ad ad

कला


दुबईमा गुञ्जियो नेपथ्य, अमृतले नचाए प्रवासी नेपाली

दुबईमा गुञ्जियो नेपथ्य, अमृतले नचाए प्रवासी नेपाली

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १४:३९, काठमाडौँ

अवसरको खोजीमा विदेशीएका नेपालीलाई उनीहरुको पहिचानसँग जोड्दै नेपथ्यको दुबइ कन्सर्ट सम्पन्न भएको छ।

युनाइटेड अरब इमिरेट्स अन्तर्गत विश्वकै एक प्रमुख ब्यापारिक केन्द्र हो दुबइ। यो सहरभित्र विभिन्नखाले खेलकुद स्टेडियमहरु समेटेको विशाल परिसर ‘अल नासेर लिजरल्याण्ड’मै आइतबार नेपथ्य तेश्रोपटक प्रस्तुत भएको थियो।

अघिल्ला कन्सर्टहरुभन्दा थोरै बेग्लै यसपाला नेपथ्यले पहिलो गीत नै दर्शक नचाउने गरि 'हो रामा रामा' बाट सुरु गरेको थियो।

अरुबेला ‘आइस हकी’ खेलिने ‘कार्पेटले ढाकिएको बरफ मैदान’ सांगीतिक माहोलले सुरुदेखि तातिन पुग्यो।

खाडी राष्ट्र नेपाली कामदारका निम्ति प्रमुख गन्तब्य बन्दैआएका छन्। युएईले पछिल्लो समय नेपाली विद्यार्थीहरुलाई पनि आकर्षित गर्दैआएको छ। 

अमेरिकाको ‘न्यूयोर्क युनिभर्सिटी’ले एक दसकअघि स्थापना गरेको अबुधाबीस्थित विश्वविद्यालयमा पढ्दैआएका एक हुल विद्यार्थीहरु दुइ घन्टा लामो राजमार्ग यात्रा गरेर नेपथ्य अनुभवका लागि दुबइ आइपुगेका पनि भेटिए।

‘हामी १७ जना साथीहरु समूह बनाएरै आएका छौं,’ अल नासेरको परिसर भित्र भेटिएका संयम लामिछाने भनिरहेका थिए, ‘इन्टरनेटबाट नेपथ्य आउने खबर पाउनासाथ संगीतमा रुचि राख्ने साथीहरु यो यात्राको तयारीमा जुट्न सुरुगरेका थियौं।’

संयम एक वर्षदेखि उक्त विश्वविद्यालयमा कम्प्युटर र गणितका विद्यार्थी हुन्।

‘सानैदेखि नेपथ्यको गीत सुनेर हुर्किएको भएता पनि बुढानिलकण्ठ स्कुलको होस्टल जीवनले गर्दा कन्सर्ट हेर्ने मौका पाएको थिइनँ,’ संयम भनिरहेका थिए, ‘उच्च शिक्षाका लागि विदेश आएपछि भने बल्ल यो मौका जुरेको छ।’

संयम र उनीसँगै आएका थुप्रै छात्रछात्राहरुको हुल कन्सर्टभरि नाच्ने मात्र होइन, सकिएपछि ब्याण्डका सदस्यहरुसँग भेट्न पनि निकै आतुर देखिन्थे।

कात्तिकको तेश्रो साता सकिँदा पनि दुबई अझै न्यानो छ। यस्तो सहरमा एक त दर्शक श्रोताहरुले टेकेको भुइँ मुनितिर जमेको बरफ तापक्रम र खुट्टाका चापले टुक्रिँदै गरिरहेको आभास मिलिरहेको थियो।

यस्तो मैदानमा फेरि माथिबाट हिउँ परेकै भान पार्नेगरि कृत्रिम हिउँको वर्षा हुनथाल्यो। अर्थात्, दोश्रो गीत थियो ‘भेँडाको ऊनजस्तो’।

तेश्रो गीत नेपथ्यको सर्वकालीक लोकप्रिय ‘छेक्यो छेक्यो’ सम्म आइपुग्दा मैदानभरि जताततै नृत्य गर्नेहरु मात्र होइन, साथीहरुबाट बोकिएर नाच्न खोज्नेहरुको दृश्य पनि देखिन सुरुभइसकेको थियो।

खाडी राष्ट्रका बारेमा ब्याप्त कतिपय धारणाहरुले दुबइ सहर आइपुगेपछि बेग्लै अवतार ग्रहण गर्छ। यहाँ कन्सर्टमा रमाउन आउने युवा युवतीको पहिरन र उन्मुक्तता कतिपय पश्चिमा मुलुकहरुसँग तुलना गर्न मिल्ने स्तरको देखिन्छ।

यसरी यतैको वातावरणमा ढालिँदै गएका प्रत्येक फरक आकृतिहरुलाई झक्झक्याउने गरि गायक अमृत गुरुङले ‘तपाइहरुलाई तपाइको देशको माया लाग्छ?’ भनेर सोध्दा भएभरका दर्शकहरु एकाकार भएर ‘लाग्छ’ भन्न छुटाउँदैन थिए।

चौथो गीत अर्थात् ‘लामपाते सुरती’ गाउने बेलासम्म पनि हलमा दर्शकहरु आउने क्रम जारी थियो। यसरी प्रवेश गर्दैगरेका दर्शकहरु गेटैदेखि समुहमा नाच्दै भित्रिएको दृश्य रोचक देखिन्थ्यो।

‘चरी मर्‍यो’, ‘यो जिन्दगानी’ र भर्खरैको ‘शिरफूल शिरैमा’ जस्ता गीतहरु एकपछि अर्को बढ्दै गए।

त्यसपछि घरपरिवार छाडेर खाडीको तातो मरुभूमिमा कमाउन आएकाहरुको चित्र अंकित भिडियोलाई पृष्ठमा देखाउँदै 
ब्याण्डले गाउन सुरु गर्‍यो–

‘मै मरि जाउँला, जीवन छोट्टो छ’
यो क्रमलाई निरन्तरता दिँदै फेरि अर्को गीत आयो–
‘आमाको कोखमा बास मात्रै पाएँ नि, कुन देशको मरन हौ हजुर’

घरि मायालु त घरि आमाको सम्झना गराउने आफूहरुको परिस्थितीलाई टपक्क टिपेर तयार पारिएका यस्ता गीत गाइरहँदा अरबको हलमा उपस्थित नेपाली आँखा सलबलाइरहेको देखिन्थ्यो।

‘लाहुर जाने परम्परा उहिलेदेखिको हो,’ दर्शक भावनासँगै एकाकार हुँदै मञ्चबाट गायक अमृत भनिरहेका थिए, ‘संसार फेरियो, तर हाम्रो भाग्य फेरिएन। जेजस्तो भए पनि त्यो नेपाल आमालाई चाहिँ नबिर्सिदिनुस् है।’
त्यसपछि उही लाहुरे परम्परालाई सम्झाउनेगरि भर्खर सार्वजनिक अर्को मिठ्ठो गीत उनले प्रस्तुत गरे–

‘नैना ताल नैना ताल
घुमि आयो रेल
आँखामा लाउने कालो गाजल
बुलबुलेमा तेल
नैना ताल’

अझै पनि नेपालीको अवस्थामा कुनै परिवर्तन नआएको उल्लेख गरिरहँदा अमृतले यसरी विदेशमा बसेका नेपालीहरु फर्केपछि सबै मिलेर एकदिन जनस्तरबाटै मुलुकको भाग्यरेखा फेरिने आशा ब्यक्त गरे।

यसरी गीत सँगसँगै एउटा कथा पनि अघि बढिरहेको भान पार्ने कन्सर्टमा अबको पालो थियो राजनीतिक चेतनासँगै जोडिएको गीत ‘गाउँ गाउँबाट उठ– बस्ती बस्तीबाट उठ’।

यतिन्जेल मानिसहरु मात्र होइन, सिंगो हल उफ्रिरहेको भान पर्न थालिसकेको थियो।

दर्शकहरुमा जागेको नृत्यको यो तीब्र लयलाई समात्दै ब्याण्डले ‘मै नाचे छमछमी’, ‘तालको पानी’ र ‘रेशम’ गाउन्जेल जे जस्ता दृश्य देखिए त्यसले नेपथ्य कन्सर्ट उत्तेजक बनाउनुमा प्रस्तोता मात्रै होइन दर्शकको पनि उत्तिकै भूमिका रहन्छ भन्ने पुष्टि गरिरहेको देखिन्थ्यो।

अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरिरहँदा हलभरि जताततै साथीको काँधमाथि चढेर राष्ट्रिय झण्डा हल्लाउनेहरुले चरमोत्कर्षको अनुभूति गराइरहेका थिए।

‘नेपथ्यको उपस्थितीसँगै संगीत र देशप्रतिको माया दुवै जोडिएर आउने गर्छ,’ कन्सर्ट सकिएपछि पत्रकार महासंघ युएइका अध्यक्ष लक्ष्मण खनालको प्रतिक्रिया थियो, ‘प्रस्तुतीको हिसाबले यसपटक नेपथ्य कन्सर्ट अघिल्लो अनुभव भन्दा अझ उत्कृष्ट पाएँ।’

अन्यत्रका कन्सर्टहरुभन्दा अलिक बेग्लै अर्को दृश्य पनि दुबइमा देखिन्थ्यो, त्यो हो आयोजक स्वयं दर्शकहरुको हुलमा बसेर असिनपसिन हुँदै नाचिरहेको देखिनु।

‘यो व्यावसायिक सोँच भन्दा पनि लामो समयदेखिको सपनामा उभिएको आयोजना थियो,’ आयोजक आशिष पुरुष भनिरहेका थिए, ‘नेपथ्यलाई ल्याएर एउटा राम्रो कन्सर्ट प्रस्तुत गर्ने मेरो त्यो सपना पुरा भएको छ।’

ब्यवस्थापन, प्राविधिक लगायत १४ जनाको टोली बोकेर दुबइ आइपुगेको ‘टिम नेपथ्य’ मध्ये मञ्चमा भने गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए। नेपथ्य टोली कत्तिक २३ गते स्वदेश फर्किनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .