलिसाप गर्न सकियोस भन्ने मनोविज्ञानबाट हामीले त्यो काम गरेका थियौं।’ उनले थप व्याख्या गर्दै भने, ‘उहाँहरुले चाहिँ एमालेले जित्दा पनि केही फरक पर्दैन, मात्र आफूले जित्ने कि नजित्ने कुराको सुनिश्चित हुने कुरामा बढ्दा सेल्फसेन्टर्ड(आत्मकेन्द्रित) हुनुभयो।’

महानगर र उपमहानगरभन्दा तल्ला तहहरुमा एकीकृत समाजवादीले नजित्दा पनि फरक नपर्नेगरी कांग्रेस र माओवादीका नेताहरुले बेवास्ता गरेको ब्रिफिङ आफूहरुलाई अध्यक्ष नेपालले गरेको ती नेता बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .