दसैँ आउँदा, तिहार आउँदा हातमा टीका बोकी
तिम्रै बाटो हेर्छिन् आमा आँसु पुछीपुछी
बुढी आमा रोइराछिन् धरर
यो दसैँमा म आइनँ भने
निष्ठुरीलाई दाइ तिम्ले नभने
हिजोआज नारायण रायमाझी जब आफ्नै यो गीत रेडियोमा सुन्छन्, उनलाई दसैँको आभाष हुन्छ। बाल्यकालको सम्झना भने बेग्लै छ। उतिबेला पाल्पामा कल्याङकुलुङ गर्दै मालचरा संगीतको तालमा कराउन थाल्थे। कल्याङकुलुङ सुनिन थालेपछि उनलाई दसैँ आउन सुरु हुन लागेको भान हुन्थ्यो।
उनले निकै वर्ष भयो कल्याङकुलुङ गरेर दसैँ बोलोउने मालचराको आवाज सुन्न नपाएको। रेडियोमा मालश्री धुन बज्न थालेपछि चलचित्र निर्देशक रायमाझी घरको छतमा निस्केर आकाश हेर्दै सोच्छन्, ‘हिजोआज कता गए होलान् कल्याङकुलुङ गर्दै बस्ती गुञ्जायमान बनाउने मालचराहरु।’
बर्खामासमा धमिलिएका खोलामा कञ्चन पानी संगीतकै लय समातेर बग्थ्यो। फाँटभरि सुसेली हाल्दै पहेलपुर धानका बाला लहराउँन थाल्थे। आकाश खुलेर मुस्कुराइरहेको हुन्थ्यो। हिलो हुँदैनथ्यो हिड्ने बाटोमा। न जाडो न गर्मी ठिक्कको मौसम, रायमाझीसँग दसैँ सुरु हुने बेलाको यो माहोलले दिने आनन्द ब्यक्त गर्ने शब्द आज पनि छैनन्।
भरियालाई भारी बोकाएर ढाकरभरि दसैँ बोकी गाउँ फर्किने परदेशीको यादले अहिले पनि उसैगरी रोमाञ्चित बनाउँछ उनलाई। भन्छन्, ‘काँधमा रेडियो राखेर बजाउँदै परदेशी घर फर्किन्थे र पो दसैँ आउँथ्यो ऊ बेला। अहिले त नौरथा लागेपछि, कति टीकाको अघिल्लो दिनमै पनि विदेश उड्छन्। आउनेहरुमा पनि उहिले जस्तो उत्साह देखिँदैन।’
दसैँका रमाइला पक्ष मात्रै थिएनन्। स्कुलले बिदाभरिलाई दिने गृहकार्यले नमज्जासँग बिथोल्थ्यो उनको मथिङ्गल। बिदाको रमाइलो सम्झन्थे अनि सम्झन्थे स्कुलको गृहकार्य।
उनको मन कुटुक्क खान्थ्यो। त्यही बेला रेडियोमा सुनिन्थे नारायण गोपाल, ‘बिछोडको पीडा नसकी खप्न दसैँको बेलामा, तिमीलाई भेट्न आउँदै छु प्यारी रमाइलो गाउँमा।’ उनी नारायण गोपालसँगै भाका मिलाउँथे र दसैँलाई स्वागत गर्थे।
नौरथा सुरु भएपछि रेडियोले मालश्री धुन बजाउँथ्यो। पिँढीको माथि किलामा झुण्डिएको पानासोनिक रेडियोले मालश्री धुन बजाउन थालेपछि घरमा आइपुग्थे बास्नादार नयाँ कपडा। मालश्री लय र नयाँ कपडाको बास्ना एकैपटक ठोकिन्थ्यो आँखा र कान हुँदै मस्तिष्कमा।
रेडियो दिनमा एकपटक होइन, पटक पटक मालश्री धुन बजाउँथ्यो। दिनैभरि रोमाञ्चित भैरहन्थ्यो मन। उनको घरको पल्लो डाँडामा कोत घर थियो। कोत घरमा जमरा राखेपछि हरेक साँझ नगरा बजाएर सन्ध्या जगाइन्थ्यो। नगराको त्यो धुन अहिले पनि गुञ्जिरहन्छ।
दसैँ आउनु एक महिना अघिबाटै पिङको तयारी हुन्थ्यो। गाउँमा पिङका लागि बाबियो बाट्न थालेपछि नै उनलाई स्कुल जान मन लाग्दैनथ्यो। तर सजिलो थिएन स्कुल छोडेर हिँड्न। कक्षाकोठामा ज्यान उनको, मन भने गाउँमा दाजु पुस्ताले बाटिरहेको पिङको लठ्ठामा हुन्थ्यो।
उनको घर नजिकै ठूलो पिपलको रुख थियो। त्यही रुखमा पिङ हालिन्थ्यो। गाउँभरिका मान्छे भेला हुन्थे र पालैपालो मच्चिएर पिपलको टुप्पामा पुर्यउँथे पिङ। गाउँका मानिसहरु जम्मा हुन्थे र रातभरि रमाइलो गर्थे, पिङ खेल्थे, नाच्थे। हिजोआज चौतारो, तन्नेरी पिपलको रुख बुढो भयो, उसैगरी उभिरहेको छ। तर पहिलाको जस्तो पिङ हुँदैन। रातभरि जम्मा हुँदैनन् गाउँलेहरु। रायमाझी मनभरि पिपल सम्झन्छन्, चौतारो सम्झन्छन् र काठमाडौंमा दसैैँ मनाउँछन्।
