ad ad

कला


पल शाहको लोकप्रियता : अहिले गुमनाम, पहिले सेलिब्रेटी

पल शाहको लोकप्रियता : अहिले गुमनाम, पहिले सेलिब्रेटी

राधिका अधिकारी
जेठ ४, २०७९ बुधबार १३:२८, काठमाडौँ

केही समय पछाडि फर्किएर हेरौं। धेरै पर पुग्नुपर्दैन, झण्डै साढे एक महिना अगाडि सम्झिए हुन्छ। जतिबेला स्थानीय निर्वाचनको चर्चा खासै चलेको थिएन, सारा मानिसको ध्यान तनहुँ कारागारमा रहेका नेपाली चलचित्रका नायक पल शाहतिर केन्द्रित थियो।

शाह कारागार चलान हुनुअघि केही समय तनहुँमा मिडिया मेलाजस्तै लाग्यो। स्थापित मिडियादेखि उम्रँदै गरेका सबैजसो मिडियामा पलको पलपलको खबर सार्वजनिक भइरह्यो। विभिन्न युट्युब च्यानलहरुले ‘अन्टसन्ट’ टाइटल राखेर भ्युज ताने। कहिले काठमाडौं, कहिले तनहुँ त कहिले पोखराका सडक ताते। कहिले पक्षमा कहिले विपक्षमा नारा लागे। नारा जुलुसमा स्कुले कलिला नानीहरुदेखि बयस्क युवती अग्रभागमा देखिए।

यो सबै हर्कत हेरिरहेको प्रेस काउन्सिलले एक्सन लियो। विभिन्न युट्युबका बुम बोकेर तनहुँ पुगेकाहरु काठमाडौं फर्किए। कतिले आफ्ना ‘हेडलाइन’ एडिट गरे। तर, पलको स्थान यथावत नै रहिरह्यो।

पल शाह जेलमा के गर्छन्, के खान्छन्, जेलभित्रका अरु मान्छेसँग कस्तो व्यवहार गर्छन्, कस्तो बिछ्यौनामा सुतेका छन्, समय कसरी कटाइरहेका छन्, उनलाई भेट्न कहाँबाट को पुगे, कसले के भने ? यस्तै यस्तै खबर सार्वजनिक भइरहन्थ्यो। चिया पसल, चोक र सार्वजनिक यातायातमा पनि उनको चर्चा गर्ने मानिस भेटिन्थे। भेटिएका मध्ये कोही पललाई निर्दोष रहेको दाबी गर्थे, कोही उनी गलत नै हुन् भनेर दोषी करार गर्थे।

पलले मात्रै होइन, यो समय पलकी आमा, पलकी बैनी, पलका बुवा, पलका आफन्त, पलका साथी सबै–सबैले मिडियामा स्पेस पाए। कतिले उनकी बहिनीका आँसु बेचे, कतिले आमाका बेदना। केही फिल्मकर्मी यही विषयमा बोलेका अभिव्यक्तिका कारण विवादमा फसे। कतिलाई पल प्रकरणले नै चर्चामा ल्यायो।

नेपाली फिल्म उद्योगमा फस्टाउँदै गरेका पलविरुद्ध गत फागुन १० मा एक नाबालिग गायिकाले जर्वजस्ती करणीको मुद्दा दर्ता गरिन्। त्यसको पाँच दिनपछि प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न पुगेका पलले सबैको ध्यान खिचे। सार्वजनिक स्थान, सामाजिक सञ्जाल र बौद्धिक वर्ग नै पनि पक्ष र विपक्षमा बाँडिए। कसैले पलको बचाउ गरे कसैले आफैं न्यायाधीश बनेर बलात्कारी करार गरे।

देशका नाम चलेका कानून व्यवसायी यो केसमा जोडिएर तनहुँ पुगे। पलको पक्षमा भन्दा नाबालिग गायिकाको पक्षमा बहस गर्न थुप्रै नाम चलेका कानून व्यवसायी तनहुँ पुगेका थिए। यही केसमा गत चैत्र १० गते पल जेल चलान भए। उनलाई तनहुँ जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दियो। यो आदेशपछि पनि मिडियामा उनको स्थान गुमेको थिएन।

जिल्ला अदालतको आदेशविरुद्ध पलले चैत्र १५ मा उच्च अदालत पोखरामा निवेदन दिए। जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेश बदर गरी पाउँ भन्दै उनका कानुन व्यवसायीले उच्च अदालतमा उजुरी दर्ता गराए। त्यसपछि झन ठूलो अड्कल बाजी सुरु भयो। अब के होला उच्च अदालतको निर्णय भन्ने खालका समाचार सम्प्रेषण भए।

वैशाख ११ र १२ मा स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता भयो। काठमाडौं महानगरको मेयरमा उठ्ने बताउँदै आएका बालेन शाहले पनि आफ्नो उम्मेदवारी दर्ता गराए। मिडियाको ध्यान चुनाव केन्द्रित हुनै लागेका बेला बैशाख ४ गते पीडित भनिएकी नाबालिग गायिकाले बकपत्रका क्रममा आफ्नो बयान फेरिन्। उनले पलले आफूलाई बलात्कार नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफ्नो बयान भनेर अदालतमा बुझाएको बयान आफ्नो नभएको दाबी गरिन। लगत्तै पीडितका बाबुले पनि बयान फेरिदिए।

त्यसपछि पल शाह झन् धेरैका चासोका विषय बने। उनको विषयमा नखुलेका सेलिब्रेटी पनि समाजिक सञ्जालमा खुलेर आए। नबालिगको बयान नफेरिँदासम्म मौन रहेका सेलिब्रेटी पनि ‘मैले त भनेकै थिए’ भन्नेखालका टिप्पणी लिएर उपस्थित भए।

पीडितले बयान फेरिन्, अब छुट्लान् त पल ? पलको परिवारले पुनः पीडितलाई होस्टाइल गरायो लगायत पलको पक्ष र विपक्षमा लेखिने र बोलिने क्रमको अन्त्य भएन।

नाबालिगले बयान फेरेपछि एकाथरीको तर्क थियो, पल अब छुटिहाल्ने छन्। कानून व्यवसायी भन्थे पीडित होस्टाइल हुँदैमा पीडक निर्दोष हुँदैन।

वैशाख ३० गते साँझ स्थानीय निर्वाचन सम्पन्न भयो। देशका कतिपय स्थानमा त्यही मध्य रातिबाट मतगणना सुरु भयो। चर्चा र बहस सिर्जना गरिरहेका पल शाह एकाएक चर्चाबाट गायव भएका छन् । अहिले पल के गर्दै छन्, उनमाथि अर्को बहस कहिले हुन्छ, उनको पक्षमा वकालत गर्ने कानून व्यवसायी उनी छुट्ने नछुट्ने सम्भावनाका बारेमा के भन्छन् ? कसैको चासोको विषय बनेको देखिँदैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .