राजनीति


डकेन्द्र र मिलनको मत : ठूला दललाई ०८४ का लागि चुनौतीको घण्टी

डकेन्द्र र मिलनको मत : ठूला दललाई ०८४ का लागि चुनौतीको घण्टी

सागर न्यौपाने
बैशाख १९, २०८१ बुधबार ६:५३, काठमाडौँ

हुन त इलाम २ नेकपा एमालेकै उपाध्यक्ष सुवास नेम्बाङले जितिरहेकै क्षेत्र हो। अझ २०७९ काे चुनावमा त उनले एक्लै गठबन्धनबाट का‌ंग्रेस उम्मेदवार डम्बर खड्कालाई हराएका थिए।

त्यसैले नेम्बाङको निधनपछि वैशाख १५ मा भएको उपनिर्वाचनमा पनि आफ्नै उम्मेदवारले जित्नेमा एमाले ढुक्क हुनपर्ने हो।  त्यसमाथि यसपटक एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी र परिवार दलको पनि समर्थन थियो।

गठबन्धन नै बनेपछि सुहाङकाे जित सहज देखिन्थ्यो। जसका कारण एमालेलाई चुनावी दबाब खासै नहुनुपर्ने हो। 

तर, त्यसो भएन।

इलाम २ मा एमालेले चुनाव जित्न निकै मिहिनत गर्‍यो। सिंगो पार्टीपंक्ति चुनावी क्षेत्रमा परिचालन गर्‍यो। नेताहरू २ महिना अघिदेखि नै इलाममा केन्द्रित भए। अध्यक्ष केपी शर्मा ओली आफैँ चुनावी सभालाई सम्बोधन गर्न दुईपटक इलाम झरे।

प्राय: कटाक्षपूर्ण अभिव्यक्ति दिने उनले कसैलाई बिझाउने भाषण गरेनन्। निकै सचेत भएर संयमित भाषा प्रयोग गरे। जसको कारण थियो- इलाम २ मा पहिचान पक्षधरको माहोल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘क्रेज’।  

त्यसमाथि एमालेलाई पहिचानविरोधीको आरोप लागेको थियो। यस क्रममा पूर्वी क्षेत्रमा एमालेका कार्यक्रम बिथोल्ने प्रयास पनि भएका थिए। 

प्रदेश १ को नाम कोसी नामकरण गरिएकामा सो क्षेत्रका पहिचान पक्षधर रुष्ट थिए। त्यसमाथि इलाम २ काे उपचुनावमा पहिचानवादीका तर्फबाट यसअघि सुवास नेम्बाङलाई सहयोग गरिरहेका डकेन्द्रसिंह थेगिमसमेत उम्मेदवार बने। साथै नयाँ दल रास्वपाले स्थानीय मिलन लिम्बुलाई उम्मेदवार बनायो। कांग्रेस त उसै पनि बलियो प्रतिस्पर्धी थियो।

आफ्ना मत पहिचानवादी र मिलनले काट्दा त्यसको फाइदा कांग्रेसलाई हुने खतरा देखेर एमालेले मुख्य शक्ति इलाम २ मा लगायो। 

जसले अढाई दशकदेखि सुवास नेम्बाङले निरन्तर जितिरहेको सो क्षेत्रमा उनकै छोरा सुहाङलाई पनि सफल गरायो।

वैशाख १८ गते बिहान ५ नबज्दै अन्तिम परिणाम सार्वजनिक गर्दै निर्वाचन आयोगले सुहाङ निर्वाचित भएको घोषणा गर्‍यो।

तर यो परिणाम ‘सरप्राइज’ दिने खालको भने थिएन। स्वाभाविक थियो।

तर इलाम २ मा जसरी मत खस्यो, त्यसले भने धेरै कुराको संकेत गर्ने त्रिभुवन विश्वविद्यालयको नेपाल र एसियाली अध्ययन केन्द्र (सिनास) का कार्यकारी प्रमुख डा. मृगेन्द्रबहादुर कार्की बताउँछन्।

उक्त उपनिर्वाचन पुराना दलहरुलाई शिक्षा दिने खालको भएको उनको तर्क छ।

कार्कीको विश्लेषणमा नतिजा फरक आएको भए त्यसले राष्ट्रिय राजनीतिको कोर्सलाई अन्यत्रै लैजान सक्ने सम्भावना थियो। त्यसैले विशेष गरी दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले सबै शक्ति चुनाव क्षेत्रमा लगाए।

उता बझाङमा पनि एमाले कांग्रेसको प्रदेश सभा सिट खोस्न सफल भएको छ।

यसले के संकेत गर्छ त?

कार्कीका अनुसार उपचुनावले मुख्य चार सन्देश दिएको छ र यसलाई नजरअन्दाज गरे ०८४ को चुनाव मुख्य शक्तिहरूले सोचेभन्दा फरक हुनसक्नेछ।

एक, राई र लिम्बुको पहिचानको मुद्दा सम्बोधन।

इलाम २ मा यसपटक पहिचान पक्षधरले उठाएका उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बुले ११ हजार बढी मत ल्याए।

पहिलोपटक चुनाव लडेका उनी स्वतन्त्र उम्मेदवार थिए।

बिनापार्टी उनले पाएको मतको विश्लेषण गर्न ढिला गर्न नहुने बताउँछन् कार्की।

‘पूर्वका केही जिल्लामा किरात जनसंख्या धेरै छ। इलाममा पहिचानको पक्षमा आएको ११  हजार मतलाई बलियो शक्ति मान्नैपर्छ,’ कार्कीले नेपालखबरसँग भने, ‘आदिवासी जनजातिभित्र पनि राई र लिम्बुको पहिचान र इतिहास फरक रहेछ र त्यो पहिचानलाई फरक किसिमबाट डिल गर्नुपर्छ भन्ने एउटा सन्देश यो चुनावले दियो।’

दुई, प्रदेश नामकरणमा मिलनबिन्दुको खोजी।

कोसी प्रदेशको नामाकरणका विषयमा अब नसोच्ने हो भने पूर्वको राजनीति अर्कै बन्ने बलियो सन्देश दिएको कार्कीको भनाइ छ।

‘मतदाताले राई लिम्बुहरुको कुरा सोह्रै टक्का सही मानेनन्, किनभने इलाम २ मा राजनीतिक दलकै विचारले चुनाव जित्यो,’ कार्की भन्छन्, ‘तर, एकातिर ११ हजार मत पनि आयो, अर्कातिर २७ हजार बढी मत ल्याएर चुनावचाहिँ एमालेले जित्यो। त्यसैले कोसी र किरातको मुद्दा सम्बोधनमा ढिला गर्नुहुँदैन।’ 

तीन, पुराना दलमै आस। 

पुराना राजनीतिक दलप्रति नै आम मतदाताको अझै आस रहेको तेस्रो सन्देश उपचुनावले देखाएको कार्कीले बताए।

‘यसको मतलब कांग्रेससँग जोडिएको मानिस कांग्रेससँगै र एमालेसँग जोडिएको एमालेसँगै रहेका छन् भन्ने हो।’

चार, नयाँको भर छैन।

नयाँ भनिएका शक्तिहरुप्रति आम मतदाताले भरोसा नगरेको स्पष्ट संकेत यस निर्वाचनले दिएको छ। कार्कीकै भनाइमा, सामाजिक सञ्जालमा हल्ला गरेर मात्र सबैतिर चुनाव जित्न नसकिने रहेछ। 

यद्यपि, एमाले र कांग्रेसको विकल्पमा जुनसुकै बेला नयाँ दल वा व्यक्ति उभिन सक्ने सम्भावना भने चुनावले देखाएको छ।
कार्की भन्छन्, ‘राजनीतिक दललाई के सन्देश दियो भने अब तिमीहरुले हेलचेक्र्याइँ ग¥यौ भने भविष्यमा तिमीहरुको वैकल्पिक अरु छन् भन्ने सन्देश दियो।’

सामान्य होइन रास्वपाको मत 
इलाम २ मा रास्वपाले पाएको मतलाई पनि सामान्य रुपमा लिन नहुने कार्कीको विश्लेषण छ। 

उनका बुझाइमा, स्वतन्त्र पार्टीले नै हिजोभन्दा आज बढाएको मत सामान्य होइन। पहाडको चरित्र फरक हुन्छ। अहिले चुनाव भएको ठाउँ अग्र्यानिक पहाड हो। बझाङ र इलाम पूरै ग्रामीण भेग पनि हो। 

ग्रामीण र सहरी मतदाताको मनोविज्ञान भिन्न खालको हुने कुरालाई दलहरुले बुझनुपर्ने उनी बताउँछन्। 

‘पहाडको मानिस हत्तपत्त दल फेर्न चाहँदैनन्। एकपटक पार्टीमा लागेपछि निरन्तर लाग्छन्,’ उनले भने, ‘मतदाता र समाजको चरित्रलाई हेर्दा यही उपचुनावलाई हेरेर रास्वपा र राप्रपाको भविष्य विश्लेषण गर्न मिल्दैन। उनीहरु केही पनि होइनन्, शक्ति नै होइनन् भनेर अवमूल्यन गरियो भने अर्काे गल्ती हुन्छ।’

उपचुनावले नेपालमा कांग्रेस र एमाले नै मुख्य राजनीतिक शक्ति हुन् भन्ने पनि देखाएको छ।

राजनीतिक विश्लेषक एवं लेखक राजेन्द्र महर्जन भन्छन्, ‘गठबन्धन र पुराना पार्टीको पकड अझै बलियो छ भन्ने उपनिर्वाचनले देखायो। ‘नयाँ पार्टी र उम्मेदवारलाई एजेण्डा र व्यक्ति स्थापित गर्न गाह्रो छ।’

पुराना दलको दबदबा हुँदाहुँदै पूर्वमा पहिचानको आवाजलाई मतदाताले स्वीकार गरेको महर्जनको बुझाइ छ। 

‘इलाममा पहिचान पक्षधरले आफ्नै उम्मेदवार उठाएर गरेको जनमत संग्रह सफल भयो,’ उनले थपे, ‘कांग्रेस–एमालेको तुलनामा कम मत आए पनि संघर्ष र पहिचानको मुद्दा भने स्थापित भयो।’

सबै दललाई चेतावनी
ठूला दलले धेरै मत पाए पनि यसअघि आफैले पाएको मतभन्दा त्यो कम हो। कांग्रेस र एमाले दुवैको मत २०७९ को भन्दा घटेको छ। 

अब टिकट वितरणमा ख्याल नगर्ने र जनताको मनोविज्ञान हेक्का नराख्ने हो भने चुनावी परिणाम ठूलो दललाई झड्का दिने गरी आउने कार्कीको प्रक्षेपण छ। 

‘युवा मात्र होइन। निष्कलंक व्यक्ति हुनुपर्छ र जनताले खोजेकै मानिस हुनुपर्छ,’ सिनासका कार्यकारी निर्देशक कार्की भन्छन्, ‘हिजोको जस्तो केन्द्रबाट टिकट बाँडेर फलानोलाई जिताउनु भनेर जनताले मान्नेवाला छैनन्।’

राप्रपाको खोसियो एजेन्डा
राप्रपाले राजसंस्थाको वकालत गर्छ। तर, उसका धेरै मुद्दा मूलधारका ठूला दलले नै खोसिसकेका छन्।

‘संघीयता खारेजी र हिन्दु धर्मसापेक्ष संविधानको माग त ठूला दलकै नेताले गरिरहेका छन् त,’ महर्जन भन्छन्, ‘समावेशी नीतिविरुद्ध लाग्ने नेता त्यहीँ भएपछि राप्रपा वा अरुलाई स्पेस बनाउन गाह्रो छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .