ad ad

कला


अब आफ्नै संग्रहालयमा बाँच्नेछन् लक्ष्मीप्रसाद देवकोटा

अब आफ्नै संग्रहालयमा बाँच्नेछन् लक्ष्मीप्रसाद देवकोटा

समर्पण श्री
साउन २१, २०७८ बिहिबार १२:४१, काठमाडौँ

जब तपाईं मैतिदेवीस्थित देवकोटा मार्गको प्रवेशद्वारबाट भित्र छिर्नुहुन्छ, आँखामा हरियाली नाच्नेछन्। पानीका फोहराले तपाईंलाई स्वागत गर्नेछन्। 

उद्यानहरूमा देख्न पाउनुहुनेछ, उभिएर एकनासले सोचिरहेका महाकवि लक्ष्मी प्रसाद देवकोटा। आँगनको त्यो रमाइलो दृश्यले तान्दै तान्दै घरभित्र लैजानेछ। 

जब दैलोबाट तपाईंका पाइला भुइँतलामा सर्नेछन्, लाग्नेछ– ‘के देवकोटा अझै बाँचिरहेका छन्?’ शब्दहरूमा बाँचिरहेका देवकोटालाई अजिवले महसुस गर्न पाउनुहुनेछ। विभिन्न कालखण्डमा देवकोटाले बोलेका, कविता पढेका, भाषण गरेका आवाजहरूका चक्काहरू हालिएका क्यासेटबाट बज्नेछन्। र रिलमा उनका तस्बिरका दृश्यहरू घुम्नेछन्। 

यो सोचिरहँदा तपाईंलाई लाग्नसक्छ, यस्तो कहिले हुनेछ? ‘अबको एक वर्षमा यी कल्पनाहरू वास्तविक हुनेछन्,’ नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगत प्रसाद उपाध्याय भन्छन्। 

कविकुञ्ज भनेर चिनिने महाकवि देवकोटाको घर हिजोसम्म जीर्ण थियो। देवकोटाको सम्झनाहरू संगालेर उभिएको त्यो घर ढल्ने तरखरमा थियो। जानेहरू आँगनसम्म पुग्थे, भित्र छिर्न डराउँथे। 

छिरिहाले पनि माथिबाट माटो खसिरहन्थ्यो, तल भासिएजस्तो हुन्थ्यो।

‘म पनि दुई पटक पुगेको थिएँ, तर त्यहाँ रहुञ्जेल त्रासमात्र रह्यो’, उपाध्याय भन्छन्। देवकोटा बितेकै ६ दशक पुग्यो। उनका स्मृतिहरू र छाडेर गएका महत्वपूर्ण सामान त्यही घरभित्र अस्तव्यस्त थिए। 

स्रष्टाहरू र जनमानसबाट वर्षौंदेखि सरकारमाथि दबाब खनिइरह्यो– देवकोटाको घर संग्रहालय बनाऊ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ सालमा उनको घरलाई संग्रहालय बनाउने वाचा गरे। 

वाचा गरेको लामो समयसम्म काम भएन। पछि सरकारले उनको परिवारबाट दुई करोड ५० लाखमा १२ आना एक दाम रहेको देवकोटाको घरसहितको जग्गाको मोहियानी हक खरिद गर्‍यो।

अब देवकोटाको घर संग्रहालयमा परिणत हुनेछ। नेपाल प्रज्ञा प्रतिष्ठानले घरलाई पुनर्निर्माण गर्ने काम थालिसकेको छ। पुनर्निर्माणको क्रममा केही दिनयता भत्काइरहेको घर देखेर महाकवि देवकोटाका छोरा डा. पद्म देवकोटा भावुक बनेका थिए। 

उनले भत्काइरहेको घरको फोटो सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका थिए, ‘आफू जन्मे हुर्केको घर भत्काएको देख्दा मनमा अनेकौं तरंग उत्पन्न हुँदा रहेछन्। दुख्दो पनि रहेछ। कोठाकोठाको याद बाैरिएर आएको छ यसपालि।’

हुन त त्यही घरलाई मर्मत गरेर संग्रहालय निर्माण गर्न पो सकिन्छ कि भनेर प्रतिष्ठानले विज्ञसँग सल्लाह पनि गर्‍यो। 

‘तर सबै जीर्ण थिए। टेक्नेबित्तिकै गइहाल्ने पुराना काँचो इँट्टा, भाँचिनै लागेका काठ। सम्भव थिएन’, प्रतिष्ठानका सचिव उपाध्याय भन्छन्। त्यसले प्रज्ञाले दुरुस्त पुरानै स्वरमा नयाँ भवन निर्माण गर्ने योजना बनायो। ती पुराना झ्याल, जहाँबाट देवकोटा चियाउँथे पनि होला! 

ती उस्तै स्वरुपमा रहनेछन्। अनि प्राचीनता झल्कने इँट्टा, बुट्टेदार काठ रहनेछन्।

‘देवकोटा यही घरमा उसैगरी बाँचिरहेका छन् कि भन्ने भान पक्कै हुनेछ’, उपाध्याय भन्छन्। संग्रहालयमा देवकोटा मार्गमा प्रवेशद्वार राखिनेछ। शास्त्री मार्गबाट आगन्तुकलाई विदाइ गर्न सकिनेछ। 

भुइँतलामा देवकोटाका आवाजको प्रतिध्वनि र पुराना तस्बिर! विभिन्न कालखण्डमा देवकोटाले बाेलेका अडियो कसरी प्राप्त गर्ने? यसका लागि प्रतिष्ठानले संकलनको प्रयास गरिरहेको छ। देवकोटाका नजिकका इष्‍टमित्र र आफन्तसँग मागिरहेको छ। 

‘एकेडेमीका विभिन्न कार्यक्रममा भाग लिँदा, यहाँबाट तास्कन्द जाँदा, बैठकहरूमा भाग लिँदा बोलेका लेखेका कुरा प्रज्ञाले संकलन गरिरहेको छ। देवकोटा प्रतिपक्षी दलको नेता हुँदा पनि बोलेका थिए। त्यसको भाषण पनि संकलन गरिरहेको छ,’ उपाध्याय भन्छन्। 

पहिलो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका सामग्री राखिनेछन्। उनले सुत्नका लागि प्रयोग गरेको पलङ, जीवनमा लगाएका कपडा, प्रयोग गरेका भाँडाकुँडा, औजार। दोस्रो तलामा देवकोटाले लेखेका सबै सामग्री रहनेछन्। प्रकाशित पुस्तक र अप्रकाशित पाण्डुलिपि पनि त्यहाँ रहनेछन्।

विभिन्न भाषामा लेखिएका थुप्रै पाण्डुलिपिहरूलाई भने विधागत रुपमा छुट्याएर राखिनेछ। देवकोटाले लेख्न केही चिज नपाउँदा चुरोटको खोलमा लेख्थे। केही नभए कोर्ने गर्थे। त्यस्ता सामग्री पनि प्रज्ञाले संकलन गर्ने प्रयास गरिरहेको छ यतिबेला। 

‘साना–ठुटा कागजदेखि ठूलासम्म जे भेटिन्छन्, ती सबै त्यहाँ राखिनेछन्’, उपाध्याय भन्छन्। तेस्रो तलामा भने परामर्श तथा सभाकक्षजस्तो हुुनेछ। जहाँ देवकोटा संग्रहालय भ्रमण गरिसकेपछि स्रष्टा तथा अनुसन्धाताहरूले आपसमा अन्तर्क्रिया गर्न चाहे वा कार्यक्रम गर्न आवश्यक परेमा त्यहाँ गर्न सक्नेछन्।

उपाध्याय देवकोटाको जीर्ण घरमा जाँदा परम्परागत निकै पुरानो भान्छा देखेका थिए। दाउरा बालेर बल्ने चुल्हाेमा उनले धूवाँ पुत्पुताइरहेको कल्पना गरे। 

‘उनकाे घरकाे अवस्था हेर्दा सुकुलमाथि भन्ने निबन्धको झल्को मलाई आएको थियो’, उपाध्याय भन्छन्, ‘भएका सरसामान दीनदुःखीलाई दान गरे। घरभित्र पस्दा पनि देवकाेटाले सर्वहाराकै जीवन बाँचेजस्तो मैले देखेँ।’

त्यही अनुभूति संग्रहालयमा प्रवेश गर्नेहरूलाई गराउन सकिने उनी बताउँछन्। 

संग्रहालय निर्माणका लागि प्रज्ञा प्रतिष्ठानले ७ करोड ११ लाखको टेण्डर जेबी ठेकेदार कम्पनीलाई दिएको छ।

‘अहिले भत्काउने काम सुरु गरिएको छ। त्यो केही दिनमा भत्काएर सकिनेछ। अनि शिलान्यास गर्नेछौँ’, उपाध्याय भन्छन्। 

शिलान्यास भएको एक वर्षमा संग्रहालय पूर्ण रुपमा निर्माण हुने उनको दाबी छ। यति भइसकेपछि किस्सामा, सम्झनामा र शब्दमा बाँचेका देवकोटा आफ्नै घरको संग्रहालयमा पनि जीवन्त बाँच्नेछन्।

‘कस्ता थिए त देवकोटा ?’ संग्रहालयमा पुगेर फर्किनेहरूले पक्कै अनुमान लगाइसक्नेछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .