अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको १ हजार ४०० वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको बताएका छन्।
अर्थमन्त्री शर्माले बिहीवार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्ध माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।
उनले सांसदहरुले अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरु कटौती गरेको भन्ने आरोप लागे पनि आफुले अघिल्लो सरकारले बजेट कार्यान्वय गरिरहेको बताए।
मन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको १४०० वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको दाबी गर्दै त्यो बेला टेन्डर भएका सडकलाई भने आफूले नरोकेको पनि बताए।
अघिल्लो सरकारले ल्याएका कार्यक्रम कार्यान्वयन नभएको भन्ने विषयमा शंका गर्न आवश्यक नभएको मन्त्री शर्माले बताए।
उनले भने, ‘विगत सरकारले गरेका कार्यक्रमहरुलाई न्यूनीकरण गरियो की भन्ने प्रश्न छ त्यो भ्रम मात्रै हो। अघिल्लो सरकारले ल्याएका १४ सय सडकहरू २४ लाखका थिए। त्यसलाई कार्यन्वयन नगर्ने भनेर राखेको थिएँ। प्रतिस्थापन विद्येयक राख्दा त्यो कुरामा समग्रलाई राखेर सबै कटाइयो भनेको जस्तो गरियो। त्यी सडक बनेर लाभ दिने र खर्च हुने अवस्थाहरु पनि थिएन। त्यसमा टेण्डर भएर अगाडि बढेका आयोजनालाई रोकिएको छैन। १४ सयमा घटेर आएको भन्दा बाहेक अन्य बजेट अघिल्लो सरकारले ल्याएको बजेट नै यो सरकारले कार्यान्वयन गरिरहेको छ।’
उनले अब सरकारले आफ्ना कुरा, सदनले आफ्ना कुरा र जनताले आफ्ना कुरा नभएर सरकार, सदन र जनताका एउटै कुरा, एउटै संकल्प गरेर देशको गरिबी अन्त्य गर्न लाग्नु पर्ने आवश्यकता रहेको बताए।
अर्थमन्त्री शर्माले मुलुकमा समाजवादउन्मुख अर्थतन्त्र बनाउनको लागि उत्पादन र उत्पादत्व बढाउनु पर्ने आवश्यकता भएकाले आगामी वर्षको बजेटको प्राथमिकता त्यता तिर रहेको बताए।
उनले राजनीतिक दलहरुले आर्थिक क्षेत्र र विकासलाई राजनीतिकरण नगरेर राष्ट्रको हितको लागि सोची राष्ट्रिय संकल्प गर्नु पर्ने अवस्था आएको बताए।
अर्थमन्त्री शर्माले नेपालमा सबै कुराले अनकुलता रहेकाले अनकुलतालाई प्रयोग गरेर मुलुकको गरिवी, बेरोजगारीको समस्या छोटो समयमा समाप्त गर्न सकिने बताए।
Shares
प्रतिक्रिया