नारायण भन्छन्, ‘त्यो समयको जस्तो उमंग जीवनमा कहिल्यै आएन। दसैँ आएपछि ती दिनहरुको सम्झनाले सताउँछ। रमाइला दिन त सम्झनामा मात्रै सिमित भए अब।’
टीकाको दिनलाई फूलपातीबाटै तयारी सुरु हुन्थ्यो। गोठमा गाइवस्तु टन्नै, फूलपातीदेखि नै दिनको दुई भारी घाँस काटेर टीकापछिका केही दिनसम्मलाई जोहो गर्थे रायमाझी। टीकाको दिन पनि बिहानै उठेर पहिला एकभारी घाँस ल्याउनु पर्थ्यो।
त्यसपछि नुहाएर नयाँ लुगा शरीरमा, टाउकोमा तोरी तेल लगाएर कपाल कोरेपछि संसार अर्कै भैजान्थ्यो। आफ्नो घरमा टीका लगाएपछि आफन्तकोमा टीका लगाउँदै हिँड्थे। टीका लगाएपछि आफन्तकोमा खानै पथ्र्यो। साँझ घरमा सबै केटाकेटी बसेर कसको पैसा धेरै भनेर दाँजेका ती दिन सम्झँदा अहिले पनि हिरिक्क हुन्छ उनको मन।
दक्षिणाको सम्झना गर्दा कहिल्यै बिर्संदैनन् उनी एउटा घटना। उनलाई उमेर ठ्याक्कै सम्झना छैन। त्यस्तै ६/७ वर्षका हुँदा हुन्, त्यो वर्ष दाजुको दक्षिणा एक रुपैयाँ पुग्यो। उनको ५ पैसा कम भयो।
दाजुभाइ सँगै मावली हजुरआमाकोमा टीका लगाउन गएका थिए। हजुरआमाले टीका लगाएर दुनामा जमरा र दक्षिणा राखेर दिइन्। पैसा खस्यो, उनले देखे, हजुरआमाले देखिनन्। उनले झरेको त्यो पैसा टिप्न पनि सकेनन्। त्यसपछि दाइको भन्दा ५ पैसा कम भयो उनको दक्षिणा। त्यो साँझ नारायणले हजरबुबालाई गनगन गरे, खुसी बनाए र ५ पैसा लिएर दाजुको बराबर दक्षिणा बनाए। अहिले ती दिन सम्झँदा मात्रै पनि उमंग आउँछ मनमा।
दसैँमा नै उनको मावलीमा सराइ खेल खेलिन्थ्यो। गाउँभरिका मान्छे जम्मा हुन्थे, तरबार नचाएर खेल्थे। उनलाई पनि सराइ खेल्ने ठूलो शौख थियो। केही समय उनले पनि सिके। पहिला लठ्ठीमा सिके। त्यसपछि तरबारमा सिके। तर उनले आफ्नो कौशल देखाउन पाएनन्। पुरा गर्न नपाएको यो शौख अहिले पनि उनको मनमा कतै गडेर बसेको छ।
पाल्पाबाट तराई झरेपछि दसैँ आउने संकेत फरक भए। पहाडमा जस्तो एक ढिक्का थिएन तराईको जनजीवन। सुरुसुरुका केही वर्ष कहिले दसैँका लागि पाल्पा जाने भन्ने हुटहुटी हुन्थ्यो उनको मनमा।
तराई झरेको दोस्रो वर्षबाट भने त्यहीँ उनका साथी बने, त्यहीँ मन बस्यो, छोडेर जान मन लाग्दैनथ्यो। तर जानु पथ्र्यो। गाउँ फर्किंदाको उमंगसँगै साथी छोड्नु पर्दाको पीडा पनि बस्न थाल्यो मनको कुनामा। उमेर बढेसँगै दुखाइका सिलसिला पनि बढेर गए। कहिले के नाममा, कहिले के नाममा कहीँकतै दुखेकै हुन्थ्यो मन।
उमेर र आवश्यकतासँगै उनी काठमाडौँ आए। काठमाडौँ आएको दोस्रो वर्ष उनी घर फर्किन पाएनन्। हरेक वर्ष ब्रिटिस क्याम्पमा नवमीमा कार्यक्रम हुन्थ्यो। त्यो वर्ष उनले पनि सहभागी हुने अवसर पाए।
अवसर छोड्न मन लागेन। त्यही कार्यक्रमले गर्दा उनले घर जान पाएनन्। अघिपछि व्यस्त हुने काठमाडौँको सडक सुनसान भयो। भिडभाड हुने असनको गल्लीमा कोही भेटिएन। चोकैपिच्छे भेटिने व्यापारी कतै देखिँदैनथे। उनी एक्लो भए। त्यो वर्ष उनी निकै रोए। कोठाबाट बाहिर निस्किएनन्।
त्यसपछि भने उनले सकेसम्म बरु अवसर छोडे, दसैँ छोडेनन्। अहिले त सबैको बसाइ काठमाडौंमै, गाउँ जाने भन्ने हुँदैन।
भन्छन्, ‘त्यो बेलाको दसैँ र अहिलेको दसैँमा तुलना गर्नै मिल्दैन। त्यो समय नै अर्कै थियो, रमाइलो र खुसी बेग्लै थियो। पहिलापहिला ४ बजिसक्यो दसैँ जान लागिसक्यो, अब यो दसैँ भेट्न एक वर्ष कुर्नु पर्छ भन्ने हुन्थ्यो। दसैँ सकिदा यो वर्षको दसैँ गयो भन्ने हुन्थ्यो, परिवारको कोही छुटेझैँ मन दुख्थ्यो। अहिले त सबै औपचारिकता र कर्तव्य निर्वाह मात्रै बाँकी छ।’
प्रतिक्रिया