ad ad

निर्वाचन विशेष


जेलबाटै चुनाव परिचालन : रेशम चौधरी छुटाउन ढकियामा मतदान

जेलबाटै चुनाव परिचालन : रेशम चौधरी छुटाउन ढकियामा मतदान

सांसद रेशम चौधरी डिल्लिबजार जेलमा छन्


जेवी पुन मगर
जेठ ५, २०७९ बिहिबार ९:७, काठमाडौँ

काठमाडौं, धरान र धनगढीमा दलका वर्चस्वलाई चुनौती दिँदै मत–अग्रता लिइरहेका ‘सेलिब्रेटी’ उम्मेदवारका कारण मात्र नभई देशका कुनाकाप्चाबाट निस्किरहेका फरक फरक विशेषतासहितका पात्रहरूका चुनावी नारा र प्रचारशैलीका कारण यसपालिको स्थानीय निर्वाचनले इतिहासको पानालाई स्मरणयोग्य बनाउने भएको छ।

धेरैले हेक्का राखिरहेका छैनन्– ८ वर्षअघि राष्ट्रिय राजनीतिलाई पराकम्पन दिने शाहवंशीय राजखलकहरूको प्रिय थलो टीकापुरमा यो चुनावमा के भइरहेको छ? भर्चुअल्ली घुम्दैफिर्दै टीकापुर आइपुगेको मैले देखेको यहाँको चुनावी माहोल ‘तीन छक्क’ पार्ने खालको छ।​

मन्त्रीहरूकै वडा चैट 
सुदूरपश्चिम प्रदेशमा पर्ने कैलाली जिल्लाभित्र एक उपमहानगरपालिका, ५ नगरपालिका र ७ वटा गाउँपालिका ओत लागेका छन्। यीमध्ये विकासले जोशिएको जोशीपुर गाउँपालिकाको ३ नम्बर वडामा नेपाली कांग्रेसका पुराना नेता छन्– रामजनम चौधरी। उनीसँग दुई दशकभन्दा बढी मन्त्री पदमा रही काठमाडौंको राजकाजमा सघाएको अनुभव छ। रामजनमसँगै साँध जोडिएको वडा नम्बर ४ का अर्का कांग्रेसी मन्त्री जनक चौधरी र कांग्रेसी राजनीति गरेरै जोवन बिताएका हाल राष्ट्रिय सभाका सांसद वडा नम्बर ५ निवासी नारायणदत्त मिश्रलाई पनि जोशीपुर मात्र नभई कैलालीकै ‘नाक’का रूपमा चिनाइने गरिन्छ।

यी सबै चुनावी भागदौडमा व्यस्त थिए। तर ३ महिना भन्दा पनि कम समयको तयारीमा चुनावी मैदानमा उत्रिएको नागरिक उन्मुक्ति पार्टीले यी तीनै जनाको वडा सखाप पारेर बढारिदिएपछि यी पाका नेताहरू ‘थला’ परेका छन्।​

 

४० वर्षभन्दा बढी समय सक्रिय राजनीति गरेका रामजनमको अनुभव यसपटक उन्मुक्ति पार्टीले ल्याएको चुनावी लहरका अगाडि टिक्न सकेन। आफ्नै वडामा रामजनमले एउटा सदस्य समेत जिताउन सकेनन्।

उन्मुक्ति पार्टीले वडाको प्यानल नै उडाइदियो। साख नै जोगाउन नसक्ने गरी आफ्नो वडाबाट एउटा सदस्य पनि पालिकामा पठाउन नसकेका रामजनम, जनक र मिश्रको वर्चस्व तोड्ने ‘नागरिक उन्मुक्ति पार्टी’ आखिर जन्मियो कसरी? मैले खोतल्ने प्रयत्न गरेको थिएँ। त्यसको जन्मकुण्डली केही क्षणपछि पल्टाउँला, पहिला रातारात उदाएको यो दलले कैलालीमा गरिरहेको ‘ताण्डव’मा दृष्टिगोचर गरौं।​

चुपचाप ‘क्लिन स्विप’को बाटोमा 
चारैतीरबाट थारू समुदायद्वारा घेरिएको टीकापुर सहरिया क्षेत्रमा अछामबाट झरेका खस–आर्यहरूको बाक्लो बसोबास छ। त्यही टीकापुर नगरपालिकामा यो आलेख तयार पार्दासम्म नागरिक उन्मुक्ति पार्टीबाट उठेका मेयर पदका उम्मेदवार रामलाल डगौरा थारू (प्राप्त मत ८९३८) ले लगभग जित्ने निश्चित भइसकेको छ। उनले प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावल (प्राप्त मत ६०७०) भन्दा बढी मत ल्याएर अगाडि दौडिरहेका छन्।

त्यसैगरी उपमेयरमा उन्मुक्तिकै उल्कादेवी विश्वकर्मा (प्राप्त मत ७२४३) ले माओवादीका उम्मेदवार खडकबहादुर शाह ( प्राप्त मत ७२४९) लाई निकै अत्याइरहेकी छन्। टीकापुरको वडा नम्बर ४ र ५ उन्मुक्तिले पूरै सेट जितेको छ भने ७ नम्बर वडामा वडाध्यक्षबाहेक सबै सदस्यलाई जिताएको छ। त्यहाँ वडाध्यक्षमा माओवादीले जितेको छ। गणना भइरहेको वडा नम्बर ६ मा उन्मुक्तिका उम्मेदवारले अग्रता लिइरहेका छन्।  

त्यसैगरी जोशीपुर गाउँपालिका प्रमुखमा उन्मुक्तिकै चित्रबहादुर चौधरी (प्राप्त मत ४४१६) ले कांग्रेसका बन्सराम वडायक (३०५४) लाई पछाडि छाडिरहेका छन् भने उपाध्यक्षमा रेखादेवी कठरिया (प्राप्त मत ४२६४) ले माओवादीका प्रतिद्वन्द्वी  दीर्घराज बिनाडी (प्राप्त मत ३१७१) लाई जितिरहेको अवस्था छ।

जोशीपुरमा उन्मुक्ति पार्टीले वडा नम्बर १,३,४ र ५ मा क्लिन स्विप गरेको छ भने वडा नम्बर २ मा एउटा सदस्य जिताएको छ। उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितका भनाइमा गणना भइरहेका ६ र ७ नम्बर वडामा पनि आफ्नै दलका उम्मेदवारले अग्रता लिइरहेका छन्। 

जानकी गाउँपालिका अध्यक्षमा गणेश चौधरी (प्राप्त मत २९४१) ले प्रतिद्वन्द्वी कांगे्रसका उम्मेदवार परशुराम महतो कठरिया (प्राप्त मत २२०८) भन्दा अगाडि छन्। उपाध्यक्षमा एमालेकी गीता चौधरी (प्राप्त मत २३५२) लाई पछ्याइरहेकी उन्मुक्तिकी लालमतीदेवी कठरियाले २०९७ मत ल्याएकी छन्। यहाँ पनि वडा नम्बर ६ र ७ मा पूरै सेट जितेको उन्मुक्तिले अन्य वडामा पनि कतै अग्रता त कतै  दोस्रो स्थान लिइरहेको प्रवक्ता दामोदर सुनाउँछन्।

नेतालाई जेलबाट छुटाउन चुनावी मैदानमा 
८ जना सुरक्षाकर्मी र १ जना बालकको हत्याको योजनाकारको झुटा आरोपमा पक्राउ गरी आजीवन कारावासको सजाय दिइएका टीकापुरबाट विजयी सांसद रेशम चौधरीलाई फसाइएकाले उनको रिहाइका निम्ति दबाब दिन स्थानीय ‘सत्ता कब्जा’ गर्न चुनावी मैदानमा उत्रिएको प्रवक्ता दामोदर बताउँछन्।

‘हाम्रो ऐजेन्डा प्रस्ट छ, हामीले जनताको घरघर गएर भन्यौं– थारूले अधिकारको आन्दोलन गर्दा समग्र थारू समुदायको दानवीकरण गरेर आन्दोलन दबाइयो। हामीले जिताएर पठाएको रेशमलाई फसाएर थुनियो’, दामोदर भन्छन्, ‘पहिला स्थानीय सत्ता कब्जा गरौं र केन्द्रलाई दबाब दिई रेशमलाई छुटाऔं। राज्य लागेर अपराधीकरण गरिएको थरुहट आन्दोलनलाई राजनीतिक बनाउन दबाब सिर्जना गरौं।’

राज्यदेखि आक्रोशित थारूहरूलाई यो आह्वानले अपिल गर्यो। यसपालि चुनावी रणनीति बनाउने कुनै थारू नेता थिएनन्। चुनावी ‘इन्जिनियरिङ’ गर्ने लम्कीचुहा नगरपालिकामा उन्मुक्तिबाट मेयर पदमा लड्ने इन्जिनियर महेन्द्र उपाध्यायले गरेको जानकी गाउँपालिका अध्यक्षका उम्मेदवार गणेश चौधरी बताउँछन्।

‘थारुहरूलाई हदैसम्म हेपेकोले त्यसका विरुद्ध एकजुट भई लड्न’ भन्दै सरकारी जागिर छाडेर मैदानमा उत्रिएका उपाध्यायले बनाएको चुनावी रणनीतिले काम गरिरहेको छ।

उपाध्याय मात्र होइन, यो सघंर्षमा टीकापुरकी उपमेयर पदकी उम्मेदवार उल्कादेवी विश्वकर्मा बसन्ता गाउँको सरकारी विद्यालयको ‘हेडसर’को स्थायी जागिर नै त्यागेर जोडिन आइपुगिन्। गणेश चौधरीले कान्तिपुर दैनिकको स्थायी जागिरबाट राजीनामा दिएर अध्यक्ष पदको प्रतिस्पर्धामा भिडे भने लम्कीमा पढाइरहेका स्थायी शिक्षक सुरेश चौधरी पनि सरकारी जागिर छाडेर जानकी गाउँपालिकाको वडा नम्बर ३ बाट वडाध्यक्ष पदमा भिडेका छन्। यसअघि सेती महाकाली इन्चार्ज भई माओवादीको बुद्धिजीवी मोर्चा सम्हालेका दामोदर पण्डित प्रवक्ता भई दौडिरहेका छन्। 

गणेशका शब्दमा– माघ १८ गते रेशमको श्रीमतीको नाममा निर्वाचन आयोगमा दर्ता गरिएको यस दलको पर्दा पछाडिका अध्यक्ष जेल सजाय काटिरहेका सांसद रेशम चौधरी नै हुन्। उनले जेलबाटै यसको अह्रनखटन गरिरहेका छन्। तर यो दल एउटा निश्चित मुद्दा बोकेर आन्दोलन गर्न गठन गरिएकाले ७२ सालको घटना प्रभावित क्षेत्रबाट यसले राम्रो भोट बटुलिरहेको छ। 

दल गठन भएपछि कैलालीमा रहेका बहुसंख्यक थारू समुदायमा यसले पार्ने प्रभावको आकलन गरेरै हुन सक्छ, चुनावी सभालाई सम्बोधन गर्न कैलाली आएका प्रचण्ड र केपी ओलीले ‘रेशम निर्दाेष रहेको र उनलाई छुटाउन आफू लागेको’ भन्दै दुवैले ठूलो मतदातालाई प्रभाव पार्न खोजिएको थियो। ओलीले गरेको भाषण सुनाउँदै प्रवक्ता दामोदर भन्छन्, ‘१७ हजार मान्छे मारेको आरोप लागेका व्यक्ति प्रधानमन्त्री बनेर सडकमा हिँडिरहेको छ। रेशमले के गरेका छन् र? उनी निर्दाेष हुन्। मैले निकाल्न खोजेको थिएँ, मलाई सरकारबाट झारिहाले।’​​​

यत्रो आक्रोश जन्माउने त्यस्तो के भएको थियो टीकापुरमा? 
यो त्यो समयको कथावाचन हो, जब माओवादी सशस्त्र संघर्ष, ६२/६३ आन्दोलन, मधेसी, दलित, मुस्लिम, महिला, आदिवासी–जनजाति र पिछडिएको क्षेत्रका जनताले उचालेको आन्दोलनको ज्वारले देश धपक्क बलेको थियो। आन्दोलनले राजतन्त्रको लामो विरासतलाई बिदा गरीवरी देशलाई संघीय गणतान्त्रिक व्यवस्थाभित्र प्रविष्ट गराउँदै थियो। यस्तो आन्दोलनकालीन समयकालमा सबैले आआफ्ना अस्तित्वसहितको अधिकार स्थापित गर्ने बलजोड गरिरहेका थिए। देशको ठूलो जनसंख्या ओगटेको थारू समुदायले पनि अस्तित्वको यो लडाइँमा आफ्नो भाग खोजिरहेको थियो।

राज्यमा प्रतिनिधित्व र सघन बसोबास भएका जिल्लाभित्र आफ्नो राजकाज चलाउने गरी ‘थरुहट/थारूवान स्वायत्त प्रदेश’को माग राखेर संघर्ष गरिरहेको थियो। यस्तो ‘भाग खोस्ने’ आन्दोलन सत्ताले मन पराउने कुरै भएन। त्यसैले ऊ कानमा तेल हालेर बसिरहेको थियो। प्रमुख दलहरूले पनि यस्तो संघर्षलाई टेरपुच्छर लगाइरहेका थिएनन्।  

कुरा २०७२ साल भदौ ८ गतेको हो। थरुहट/थारूवान स्वायत्त प्रदेशको माग राख्दै गाउँगाउँबाट निस्किएका थारू समुदायको भव्य मानवसागर टीकापुरतर्फ बढ्दै आइरहेको थियो। कांग्रेसका नेता शेरबहादुर देउवाले सार्वजनिक सभाबाटै ‘थारूलाई रौं पनि दिन्नँ’ भन्ने उत्तेजक भाषण गरेपछि बिच्किएको त्यो भीडसँग ब्यानर मात्र थिएन, तिनका हातहातमा घरेलु हतियार पनि झुण्डिएका थिए। त्यस्तो आवेगमा बगिरहेको भीडलाई प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहितको टुकडीले रोक्ने असफल प्रयत्न गर्यो। बल प्रयोगले झन् बढी उत्तेजित भएको भीडले न्यौपानेसहित ८ जना सुरक्षाकर्मीको ज्यान लियो। सो घटनामा गोली लागेर एकजना बालकको समेत ज्यान गयो।

घटनाले सबैलाई स्तब्ध बनायो। मिडिया ‘ट्रायल’ गरी समग्र समुदायलाई नै दानवीकरण गर्ने प्रयत्न गरियो। र, कफ्र्यु लागेका बेला थारू व्यवसायीका घर छानीछानी जलाउने काम गरियो। हत्यामा संलग्न आरोपमा ५८ जनाविरुद्ध मुद्दा चलाई धरपकड गरियो, जसमा सबै थारू समुदायका स्थानीय नेता र युवा थिए। दुई वर्षअघि मैले गरेको दुई साता लामो खोजले त्यसबेला राज्यले थारू समुदायलाई लक्ष्य गरी चलाएको अपरेसनले धेरैको जन–धनको क्षति भएको पाएको थिएँ। बनावटी आरोपमा टाठाबाठा जति जेलमा लगिएका थिए भने थारू युवाहरूको भागाभाग भएको थियो। 

७२ भदौ ८ को हिंसा भड्काउने मुख्य योजनाकार भएको आरोपमा त्यस भेगका चर्चित पात्र रेशम चौधरीविरुद्ध वारेन्ट जारी गरियो। आक्रोशित अर्काे पक्षले चौधरीको एफएम लगायतका भौतिक सम्पत्तिमा आगजनी गरेर ध्वस्त बनाइदिएपछि उनी भूमिगत हुन बाध्य भए। टीकापुर सहरमा कफ्र्यु समयावधिमै छानीछानी थारू व्यवसायी र तिनका नेताहरूका घरघरमा गरिएका आगजनीेको कोपभाजनबाट रेशम पनि अछुतो रहन सकेनन्।

घटनाको चार वर्षपछि स्थललगत अध्ययनका निम्ति म त्यहाँ पुग्दा सम्पत्ति जलेका ती पीडित सुरक्षाकर्मीकै आडमा थरुहट मागका उग्रविरोधी ‘अखण्ड सुदूरपश्चिम’ आन्दोलनका कार्यकर्ताहरूले घरघरमा आई आगजनी गरेको बताएका थिए। तिनको भनाइ किन सत्यको नजिक लाग्थ्यो भने आगजनीबाट भएको क्षतिपूर्ति बापत तत्कालीन सरकारले तिनलाई राम्रो रकम विनियोजन गरेको थियो।

त्यो बेला आक्रमण–प्रत्याक्रमणको यत्रो हिंस्रक जुहारीपछि थारू र गैरथारू (पहाडे) बीच निकै तिक्तता बढेको देखिन्थ्यो। नभन्दै त्यस्तो आक्रोश मतदानमा परिणत हुन गयो। २०७४ मसिंरमा भएको आमनिर्वाचनमा भूमिगत रहेका र राज्यले ‘फरार’ सूचीमा राखेको रेशम चौधरीले राष्ट्रिय जनता पार्टीबाट उमेदवारी दिएनन् मात्र, उनी टीकापुरबाट भारी मतले सांसद पदमा विजयी पनि भए। यसपालि पनि राज्यसँग टीकापुर घटनाकै बदला लिन त्यहाँका थारू बहुल मतदाताले रेशमको दललाई मतदान गरिरहेका हुन्। 

त्यतिबेला विजयी प्रमाणपत्र बुझ्न निर्वाचन आयोगमा आएका बेला पक्राउ परेका रेशमलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। कारागारबाटै उनले सांसद पदको शपथ खाए पनि उनलाई अदालती निर्णयका कारण संसद् भवनभित्र प्रवेश वर्जित गरियो। उनलाई कारागारभित्रै कैद गरियो। ५ वर्षसम्म टीकापुरलाई जनप्रतिनीधिविहीन राखियो। 

दुई वर्षअघि ​जिल्ला अदालत कैलालीले दोषी ठहर गर्दै सुनाएको निर्णय सदर गर्दै उच्च अदालतले पनि रेशमसहित ७ जनालाई जन्मकैदको फैसला सुनायो। त्यसयता जेल सजाय काटिरहेका रेशमले यसपालिको निर्वाचनमा त्यही कालकोठरीबाट आफ्ना उमेदवारलाई निर्देशन दिइरहेका छन् र, तिनले धमाधम जितिरहेका पनि छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .