ad ad

कला


जब सत्यमोहनले नै भने– मर्नुअघि गिरीशले लेखेको मेरो जीवनी हेर्ने इच्छा छ

जब सत्यमोहनले नै भने– मर्नुअघि गिरीशले लेखेको मेरो जीवनी हेर्ने इच्छा छ

किताब लेखिरहेका बेला जहाँ अड्कियो, त्यसबारे सोध्न गिरीश गिरी थुप्रैपटक सत्यमोहन जोशीको घर पुगेका छन् (तस्बिरः नेपथ्य)


यज्ञराज जोशी
फागुन २८, २०७८ शनिबार १७:१५, काठमाडौँ

कुमार नगरकोटीको पुस्तक ‘कल्पग्रन्थ’ भर्खरै सार्वजनिक भएको थियो। जसको एकप्रति उनी शताब्दी पुरुष सत्यमोहन जोशीलाई उपहार दिन चाहन्थे। यसका लागि नगरकोटीले सम्पर्क–सूत्रका रूपमा पत्रकार गिरीश गिरीसँग अनुरोध गरे। 

गिरीश त्यसबेला श्रृंखलाबद्ध रूपमा सत्यमोहनको संस्मरण लेखिरहेकाले उनको पहुँचबाट नगरकोटी जोशीसम्म पुग्न खोजे। 

गिरीशले ३० वर्ष समाचारकक्षमा बिताउँदा गैरराजनीतिक विषयवस्तुमै कलम चलाए। कला, सम्पदा, संस्कृतिमा उनको विशेष लगाव र दक्खल रह्यो। त्यस्ता घटनाक्रमलाई पुष्टि–पुनर्पुष्टि गर्न र आफ्नो रिपोर्ट खँदिलो ​बनाउन उनले थुप्रैपटक संस्कृतिविद् सत्यमोहनसँग भेटवार्ता गरेका थिए। 

पछि भेटघाट औपचारिक विषयमा मात्र सीमित भएन, अनौपचारिक पनि हुन थाले। गिरीश कयौंपटक सत्यमोहनको घरमै पुगेर सम्वाद गर्न थाले। 

रिपोर्टबाहेक अन्य विषयवस्तुमा खुला रूपमा बहस हुन थालेपछि गिरीशलाई लाग्यो– ‘कति सञ्चारकर्मी पनि सत्यमोहन जोशीलाई काठमाडौंको नेवार, यहाँको संस्कृतिविद्का रूपमा मात्रै चिन्छन्। तर उनको दायरा निकै फराकिलो रहेछ। उनका कतिपय अनुभव त इतिहासलाई नै चुनौती दिने हिसाबका थिए।’​

निरन्तर भेटघाटले सत्यमोहनसँग गिरीशको घनिष्टता बढ्दै गयो। सत्यमोहन मन खोलेर कुरा गर्न थाले। त्यही मेसोमा गिरीशले एकदिन अनुरोध गरे, ‘तपाईंसँग भएका वार्तालाप म रेकर्ड गर्न चाहन्छु। अनुमति दिनुहुन्छ?’

‘उहाँले मलाई विश्वास गर्ने भएकाले होला, एकैचोटिमा हुन्छ भन्नुभयो’, गिरीश सम्झन्छन्, ‘त्यसपछि मैले उहाँसँगका कुराकानीलाई सेतोपाटीमा शृंखलाबद्ध रूपमा छाप्न थालेँ।’

सत्यमोहनको करिअरको सुरुवात नै नेपालमा पञ्चवर्षीय योजनाबाट भएको थियो। २००१ सालमा तथ्यांक संकलनका लागि उनी तनहुँ–लमजुङमा सर्भेयर भएर खटिए। 

त्यसबेला फरक संसारमा पुगेपछि त्यहाँका लोकगीत, लोकसंस्कृतिहरू नोट गरेर ल्याए। पछि ती संकलनलाई ‘हाम्रो लोकसंस्कृति’ पुस्तकको रूप दिए, जसले मदन पुरस्कारसमेत पायो।

सत्यमोहनले दोस्रो मदन पुरस्कार ‘नेपाली राष्ट्रिय मुद्रा’ पुस्तकका लागि पाए। जसमा नेपालका प्राचीनकालदेखिका मुद्राका बारेमा उल्लेख छ।

२०२६ सालमा उनी प्रज्ञाप्रतिष्ठानको सहप्राज्ञमा मनोनयनमा परे। २०२७ सालमा जुम्ला गएर सिजा उपत्यकाबारे खोज अनुसन्धान गरी नेपाली खस भाषाबारे लेखिएको पुस्तकबाट उनले मदन पुरस्कारमा ‘ह्याट्रिक’ गरे। 

यसका साथै नेपालको पहिलो नक्सा तयार पार्दाको सदस्य, पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक, सांस्कृतिक संस्थानको स्थापना, अरनिकोको पहिचान तथा रंगमञ्चको विकासमा पनि उल्लेखनीय भूमिका निर्वाह गरेका व्यक्तित्व हुन्–  १०२ वर्षीय सत्यमोहन। 

गिरीशले लेखेका सत्यमोहनका संस्करणहरू पाठकले रुचाए। गिरीशले पाठकका प्रतिक्रिया सत्यमोहनलाई पनि सुनाउँथे। सत्यमोहनलाई अरूले पनि राम्रो छापिएको बताउँथे। त्यसपछि सत्यमोहन र गिरीशको सम्बन्ध झनै प्रगाढ बन्यो। सत्यमोहन अझै मन खोलेर कुरा गर्न थाले। 

‘उहाँले एकदमै नजिकपना महसुस गराउनुहुन्थ्यो। कुरा गर्दागर्दै कहिलेकाहीँ आफ्नो चाउरिएका औंलाहरूको मुजा परेका छालाले मलाई छुनुहुन्थ्यो। उहाँको त्यो तातोचिसो मिश्रित छुवाइले मलाई अर्कै खालको महसुस गराउँथ्यो। ऊर्जा दिन्थ्यो’, गिरीश भन्छन्।

सोही सम्बन्धका आधारमा गिरीशले लेखक नगरकोटी र प्रकाशक संस्था बुकहिलका अध्यक्ष तथा संस्थापक भूपेन्द्र खड्कालाई लिएर सत्यमोहनको घर पुगे। अनि नगरकोटीले आफ्नो पुस्तक सत्यमोहनलाई दिए। 

यस क्रममा भूपेन्द्रले सत्यमोहनसँग मदन पुरस्कार पाएका तीन पुस्तक ऐतिहासक भएकाले आफूहरूलाई पुनः प्रकाशनको अधिकार दिन अनुरोध गरे। खस भाषाको उत्पत्तिबारे लेखिएको कर्णालीको पुस्तकको अधिकार सोसियल साइन्स वहाःले लिएकाले सम्भव थिएन। 

‘हाम्रो लोकसंस्कृति’ र ‘नेपाली राष्ट्रिय मुद्रा’ पुनः प्रकाशन गर्न सत्यमोहनले स्वीकृति दिए। 

लगत्तै गिरीशतर्फ देखाउँदै उनले भने, ‘छापिसकेको पुस्तक कति छाप्ने? सबै आइसकेकै कुरा छ। मेरो मनको कुरा गर्नुहुन्छ भने मलाई मर्नुभन्दा पहिले यो मान्छे (गिरीश) ले लेखेको मेरो किताब हेर्ने इच्छा थियो। उहाँले लेख्ने मेरो जीवनी एकचोटि हेर्न मन थियो।’

त्यसलगत्तै संवाद टुंगियो। कफी खान बसेका बेला कुमार र भूपेन्द्रले ‘यस्तो मान्छेले आफ्नो जीवनी लेखिदियोस् भनेर अनुरोध गर्दा पनि तपाईं कहाँ अल्झेको’ भन्दै गिरीशलाई सत्यमोहनको जीवनी लेख्न प्रेरित गर्न थाले। 

‘जे गर्नुपर्छ म गर्छु। तपाईं यो किताब गर्नुस्’ भन्दै भूपेन्द्रले ढाडस दिएपछि गिरीश बल्ल जीवनी लेख्ने सोचमा पुगे। 

‘संस्करणका शृंखलाहरू लेख्दा नै किताबहरू आउनुपर्छ भनेर मान्छेहरू कमेन्ट गर्थे। तर मैले किताबको बारेमा कहिल्यै सोचिनँ’, ६ महिनाअघिको कुरा सम्झिँदै गिरीशले भने, ‘सत्यमोहनको अनुरोध र प्रकाशक संस्थाको पनि ढाडसपछि म जागिर पनि छाडेर किताब लेखनमै केन्द्रित भएँ।’

लगत्तै सत्यमोहनकहाँ गएर गिरीशले आफू किताब लेख्ने निर्णयमा पुगेको र त्यसका लागि जागिर पनि छाडेको सुनाए। 

‘जागिर नै छाडेको अनि जीवन कसरी चल्छ त?’, सत्यमोहनले सहमति जनाउँदै त्यसबेला गिरीशलाई सोधेका थिए। 

पछि सत्यमोहनका नाममा अमेरिकामा बस्ने नेपालीहरूले एक हजार डलरको पुरस्कार स्थापना गर्ने निर्णय गरेछन्। त्यो पुरस्कार जागिर छाडेर आफ्नो किताब लेख्न खटिएका गिरीशलाई दिन सत्यमोहनले सिफारिस गरेछन्। 

‘मैले पुरस्कारका लागि यो काम गरेको होइन। भोलिपर्सि किताब आएपछि मान्छेहरूले किनेर त्यसबापत रोयल्टी आइहाल्छ नि’ भन्दै गिरीशले पुरस्कार अस्वीकार गरे। 

पहिलेदेखि नै संस्मरणहरू लेखिरहेकाले ३० प्रतिशतजति सामग्री पुरानो रेकर्डहरूबाट गिरीशले प्रयोग गरे। त्यसमा पनि थुप्रै संशोधन गर्नुपरेको थियो।

किताब लेख्ने क्रममा सत्यमोहनसँगको भेटघाट नै चुनौतीपूर्ण हुन्थ्यो। सय वर्ष नाघिसकेका उनको स्वास्थ्य अवस्था सधैं एकनासको हुन्थेन। सत्यमोहनलाई बोल्न ‘मुड’ चाहिन्थ्यो। कतिपय बेला सत्यमोहन ‘ल आज रेकर्डिङ बन्द गर्नुस्’ भन्दै गफिन थाल्थे। धेरै कुरा दोहोरिहन्थे तर पनि केही नयाँ कुरा आइहाल्छ कि भन्ने आशामा गिरीश सत्यमोहनलाई नरोकिकन सुनिरहन्थे। 

भेटघाटको कुनै निश्चित समय हुन्थेन। लेखिरहेका बेला जहाँ अड्कियो, त्यसबारे सोध्न गिरीश राति अबेर पनि थुप्रैपटक सत्यमोहनका घर पुगेका छन्। 

कतिपय कुरा विस्तारमा जान्न इन्टरनेट, मदन पुरस्कार पुस्तकालय तथा अन्य विभिन्न ठाउँमा उनले घन्टौं बिताएका छन्। पुरानो शारदा पत्रिकामा सत्यमोहनले लेखेका लेख, मदन पुरस्कार पाउँदा उनले गरेका सम्बोधनहरूको फोटोकपि गरेर ल्याएका छन्। उनका समकक्षी र उनलाई नजिकबाट चिन्नेहरूसँग पनि गिरीशले सोधपुछ गरेका छन्।

जीवनी लेखनमा सम्पूर्ण रूपमा सत्य कुरा नआउने आलोचना गिरीशले पनि सुनिरहेकै हुन्। कसैले तथ्य–तथ्यांकबारे पनि टिप्पणी गरेका छन् भने ती पनि गिरीशले अध्ययन गर्थे। बोलेका कुरा र तथ्य फरक देखिएमा ती कुरा पुनर्पुष्टि गर्दै सच्याउँथे। 

लामो समयदेखि गिरीश सत्यमोहनको संगतमा रहे। केही सन्दर्भ सामग्री पहिलेदेखि नै संकलन गरेका थिए तर पछिल्ला ६–७ महिना उनले जागिर नै छाडेर पुस्तक लेखनमा बिताएका हुन्।

पुस्तकको पहिलो प्रति छापिँदा सत्यमोहन किस्ट अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा उनलाई अक्सिजन दिएर राखिएको थियो।​

​गिरीश अस्पतालै पुगे। 

‘सर किताब’ भन्न नभ्याउँदै रोगले थलिएका सत्यमोहनको अनुहारमा एक्कासि चमक देखियो। 

‘पहिले त तीन-चारचोटि ढोग्नुभयो। आँखा पनि रसिलो भएर आयो। कस्सेर समात्नुभयो र पाना पल्टाईपल्टाई पढ्न थाल्नुभयो’, त्यो भावुक क्षण सम्झिँदै गिरीश भन्छन्, ‘जबकि पाण्डुलिपि नै उहाँले हेर्नुभएको थियो। करेक्सन गर्नुभएको थियो। तर पनि किताब हात पर्दा छेउमै रहेका आफन्तहरूतर्फ एकपल्ट नहेरी आँखा नझिम्काई उहाँ पढ्न थाल्नुभयो।’

सत्यमोहनको अनुहार उज्यालो देखेपछि उनलाई स्याहार गर्न पुगेकाहरू पनि अचम्ममा परे। किताब ल्याइदिएकामा गिरीशलाई सबैले धन्यवाद दिए।

‘त्यो क्षण, मेरा लागि किताब लेख्नुभन्दा पनि ठूलो थियो। मैले गरेको मिहिनेतले एउटा महत्त्वपूर्ण मान्छेको शारीरिक अवस्थामा फूर्ति ल्याइदिएको आँखाअगाडि देखिरहेको थिएँ। त्यसले मलाई निकै सन्तुष्टि मिल्यो’, गिरीश भन्छन्।

सत्यमोहनको जीवन भोगाइका धेरै कुरा बाहिर आइसके पनि यस पुस्तकले भने उनको जीवन दर्शनलाई पनि समेट्न खोजेको गिरीश बताउँछन्।

‘यत्रो लामो जीवनमा उहाँले के बुझ्नुभयो? उहाँको जीवनको सार के हो? मेरो जीवनको दर्शन के हो भन्ने आइदिएहुन्थ्यो भन्ने उहाँको पनि चाहना थियो’, गिरीश भन्छन्, ‘नयाँ पुस्तासँग हाम्रो पुस्ताले पाएको महान् मान्छेलाई जोड्न सक्छु कि भन्ने प्रयास हो यो किताब। त्यहाँनिर म सफल भएँ भने पुस्तकको ठूलो सफलता हुनेछ।’

बुकहिलले यही चैत पहिलो साता पुस्तक बजारमा ल्याउने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .